मुम्बई । फिल्मी सपनाको कारखाना । बलिउड भनिने यहाँको फिल्मी कारखानामा भाग्य परीक्षणका लागि पुगेकाहरु कतिपय गुणस्तर उत्पादक बनेर निस्कन्छन् भने कति ड्यामेज माल बन्न पुग्छन् ।
भारतीय कलाकार मात्रै हैन, अब्बल कलाकार बन्न चाहने गैर भारतीय कलाकारमाझ पनि यो सपनाको सहरको क्रेज उस्तै छ । खुला सीमा, सहज आवतजावत, अनि केही नेपाली कलाकारको सफल यात्राले अन्य गैर भारतीयझैँ धेरै नेपाली कलाकारको पनि सपना हो– बलिउड ।
बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे नेपाली त्यहाँ पुगिरहेका छन् । नवप्रवेशीसँगै नेपाली फिल्मी क्षेत्रमा जमिसकेका कलाकार पनि बलिउडमा पटक पटक ट्राइ मार्न पुगिरहन्छन्, मुम्बई ।
जो भाग्य परीक्षणमा छन्
आधा दर्जन जति नेपाली फिल्ममा काम गरिसकेकी अभिनेत्री सुरबिना कार्की एक वर्षयता मुम्बईमा भाग्य परीक्षणमा व्यस्त छिन् । सानो–ठूलो जस्तोसुकै रोल होस् तर बलिउडमा छिरेरै छाड्छु भन्ने अठोट लिएर स्टुडियो धाइरहेकी छन् ।
आफूलाई तिखार्न उनले भारतीय अभिनेता अनुपम खेरको एक्टिङ स्टुडियोमा तीन महिना अभिनय पनि सिकिसकिन् । एकादुई हिन्दी विज्ञापनमा काम पनि पाइन् । सोनी टेलिभिजनबाट प्रसारण हुने ‘दिल हि तो है’मा दुई एपिसोड चिकित्सकको भूमिकामा झुलुक्क देखिइन पनि तर अझै उनको सिक्का जमिसकेको छैन ।
‘बलिउड छिर्ने सपना कहिले साकार हुन्छ त्यो त भन्न सक्दिनँ तर प्रयास जारी छ,’ मुम्बईमा रहेकी उनले शुक्रवारसँग फोनमा अठोट सुनाइन्, ‘मुम्बईले मसँग कति समय लिन्छ, लियोस् तर म हार खादिनँ । प्रयास गरिरहन्छु । ’
अवसरको खोजीका लागि अहिले उनी मुम्बईको जेली बेन एक्टर्स एजेन्सीमा संलग्न भइसकेकी छन् । अहिलेसम्म जति काम पाइरहेकी छन्, एजेन्सीमार्फत् नै पाइरहेकी छन् ।
हिन्दी फिल्ममा खेल्नका लागि हिन्दी लवज राम्रो हुनैप¥यो । त्यसैले अहिले उनी हिन्दी भाषा पनि सिकिरहेकी छन् ।
‘बलिउड छिर्न सजिलो छैन तर असम्भव पनि छैन,’ उनले भनिन्, ‘समय लाग्ला तर एकदिन सपना पूरा होला भन्ने आशा छ ।’
नेपालका लोकप्रिय हास्य अभिनेता विल्सनविक्रम राई सुरबिनाजस्तै मुम्बईमै फ्ल्याट लिएर त बसेका छैनन् तर नेपालबाटै अवसर छोप्न निरन्तर प्रयासमा भने छन् ।
उनले दुई वर्षअघि बलिउड अभिनेत्री विपाशा बसुसँग ‘भाई मस्ट बि क्रेजी’ नामक फिल्म खेल्ने चर्चा थियो । साइनिङ अमाउन्ट पनि पाइसकेका थिए । सुटिङका लागि युरोपको भिषा पनि लागिसकेको थियो तर पछि विपाशाले बिहे गरेका कारण फिल्म नै ‘ड्रप’ भयो ।
त्यसको एक महिनालगत्तै विल्सनले अर्को बलिउड फिल्म ‘बोडी बलिका ब्रुस्ली’ फिल्ममा चान्स पाए । सुटिङ सकिएकै दुई वर्ष भइसक्यो तर रिलिज अझै जुरेको छैन ।
‘मंगोलियन अनुहारको बुडो पनि सुहाउने, तन्नेरी पनि सुहाउने खालको क्यारेक्टर चाहिएको रहेछ, त्यसैले मैले चान्स पाएँ,’ विल्सनले सुनाए, ‘तर फिल्म अझै रिलिज भएको छैन । पहिलो फिल्म, त्यो पनि ढिलो हुँदा मनमा चस्स चैँ हुनेरै’छ ।’
उनी सुरबिनाझैँ गुन्टै कसेर भारतीय सहर मुम्बई पुगेका छैनन् । आतेजाते भने गरिरहेका छन् ।
‘म यताको सानो खोलाखोल्चीमा पौडिन जानिसकेको छु, बलिउड भनेको समुन्द्र हो,’ उनले भने, ‘त्यहाँ पौडी खेल्ने तरिकै फरक छ । कतिखेर सुनामी आउँछ, त्यो पनि पत्तै हुन्न । पौडिन सक्दिनँ भन्ने भयले मुम्बईमै बसेर संघर्ष भने गरिएन ।’
बलिउडका दर्जन बढी फिल्ममा काम गरिसकेका अभिनेता सुनील थापाका कारण विल्सनलाई बलिउडमा अडिसन दिन भने सजिलो भइरहेको रहेछ । कारण– बलिउडका धेरै कास्टिङ डाइरेक्टरकोमा उनको पोर्टफोलियो (प्रोफाइल) पुगेको रहेछ ।
भन्दै थिए, ‘म यतैबाट पनि अडिसन दिइरहेको हुन्छु । उनीहरुले खोजे अनुसारका तस्बिर र भिडियो पठाइरहेको हुन्छु । के थाहा, कुन दिन ज्याक लागिहाल्छ कि !’
विल्सनको अनुभवमा बलिउडमा प्रवेश गर्न सजिलो छैन । एउटा फिल्म खेलेर त त्यहाँ दर्शकमाझ मात्रै नोटिस्ड भइन्छ, फिल्ममेकर्समाझ चिनिन त दुई–तीन वटटा फिल्म खेल्नैपर्छ ।
उनले भने, ‘त्यहाँ कास्टिङ डाइरेक्टरले कलाकार छान्ने हो । जबसम्म फोन नम्बर कास्टिङ डाइरेक्टरले आफ्नो ठूलो डायरीबाट मोबाइल (डिजिटल डायरी)मा टिप्दैन, बलिउडमा टिक्न सकिँदैन ।’
विल्सनको अनुभवमा त्यहाँ कसैले केही को–अपरेट गर्नेवाला छैन । भन्दै थिए, ‘त्यहाँ कसैको पावरले केही लाग्नेवाला छैन । त्यहाँ कामले नै जित्ने हो । मेरो त्यहाँ विजय राजहरु जस्ता कलाकारसँग राम्रो चिनजान छ तर उनीहरुले पनि प्रोफेसनल कुरा नगर भन्छन् । तँ काम गर्न चाहन्छस् भने एजेन्सीमार्फत् आइज भन्छन् । तँ नेपालको ठूलो सेलिब्रिटी होस्, तैँले आफैँ डिल गर्दै हिँड्ने होइन, एजेन्सीलाई समात्ने हो भन्छन् ।’
मुम्बईमै बसेर बलिउड प्रवेशको मौका ढुकिरहेकी अर्की नेपाली नायिका हुन्, अदिती बुढाथोकी । नेपालमा केही फोटोसुट र र्याम्प सो गरेपछि भारतको मोडलिङ एजेन्सीसँग जोडिन पुगेकी उनी बलिउडभन्दा अगाडि नेपालकी अभिनेत्री भइन्, अनमोल केसीको ‘कृ’मार्फत् । उनको सपना पनि बलिउड नै हो । एक भारतीय अनलाइनले ‘सन्नी लियोनभन्दा हट’ भनेर लेखेपछि भारतमा चर्चा बटुलेकी उनले केही पञ्जाबी म्युजिक भिडियोमा काम गरिसकिन् । उनको लागि बलिउडको ढोका खुल्नु अगाडि तेलुगु भाषाको भारतीय फिल्ममा अनुबन्धित भएकी छन् ।
मुम्बईको मोडलिङ एजेन्सीसँग भने उनी आफ्नो मुम्बईमा बस्ने कजन दिदीमार्फत् जोडिएकी हुन् । दिदीकी साथी मेजोरा मुम्बईमा मोडलिङ एजेन्सीका म्यानेजर रहेछन् । दिदी नेपाल घुम्न आएका बेला उनलाई एजेन्सीमा जान सल्लाह दिइन् । उनले त्यहाँ तीन महिना काम गरिन् । लगत्तै मुम्बईकै अर्को तोहाब मोडलिङ एजेन्सीले उनलाई पाँच वर्षका लागि अग्रिमेन्ट ग¥यो । हाल उनी त्यही एजेन्सीमार्फत् काम गरिरहेकी छन्
।
‘मैले जति पनि म्युजिक भिडियो र क्याम्पेनहरू गरेँ, त्यो सबै एजेन्सीमार्फत् नै हो,’ उनले भनिन्, ‘एक्लै त त्यहाँ धेरै गाह्रो हुन्छ । सबै म्यानेजरले ह्यान्डल गर्ने हो । हामी त एकैचोटी सुटमा गएर काम गर्ने हो ।’
नेपालमा लोकप्रिय युवा अभिनेता अनमोल केसी पनि बलिउड प्रवेशको तयारीमा छन् । शुक्रवारसँगको कुराकानीमा उनले ट्रेकिङको कथामा आधारित बलिउड फिल्ममा अफर आएको बताए । उनका अनुसार अर्को वर्ष फिल्म खेल्ने मौखिक सम्झौता भइसकेको छ ।
‘मलाई मुम्बईबाटै स्टडी गरिरहनुभएको रहेछ,’ उनले भने, ‘अदिती (बुढाथोकी) मुम्बईमा संघर्ष गरिरहेको छ । उसलाई पनि थाहा रहेछ, त्यहाँको मोडलिङ एजेन्सीमा मेरो एक खालको हल्ला भइरहेको रहेछ । सायद युट्युबले गर्दा होला । मेरो नेपालको क्रेज देखेर बलिउड मुभीका लागि खेल्ने अफर लिएर घरमै आउनुभएको थियो । त्यो फिल्मका लागि ८–९ महिना त तालिम नै लिन्छु । डेब्यु भएपछि राम्रैसँग हुने सोच छ ।’
एकताका नेपालमा एकछत्र राज गरेकी अभिनेत्री निरुता सिंह पनि अहिले मुम्बईमा बस्छिन् । नेपालमा जमेकी उनले बलिउडमा ट्राइ गरिरहेको वर्षौं भयो तर अहिलेसम्म प्रतिफल देखिएको छैन ।
जो ‘हारेर’ फर्किए
धेरै नेपाली कलाकारहरु बलिउडको सपना बुनेर मुम्बई पुगे । कोही एकादुई फिल्ममा स–सानो भूमिकामा चित्त बुझाएर फर्किए । कोही अडिसन दिँदादिँदा नहुनेरैछ भन्दै सपना त्यागेर फर्किए ।
नेपाली फिल्ममा प्रमुख भूमिकामा देखिएकी अभिनेत्री गौरी मल्ल आठ वर्षअघि बलिउड फिल्म ‘इश्किया’मा सानो भूमिकामा देखिएकी थिइन् । उनको बलिउड यात्रा त्यत्तिमै रोकियो ।
‘सुनील थापा मेरो राम्रो साथी हुनुहुन्छ । म जापानबाट फर्किसकेपछि काम नगरी बसिरहेकी थिएँ । त्यतिबेलै उहाँले एउटा सिनेमाका लागि नेपाली मूलको क्यारेक्टर चाहिएको र मलाई सुहाउने भन्दै अफर गर्नुभयो,’ उनले भनिन्, ‘ विशाल भारद्वाजको ब्यानर भनेपछि ओके गरेँ । अडिसन दिएँ । ओके भयो । अनि वर्कसपमा गएँ । त्यहाँ सानो–ठूलो जस्तो भूमिका भए पनि निकै मिहिनेत गरिँदोरहेछ । त्यो देखेर म प्रभावित भएँ ।’
नेपालमा सदाबहार अभिनेत्रीको छवि बनाएकी करिश्मा मानन्धरले पनि कुनैबेला आफूलाई बलिउडमा नउभ्याएकी होइनन्, तर सफल हुन सकिनन् । सुनील अग्निहोत्रीले २५ वर्षअघि निर्देशन गरेको बलिउड फिल्म ‘दंगाफसाद’मा उनले प्रमुख भूमिका निर्वाह गर्ने अवसर पाइन् ।
त्यो फिल्ममा उनी स्विमिङ सुटमा समेत देखिएकी थिइन् तर विडम्बना उनको बोल्ड अभिनयले बलिउडलाई तताउन सकेन । करिश्माको बलिउड यात्रा त्यत्तिमै रोकियो, त्योभन्दा अघि बढ्न सकेन । बलिउडमा करिश्माको इन्ट्रीले कुनै करिश्मा देखाएन ।
केही हिन्दी फिल्ममा समेत अभिनय गरिसकेका नेपालका वरिष्ठ अभिनेता टीका पहाडीका छोरा गौरव पहाडी (नेपाली अभिनेता)ले समेत बलिउड छिर्नलाई अनेक प्रयत्न नगरेका होइनन् । पढाइमा स्नातक गरेपछि बुबाकै अनुमति लिएर उनी मुम्बईको एक्टिङ स्कुलमा पढ्न गए ।
मुम्बई पुग्नुअघि उनले नेपालमा एक–दुइटा म्युजिक भिडियो गरेका थिए । टिभीमा प्रोगाम प्रोड्युसरका रूपमा पनि काम गरे । मुम्बईमा एक्टिङ स्कुल भर्ना भएको पहिलो दिन नै उनलाई सरले एक्टिङ गर्न लगाएछन् । थुप्रै विद्यार्थीमाझ उनले साथीहरूबीच मनमुटाव भएको अवस्थामा झगडा गर्नुपर्ने सिनमा जानी–नजानी अभिनय गरे ।
‘सरले राम्रै भनेर प्रशंसा गरे,’ उनले सुनाए, ‘त्यही दिन मलाई केही गर्न सक्ने रहेछु भन्ने महसुस भयो ।’ छ महिनाको एक्टिङ कोर्सपछि स्कुलबाट ‘बेस्ट इन्टेन्स एक्टर’को उपाधिसमेत पाए ।
छ महिना एक्टिङ सिकेपछि उनी बलिउडमा छिर्नकै लागि साढे तीन वर्ष मुम्बईमा भौँतारिए । सयौँको संख्यामा अडिसन दिए । सबै कुरामा पास हुन्थे तर डायलग डेलिभरीमा नेपाली टोन आएपछि उनी फ्याँकिन्थे ।
मुम्बईमा दिनचर्या चलाउनलाई केही न केही कमाइखाने भाँडो त हुनुपथ्र्यो । कति घरबाट पैसा माग्ने ? उनमा तनाव सुरु भइसकेको थियो ।
‘खासमा म धैर्यको सीमा पार गरेर फ्रस्ट्रेसनको लेभलमा पुग्न लागेको थिएँ,’ उनी सम्झन्छन्, ‘त्यहाँ फिल्ममा काम गर्नु साँच्चै गाह्रो कुरा थियो । उता निराश भइरहेकै बेला नेपालबाट ‘मञ्जरी’ फिल्मको अफर आयो । अनि यता फर्किएँ ।’
अभिनेता प्रमोद अग्रहरि पनि सन् २००७ तिर ठूलै एक्टर बन्ने धोको बोकेर मुम्बईसम्म पुगे । थुप्रै नाटकहरु गरे । दुइटा भोजपुरी फिल्ममा काम गरे तर उनले चाहेजस्तो ‘ठूलो एक्टर’ भने बन्न सकेनन् ।
‘मेरो टार्गेट भोजपुरी फिल्म नै थियो,’ उनले भने, ‘मुम्बईमा रहँदा डेढ–दुई सय वटा हिन्दी फिल्म र सिरियलमा अडिसन दिएँ होला ।
त्यहाँ सबै पैसाको खेल रहेछ । मेरो औकातभन्दा माथिको रहेछ बलिउड ।’
भारतमा रहँदा उनले सैफ अली खानको फिल्म ‘एजेन्ट विनोद’मा समेत अडिसन दिएका थिए । सुनाउँदै थिए, ‘ड्रेस कोडका रूपमा सुट लगाएर आउनू भनिएको थियो । मसँग सुट थिएन । त्यसकारण जान सकिएन ।’
अरु धेरै नेपाली कलाकारहरु छन्, जसले कुनै न कुनै हिसाबले बलिउडमा नाच्ने सपना देखे । झरना बज्राचार्य, दिलिप रायमाझी, निखिल उप्रेती, विराज भट्टलगायत केही चर्चित नाम हुन् । विराज त बलिउडकै नभए पनि भोजपुरी फिल्मका स्टार भइसके । अरुको हविगत न नेपालमा राम्रो भयो, न बलिउडले पत्यायो ।
अवसर पाए तर टिकेनन्
मनीषा कोइराला मात्रै एक अपवाद हुन्, जसले नेपालबाट बलिउडमा स्थापित अभिनेत्रीको परिचय बनाइन् । मनीषाबाहेक केही लोकप्रिय नेपाली कलाकारले पनि बलिउडमा राम्रो मौका नपाएका होइनन् तर त्यसले उनीहरुलाई त्यहाँ चम्काउन भने सकेन ।
सुनील थापा ‘राते काइँला’ एउटा त्यस्तै उदाहरण हुन् । दर्जन बढी हिन्दी फिल्ममा काम गरिसकेका उनले सन् १९८१ मै बलिउडको अवसर पाएका हुन्, फिल्म ‘एक दुजे के लिए’ मार्फत् । त्यो मार्केटमा चल्यो पनि । सन् २०१४ मा उनले बलिउड स्टार प्रियंका चोपडाको कोचको भूमिकामा ‘मेरी कोम’ फिल्ममा अवसर पाए । त्यो उनको करिअरकै ठूलो उपलब्धि थियो । नोटिसेबल भूमिका पनि थियो । तर त्यो फिल्मपछि उनी बलिउडमा देखिएका छैनन् ।
एउटा फिल्म भने जनवरीमा रिलिज हुने तयारीमा छ, ‘खामियाजा’ । फेब्रुअरीमा अर्को हिन्दी फिल्म ‘हैदर पण्डित’को सुटिङ पनि गर्दैछन् तर ‘मेरी कोम’ जस्तो ठूलो ब्यानर हात परेको छैन ।
उनलाई लाग्छ, अवसर भनेको भाग्यको खेल हो । ‘मैले बलिउडमा देवानन्दलाई भेटेपछि चान्स पाएँ,’ उनले बेलिबिस्तार लगाए, ‘उहाँलाई मेरो फेस इन्ट्रेस्टिङ लाग्यो अनि चान्स दिनुभयो । समयभन्दा पहिला र भाग्यभन्दा अघि कोही पनि चल्न सक्दैन । भाग्यले साथ दिएपछि फेरि राम्रो ब्यानरमा काम गर्नेछु । तपाईंलाई थाहै होला, मेरो लक्ष्य एकदिन दौरा सुरवाल लगाएर अस्कर अवार्डमा पुग्ने हो ।’
रणवीर कपुरको ‘बर्फी’ फिल्ममा नेपाली कलाकार भोला सापकोटाले पनि राम्रो भूमिका पाएका थिए । तैपनि उनी बलिउडमा चम्किन सकेनन् । अहिले नेपालतिरै छन् उनी ।
किन गाह्रो छ बलिउड
क्षमता भएका गैरभारतीय कलाकारको दबदबा बलिउडमा बढ्दो छ । क्याटरिना कैफ, सन्नी लियोनी, एमी ज्याक्सन, ज्याक्लिन फर्नान्डेज, नर्गिस फखरी, इली अब्राहम, बारबरा मोरी लगायतकाको बलिउड प्रवेश सुखदै भइरहेको छ तर सबै भाग्यमानी कहाँ हुन्छन् र ?
गैर खान्दानी भारतीय फिल्मकर्मीकै लागि समेत बलिउडको ढोकाभित्र प्रवेश गर्न निकै कठिन हुन्छ । स्टार अभिनेता रणवीर सिंह हुन् या अहिलेका स्टार अभिनेत्री कंगना रनावत, बलिउडमा जम्न निक्कै पापड बेलेका थिए उनीहरुले । खानदानी फिल्मकर्मीको बेग्लै कुरा, अन्यको हकमा प्रतिभासँगै सम्बन्ध र सम्पर्क उत्तिकै महत्वपूर्ण हुन्छ बलिउडमा ।
यहाँको जस्तो निर्माता, निर्देशकसँग सिधै सम्पर्क सम्भव हुन्न त्यहाँ, जे गर्छन् एजेन्टले गर्छन् । एजेन्टमार्फत् कास्टिङ डाइरेक्टरसम्म पुग्नै हम्मेहम्मे हुन्छ । त्यसपछि हो, क्यारेक्टर अनुसारको व्यक्तित्व, अडिसन, भाषा सबको परीक्षण ।
यी सबैमा उत्तीर्ण भए पनि निर्माताको विश्वास जित्नु आवश्यक छ । अपवाद छाड्ने हो भने बलिउड बजारमा फेस भ्यालुकै दबदबा छ । निर्माता सकेसम्म नयाँलाई चान्स दिएर रिस्क उठाउन चाहँदैनन् नै । त्यसमा पनि गैरभारतीय कलाकारलाई दर्शकले अस्वीकार गर्ने जोखिम उत्तिकै हुन्छ ।
नेपाली कलाकारको बलिउड यात्रा नियाल्दा अभिनय क्षमता, सम्पर्क र आर्थिक पाटो, यी तीन कारणले नेपाली कलाकार बलिउडमा टिक्न नसकेको देखिन्छ । कोही केही अगाडि बढे पनि भाषाको समस्याको मारमा पर्ने गरेका छन् ।
नेपाली कलाकारको खोजी नहुने हैन, नेपाली मूलका भारतीय कलाकार उतै छन् । उस्तै परे नेपालीभाषी भारतीय कलाकारले पनि सहजै अभिनय गरिदिन्छन् ।
‘बलिउडमा तपाईंले काम पाउनुहुन्न भन्ने ग्यारेन्टी पनि हुँदैन, पाउनुहुन्छ भन्ने ग्यारेन्टी पनि हुँदैन,’ सुनील थापा भन्छन्, ‘त्यो ठूलो समुद्र हो, त्यत्ति सहजै अवसर मिल्दैन ।’
आर्थिक रुपमा बलियो नभई टिक्न मुस्किल हुने अग्रहरिको अनुभव छ, भन्छन्, ‘त्यहाँ त सीधै ‘पैसा छ त ठीक छ, नत्र केही काम छैन’ भन्थे दलालहरू ।’
गौरवको निष्कर्ष अलि भिन्न छ । यो निष्कर्ष चैँ उनले नेपाल आएर निकालेको देखिन्छ । उनी ट्यालेन्ट भन्दा सम्बन्ध महत्वपूर्ण हुने बताउँछन् ।
‘अहिले पनि बलिउडमा आएका नयाँ कलाकार हेर्नुस्, कि त उनीहरू कसैका छोरा छन् या कसैका भाञ्जा–भाञ्जी,’ उनले भने, ‘हामीजस्ता त त्यहाँ कति हुन्छन् कति !’
उनले भनेको सत्य पनि देखिन्छ । बलिउडमा लामो समयदेखि काम गरिरहेका निर्माता, निर्देशक या कलाकारका दोस्रो पुस्ताले सहजै बिग ब्यानरमा डेब्यु गरिरहेका छन् । हालसालै पनि सैफ अली खानकी छोरी सारा अलि खानले बिग ब्यानरबाट डेब्यु गरिन् । बोनी र श्रीदेवीकी छोरी जान्हवीको पहिलो फिल्म नै ‘धडक’ थियो । यस्ता धेरै कलाकार छन् ।
तर चान्स पाउनु एउटा पाटो हो भने टिक्नु अर्को । सम्बन्धका आधारमा मौका पाए पनि क्षमता नभए सहजै हराइहाल्छन् । यस्ता उदाहरणहरु पनि टन्नै छ ।
बलिउडकी सफल अभिनेत्री मनीषा कोइराला भने असम्भव भन्ने केही नभएकोे बताउँछिन् । ‘गरेर नै छाड्छु भन्यो भने बलिउड त के हलिउडमा पनि पुग्न सकिन्छ,’ उनले शुक्रवारसँग भनिन्, ‘क्षमता हुनुपर्छ, निरन्तर प्रयास गर्नुपर्छ । जिन्दगीमा सफल हुनु छ भने धैर्य पनि हुनुपर्छ । रिस्क लिन सक्नुपर्छ । सेलेक्ट नभइञ्जेलसम्म अडिसन दिइरहन सक्नुपर्छ ।’
‘धैर्य भएर अडिसन दिइरहनुपर्छ’
मनीषा कोइराला
बलिउड अभिनेत्री
जीवनमा असहज के छ र ? हामी मनुष्यमा एकदमै धेरै ताकत हुन्छ । बस्, हामीले त्यो ताकतलाई प्रयोग गरिराखेका छैनौँ, चिनिरहेका छैनौँ । ‘गरेर नै छाड्छु’ भन्यो भने बलिउड त के हलिउडमा पनि पुग्न सकिन्छ ! क्षमता हुनुपर्छ, निरन्तर प्रयास गर्नुपर्छ, धैर्य हुनुपर्छ अनि असम्भव भन्ने कुरा केही पनि छैन ।
म बलिउड छिर्नका लागि १० स्टेप टाइपको कुनै म्याजिकल स्टेप त भन्न सक्दिनँ तर सफल हुनका लागि चाहिने सबैभन्दा ठूलो अस्त्र भनेकै कडा परिश्रम हो । फलको आशा नगरी तपाईं निरन्तर लक्ष्यमा लाग्नुभयो भने अवश्य सफल बन्नुहुन्छ ।
मैले १८ घण्टा लगातार काम गरेकी छु, १०४ डिग्रीको टेम्प्रेचरमा सुटिङ गरेकी छु । अवसरलाई मान्छेले समात्न जान्नुपर्छ । कलाकार बन्ने हो र आफू गर्न सक्छु भन्ने आत्मविश्वास छ भने तपाईंले कास्टिङ डाइरेक्टरहरुलाई भेट्नुपर्छ । उनीहरुले नयाँ अनुहार किन खोजेको हो ? कस्तो क्यारेक्टर खोजेको हो ? त्यो बुझेर अडिसनमा त्योभन्दा बढी दिन सक्नुभयो भने तपाईंलाई नलिइकन उसले कसरी धर पाउँछ ?
अर्को कुरा, अडिसन दिन हिच्किचाउनु हुँदैन । म त पहिल्यै चिनिसकेको कलाकार अर्थात् मैले पहिल्यै फिल्म खेलिसकेको कलाकार भनेर अडिसन दिन अप्ठेरो मान्नुहुँदैन । मैले पहिलो फिल्म ‘सौदागर’ गरिसकेपछि मलाई सुभाष घई (बलिउड निर्देशक)ले अब स्क्रिन टेस्ट दिएर फिल्म नखेल भन्नुभएको थियो तर मैले गुपचुप विनोद चोपडाको फिल्म ‘१९४२ः अ लभ स्टोरी’का लागि अडिसन दिएँ । अडिसन दिएको सुरु दिन मलाई विनोद सरले भन्नुभयो, ‘यु आर भेरी ब्याड एक्टर ।’
त्यस्तो प्रतिक्रिया सुनेपछि त मलाई भाउन्न भएर आयो । हार त मलाई स्वीकार नै भएन । मैले अर्को दिन अडिसन दिन्छु भनेर अर्को एक मौका मागेँ । घरमा गएर आमा तर्सिनेगरी प्राक्टिस पनि गरेँ । भोलिपल्ट फेरि अडिसन दिएँ । अनि विनोद सरले भन्नुभयो, ‘हिजो जीरो दिएकी थियौँ, आज हन्ड्रेड दियौँ ।’
जिन्दगीमा सफल हुनुछ भने धैर्य हुनुपर्छ । रिस्क लिन सक्नुपर्छ । सेलेक्ट नभइन्जेलसम्म अडिसन दिइरहन सक्नुपर्छ ।
‘बलिउड धेरै ठूलो समुन्द्र हो’
सुनील थापा,अभिनेता
बलिउडमा चान्स पायो भने कसैले पनि मिस गर्दैन । मेरो विचारमा बरु नेपालमा काम पाउन गाह्रो छ तर बलिउडमा छैन । पाउनका लागि ६ महिना मुम्बई बस्नैपर्छ । किनभने बलिउड भनेको धेरै ठूलो समुद्र हो । त्यहाँ कास्टिङ डाइरेक्टरले अडिसन लिइरहेको हुन्छ । कास्टिङ डाइरेक्टरहरु हुन्छन् । दिनहुँ १०–१५ हजारले त्यहाँ अभिनयका लागि अडिसन दिइरहेका हुन्छन् । अचेल युट्युब, गुगलमार्फत् खोजेर सम्पर्क गर्न पनि थालेका छन् । बलिउडमा तपाईंले काम पाउनु हुन्न भन्ने ग्यारेन्टी पनि हुँदैन, पाउनुहुन्छ भन्ने ग्यारेन्टी पनि हुँदैन । क्षमतै छैन भने त किन प्रयास गर्नु ? तर यति कन्फिडेन्ट हुनुहुन्छ भने ट्राई गरिरहनुस् । एक दिन अवश्य सफल भइएला तर सफलताका लागि हतारिनु भने हुँदैन । बलिउडमा छिर्नका लागि धैर्य एकदमै ठूलो आवश्यकता हो ।
‘हेप्छन् भन्ने मानसिकता बोकेर जान्छौँ’
सम्पदा मल्ल,हिन्दी सिरियल राइटर
खोई राजनीतिक कारणले हो कि अरु नै केही, हामी नेपाली भारतमा काम गर्न जाँदा ‘इन्डियाले हेप्छ’ भन्ने मानसिकता बोकेर जान्छौँ । यस्तै साइकोलजिकल डरका कारण पनि हामी पछाडि परिरहेका छौँ । यस्तो डर ममा पनि थियो तर जब काम सुरु गरेँ, डर हटेर गयो । उनीहरुले देश हेर्दैनन्, काम हेर्छन् । यो मेरो अनुभव हो । ट्यालेन्ट र क्षमता छ भने हेप्ने कुरै हुँदैन । अझ क्षमता छ भने त उनीहरुले इन्डियनलाई भन्दा नेपालीलाई प्राथमिकता दिएको देखेकी छु ।
नेपाली मात्र होइन, संसारको जुनसुकै ठाउँबाट कलाकार बन्ने लक्ष्य बोकेर मुम्बई पुग्नेको प्रक्रिया भनेकै अडिसन हो । त्यहाँ हजारौँ, लाखौँको भिड हुन्छ अडिसनका लागि । विशेषगरी हाम्रा नेपाली कलाकार त्यहाँ चुक्ने भनेकै लुक्स र भाषामा हो । शुद्ध हिन्दी बोल्न नसक्दा चिप्लन्छौँ । इन्डियामा इन्डियन फेस नै खोजिन्छ । फेस म्याच नहुँदा नेपालीले चान्स कम पाउँछन् । मनीषा कोइरालाकै कुरा गर्ने हो भने पनि उहाँ बनारसमा हुर्किएकाले हिन्दी भाषा राम्रो भयो । लुक्स पनि इन्डियन छ ।
अर्को यथार्थ, धेरै नेपाली मुम्बईमा पर्दा पछाडि कार्यरत छन् । डाइरेक्टरदेखि प्राविधिकसम्म धेरैले त्यहाँ काम गरिरहेका छन् तर मिडियासँगको कनेक्सन नहुँदा तिनको कामको प्रचार नभएको मात्र हो ।
बाहिरबाट मुम्बई पुग्नेलाई संघर्षको बेला अर्को समस्या पर्ने भनेको आर्थिक पनि हो । त्यही कारण कतिपय फर्किन्छन् । तर काम पाउन थालेपछि भने क्षमताले जित्छ र सबै ठीक हुँदै जान्छ ।
Leave A Comment