कलाकार हरिवंश आचार्यले रमला र लेखक कृष्ण धरावासीले मञ्जु विमलीसँग दोस्रो विवाह गरे ।
श्रीमतीको मृत्यु भएको केही समयमै आचार्य र धरावासीले दोस्रो विवाह गर्दा ठूलै बहस निम्तिएको थियो । आचार्य र धरावासीको स्थानमा उनीहरुका श्रीमतीलाई राखेर बहस अगाडि बढेको थियो ।
आचार्यको पनि आलोचना नभएको हैन । बहस लामै समय चल्यो । पक्ष विपक्षमा आएका तर्कमा श्रीमतीको मृत्यु भएलगत्तै बिहे गरे भन्ने बढी नै सुनियो तर यी दुईले विवाह गरेका महिला पनि एकल थिए र दुवैको दोस्रो विवाह । रमला श्रीमान् बितेर एक्लै भएकी थिइन्, मञ्जुको सम्बन्धविच्छेद भएको थियो ।
‘मलाई त्यतिबेला महिला अधिकारवादीले तपाईंको ठाउँमा सीताजी भइदिएको भए दोस्रो विवाह गर्नुहुन्थ्यो भनेर सोधे,’ धरावासीले भने, ‘तर मसँग मञ्जुजीको पनि दोस्रो विवाह नै हो ? भनेर कहिल्यै सोधेनन् ।’
धरावासीले भनेझैँ बहस एकतर्फी चर्किएको थियो तर अन्त्यमा बहस सकारात्मक कोणमै पुगेर टुंगियो ।
आचार्य आफ्नै अडानका कारण रमलासँग विवाह भएको बताउँछन् । उनलाई अविवाहितसँगै विवाह गर्न सुझाव नआएको हैन तर उनले एकल महिलालाई नै दोस्रो जीवनसाथीका रुपमा चयन गरे ।
‘घरबाट मलाई कन्या केटी विवाह गर भन्दै थिए तर मैले कन्याकेटीको आफ्नै रुचि र विचार हुन्छ, त्यो आफूबाट पूरा हुनसक्दैन होला भन्ने लागेर रमलासँग विवाह गरेको हो,’ उनले प्रस्ट्याउँदै भने ।
धरावासीसँग विवाह गर्ने मञ्जु पनि एकल महिला थिइन् । उनी सन् २००५ देखि नै एकल बस्न थालेको थिइन् । उनलाई सुरुमा धेरै नातागोताले छोराको मुख हेरेर बस्न नसुझाएका हैनन् तर एकल महिलालाई हेर्ने दृष्टिकोण अनि मन मिल्ने मान्छे पाएपछि एक्लै बस्न नहुने रहेछ भनेर विवाह गरेको उनले बताइन् ।
धरावासीले विवाह गर्दा पढेलेखेका समूहको बढी चर्काे आलोचना खेपेको गुनासो गरे ।
उनले भने, ‘बरु मैले घरपविार र समाजबाट त्यस्तो नराम्रो प्रतिक्रिया पाइनँ, तर मिडियामा भने मलाई नराम्रो चित्रित गरियो ।’
यही मंसिरमा पूर्व उपसभामुख एवं नेकपाकी नेता पूर्णकुमारी सुवेदीले आफ्नी विधवा बुहारीको विवाह गराइदिइन् । यो समाचार सञ्चारमाध्यममा प्राथमिकताका साथ आए पनि पक्षविपक्ष चर्को बहस भने भएन । यसले दोस्रो विवाहलाई समाजले स्वीकार गर्दै गएको देखिने केहीको धारणा छ ।
‘पुरुषलाई त दोस्रो विवाह गर्नु सामाजिक रुपमा गाह्रो काम थिएन, महिलालाई भने गाह्रो थियो,’ धरावासी भन्छन्, ‘तर अहिले महिलाले पनि विवाह गरेको देखिन्छ ।’
समाज परिर्वतन हुँदै गएको आभाष आचार्यले पनि पाएका छन् ।
‘समाज एकैचोटी परिवर्तन नहुने रहेछ, क्रमशः र बिस्तारै परिवर्तन हुँदै जाने रहेछ,’ हरिवंशले भने, ‘पहिला यस्तो मान्छे, उस्तो मान्छे भनेर आलोचना भए पनि विवाह गरेपछि भने मलाई मेरा आफन्तीले राम्रै गरेको भन्नुहुन्छ ।’
आचार्य र धराबासी दुवै सेलिब्रिटी भएकाले दुवैको विवाह चर्चामा आएको हो । यस्ता अन्य केही उदाहरणीय दोस्रो विवाह पनि भएका छन् ।
केही वर्ष अगाडि झापामा धनपति पौडेलले छोराको मृत्युपछि विधवा बुहारीलाई छोरीझँै विवाह गरेर पठाएका थिए । यो घटना सार्वजनिक भएसँगै धेरैले उनको कामको प्रशंसा गरेका थिए ।
गुल्मीमा दुई वर्षअगाडि ईश्वरी नेपालीले पनि छोराको मृत्युपछि एकल जीवन बिताइरहेकी बुहारीको धुमधाम विवाह गराएका थिए । बारा प्रिपा सिमराका प्रकाश वाग्लेले विवाह गरेको एक वर्षमै छोराको मृत्यु भएपछि बुहारीको विवाह गराएका थिए । यादव लामिछानेले सञ्जुलाई श्रीमतीको रुपमा भिœयाउन कुनै आनाकानी गरेनन् ।
यही असोजमा झापाकी अञ्जु अधिकारीले बुहारीलाई छोरीझैँ डोली चढाएर नयाँ घर पठाएकी थिइन् ।
केही सेलिब्रिटी पनि छन्, जसको दोस्रो विवाहलाई समाजले सहजै स्वीकारेको देखिन्छ । चलचित्र निर्माता छवि ओझाले पटक–पटक विवाह गर्ने गरे पनि त्यत्ति आलोचनाको सिकार बन्ने गरेका छैनन् । पछिल्लो समय रेखा थापासँगको सम्बन्ध विच्छेदपछि उनी शिल्पा पोखरेलसँग छन् ।
नायिका प्रियंका कार्की डिभोर्सपछि अविवाहित आयुष्मान देशराजसँग विवाह गर्दैछिन् । दुवैको इन्गेजमेन्ट भइसकेको छ । दुवै परिवार उनीहरुको सम्बन्धमा सहमत छन् र दुवै खुसी पनि ।
समाज बदलिएकै हो त ?
लेखिका रामेश्वरी पन्त सामाजिक परिवेशमा महिलाको दोस्रो विवाह त्यति असहज नलागे पनि पारिवारिक दायित्वका कारणले छोराछोरी भएका एकल महिलालाई दोस्रो विवाह गर्नु त्यति सहज नहुने बताइन् ।
उनी समाजमा केही सकारात्मक परिर्वतन देखिए पनि महिलाको हकमा भने अझै खुल्न नसकेको बताइन् ।
‘महिलाका लागि समाज र परिवारको सोच केही मात्रामा बदलिएजस्तो त देखिन्छ तर महिलाप्रति नगन्य उदार छ,’ उनले भनिन्, ‘एउटा पुरुषले पत्नी गुमाएपछि ऊ र उसको परिवार बालबच्चा सम्हाल्ने अर्की महिला (पत्नी) को खोजी गर्छ तर पति गुमाएकी महिला र उसका सन्तानलाई सम्हाल्ने अर्को पुरुष (पति) चाहिन्छ भनेर समाजले अझै सोच्दैन ।’
समाजशास्त्री कृष्ण भट्टचन सामाजिक मूल्यमान्यता बिस्तारै भत्कँदै गइरहेको बताए । हिन्दु संस्कारमा पुरुषलाई श्रीमतीको निधन भएपछि अथवा अरु कुनै कारणवश विवाह गर्न छुट भए पनि महिलामा नरहेकाले पुरुषले जसरी सहज रुपमा दोस्रो विवाह गर्न सक्छ । महिलाका हकमा भने अझै अड्चन रहेको उनले बताए ।
‘पहिले जति सानी भए पनि सति प्रथा नै थियो । सति प्रथा त हट्यो तर महिलाहरुले दोस्रो विवाह गर्ने प्रचलन अझै स्वीकार भइसकेको देखिन्न,’ भट्टचनले भने, ‘फाट्टफुट्ट विवाह भइरहेको छ । यसलाई समाजले सिधै अस्वीकार नगरे पनि हार्दिकतापूवर्क स्वीकार पनि गरेको देखिन्न ।’
पन्त अपवादको रुपमा कतै कतै सन्तान नभएका एकल बुहारीलाई बिहे गरेर पठाएको देखिन थालेकोमा खुसी व्यक्त गरिन् ।
अघिल्लो पत्नीसँग सम्बन्ध विच्छेद गरेको पुरुषले सगर्व दोस्रो विवाह गर्दा समाज र परिवारले पनि स्वीकार्ने तर महिलाको हकमा त्यो हार्दिकता अझै नदेखिएको उनले बताइन् ।
‘सम्बन्ध विच्छेद भएकी महिलाले दोस्रो विवाह गर्न खोजी भने पनि जीवनसाथी जुराउन कठिन हुन्छ,’ उनले भनिन्, ‘जुर्यो भने पनि समाज र परिवार अझै पनि ऊप्रति अनेक टीकाटिप्पणी गर्न अघि सर्छ ।’
Leave A Comment