मीटूबारे ऋचा : ‘आफैँले ब्रेक थ्रु गर्नुपर्छ’

शुक्रबार, १३ पुष २०७५, ०३ : ३८ मनोज घर्तीमगर
मीटूबारे ऋचा : ‘आफैँले ब्रेक थ्रु गर्नुपर्छ’

 

–ऋचा शर्मा, अभिनेत्री
मीटू मुभमेन्ट मेरालागि आफैंमा एउटा प्रश्नजस्तो भएको छ । यो मुभमेन्ट हो वा मोमेन्ट ! गएको वर्ष एलिशा मिलानोले मीटूको अभियान सुरु गरेपछि यसले मूर्तरुप लियो हलिउडमा । तर, सुरु त एक दशकअघि नै भइसकेको थियो । बलिउडमा पनि तनुश्री दत्तादेखि थुप्रै कलाकारले आफूविरुद्ध भएको घटनाबारे बोले । नेपाली फिल्म क्षेत्रभन्दा म महिला भएकाले मीटू अभियान भन्छु । यो विमन भर्सेस मेन हैन । यो एकजना मान्छेले भ्वाइलेन्सका विरुद्ध गरेको अभियान हो भन्ने बुझेको छु । 

मीटूबारे धेरैखाले कुरा छन् । धेरै आयाम छन् । एउटै कार्यक्षेत्रमा काम गर्ने महिलामा आफूविरुद्ध भएको घटना भन्ने आँट नै आएको छैन । म यो विषयमा बोलुँ भनेर आँट गरेको देखिँदैन  । त्यस्तो घटना भनेमा म एक्लै पो हुन्छु कि ! यही क्षेत्रमा बसेर काम गर्नु छ, त्यही घरको ढोकाबाट निस्कनु छ, त्यही समाजलाई फेस गर्नुछ । भोलि गएर यो कुरालाई कसरी फेस गर्ने ! यस्ता आयाम र धारणाका कारणले गर्दा आफूविरुद्ध भएका दुर्व्यवहारका घटना आउन सकेका छैनन् । 

हाम्रो फिल्म वा मनोरञ्जन उद्योग यति एक्सपोज छ कि मीटू मुभमेन्टलाई हेर्ने हो भने मिडिया, जर्नालिज्म अनि सिनेमा उद्योगलाई नै हेर्दा रहेछन् । यस्तो खालका कुराहरु यो क्षेत्रकै महिला पुरुषले ल्याएर आउने रहेछ भनेर हेर्दा रहेछन् । अर्को कुरा, ह्यारसमेन्ट भन्ने कुरा फिजिकल मात्रै नभएर धेरै खालका हुँदा रहेछन् भनेर बल्ल बुझ्दैछु । गत सालको ह्यासट्याग मीटूमा म ह्यारेस नभएको पनि हैन । मलाई एकदमै टर्चर भएको थियो । नेपाली सिनेमा पनि खासै टाढा छैन । बाहिरबाट धेरैले हामीलाई हेर्ने भएकाले नेपाली सिनेमाबाट केही पनि आएन भन्ने देखिन्छ । कन्सिक्वेन्सको कारणले पनि धेरैजना बाहिर आउन सक्नुभएको छैन । 

मीटू भनेकै मलाई मात्रै पर्छ र म आवाज उठाउँछु भन्ने हैन । कुनै महिलालाई हिंसा भएको छ र वर्षौंदेखि उहाँले कुण्ठित पारेर राख्नु भएको छ, उहाँको लाइफलाई वर्षौंदेखि मानसिक रुपमा तनाव भएको छ भने त्यसलाई बाहिर ल्याउनु हो । यस्ता घटनालाई बाहिर ल्याउनुपर्छ । अरू को त म के भनौं ? यसरी बाहिर आउनेलाई सिनेमा क्षेत्रले पक्कै पनि साथ दिनेछ । एकजना कलारकारले अन्तर्वार्तामा भन्नुभएको थियो, एकजना बैंकर्सले मलाई अप्रोच गर्नुभो भनेर । अप्रोच पनि धेरै किसिमका हुन्छन् ।  तर, त्यो कस्तो हो भन्ने कुरा बुझ्नुपर्छ । 

कसैले धुलिखेल घुम्न जाऔं भन्यो भने त्यसलाई ह्यारसमेन्ट नभनौँ तर उसले सहमतिबिना कुनै काम गर्छ भने त्यो ह्यारसमेन्ट हो । उहाँले अन्तर्वार्तामा सिइओ हो भन्नुभयो तर को मान्छे हो भनेर खुलाउनु भएन । मिडिया त कुरै छाडौँ हामीसँग पनि उहाँले सेयर गर्नु भएन । त्यसैले हामीले उहाँलाई साथ दिनै सकेनौं । त्यसैले ह्यारेस गर्ने को हो भनेर ठ्याक्कै भन्नुप¥यो । नत्र कसरी चिन्ने यो हो कि, त्यो हो ? को हो को ? यसरी जनरलाइजेसन नगरौं । त्यो हुँदाखेरी अप्ठ्यारो भयो । त्रिभुवन विश्वविद्यालयकै प्रोफेसरबारे पनि कुरा आयो । त्यहाँ त धेरै छन् । त्यसरी भन्नु पनि भएन । 

मेरो सानो अनुभव बताउँछु, १० वर्षअघि मैले सिने करिअर सुरु गरेकी हुँ । मलाई एकपटक कसैले के छ नानी भनेर मेरो काँधमा हात राख्यो । मैले साह्रै अप्ठ्यारो महसुस गरँे । फेक हाँसो गरेर भए पनि मैले ठीकै छ भनेँ । मलाई कति अप्ठ्यारो भयो भने अहिले आएर बुझ्दैछु, त्यो ह्यारेसमेन्ट रैछ भन्ने । यस्तो खालका घटना त कति भाछन् कति म आफैँलाई । जसलाई भएको छ, त्यो आएर बोल्न जरुरी छ । 
एउटा कुरा म एकदमै भन्न चाहन्छु । राख्न मन लागेको कुरा पनि हो ।

अब्जेक्टिफिकेसन अफ विमन । सिनेमामा हरेक खालका कुरा छन् । आइटम खालका डान्स, डाइलग छन् । यसका बारेमा हामीले बोलेका छौं । ‘उनकै छोरी तरुनी हामीलाई केको दोष..., कलियुगको बेलैमा जोशमा हुन्न होस..., छुनलाई हैन हेर्नलाई पाइन्छ...’ हिन्दीमा भन्ने हो भने ‘तु चिज बढी हे मस्त मस्त...।’ यसरी महिलालाई त चिज बनाउने रहेछ । अहिले हैन, धेरै अघिदेखि नै महिलालाई चिजको रुपमा उभ्याइएको छ । 

तपाईं त्यस्ता कुरामा कम्फरटेबल हुनुहुन्छ, तपाईंमाथि जे भइरा’छ त्यो कुरा अरुले बोलेर केही पनि हुँदैन । तपाईंले नै ब्रेक थ्रु गर्नुपर्छ । नत्र त हामीले आएर बोल्ने त हुँदैहुँदैन । तपाईं नै अगाडि आउनुपर्छ । कोही अर्को व्यक्ति आएर बोलिदिँदैन, खासगरी मीटू जस्ता प्रसंगमा । महिलालाई पहिलेदेखि नै ह्यारेस गरिँदैआएको छ । केटी भएर धेरै नबोल, केटी सुशील हुनुपर्छ, बढ्ता नबोल भनेर भन्दै आइएको छ, हाम्रो समाजमा । यो पहिल्यैदेखि नै भएकाले हाम्रो आवाज दबेको हो । हामीले पनि त्यही फलो गरेका छौं । सिनेमा उद्योगमा मात्र हैन, त्यस्तो खालका कुरामा मेरोतर्फबाट सधैँ साथ हुनेछ ।

मीटूबारे मेरो प्रतिक्रिया आएपछि मेरो म्यासेञ्जरमा एकदमै पावरफुल स्टारहरुले आएम विद यु भनेर

म्यासेज गर्नु भएको थियो । मैले धेरैको म्यासेज पाएँ तर उहाँहरुले खुलेर आउन सक्नु भएन । प्लेटफर्म युज गर्नु सक्नु भएन । मान्छेले बाहिर आएर कुरा गर्न सक्दैनन् किनभने प्लेटफर्म सानो छ । भोलि यहीँ काम गर्नुपर्छ । नेपाली सिनेमा उद्योग सानो छ । भोलि यहीँ काम गर्नुपर्छ । अरुसँग किन नराम्रो हुने भनेर त्यसलाई ब्रेक गर्न कसैले पनि सक्नुभएको छैन ।  

(पोखरामा भएको सातौं साहित्य महोत्सवमा ‘मीटू’ शीर्षकमा भएको छलफलमा ऋचा शर्माले दिएको अभिव्यक्तिको संपादित अंश । छलफलमा शर्मासँगै मानवशास्त्री सुरेश ढकाल, भूमिका श्रेष्ठ थिए भने सावित्री गौतमले सहजीकरण गरेकी थिइन् ।)
 

Leave A Comment