‘लोक’राजमा मौनता

बुधबार, १२ साउन २०७३, ११ : ४२ ईश्वर दाहाल , Kathmandu
‘लोक’राजमा मौनता

मान्छेहरू अचम्म लाग्दोगरी भयभीत छन् । राणाशासनमा नगलेका रैतीहरू, पञ्चायतमा नथाकेका जनताहरू, निरकुंश राजतन्त्रमा नडराएका जनहरू हिजोआज अचम्म लाग्दोगरी डराएका छन् । यस्तो लाग्छ, इतिहासमै सबैभन्दा भयंकर भयले नेपाली समाजलाई अँठ्याएको छ । पत्रकार पनि खुल्न सकेको छैन । बुद्धिजीवी पनि बोल्न सकेको छैन । राजनीतिज्ञहरूको ओठतालु सुकेको छ । समाजमा जो–जो उपल्ला मानिन्छन् उनीहरू थकित र गलित देखिन्छन् । लोकतन्त्रको ‘लोक’राजले सबैको सातो लगेको छ । केही विद्यार्थी बोलेको सुनिन्छ । ‘तल्ला’ मानिसहरूमा आक्रोश र चिच्याहट देखिन्छ । तर, बोल्नुपर्ने र मुठी उठाउनुपर्नेहरू गुमनाम छन् ।
बुद्धिजीवीहरू बोलेको बोल्यै गर्थे । लेखकहरू लेखेको लेख्यै गर्थे । तर, यो लोकतन्त्रको ‘लोक’राजले बोल्नेहरूको आवाज नै खोसिदियो कि कसो ? लेख्नेहरूको कलम नै लुटिदियो कि कसो ? शहर डरलाग्दोगरी मौनताको बर्काे ओडेर सुतेको छ ।
भन्नेहरू भन्थे, हामीले अन्तिम युद्ध जित्यौँ । धक्कु लाउनेहरू लाउँथे, अब प्रजातन्त्रका लागि संघर्ष गर्नुपर्र्ने दिनहरू सकिए । उनीहरूको कुरा सुन्दा लाग्थ्यो, अब कसैसँग कोही डराउँदैन । एकभन्दा अर्काे माथि हुँदैन । एकले अर्काेलाई थिच्ने अवस्था रहँदैन । डराउनैपर्छ भने विधिसँग डराउनुपर्छ । कोही माथि र तल हुन्छ भने पद्धतिका कारण हुन्छ । कसैलाई दण्डित गर्नुपर्छ भने कानुन र नियमले गर्छ । तर, खै लोकतन्त्रको ‘लोक’राजसामु कसैको बक फुटेको छैन । शहरको ‘खामोशी’ देख्दा भन्नैपर्छ– यहाँ जे छ लोकतन्त्रको ‘लोक’राजसँग छ । नियम भनेको लोकतन्त्रको ‘लोक’राज मात्र हो । कानुन भनेको लोकतन्त्रको ‘लोक’राज मात्र हो । निर्णायक र अन्तिम सत्य भनेको लोकतन्त्रको ‘लोक’राज नै हो । अरू त सब निमित्त मात्र हुन् । निमित्त पात्र हुन् । आखिर जे गराउँछ, लोकतन्त्रको ‘लोक’राजले नै गराउँछ ।
लोकतन्त्रको ‘लोक’राजविरुद्ध केही बेकुफ उभिन हिम्मत गर्छन् । आखिर बेकुफहरूको काम भनेकै सनातनी परम्पराको बर्खिलाप उभिनु हो । यसरी उभिनेहरूले मान्नुपर्नेलाई मान्दैनन् । डराउनुपर्नेसँग डराउँदैनन् । त्यसैले त समाजका सभ्यहरूका नजरमा यस्ता उभिनेहरू पागल हुन् । पागलहरूको मोर्चामा उभिएर किन बोल्नु ? पागलले उठाएको विधि र लोककल्याणभन्दा ‘लोक’राजप्रतिको मौन समर्थन हितकर छ ।  
इतिहास पढ्दा पढिन्थ्यो, नेपाली वीर जाति हो । नालापानीदेखि फोकल्यान्डसम्म वीरताको इतिहास कोरिएको छ । कहिल्यै स्वाभिमान नगुमाएको गौरव छ । कहिल्यै गुलाम नभएको आत्मसम्मान छ । कहिल्यै नझुकेको उच्च शिर छ । यो इतिहासमा भूपि शेरचनले थोरबहुत धावा बोलेका थिए र भनेका थिए,  ‘मलाई झुटो लाग्छ मेरो देशको इतिहास ।’  भूपि भनाइलाई धेरैले पत्याएका थिएनन् । धेरैले तथ्य मानेका थिएनन् । तर, अहिलेको मौनतालाई मनन गर्ने हो भने भूपि सोह्रै आना साँचा रहेछन् । एउटा ‘लोक’राजसामु सबैको शिर झुकेको छ । सबैको बोली सुकेको छ । सबैको विवेक गुमेको छ । नेपाली कतिसम्म वीर रहेछन् ? नेपाली कतिसम्म आँटिला रहेछन् ? नेपाली कतिसम्म न्यायशील रहेछन् ? ‘लोक’राजले घामजत्तिकै छर्लङ्ङ पारिदिएको छ ।
सामान्य लोकजनहरू ‘लोक’राजसँग रुष्ट छन् । आखिर सामान्य आँखाले सामान्य आवरणमात्र देख्छ । विधि विधानलाई लिकमा ल्याउने ‘लोक’राजले नै विधिलाई लत्याएपछि सामान्य जनहरू रुष्ट हुनु स्वाभाविक नै हो । तर, आवरणभित्र लुकेको यथार्थलाई हेर्ने हो भने ‘लोक’राजले एउटा महŒवपूर्ण तथ्य उद्घाटित गरिदिएको छ । यसका लागि ‘लोक’राज धन्यधन्य छ । ‘लोक’राजको अलोकतान्त्रिक गतिविधिलाई मौन समर्थन गर्ने स्वनामधन्यहरू बाहिरबाट हेर्दा सुकिला छन् । स्वस्थ छन् । रसिला र हँसिला छन् । तर, उनीहरूको भित्री पाटो भयंकर विषादले भरिएको रहेछ । आफ्नो मैलो पाटोमाथि ‘लोक’राजको तरबार चल्छ कि भनेर उनीहरू त्राहित्राहि छन् । जहाँ जे होस् ‘लोक’राजको नजर आफूमाथि नपरोस् भनेर उनीहरू प्रार्थनारत छन् । ‘लोक’राजको नजरबाट आफूलाई बचाउन उनीहरू सडकमा देखा पर्दैनन् । यही लुक्नुपर्ने बाध्यताका कारणले उनीहरूको बोली फुटेको छैन । कदम कुदेको छैन । अब स्पष्ट भयो वा ‘लोक’राजले स्पष्ट पारिदियो, आफूलाई स्वतन्त्रताको ठेकादार ठान्नेहरू, आफूलाई विधि र न्यायका ठेकेदार मान्नेहरू कुनै न कुनै रूपमा प्रदूषित छन् । कुनै न कुनै रूपमा कलुषित छन् । यदि छैनन् भने यो मौनताको के अर्थ ? बस्तीमा भेल पसिकेपछि मेरो घर त सुरक्षित छ भनेर बस्नुको के औचित्य ?
यसो सोचिल्याउँदा लाग्छ, प्रिय भूपिले एउटा कुरा लेख्न छुटाएछन्, यो देश कालिदासहरूको देश हो । हाँगाको टुप्पामा बसेर फेदमा बञ्चरो चलाउनेहरूको समाज हो । फेदलाई बञ्चरोले गिँड्दै हाँगो भाँचिन्छ कि भनेर सबैजना त्राहिमाम् भएका छन् । आफैँले सृष्टि गरेको ‘लोक’राजरूपी बञ्चरोले सबैलाई सताएको छ । लाग्छ, यो बञ्चरोले सबैसबैतिर उत्पात मच्चाउनेछ । उत्पात मच्चनु अगाडिको मौनतामा शहर सुनसान छ ।

 

Leave A Comment