‘बी–बोइङ’ मा मग्न तन्नेरी

बुधबार, १२ साउन २०७३, ११ : ३१ हिमाल लम्साल , Kathmandu
‘बी–बोइङ’ मा मग्न तन्नेरी

संगीतको तालमा केही युवा हत्केलाको सहायताले जीउ नचाइरहेका हुन्छन् । कोही हात र टाउकोले टेकेर फनफनी नाच्छन् । अझ कोही त कम्मर भाचिँएला जसरी मर्काइरहेका हुन्छन् । बी–बोइङमा यसरी नै नाच्ने गरिन्छ ।
काठमाडौँ, त्रिपुरेश्वरका अरविन थापा र बालुवाटारका सविन कार्की यसरी नै नाच्ने तन्नेरी हुन् । ‘टीभीमा हेर्दा त म चकित भएँ,’ एभरेस्ट क्रिउका क्याप्टेनसमेत रहेका अरविनले भने, ‘मलाई पनि त्यस्तै डान्स गर्न मन लाग्यो ।’ यही हुटहुटीले उनलाई ‘बी–बोइङ डान्स’तिर तान्यो । साथीभाइसँग मिलेर उनले ‘एभरेस्ट क्रिउ’ समूह बनाएर डान्स सिक्न थाले । समूहमा अरविनसँगै अमिर गुरुङ, निशान्त गौचन, रूपेश श्रेष्ठ, रूपेश महर्जन, सुरज थापामगर, सरोज लामालगायत आबद्ध छन् ।
नेपालमा हिपहप कल्चरसँगै जोडिएर आउँछ, बी–बोइङ । एभरेस्ट समूहलाई पहिलो पटक थाई नागरिक मिकीले हिपहप र खास गरी बी–बोइङ सिकाएको निशान्त गौचन बताउँछन् । ‘मिकीले हामीलाई हिपहप र बी–बोइङको व्यावहारिक तथा सैद्धान्तिक ज्ञान दिए,’ उनले भने ।  
टीभीमा ‘प्लानेट बी बोइ’ डकुमेन्ट्री हेरेर हिपहप र बी–बोइङमा लागेको ‘कार्टुन्ज क्रिउ’का लिडर सविन कार्की बताउँछन् । ‘कक्षा आठमै पढ्दादेखि म बी–बोइङतिर आकर्षित भएँ । त्यतिबेला यो डान्स अनौठो लाग्थ्यो,’ उनले भने ।
त्यतिबेलै सविन र उनका साथीले मिलेर ‘सेल्फ वाचर एन्ड टे«नर ग्रुप’ बनाएर बी–बोइङ सिक्न र सिकाउन थाले । सन् २०१० मा सरोजसहित कीर्तिपुरका नौजना युवाले ‘ब्वाइज अफ कीर्तिपुर’ नामबाट सुरु गरेको यो बी–बोइङ यात्रा सन् २०११ देखि ‘द कार्टुन्ज क्रिउ’मा बदलियो । उनको समूहमा बी–ब्वाइ मात्र छैनन्, बी–गर्ल पनि छन् । ठाउँठाउँमा आफ्नो कला देखाउन कार्टुन्ज समूह पुग्ने गर्छ ।
बी–बोइङ फ्री–स्टाइलको डान्स भएकाले युवामाझ लोकप्रिय भएको एभरेस्ट क्रिउका अरविनको बुझाइ छ । ‘आफ्नै स्टाइलले नाच्न सकिने भएकाले धेरै युवाले यसलाई मन पराएका हुन्,’ उनले भने । बी–बोइङ गर्दा होसियारी अपनाउनुपर्ने अरविन बताउँछन् । ‘नत्र, आफ्नै ज्यान दुर्घटनामा पर्ने खतरा हुन्छ,’ उनले भने ।  
बी–बोइङको प्रवद्र्धनका लागि एभरेस्ट क्रिउले बर्सेनि ‘एभरेस्ट जाम’ प्रतियोगिता गर्दै आएको क्रिउका सदस्य निशान्त गौचनले जानकारी दिए । समूहका अर्का सदस्य रूपेश श्रेष्ठले बी–बोइङ बिस्तारै व्यावसायिक बन्न थालेको बताए । ‘पहिला प्यासनले सुरु गरेका हौँ,’ उनले भने, ‘अब यसलाई प्रोफेसन नै बनाउने सोच छ ।’
कार्टुन्ज क्रिउका लिडर सविन पनि यो डान्स बिस्तारै व्यावसायिक बन्दै गएको बताउँछन् । उनका अनुसार समूहले एउटा शोको १० देखि ५० हजार रुपैयाँसम्म पाउँछ । कार्टुन्ज क्रिउमा सविन कार्की, सरोज र आस्मा विश्वकर्मा, विकास राई, लाक्पा लामा, राम गुरुङ र सुविन चौहान छन् । कार्टुन्ज क्रिउले २०१५ मा चीनमा भएको ‘वल्र्ड लिजर गेम’मा सहभागिता जनाएको क्रिउ लिडर कार्कीले बताए ।
नेपाल हिपहप फाउन्डेसनका सिनियर इन्ट्रक्टर जेनिशा महर्जन हिपहप र बी–बोइङ कसैको लहलहै र आवेगमा गरिने डान्स नभएको बताउँछिन् । ‘यसमा सावधानी अपनाउनुपर्छ । नत्र, चोटपटक लाग्न सक्छ,’ उनले भनिन्, ‘यो माइन्ड गेमजस्तै हो । शारीरिक र मानसिक रूपमा तयार हुनुपर्छ यसमा ।’
सोलमेट क्रिउका सदस्य तथा गण्डकी बी–बोइङ पोखराका निर्देशक मनोज तामाङका अनुसार काठमाडौँ बाहिरका युवाले पनि बी–बोइङ फलो गर्न थालेका छन् । ‘मेला–महोत्सवमा स्टेज पाउँदै आएका छौँ,’ उनले भने, ‘आम्दानी बढ्न थालेको छ । जसले बी–बोइङलाई व्यावसायिक बनाउँदै छ ।’
क्लोन फ्युजन ब्याटल फोर्सका क्याप्टेन सुमन वाइवाले टिन एजर मानसिक र शारीरिक मुभले आकर्षित हुने गरेको बताए । उनको समूहमा सुमनसँगै दिनेश लामा, सुजन वाइवा, रोजन, कमल मगर, सुरेश तामाङ, शिखर सुब्बा र बेलेजविभूषण राई र सविन रानामगर छन् । हाल बी–बोइङ धरान, पोखरा, दमक, बुटबललगायत शहरका किशोरकिशोरीको मुख्य आकर्षण बन्दै गएको छ ।
बी–बोइङ एक प्रकारको ब्रेक डान्स हो । खासमा यो स्ट्रिट डान्स हो । यो फ्री स्टाइलमा गरिन्छ । जसमा कुनै सीमा र परिधि छैन । यसको सुरुवात १९७० को दशकमा भएको मानिन्छ । यो ज्याज, हिपहप र फंक म्युजिकमा डान्स गरिन्छ । जुन बिस्तारै संसारभर फैलिएको हो । बी–बोइङमा चार प्रकारमा मुभमेन्ट हुन्छन् । ती हुन्, टप रक, डाउन रक, पावर मुभ र फ्रिजी । तन्नेरीहरूले अन्य विविध स्टाइल अपनाएर पनि नाच्छन् ।
 

 

Leave A Comment