उपराष्ट्रपतिको साहस,बामदेवको बदला

बुधबार, ११ पुष २०७५, ०७ : ५० शुक्रवार
उपराष्ट्रपतिको साहस,बामदेवको बदला

उपराष्ट्रपतिको साहस
वास्तवमा हामी नेपाली धेरै नै नेगेटिभ भइसक्यौं । सानो सानो कुरामा पनि खुट्टा तान्न लागिहाल्ने, धारे हात लगाइहाल्ने । राष्ट्रप्रमुखको विषय होस् कि, उपराष्ट्रप्रमुख, सरकार प्रमुख या अन्य, सानो विषयको पनि लम्बेतान आलोचना गर्ने । अनी राम्रो काम गर्दा चै तै चुप चै चुप हुने ।

गत साता उपराष्ट्रपति नन्दबहादुर पुनले निक्कै उदार र साहसिक काम गरे । तर उनका छोरा, उनी निकटका शुभेच्छुक बाहेक अन्यले उनको यो साहसिक कामलाई फैलाउन र किर्ति फिजाउन कुनै योगदान दिएनन् ।

जनताको मुक्तिका लागि एक दशक सशस्त्र संघर्ष गरेका उनलाई जनताको मानको कदर गर्न कसैले सिकाउनु पर्दैन । चिल्ला गाडि, बस्नका लागि समाज कल्याण परिषद्को बंगला उनको इच्छाको विषय हैन । उनी अहिले पनि सर्वसाधारणझै जीवन यापन गर्न तयार छन् । त्यसैको उदाहरण दिएका थिए उनले पैदल हिडेर । यत्रो सुरक्षा चुनौतीका विच उनले उपराष्ट्रपतिको कार्यालयबाट करिव २ सय मिटरको लामो दुरीमा रहेको एक होटलमा सुरक्षाको तामझाम, लावालस्कर केही नगरी लुरुलुरु पैदलै हिडेर साहसिक कामको प्रारम्भ गरेका थिए । 

‘ए १८ करोडको गाडि, डेढ अर्वको हेलिकप्टर’ भन्दै राष्ट्रपतिको खोइरो खन्नेहरुको नजरमा उनको यो महान, एतिहासिक र गौरवशाली कदम पर्नै सकेन । धन्न मिडियाफ्रेन्डली छोरा र शुभेच्छुकहरु छन् र यसो हल्काफुल्का भए पनि २ सय मिटरको दुरीमा पैदलै हिडेको उनको साहसिक तस्विर सार्वजनिक भयो र साहसिक कामको हल्का तारिफ हुनसक्यो । उनको सहयोगी समूह चुकेको भए त यत्रो काम इतिहासमा दर्ज हुनबाटै छुट्थ्यो नी । धन्न छुट्न । कि कसो उपराष्ट्रपतीज्यू !


कांग्रेसमा माधव नेपालको खोजी
सत्ताधारी दलबाट प्रमुख प्रतिपक्षीको भूमिकामा झरेपछि पार्टीलाई नीतिगत र सांगठनिक रुपमा कसरी बलियो बनाउन सकिन्छ भनेर काठमाडौंमा डाकेको नेपाली कांग्रेस महासमिति सदस्यको भेलाको उद्घाटन सत्रमा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ताधारी दल नेकपा नेता माधव नेपाल प्रतिको प्रेम छताछुल्ल भयो ।

स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपछि आखिर हारको कारण के हो भन्ने खोज्ने क्रम निरन्तर भए पनि फेला पर्न सकेको छैन । संस्थापन पक्ष दाबी गर्ने रामचन्द्र पौडेल खेमाको नजरमा पार्टी सभापति हारका कारण हुन् भने सभापति खेमाको नजरमा पार्टीभित्र गुट चलाउने, अन्तर्घात गर्ने पौडेल समूहको अनुशासनहीनता पार्टी हारको कारण हो । पार्टी पुनर्जागरणका लागि नीति र रणनीति बनाउने थलो महासमितिसम्म आइपुग्दा समेत यी दुवै नेताको ताल उस्तै छ– आफ्नो जिम्मेवारी केही नलिने, दोष अर्काकै टाउकोमा थोपर्ने । दुवैबीच हात मिलाइदिन पनि मधेसको राजनीतिका लागि क्लब खोली थाकेर मूल घर फर्किएका विजयकुमार गच्छदार अगाडि सर्नुप¥यो ।

देउवाको चरित्र आलोचना स्वीकार गर्न नसक्ने छ भन्ने जगजाहेरै छ । उनले महासमितिको उद्घाटनमा आफ्नो यही बानी पुष्टि गर्दै आफ्नो आलोचना गर्दै हिँड्ने पार्टीको नेतालाई लक्षित गर्दै ‘प्रजातन्त्रमा गाली गर्न त पाइन्छ’ भन्दै प्रजातान्त्रिक संस्कारको नक्कली अभिनय गर्दै माधव नेपालप्रतिको प्रेम छछल्काउँदै भने, ‘मेरो खिलाफमा बोल्नुस्, ठीक छ तर अहिले केपी ओलीको विरोधमा बोल्नुप¥यो नि ! सरकारको विरोधमा बोल्नुप¥यो नि ! त्यसका लागि माधव नेपालको जति त हिम्मत गर्नुप¥यो ! खाली शेरबहादुर ठीक छैन मात्र भन्ने ? के ओली ठीक छन् त ?’

विचरा देउवाले आक्रोश त पोखिहाले मञ्चबाट तर महासमिति सदस्यहरु सिरियस हुनुको साटो हाँसेर उडाइदिए । उनी पनि हाँसे । उता आफ्नै पार्टीमा केपी ओली र पुष्पकमल दाहालको पेलानमा परेर हैरान छन्, माधव । अब पार्टीभित्र माधव कम्रेड फेला पर्ने लक्षण छैन । कि उनलाई नै फकाएर यतै ल्याउने कि देउवा ज्यु !

खान्न खान्न लोकाचार, पाए मानाचार
परिर्वतनका संवाहक हामी मात्र हौं भनेर चर्का कुरा गर्ने युवा नेताहरुको फेसबुक पेज अहिले रोइलो मिसिएको विज्ञप्तिले भरिन थालेको छ, ‘मैले चालै पाइनँ, कर्मचारीले खुसुखुसु हालिदिएछन् । अब फिर्ता गर्छु ।’ यसरी रोइलो गर्नेमा अग्रपंक्तिमा देखिए नेकपाका युवा नेता तथा सांसद योगेश भट्टराई । 

प्रसंग हो, काठमाडौंमा घर हुँदाहुँदै पनि झुक्याएर सरकारसँग घर भाडा लिएको । त्यसमा परिवर्तनकामी, इमान्दार नेताको छवि बनाएका भट्टराईसँगै कांग्रेस सांसद भीमसेनदास प्रधान, सुवासचन्द्र नेम्वाङ, मधेसका मसिहा तथा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण, संघिय समाजवादीकी सांसद सरिता गिरी, महंगो स्कुल लिटिल एन्जल्सका मालिक तथा कांग्रेसका समानुपातिक सांसद उमेश श्रेष्ठ, नेकपाकी नेता पम्फा भुषाल, नवीना लामा, रामकुमारी झाँक्री लगायत दर्जनौँ नेताको नाम आयो ।

समाचार सार्वजनिक भएपछि ‘इमानी’ योगेशलाई नैतिक संकट त पर्ने नै भयो । उनले तत्काल विद्युतीय सहयोगी फेसबुकमा फ्याट्ट विज्ञप्ति जारी गरेर आफूले भाडा नलिएको र संसद्का कर्मचारीले थाहै नदिई हालिदिएको दाबी गर्दै सो रकम सगर्व फिर्ता गरिदिने घोषणा गरे । योगेशको सिको गर्दै अन्य सांसदले पनि ‘ला मेरो घर हुँदाहुँदै मैले पनि सरकारसँग घर भाडा पो लिएछु, थाहै पो थिएन !’

मार्काको शब्दले भरिएका प्रस्टीकरणमा व्यस्त छन् तर उनीहरुको नक्कली इमान्दारिता त्यति पचिरहेको छैन उनकै शुभचिन्तकहरुलाई । प्रश्न आइरहेको छ, पैसा चोरले पैसा फिर्ता ग¥यो भने कानुनी कार्बाहीबाट मुक्ति पाउँछ कि कार्बाही हुन्छ ? लौ माननीयज्यूहरु उत्तर पाऊँ त !

बामदेवको बदला
पार्टी २ तिहाई नजिक पुगेर सत्तामा पुग्दा पनि आफु पूर्व माननिय भएर बस्नुपर्दाको छटपटी मेट्न नेकपा नेता बामदेव गौतमले के के गरेनन् । कहिले ललितपुर खाली गराउन खोजे, कहिले काठमाडौं । काठमाडौं बाहिर पनि प्रयास नभएको हैन । बामदेव संसदमा नगई विकासको लहरै आउन्न भन्दै पूर्व बाट माननिय हुन सिकेसम्मको सबै राजनीतिक बठ्याई, र्घुक्याई, चतुर्याइ सबै प्रयोग गरे पनि असफल भए बरा ।
असफताको केन्द्रीय कारक थिए प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली ।

विचरा बामदेव अनेक तिकडम गरेर माननिय भइसकेकालाई पूर्व बन्न मनाउँथे, मन्त्री, पार्टीमा ठुलै जिम्मेवारीको आश्वासनले सहमत पनि हुन्थे । तर एसो केपी ओलीले छड्के नजर लाइदिएपछि हुन्न हुन्न भनिहाल्थे । अनेक प्रयास गर्दा पनि केही नचलेपछि काठमाडौं ७ का रामविर मानन्धरलाई आफ्ना लागि पूर्व माननिय बन्न राजी गराए । दुई टाउके अध्यक्षमध्येका एक पुष्पकमल दाहाललाई राजी गराए । तर अँह ओलीले प्रस्तावै अगाडि बडाएनन् र बनिसकेको उनको माननियको बाटो ग्राभेल हुनु अगाडि नै भत्काइदिए । बामदेवकै सहयोगमा पार्टी अध्यक्ष भएर २ पटक प्रधानमन्त्री बनेका ओलीको बैगुन सम्झेर मन कुड्याउँदै मौकाको ताकमा रहेका उनले बल्ल हतियार पाए स्थायी समितिको ।

उनले यी सबै बैगुनको बदला एकै पटक लिने गरी फरक राजनीतिक प्रस्तावको आवरणमा ओलीको अध्यक्ष पदमाथि दागा धर्दै एक ब्यक्ति एक पदको नारा उचाले । सबै समस्याको जड प्रधानमन्त्रीको स्वेच्छाचारिता भन्दै अपजसको भारी ओलीको बृद्ध शरिरमा बोकाउने प्रयास गरे अनी नेकपाको एकल कमाण्डर पुष्पकमललाई बनाउने प्रस्तावरुपी बाण प्रहार गरे ।

सरकारको कमजोर प्रस्तुतीका कारण पार्टी बाहिर आलोचित भइरहेकै बेला पार्टीभित्र समेत प्रहार हुन थालेपछि ओली तिल्मिलाउने नै भए । त्यो पनि शक्तिशाली अध्यक्ष पदको कुर्सी नै फुत्काउने प्रस्ताव सहनु पनि कसरी ? बामदेवको प्रहारको प्रभाव देखिनथालिहाल्यो ।  

अहिले ओली आफ्नो कोटरीका नेतालाई भेलापार्दै ‘यो मेरो र प्रचण्डविचको प्रेममा फाँटो ल्याउने प्रयास हो ।’ भन्दै नभड्किन सम्झाउनमा ब्यस्त भएको खवर बाहिरिएको छ । यो प्रेम भत्काउन खोजे जीवन वित्छ भनेर उनले बामदेवलाई धम्क्याएझै पनि गरे । तर बामदेव हुन् । बैगुनको बदला बैगुनैले लिन जानेकै छन् । शब्द बाणले के तर्सेलान् र ! 

 

 

Leave A Comment