लक्ष्मीप्रसादको रित्तो घर

बुधबार, १९ मङि्सर २०७५, ०३ : ५८ प्रजु पन्त
लक्ष्मीप्रसादको रित्तो घर

इँटाले बनेको ४ तले घरको आँगन पुगेलगत्तै अम्बिकादेवी रिमालले भनिन्, ‘माथि त म उक्लिन सक्दिन तपाईंहरु सक्ने भए जानोस् ।’

उनी थिइन् महाकवि लक्ष्मीप्रसाद देवकोटाकी माहिली छोरी । अंशमा डिल्लीबजारको घर परे पनि मैतीदेवीको शास्त्री मार्गमा रहेको देवकोटाको घर उनले २००४ सालमा किनेका थिए । उनले डिल्लीबजारको घर आफ्ना ठाइँला भाइ मित्रप्रसाद देवकोटालाई बेची मैतीदेवीमा १२ रोपनी जग्गा किने र घर बनाएका थिए । उनको अन्तिम पल यहीँ बित्यो ।

लक्ष्मी जयन्तीको अवसर पारेर सरकारले देवकोटाले आफ्नो जीवनको अन्तिम पल बिताएको घरलाई सङ्ग्रहालय बनाउने घोषणा गरेपछि घरको अवस्था हेर्न शुक्रवारकर्मी मैतिवेदी पुगेको थियो । 

घर बाहिरबाट हेर्दा सग्लै देखिन्थ्यो । अम्बिकाले ‘म त जान सक्दिन’ भनेपछि भुईं तलाका कोठा चियाउँदा भने अवस्था फरक थियो । पुरानो घरकोे गेलुवा सबै उप्केको । मटन नजिकैको कोठामा देवकोटाले प्रयोग गरेको दराज माथिको तलाबाट आएको गेलुवाले किचेर धुलाम्मे बनाएको थियो ।
छेऊमा भएको टेबलमा बाकसहरु असरल्ल थिए । 

‘यो दराज बाले प्रयोग गर्नुहुन्थ्यो । उहाँ पढ्ने लेख्ने कोठा माथिको हो,’ अम्बिकादेवीले भित्र चियाउँदै भनिन् । 
काठको भर्याङ मक्किसकेको । पाइला राख्दा लच्किने । देवकोटा बस्ने कोठा माथि भएकाले डरै डर बोकेर भए पनि उक्लिनै पर्यो । 

‘बुबा पढ्ने कोठा अगाडिको हो’ अम्बिकाले बाहिरैबाट जानकारी दिइन् ।

देवकोटा पढ्ने र सुत्ने कोठा पुगियो । त्यहाँ उनका केही थान फोटाहरु थिए । उनका बुबा तिलमाधव देवकोटाको फोटो भुइँमा ढुंगाले किचिएको थियो । सीसाको फ्रेम सबै फुटेको थियो । 

कोठाको अवस्था देखेर मन कटक्क खायो । कोठा भत्किसकेको । यदि सरकार साच्चिकै यो घरलाई सङ्ग्रहालय बनाउन तयार हो भने तत्काल सामग्री संकलन गरेर संरक्षण गरिहाल्नुपर्ने देखियो ।
देवकोटा बसेर पढ्ने, लेख्ने गर्ने बरण्डा नजिकको कोठाको अवस्था पनि उस्तै दयनीय । 

‘यही ढोका भएको कोठामा बुबा लेखिरहनुभएको थियो । एक दिन भाइले के विराम गर्यो कुन्नी । मैले भाइलाई कुटेँ । बुबाले त्यो बरण्डामा आएर ओइ अम्बिका भनेर बोलाउनुभयो,’ उनले भनिन्, ‘भुईंमा देखाउँदै यो के हो भन्नुभयो । मैले घाँस हो बुबा भनेँ । उहाँले तँ त्यही खा भन्नुभयो । कहिले गाली नगर्ने बुबाको त्यो नै पहिलो र अन्तिम गाली थियो ।’

त्यही भुँइतलाको नजिक केही जग्गा छ, जहाँ देवकोटाले गुन्द्री ओछ्याएर दिनभरि लेख्ने गर्थे । 

घरमा के–के छ ?
घर मात्रले पक्कै सङ्ग्रहालय बन्न सक्दैन । त्यसका लागि जसको नामको सङ्ग्रहालय हो ऊसँग जोडिएका सामग्रीको महत्व हुने नै भयो । देवकोटाको घर पुग्दा त्यस्ता महत्वपूर्ण सामग्री देखिएनन् ।
‘२५ वर्षअघिसम्म बुबाले प्रयोग गर्नुभएका सामान थिए । पुराना सामान के काम भनेर भाँडाकुँडा जति कवाडीले लग्यो,’ देवकोटाकी छोरीले भनिन्, ‘केही महत्वपूर्ण सामान भाइले राखेका छन् । केही सामान भूकम्पपछि पानीले बिगार्यो ।’
छोरा पद्मप्रसाद देवकोटा अहिले अमेरिकामा छन् । उनी छिट्टै नेपाल फर्किने रिमालले बताइन् । 

घर कस्तो छ ?
डिल्लीबजारमा देवकोटा जन्मेको घर छ । त्यो घर पुरानै अवस्थामा देखियो । देवकोटाकी नातिनी भाइ बुहारी सन्तोष देवकोटाले हामीलाई देवकोटा जन्मिएको घरमा पुर्याइन् । मैतिदेवीको घर भूकम्पले पूरै भत्किए पनि डिल्लीबजारको घर अलि व्यवस्थित देखियो । 

घरको माथिल्लो कोठामा देवकोटाको तस्बिर राखिएको थियो । पुरानो कला कृतिले बनेको त्यो घर भाइलाई बेचेर २००४ सालमै देवकोटा मैतिदेवीमा सरेको बुहारीले बताइन् । 


खुसी छन् परिवार
प्रधानमन्त्री केपी ओलीले देवकोटा निवासलाई सङ्ग्रहालय बनाउने घोषणा गरेपछि देवकोटा परिवार खुसी छन् । देवकोटाकी माहिली छोरी अम्बिकाले मैतिदेवीको घर रेखदेख गरिरहेकी रहिछिन् । सरकारले सङ्ग्रहालय बनाउने घोषणा गरेपछि उनले भाइ पद्मप्रसाद र बैनी मिरा देवकोटालाई सोधिन् । दुवैजना खुसी भएको उनले बताइन् । 

पहिला पनि भएको थियो प्रयास
२०५१ मा तत्कालीन एमाले नेता तथा पूर्व मन्त्री प्रदीप नेपालले देवकोटाको मैतिदेवीस्थित घरलाई सङ्ग्रहालय बनाउनुपर्ने भन्दै देवकोटाकी छोरी अम्बिकालाई भेटे । देवकोटा परिवार सङ्ग्रहालय बनाउन घर दिन राजी भयो । तर पछि पैसाको कुरा मिलेन । अम्बिकाका अनुसार चलेको रेट भन्दा एक तिहाई पनि नदिने भएपछि रोकिएको थियो ।

‘हुन त सित्तैमा दिए पनि हुने हो तर आर्थिक अवस्था गाह्रो भएकोले दिन सकिएन,’ उनले भनिन्, ‘सरकारले मुआब्जा दिएर सङ्ग्रहालय बनाउँछ भने कुनै गुनासो छैन ।’

यसबारे जिज्ञासा राख्दा पूर्वमन्त्री नेपालले ०५१ सालमा सङ्ग्रहालय बनाउन प्रयास गर्दा देवकोटा परिवार सकारात्मक भए पनि त्यतिबेला सरकारले दिने मुआब्जा र परिवारले माग गरेको मुआब्जाको रकम नमिल्दा प्रयास सफल हुन सकेन ।

‘व्यक्तिगत रुपमा पनि ४÷५ वर्ष धाएँ । तर केही सीप नचलेपछि मैले छोडिदिए । त्यसपछि कुरा त्यसै सेलायो’ उनले भने ।

अहिले के हुँदै छ ?
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीका स्वकीय सचिव कृष्णप्रसाद आचार्यका अनुसार देवकोटाको घरलाई सरकारी सङ्ग्रहालय बनाउन मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ ।
मन्त्रालयले प्रज्ञा प्रतिष्ठानको रोहवरमा राख्ने कि भनेर छलफल गरिरहेको र समिति बनाएर प्रक्रिया अगाडि बढाउने तयारी भइसकेको उनले जानकारी दिए । 

प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीका अनुसार देवकोटाको निजी निवास सरकारी सङ्ग्रहालय बनाउने पहिलो चरणको काम भइसकेको छ ।

प्रतिष्ठानलाई प्रधानमन्त्री कार्यालय र विभागीय मन्त्रालयबाट निर्देशन आइसक्यो र सोहीअनुसार प्रतिष्ठानका अधिकारी देवकोटाको घर पुगेर अवलोकन गरिसक्यो । 

‘परिवार सङ्ग्रहालय बनाउन राजी रहेको हामीले पायौँ,’ उनले भने, ‘अब मन्त्रालयले मुआब्जा निर्धारण गरेपछि काम अघि बढ्छ ।’
 

Leave A Comment