विषाक्त मान्छेलाई सेन्सर

बुधबार, १९ मङि्सर २०७५, ०२ : ४३ प्रकाश जंग थापा
विषाक्त मान्छेलाई सेन्सर

कहिलेकाहीँ मनमा लागेको होला¬– साल फेरियो जीवन स्तर फेरिएन । किन ? यस्तो अवस्था आउनुको पछाडि हामी कस्ता मानिसको सङ्गतमा छौँ भन्नेमा भर पर्छ । हामी कस्तो वातावरणमा हुर्केका छाँै भन्नेले ठूलो अर्थ राख्छ । हामीले जिउने जीवनस्तर, हामीले भोगेका सफलता–असफलता र साथै हामीमा उत्पन्न हुने सोच, मुड सबै वातावरणकै उपज हो । 

विकसित राष्ट्रमा जानुस्, तपाईंको जीवनस्तर त्यहाँकै अनुसार चल्छ । सकारात्मक वातावरणमा बस्नुस्, सकारात्मक सोच आउँछ । वातावरणले मानवीय जीवनलाई आकार दिएको हुन्छ । अमेरिकी लेखक र पब्लिक स्पिकर जिम रोनको एउटा भनाइ छ, “तपाईंको व्यक्तित्व तपाईंले सङ्गत गर्ने टप पाँच मानिसहरुको औसत रुप हो ।” 

उसो भए, एउटा छोटो कार्य गरौँ न ! आफ्नो संगतमा रहने मुख्य व्यक्तिहरुको नाम टिपोट गरौँ । उनीहरुसँग बिताउने समय पनि उल्लेख गरौँ । हामीलाई आश्चर्य पार्ने तथ्य आउन सक्छ । त्यो हो हामीले संगत गरेका अधिकांश व्यक्तिहरुमध्ये टप पाँचसँग मात्रै अत्यधिक समय बिताएका हुन्छौँ । अब उनीहरुको स्वभाव, सोच, आनीबानी, कार्यशैली आदि केलाउँ । 

अब आफ्नो बारेमा ध्यान दिउँ । आफ्नै बारेमा संक्षिप्त रिसर्च गरौँ । यस रिर्सचको एउटै निष्कर्ष हुन्छ– हामी, हामीले संगत गर्ने व्यक्तिहरुको औसत रुप हौँ । हामीले देखाउने स्वभाव, हामीले राख्ने सोच, हामीले अनुसरण गर्ने कार्यशैलीमा तीनै पाँच व्यक्तिहरुको प्रभाव रहन्छ । यदि ती व्यक्तिहरु सकारात्मक र पे्ररणादायी दिने खालका छन् भने हामीमा पनि त्यही स्वभावको विकास हुन्छ । उनीहरु नकारात्मक छन् भने सोहीअनुसार स्वचालित हुन्छौँ । 

जस्तो जीवन बाँचेका व्यक्तिहरुको संगत गरिन्छ, जीवन पनि लगभग त्यस्तै हुन्छ । संसारका सबै सफल व्यक्तिहरु सफल व्यक्तिकै सिको गर्छन् । उनीहरुकै संगत गर्छन् । उदाहरणकै लागि बिल गेट्सको संगत कस्ता मानिसहरुसँग होला ? जुकरबर्गको ? ओबामाको ? हामी कल्पना गर्न सक्छौँ । त्यसैले कस्तो व्यक्तिसँग उठबस गर्न चाहनु हुन्छ ? सकारात्मक सोच राख्ने कि नकारात्मक ? सफल कि असफल ?

उत्साहित गराउने कि निरुत्साहित ?

मुख्यतः हाम्रो सर्कलमा रहने भनेको परिवार, साथीभाइ, बोस, सहकर्मी, बिजनेस पार्टनर, उपभोक्ता आदि नै हुन् । उनीहरुसँग हाम्रो नियमित सम्पर्क हुने गर्छ । अधिकांश समय उनीहरुसँग नै बित्छ । उनीहरु कस्ता छन् त्यो कुराले हाम्रो जीवन स्तर निर्धारण गर्छ । 

उनीहरु अप्ठेरा र विषाक्त छन् भने ? यहाँ अप्ठेरा र विषाक्त व्यक्ति भन्नाले कुलतमा फँसेका, डिपे्रसनबाट ग्रसित, नकारात्मक एवं संकुचित सोच राख्ने, रिसमा उग्र रुप लिने, ड्रामाबाजी गर्ने लगायतका गतिविधि बुझिन्छ । उनीहरु आफ्नो भूमिका÷रोल खेल्छन् र हामीलाई पनि त्यहि रोल निर्वाह गर्न प्रेरित गर्छन् । जीवन आफ्नो सोचअनुसार जिउने हो । 

अरुको निर्देशनअनुसार चलाउने हाइन । हामी स्पन्ज (जलशोषक प्राणी) जस्तै हौँ । जतिसुकै मानसिक र व्यक्तिगत रुपमा विकसित भए पनि नकारात्मक वातावरणले असर गर्छ नै । कुलतमा फँसेकालाई साथी बनायौँ भने हामी पनि कुलतमा नफँसिएला भन्न सकिन्न । नकारात्मकता भाइरस हो जुन हामीमा सर्न कुनै बेर लाग्दैन । जस्तो संगतमा रहन्छौँ, त्यस्तै फल प्राप्त हुन्छ । 

उसो भए त्यस्ता विषाक्त व्यक्तिबाट कसरी छुटकारा पाउने ? एउटै उपाय हो सम्पर्क टुटाउनु । खुट्टामा काडाँ बिझ्यो भने सियोको टुप्पोले झिकेर फ्यालिदिन्छौं । त्यसैगरी हाम्रो जीवनमा विषाक्त व्यक्ति ठोक्किन्छन् भने जीवनबाट अलग गरिदिनु बुद्धिमानी सावित हुन्छ ।

एउटा फिल्म त रिलिज हुनु पहिले सेन्सर गरिन्छ भने हामी त जीवन बाँचिरहेका छौँ । त्यसैले हाम्रो जीवन पनि सुमधुर रुपमा अघि बढाउन विषाक्त व्यक्तिमाथि सेन्सर गरिनु पर्छ । चाहे व्यक्ति जो सुकै होऊन्, मानक उल्लङ्घन गर्छ भने सम्पर्कविच्छेद गर्न सक्नु पर्छ । यसको लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।

आमने सामने संवाद गर्ने
सोसल मिडिया मनको भँडास पोख्न सजिलो माध्यम बनेको छ तर उत्तिकै अनुत्पादक पनि । प्रायः हामीलाई कुनै व्यक्ति ठीक लागेन भने वा समस्या उत्पन्न भयो भने डिजिटल माध्यममा पोखिदिन्छाँै । यति मात्र होइन, अरुसँग कुरा काटेर समय कटाइदिन्छौँ । यस्ता गतिविधिले कसैलाई भलो गर्दैन । जोसँग समस्या छ, उसैसँग प्राइभेटमा कुरा गरेर समस्या हल गर्न सकिन्छ । उदाहरणका लागि, मानौं तपाईंका सहकर्मी साथीले अफिसमा तपाईंको आत्मसम्मानको ख्याल गरेन रे ! 

अनावश्यक दुःख दिइरहन्छ रे ! स–साना गल्ती पनि खुट्याउँछ रे ! परिभाषाको हिसाबले ती व्यक्ति विषाक्त हुन् । यस्तो परिस्थितिमा के गर्ने ? झगडा गरेर समस्या समाधान होला ? पक्कै हुँदैन । यसका लागि एउटा काम गर्न सकिन्छ । उसलाई आफ्नो अफिसमा बोलाउने र आफ्नो कुरा प्रस्ट राख्ने । कतिपय केसमा उसलाई आफ्नो गल्तीको हेक्का नहुन सक्छ ।

तपाईंले उसलाई फेस टु फेस कुरा राख्नुभयो भने  पक्कै पनि उसले आफूलाई सच्याउने छ । आमने सामने कुरा व्यक्त गर्नु नै समस्याको हल हो । यसो गर्नाले सम्बन्धमा सुधार आउँछ । सम्पर्क टुटाउनु आवश्यक पर्दैन । आमने–सामने संवाद गर्दा पनि व्यक्तिमा परिवर्तन नआए आफू कुनै किसिमको सम्पर्क राख्न नचाहेको प्रस्ट भनिदिनु पर्छ ।

प्रतिक्रिया नदिने 
कसैले तपाईंलाई नानाभाँतीका कुरा गरेर उक्साउँछ भने कुनै प्रतिक्रिया नदिनुहोस् । गू चलाए गन्ध ! त्यसैले निश्चित सीमा निर्धारण गर्नु ताकि विषाक्त व्यक्तिले हस्तक्षेप गर्न नसकोस् । यसका लागि डिजिटल सुविधा प्रयोग गर्न सकिन्छ । मोबाइल फोनबाट नम्बर हटाउने, आवश्यक परे ब्लक गर्ने आदि । केही सीप नलागे नयाँ नम्बर लिन सकिन्छ । त्यसैगरि इमेल र सोसल मिडियाबाट पनि उसलाई हटाउन सकिन्छ ।

अन्त्य गर्ने

भन्न त नेभर क्विट भनिन्छ । हार नमान्नु, नरोकिनु अर्थात् अन्त्य नगर्नु भनिन्छ तर विषाक्त व्यक्तिको हकमा अन्त्य गर्नु हितकारी साबित हुन्छ । प्रेमी÷प्रेमिका विषाक्त छन् भने प्रेम अगाडि बढाउनु राम्रो हुँदैन । ब्रेकअप गर्नु वा सामना गर्न सक्नु पर्छ । विवाहित नै भए पनि डिभोर्स गर्न पछि हट्नु हुँदैन । त्यसैगरी आफूले काम गर्ने कार्यालयका प्रमुख वा सहकर्मी विषाक्त वर्गका छन् भने काम छाडेर नयाँ अवसरको खोजीमा लाग्नु उत्पादक÷फलप्रद रहन्छ । 

यी उपायहरु लागू गर्दा पनि विषाक्त व्यक्तिबाट उन्मुक्ति पाउन सकिएन भने के गर्ने ? नकारात्मक व्यक्ति वा प्रभाव हटाउन सकिँदैन भने सकारात्मक प्रभाव बढाउन सकिन्छ । सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढाउन सकिन्छ । घुलमिल हुन सकिन्छ । यसका अतिरिक्त सकारात्मक प्रभाव बढाउन उच्च स्तरको सेमिनारमा भाग लिन सकिन्छ । पुस्तक पढ्न सकिन्छ । 

अर्को टेक्निक भनेको आफ्नो जीवन पुनः डिजाइन गर्नु पनि हो । यसका लागि नयाँ सहर वा नयाँ देशमा जान सकिन्छ । आफूलाई आत्मनिर्भर बनाउन सके अरुमा भर पर्नु पर्दैन । जीवनमा कुनै कुराको कमी नहोस् । सबैकुराले भरिपूर्ण होस् । प्रशस्त होस् । यस्तो अवस्था सिर्जना गर्न सकियो भने विषाक्त व्यक्तिबाट सजिलै छुटकारा पाउन सकिन्छ । पहिले आफूलाई स्वतन्त्र बनाउनु । विषाक्त व्यक्तिसँग सम्झौता गर्नको लागि जीवन निकै छोटो छ । बेलैमा आफ्नो जीवनबाट अलग गर्नु । तपाईंमा विषाक्त व्यक्ति फाल्न सक्ने कत्तिको धारिलो हतियार छ ?
 

Leave A Comment