‘प्रसाद’ प्रसंग : बलात्कारीको वीर्य कसरी ‘प्रसाद’ ?

आइतबार, ०८ पुष २०७५, ०२ : ०४ अनिल यादव
‘प्रसाद’ प्रसंग : बलात्कारीको वीर्य कसरी ‘प्रसाद’ ?

दर्शकको प्रश्न
लेखकको जवाफ

निःसन्तान जोडीको कथामाथि बनेको फिल्म ‘प्रसाद’ यतिबेला हलमा दोस्रो सातामा चलिरहेको छ । फिल्म समीक्षकबाट ‘राम्रो रेटिङ’ पाए पनि ‘बलात्कारको वीर्य स्वीकार्ने’ फिल्म भन्दै केही दर्शकबाट आलोचना पनि भइरहेको छ । महिला पात्रलाई कतै सशक्त, कतै लाचार देखाएको प्रतिक्रियासमेत आइरहेको छ । यही सेरोफेरोमा फिल्म ‘प्रसाद’का लेखक तथा रंगपत्रकार सुशील पौडेललाई केही दर्शकले उठाएका प्रश्न तथा आरोप जस्ताको त्यस्तैः

१) बलात्कारीको वीर्य कसरी ‘प्रसाद’ भयो ?
धार्मिक मान्यताअनुसार प्रसाद हुनलाई मन्दिरमा चढ्नुपर्छ । प्रसादका कुनै पनि सामग्री कहाँबाट ल्याएको ? चोखो वा जुठो के हो भनेर मन्दिरमा जाँच गरिदैन । बरु चढिसकेको फलफूल प्रसादको नाममा दिइन्छ । फिल्ममा वीर्य पनि जहाँ सुकैको होस्, चोखो वा जुठो जे होस्, तर त्यसलाई नारायणीले स्वीकार गरेर बच्चा जन्माउँछे भने आफूले भगवान् मानेकी नारायणीबाट जन्मने बच्चा पनि बाबुरामले प्रसादका रुपमा ग्रहण गरेको हो । यहाँ प्रसाद वीर्य नभएर बच्चा हो । नारायणीलाई भगवानको विम्वमा उतार्न खोजेका हौं । 

२) महिलालाई सधैं कमजोर देखाइरहने हो ?
प्रसाद एक महिलाले आमा बन्नका लागि गर्ने आन्तरिक र बाह्य संघर्षको कथा हो । फिल्मकी मुख्य पात्र नारायणीले आफ्नो कथित उपल्लो जात वा वर्गलाई प्रेमका लागि त्याग गरेकी छे । सशक्त नहुँदो हो त जो कोहीले आफ्नो मनोकांक्षाका लागि घर, समाज र गाउँ छोडेर हिँड्ने हिम्मत राख्न सक्थेन । नारायणीले जब जबर्जस्ती पेट बोक्छे, तब दुई कुरा उसको दिमागमा आउन सक्थ्यो । आफूलाई बलात्कार गर्नेविरुद्ध जाहेरी गरेर उसलाई कार्बाही गराउनु वा चुपचाप पेटको बच्चालाई जन्माउनतर्फ लाग्नु । पहिलो अवस्थामा जाँदा रमेशले सजाय त पाउला तर नारायणीलाई आफूले न्याय पाउन सक्दिनँ कि भन्ने डर थियो । कतै समाजले रमेशकै टाँसो लगाइदिने पो हो कि ? आफूले माया गरेर सारा छोडेर आएको बाबुरामलाई नै पो गुमाउनु पर्ने हो कि ? यिनै कुराले कताकती नारायणी कमजोर पो भइन् कि भन्ने लाग्न पनि सक्छ तर समग्रमा फिल्मकी महिला पात्र आफ्नो विचारबाट विचलित छैनन् । 

३) फिल्मले धार्मिक अन्धविश्वासलाई बढावा दिएको हो ? 
फिल्मको नाम र त्यसलाई अथ्र्याउन धार्मिक साहारा लिइएको छ । नास्तिकले यसलाई अन्धविश्वास पनि मान्न सक्ला र आस्तिकले अझ विश्वास पनि गर्न सक्ला । 

४) नारायणीले बलात्कार विरुद्ध लड्न छोडेर सहजै स्वीकार्नु पाच्य हुन्छ र ?
नारायणीले सन्तानको सुख नपाउनुको पीडा भोगिरहँदा बलात्कारको घटना पनि घट्न पुग्छ । दर्शकले देख्दा बलात्कारको घटना चर्को भएर आउँछ, त्यति नै नारायणीको मनोभाव बुझ्नमा ध्यान जाँदैन तर नारायणीले दुवै घटनालाई भोगेकी छे । उसका लागि गर्भको बच्चा जन्माउनु जति ठूलो बलात्कारीको पछि लाग्नुमा भएन होला । आमाको लागि सृष्टि गर्नु सबैभन्दा ठूलो काम हो । नारायणी त्यो समय बलात्कारका विरुद्धमा भन्दा पनि गर्भका पक्षमा लडेकी छे । बलात्कारीलाई कस्तो सजाय हुन्छ ? पीडित महिलालाई समाजले कसको टाँसो लगाइदिन्छ भन्ने कुरा नारायणीले राम्रोसँग बुझेका कारण पनि ऊ उचित समयको पर्खाइमा हुन सक्छे । नारायणीले बच्चा मात्र स्वीकार गरेकी हो न कि रमेश वा बलात्कारलाई । 

५) रमेशलाई दण्डै दिनु थियो भने प्रहरीकोमा नपु-याएर भगवान्को भर किन परेको ?
दुर्घटना हो । भवितव्य हो । त्यसलाई कसरी भगवान्को भर पारेको हुन्छ ? ‘टाइटानिक’मा जहाज डुबाउनु नै थियो भने त्यत्रो प्रेम किन पारिदिएको भने जस्तै प्रश्न हो यो । अर्को कुरा, मैले संविधान लेखेको हैन, सबै जनतालाई स्वीकार्य हुन । फिल्म लेखेको हुँ । मेरो विचार दिएको हुँ । 

प्रस्तुति: अनिल यादव 

Leave A Comment