‘कार्यकर्ता’ हराएका गगन

आइतबार, १५ पुष २०७५, ०५ : ०२ शुक्रवार
‘कार्यकर्ता’ हराएका गगन

नेपाली कांग्रेसको सानातिना कार्यक्रम भए पनि त्यसको केन्द्रमा हुन्थे गगन थापा । पार्टी नेता र नेतृत्वबारे चर्का बहस छेड्थे उनी । पार्टी नेतृत्वलाई आच्छुआच्छु पार्थे तर्कमार्फत तर अचम्म, आधा दशकपछि बसेको पार्टीको महासमिति बैठकमा यस्तो दृश्य देखिएन । महासमितिको बैठक चलेसम्म न कतै उनको विचारोत्तेजक विचार आयो, न महासमितिमा उनले गरेको सम्बोधनबारे कतै समाचार आयो, न उनले अब कांग्रेसको बाटो कता भनेर मार्ग प्रशस्त गरेको कुनै दस्तावेज नै सार्वजनिक भयो । 

हुँदाहुँदा समाचारमा ‘कोट’का रुपमा समेत उनको नामै देखिएन । यी सबै नियालिरहेका कांग्रेसीजन नै ‘गगनको कार्यकर्ता हराए ?’ भनी प्रश्न गरिरहेका थिए । हुन पनि हिजोका दिनमा गगन सहभागी हुन या नहुन्, उनका शुभेच्छुकले नाम लेख्दा ‘गगनको नेतृत्वमा’ लेख्न छुटाउँदैनथे । 

कता हराए गगन ? सामाजिक सञ्जालतिर नियाल्दा उनी सक्रिय नै देखिए । उनको टाइमलाइन आफ्ना विचारले भन्दा पनि अरुको भनाइ सेयर गरेर भरिएका थिए ।

धन्न पुस ८ गते एक दैनिकमा उनको अन्तर्वार्ता आयो । जसमा उनले कांग्रेसको भावी यात्राबारे बोलेका थिए तर त्यही दिन महासमितिको बैठक समापन भयो । उनको विचारबारे तातो बहस हुनै पाएन महासमितिमा । यस्तै हो ‘कार्यकर्ता’ले धोका दिएपछि ।

 

पुष्पकमलको कांग्रेस प्रेम 
दुई दल एक भए पनि तल्लो तह र पार्टीको वर्गीय संगठन एक हुन नसक्दा भाताभुङ्ग भएको नेकपाको भविष्यभन्दा सोही दलका अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेसको बढी चिन्ता छ । कांग्रेस यसो अलोकप्रिय हुनेबाटोतिर लाग्यो कि दाहालको निद्रा गायब भइहाल्छ । उनी यो चिन्ता पनि लुकाउन सक्दैनन् । सार्वजनिक कार्यक्रममा कांग्रेस मोह छछल्काउँदै रुँलारुँलाझैँ गर्दै भनिहाल्छन्, ‘विचलित नहोऊ ।’ 

बेलाबखत उनको मनमा रहेको कांग्रेस प्रेम देखिइहालिन्छ । त्यस्तै भयो कांग्रेसको महासमितिको बैठकको एक दृश्यले । महासमितिको बैठकमा सहभागी केही सदस्यले हिन्दु राज्यको पक्षमा हस्ताक्षर शुरु गरे पनि उनमा रहेको कांग्रेस प्रेम छचल्कियो । उनले बिपी अनि गिरिजाप्रसाद कोइराला सम्झिए । यसपछि उनले अनुनयको शैलीमा कांग्रेसीलाई आग्रह गर्न थाले, ‘धर्मबारे निर्णय गर्दा बिपी र जिपीलाई सम्झ ।’

धर्म निरपेक्ष भइसकेको मुलुकलाई कांग्रेस एक्लैले हिन्दु राज्यमा रुपान्तरण गर्न सक्दैन । यसका लागि संविधान संशोधनै गर्नुपर्छ । जुन तागत तत्काल कांग्रेससँग छैन । त्यो शक्ति त नेकपासँगै छ । त्यसैले कांग्रेस हिन्दु धर्मको पक्षमा उभिए पनि तत्काल असर पर्ने सम्भावना छैन ।

नेपालको जनसंख्यामध्ये हिन्दु धर्म मान्नेहरुको संख्या बढी छ तर कट्टर हिन्दुको संख्या न्यून छ । धर्मको नाममा राजनीतिक रोटी सेक्दा के हुन्छ भन्ने भारतको हाल देखेका नेपाली हिन्दुहरु जानकार छन् । त्यसैले धर्मको अजेण्डाभन्दा विकासको अजेण्डा नै बलियो हुने गरेको छ नेपालमा । 

हिन्दुवादी हुँदा बलियो हुने भए राष्ट्रिय प्रजातन्त्र पार्टीको यो हालत के हुन्थ्यो र ! त्यसैले कांग्रेस हिन्दुवादी हुनु भनेको राप्रपाकै बाटोमा हिँड्नु हो । पार्टी विभाजित नभएको हकमा यो त नेकपाका लागि शुभसंकेत नै हो तर दाहाललाई यो सह्य हुन सकेन । उनलाई कांग्रेस प्रेमले अवसरवादी हुनबाट रोक्यो । पक्कै छोरीलाई मेयर बनाउन थापेको काँधको झल्को आइरह्यो उनलाई । त्यसैले भनिरहे, ‘गिरिजाबाबुलाई नर्कमा नबोलाऊँ ।’

सोझा मन्त्रीको बाङ्गो काम
‘लालबाबु पण्डित एक स्वच्छ छवि भएका इमान्दार नेता हुन्, जसमा न सुविधासम्पन्न निवासको लोभ छ न त चिल्लो गाडीको नै । उनी त साइकलमै समेत रमाउन सक्छन् ।’

यस्तै छवि थियो कुनै समय उनको । स्थानीय विकास मन्त्री भएको बेला डिभी र पिआरधारी सरकारी कर्मचारीको दोहोलो काडेपछि उनको राष्ट्रवादी छवि उज्यालियो । त्यसैले त ठूला कदका नेताको पनि केही चलेन, शेखर कोइरालालाई तह लगाउँदै केन्द्रीय सांसद बने उनी । उनको जितमा उनको मतदातासमेत धेरै खुसी देखिन्थे ।

चन्दा मागेर निर्वाचन प्रचार गरेको दाबी गरेका उनको फेक चुनावी खर्च सार्वजनिक भए पनि धेरैले पत्याएनन् । ‘धत् लालबाबुले पनि कहिल्यै यस्तो गर्छन्’ भन्दै पत्याए । 

तर खास्टोले छोपेको बिरालाले एक दिन म्याउ गर्नु नै थियो, गरयो । इन्धनको दोहोरो सुविधा लिने ‘इमान्दार’ २३ मन्त्रीको सूचीमा उनको नाम पनि अटायो । उनीसँगै सूचीमा थिए, ईश्वर पोखरेल, शक्ति बस्नेत, भानुभक्त ढकाल, गोकर्ण विष्ट, बिना मगर, गिरिराजमणि पोखरेल लगायतका मन्त्री । सूची सार्वजनिक भएपछि पण्डित मौन नै छन् । अन्य केही मन्त्री भने नकचरो पारामा ‘मलाई त थाहै छैन’ भनेर टक्टकिने असफल प्रयास गरिरहेका छन् । धन्न त्यस्तो नकचरोपन पण्डितले देखाएका छैनन् ।
 

Leave A Comment