क्रिसमस क्रेज ः समभाव कि अतिक्रमण

बुधबार, ११ पुष २०७५, ०७ : २९ उपेन्द्र खड्का
क्रिसमस क्रेज ः समभाव कि अतिक्रमण

धर्मको आँकडा हेर्ने हो भने नेपाल हिन्दू बाहुल देश हो । तर चाडपर्वको उत्साह र रौनकमा धर्मले बाधा पुर्याउँदैन यहाँ । दसैं तिहार त भइगयो, अन्य धार्मिक समुदायले मनाउने क्रिसमस होस् या अन्य पर्व त्यसमा पनि मज्जाले सहभागी हुन्छन् हिन्दू पनि ।

त्यसैले त क्रिसमस जति नजिक आउँदैछ, क्रिश्चियन समुदायसँगै गैर क्रिश्चियनहरु पनि उत्तिकै उत्साहित देखिन्छन् । क्रिसमस कसरी मनाउने तयारीमा जुटिरहेको देखिन्छन् गैर क्रिश्चियन पनि ।
बजारमा क्रिसमसको प्रभाव परिसक्यो । सपिङ मल र होटलको आँगनमा क्रिसमस ट्रि झुल्किसके । यस दिन सार्वजनिक बिदा समेत पर्ने भएकाले मनाउन पनि प्रशस्तै फुसर्द निस्कन्छ नै ।
के हो क्रिसमस

क्रिसमस डे भनेको ख्रिसको मास हो । जसलाई ख्रिसको जन्म दिवस भनिने बताउँछन्, डा. डीबी सुनुवार (पास्टर) । 

क्रिश्चियन धर्मावलम्बीले क्रिसमस डे डिसेम्बर २५ मा मनाउँछन् । विशेषगरी क्याथोलिक र प्रोटेस्टेन्ट क्रिश्चियनले क्रिसमस डे मनाउने बताउँछन्, डा.सुुनुवार । 

यशुको जन्म दिवसको रुपमा क्रिसमस डे मनाइन्छ । क्रिसमस आउनुभन्दा १५ दिनअगाडि नै उत्सवका रुपमा ‘क्यारोल’ खेलिने बताउँछन्, डा. सुनुवार । उनका अनुसार यशुको जन्मका बारेमा गाइने गीतलाई क्यारोल भनिन्छ । गीत गाउनुलाई क्यारोल खेल्ने भनिएको हो । क्यारोल घर–घरमा गएर खेलिन्छ । क्रिसमस डेका दिन चर्चमा भेला हुने, मिठा परिकार खानपिन गर्ने, नाचगान गर्ने तथा बाइबलको वचन सुन्ने गरिन्छ ।

बाइबलको शिक्षाअनुसार काटमार गर्न नहुने बताउँछन्, डा. सुनुवार । क्रिसमसमा अष्ट्रिच काट्ने तथा पशुहत्या गर्ने जस्ता कुरा क्रिश्चियनसँग सम्बन्धित नभएको र बाइबलमा पनि उल्लेख नभएको उनको तर्क छ । 

समभाव कि अतिक्रमण

गैर क्रिश्चियन समुदायमा पनि क्रिसमस क्रेज बढ्दो छ । केही धार्मिक गुरु तथा संस्कृतिविद् यसलाई समभावको नजरले हेर्छन् भने केही धार्मिक अतिक्रमण । क्रिसमस धार्मिक पर्व भएकाले गैर धर्मावलम्बीले मनाउन आवश्यक नरहेको तर रमाइलोको लागि मनाउँदा फरक नपर्ने विचार राख्ने र मनाउनै नहुने तर्क गर्ने दुवै पक्ष भेटिए ।
यो समभाव हो या बढ्दो धार्मिक अतिक्रमण त ?

गैरहिन्दू  नेपालीले क्रिसमस डे मनाउनु सामान्य भए पनि धार्मिक तथा सांस्कृतिक अतिक्रमण हुनुलाई भने असामान्य रुपमा लिन्छन्, संस्कृतिविद् डा. गोविन्द टन्डन  । 

नेपालमा क्रिश्चियनले क्रिसमस डे मनाउनु सामान्य भएको तर हिन्दू धर्म अपनाउनेले क्रिसमस मनाउनु धार्मिक र सांस्कृतिक ज्ञानको अभाव कारक रहेको उनको बुझाइ छ ।

‘अरु धर्ममाथि अतिक्रमण भए विचार पु¥याउनु पर्छ । कतिपय विदेशी मुलुकमा क्रिश्चियनिटी तथा अंग्रेजी भाषाको नाममा स्थानीय संस्कृतिको पहिचानसमेत संकटमा परेको छ,’ उनले भने‘ यदि मनोरञ्जनको ध्येय मात्र हो भने त्यत्ति गम्भीर विषय हैन ।’

सह—प्राध्यापक डा. खनाल भन्छन्, ‘प्राचीन परम्पराअनुसार नेपालमा घरमा यज्ञ, होम, होमादि तथा पूजाआजा गरिन्थ्यो र त्यहाँबाट संस्कार सिकिन्थ्यो ।’ गुरुकुल परम्पराबाट संस्कार सिकिन्थ्यो, गुरुकुल परम्परा नष्ट हुनाले विशेषगरी नेपाली युवाले संस्कार सिक्ने अवसर नपाएकाले क्रिसमस डे जस्ता विदेशी धर्मसंस्कृतिप्रति आकर्षित भएको डा. खनालको तर्क छ । सनातन वैदिक परम्पराअनुसार ब्रह्मचर्य आश्रम, गृहस्थ आश्रम, बानप्रस्थ आश्रम र सन्यास आश्रम गरी चार आश्रम हुन्छन् । यी चारै आश्रमबाट महत्वपूर्ण शिक्षा सिकिने बताउँछन्, डा. खनाल । 

नेपालमा एकथरीले मनोरञ्जनका रुपमा क्रिसमस डे मनाउने गरेका र अर्काथरीले क्रिश्चियनिटी बढाउने किसिमको मिश्रित अवस्था भएको बताउँछन्, डा. टन्डन । विशेषगरी उर्जाशील नेपाली युवामा आफ्नो संस्कारप्रतिको ज्ञानको अभावमा लहैलहैमा लागेकाले क्रिसमस डेप्रति आकर्षित हुने गरेको संस्कृतिविद्को चिन्ता देखिन्छ । युवा पुस्तालाई नेपालको वैदिक सनातन धर्मसंस्कृतिका बारेमा नसिकाएकाले पनि विदेशी संस्कृतिप्रति युवा आकर्षित भएको संस्कृतिविद् डा. टन्डन बताउँछन् । 

समुचित परम्परा, शिक्षा, पूर्खा, ऋषिलगायत वंशका बारेमा थाहा नभएकाले पनि विशेषगरी युवाहरु मनोरञ्जनका रुपमा लहैलहैमा लागेर क्रिसमस डेप्रति आकर्षित भएको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा.वासुदेव खनालको तर्क छ । 

‘रमाइलै गर्न नमिल्ने हैन तर आफ्नो परम्परा पनि थाहा पाउनु पर्छ ’ उनले भने । 
नेपालका पाठ्य पुस्तकमा अंग्रेजी भाषालाई प्राथमिकता दिएकाले अंग्रेजी चाड पर्वको प्रभाव र मान्यता बढ्दै गएको डा. टन्डनको तर्क छ । 

‘युवाहरु क्रिसमस डे मनाउने तर नेपालीले नयाँ वर्ष मनाउन रुचि नगर्दा बिस्तारै नेपाली संस्कृतिको लोप हुँदै जान्छ,’ टन्डनले भने, ‘विदेशी संस्कृतिप्रतिको मोहले नेपाली पन लोप हुँदै जान्छ नै युवामा विदेश मोह पनि बढ्दै जान्छ ।’

आफ्नो देशमा केही नहुने तर विदेशमा राम्रो छ भन्ने भान परेकाले युवापुस्तामा विदेशी संस्कृति मोह बढेको प्रियंवदा काफ्लेको तर्क छ ।  

मुस्लिम धर्मविद्को पनि क्रिसमस डेका बारेमा आफ्नै किसिमको व्याख्या छ । इस्लामी संघ नेपालका महासचिव अबुल कलाम कोही मुस्लिम धर्मावलम्बीले क्रिसमस डे मनाउँछन् भने त्यो कसैको लहै लहैमा नमनाएको तर्क गर्छन् ।

कलामका अनुसार इशुमसी (जिससक्राइस्ट) अल्लाहको भक्त थिए । अल्लाहको इशुदूत थिए । इशुमाथि आस्था राख्नु अनिवार्य छ । इशाको प्रार्थना पनि गरिने उनी बताउँछन् । तर आस्थाको मतलब इशुकै नाम जपेर स्वर्ग पुगिन्छ भन्ने मुस्लिमको मान्यता नरहेको कलामको तर्क छ । 

‘हामी पनि इशु मान्छौं तर भगवान्को रुपमा हैन,’ उनले भने‘ इशु दूतको रुपमा मानिन्छ ।  मुस्लिम धर्मावलम्बीले क्रिसमस डे मनाउनु कुनै पनि हिसाबले ठिक हैन ।’
विभिन्न जात जाति तथा धर्म संस्कृति भएको नेपालमा एकले अर्कोको चाड पर्व मनाउनुलाई भने महासचिव कलाम सामान्य रुपमा लिन्छन् । 

विशेष गरी युवापुस्ता मनोरञ्जन गर्ने उद्देश्यले एक अर्काका चाडपर्वमा रमाइलो गर्ने गरेको बनाउँछन्, उनी । कतिपय युवापुस्ता आफ्नो गन्तव्य थाहा नभएर पनि क्रिसमस डे मनाउने प्रवृत्ति रहेको कलामको तर्क छ । पश्चिमा संस्कृतिको आकर्षणका कारणले पनि क्रिसमस डे मनाउने गरेको उनको तर्क छ । 
 

Leave A Comment