हिंसाको चपेटामा युवा

बुधबार, १९ मङि्सर २०७५, ०२ : ४७ शुक्रवार
हिंसाको चपेटामा युवा

किशोरावस्था आफैँमा अन्योलले भरिने उमेर, कौतुहल परीक्षणका क्रममा जीवनको अँध्यारो पाटो यही उमेरमा शुरु हुन पनि सक्छ । काला मन भएकाहरुले दुरुपयोग गर्ने र विभिन्न हिंसामा पार्ने जोखिम पनि उस्तै रहन्छ । समस्या परे कहाँ जाने ? कसलाई भन्ने अन्योल उस्तै हुन्छ । त्यसैले त विकसित देशमा यी उमेरका किशोर–किशोरीलाई भावी मार्ग पहिल्याउन, काला मन भएकाहरुबाट जोगाउन, काउन्सिलिङको सुविधा हुन्छ, अभिभावकसँग अन्तक्र्रियाका लागि राज्य आफैँ अग्रसर हुन्छ ।

 देशका भावी कर्णधार भनिए पनि नेपालका युवा अझ विशेष किशोर–किशोरीको अवस्था अन्योलग्रस्त देखिन्छ । यो उमेरमा आइपर्ने उमेरजन्य कुतुहल समाधान गर्ने न संस्कारयुक्त पारिवारिक वातावरण बन्न सकेको छ, न त समाज किशोर–किशोरीअनुकूल छ ।

युवा हाम्रा कर्णधार हुन् भन्ने वाक्य नेताको मुखमा झुण्डिए पनि किशोर–किशोरीमैत्री न कुनै नीति छ, न त कुनै कार्यक्रम नै । युवा केन्द्रित भन्दै सरकारले कहिले स्वरोजगार कोष गठन गर्छ त कहिले के । जति कार्यक्रम ल्याए पनि ती कार्यकर्ता पोस्ने भन्दा अगाडि बढ्न सकेको छैन ।

एक गैरसरकारी संस्थाले गरेको अध्ययनमा नेपालका किशोर–किशोरीबीच प्रेमालापको डेटिङका क्रममा ७५ प्रतिशत भन्दा माथि यौन हिंसा हुने गरेको देखिएको छ । सर्भेक्षणअनुसार उनीहरुमाथि हुने भावनात्मकसँगै मानसिक र शारीरिक हिंसाको अवस्था डरलाग्दो छ । समाधान गर्ने कुनै सरकारी संयन्त्र भने छैन । एक प्रकारले हाम्रा किशोर–किशोरी एक्लै छन् ।

दुई तिहाई मत पाएको सरकार आलोचनाको केन्द्रमा छ । सुखी नेपाली, समृद्ध नेपाल भन्दै चोक र गल्लीमा रोगले ग्रस्त प्रधानमन्त्रीले आफ्नो तस्बिर झुड्याएका छन् र यसैमा उनी मग्न छन् । यस्तो अवस्थामा जोखिममा रहेका किशोर–किशोरी केन्द्रित कार्यक्रम ल्याउन उनको ध्यान जाओस् पनि कसरी !

किशोर–किशोरी देशका कर्णधार हुन् भन्नेमा कुनै दुईमत छैन । उनीहरु परिवार, समाज र देशका भविष्य हुन् । उनीहरु जुन रुपमा हुर्कन पाउँछन्, भविष्य त्यस्तै हुने न हो । यसरी हिंसामा पर्दा पनि कहीँकतैबाट सम्बोधन नहुँदा डिप्रेसनको सिकार हुने पुस्ताबाट बन्ने भविष्य कस्तो होला ? उनीहरुबाट आउने नतिजा के होला ? तस्बिर प्रस्ट छ ।

त्यसैलै वर्तमानमा जे जस्तो भयो भयो, अब भविष्य उज्ज्वल बनाउने हो भने किशोर–किशोरी र युवाअनुकूलको वातावरण बनाउन आवश्यक छ । युवा काउन्सिलको निर्माण गरी प्रस्ट नीतिमार्फत् युवामाझ रहेको समस्या समाधान गर्न ढिला भइसक्यो । त्यसैले सरकार वास्तवमै सुखी नेपाली र समृद्ध नेपाल बनाउन प्रतिबद्ध छ भने तत्काल युवा काउन्सिलको निर्माण गरी युवा र किशोर–किशोरीको समस्या सम्बोधनमा अग्रसर हुन आवश्यक छ ।

नत्र सरकारले अगाडि बढाउने कार्यक्रम र नारा ‘गफै त हो सम्धीज्यू’ मात्रै हुने निश्चित छ ।

Leave A Comment