‘एन्फाको राजनीतिले फुटबल सखाप’

बिहिबार, १२ पुष २०७५, ०६ : ४१ शुक्रवार
‘एन्फाको राजनीतिले फुटबल सखाप’

 

- हरि मानन्धर,पूर्व राष्ट्रिय फुटबल खेलाडी

धेरै पढ्नेलाई ‘किताबको कीरो’ भनिन्छ, मलाई त्यो बेलाको ‘फुटबलको कीरो’ भने पनि हुन्थ्यो । सायद कुनै कुरामा निरन्तर लाग्न ‘कीरो’ नै बन्नु पर्छ । १३ वर्ष फुटबलमा बिताइसकेपछि पनि अहिले म आफ्नै एकेडेमीबाट किशोर–किशोरीलाई फुटबल सिकाउने गरेको छु । फुर्सदको समयमा मैतिदेवीमा स्पोर्ट्स पसल पनि सञ्चालन गर्ने गरेको छु ।

सानैबाट फुटबलको रस बस्यो । बुबाले पनि यो त खेलाडी नै बन्छ कि के हो भनेर जिस्क्याइरहनु हुन्थ्यो ।
त्यतिबेला पञ्चायती समय थियो । राजा, युवराज, अधिराजकुमार आदिको नाममा खेलहरु भइरहन्थे । म पनि जलेश्वरको टिमबाट राजा वीरेन्द्र उपस्थित कार्यक्रममा कला देखाउन अवसर पाएँ । त्यतिबेला सरकारी संस्थानहरुले खेलाडीहरु हायर गर्ने चलन थियो ।

जनकपुर चुरोट कारखाना, शाही औषधी लिमिटेड, आरएनएसी लगायतका संस्थाले खेलाडीलाई तलब नै दिएर राख्थे । त्यही खेलमा म जनकपुर चुरोट कारखानाको जिएमको नजरमा पर्न सफल भएँ । अनि देश तथा विदेशमा खेल्ने अवसर पाउन थालेँ । 
जनकपुर चुरोट कारखानामा जागिर 

जनकपुर चुरोट कारखानामा खेलाडीको रुपमा नियुक्त हुँदा यो टिम निकै मजबुत थियो । १६ वर्षको उमेरबाट नै ए लेभलको खेल खेल्न थालेँ । कारखानाको टिममा काम गर्न सहज भयो । कारखानाको टिम पनि नेपालमा गिनेचुनेका टिममा पथ्र्यो । 

टिम उत्कृष्ट भएसँगै मालदिभ्समा खेल्न जाने अवसर पाइयो । यो देशबाहिर खेल्ने पहिलो अनुभव थियो । त्यतिबेला दुई गेम मात्रै खेल्न पाइयो । भारतको पञ्जाब गु्रपसँग हारियो । 
विविध कारणले पछि कारखानाले खेलाडी राखेन । खेलाडीले पनि काम गर्नुपर्छ भनेपछि त्यहाँ समस्या भयो । 

पाकिस्तान विरुद्धको त्यो गोल 
टिम छिन्नभिन्न अवस्थामा पुग्यो । यात्रा फ्रेन्च क्लबमा आएर जोडियो । नेपालमा पनि अन्तराष्ट्रिय गेम अलि बढी नै हुने गथ्र्यो । फ्रेन्च क्लबमार्फत म पाकिस्तानसँग खेल्न पुगेँ । म खेल्दा सेन्टर फरवार्ड वा मिडमा रहेर खेल्थेँ । त्यो बेला मैले पाकिस्तानविरुद्ध गोल गरेँ । विदेशी टिमसँग खेल्दा पहिलो गोल गरेको यही थियो । त्यो गोल मेरो जीवनको सम्झन लायक क्षण हो । 

डेभिड बेकह्याम रोल मोडल
त्यो समयमा अन्तर्राष्ट्रिय खेल हेर्न सहज थिएन । सिडी किनेर खेलहरु हेर्थें । त्यो बेला हेरेका खेलाडीमध्ये डेभिड बेकह्याम मन पथ्र्यो । डेभिडले  फ्रिकिक, पासिङ र बल टर्न गर्ने तरिकाबाट म धेरै प्रभावित भएको थिएँ । आज पनि उनीजस्तो टर्न गर्ने अर्काे खेलाडी छैन । 

१३ वर्ष बिताएको फुटबल
क्लब र राष्ट्रिय टोली हुँदै १३ वर्ष फुटबलमा बिताएँ । घुँडामा समस्या भएपछि खेल्न छाडेँ तर फुटबल प्रतिको आस्थाकै कारण आफैँले विभिन्न स्कुलमा सिकाउन भने छोडिनँ । म दिनभरि स्पोर्ट ड्रेस हेरेर भए पनि बिताउन सक्छुजस्तो लाग्छ । 

हाम्रो पालामा एक किसिमको खेलप्रति लगाव हुन्थ्यो । प्रतिस्पर्धा बढी हुन्थ्यो । खेलाडी थोरै हुन्थे । अहिले फुटबल प्रतिको आकर्षण ज्यादै कम भइसक्यो । मैले सबैलाई भनेको होइन तर केहीमा त्यस्तो देखिएको छ । पहिला क्लबको कार्यक्रममा पनि रगंशाला भरिन्थ्यो । अहिले त्यस्तो देख्दिनँ ।

फुटबल सुधार्ने हो भने प्रतियोगिता भइरहनुपर्छ । खेलाडीको आर्थिक सुरक्षा हुनुपर्छ । एन्फामा राजनीति कम हुनुपर्छ । त्यसपछि फुटबल सुध्रिएन भने मात्र गनगन गर्न मिल्छ । 
(प्रजु पन्तसँगको कुराकानीमा आधारित)
 

Leave A Comment