'पुस्तक लेख्दै गर्दा म कयौँचोटि रोएँ ' : मनिषा कोइराला

आइतबार, १५ पुष २०७५, १० : ०४ प्रजु पन्त
'पुस्तक लेख्दै गर्दा म कयौँचोटि रोएँ ' : मनिषा कोइराला

अकस्मात क्यान्सर भएपछि जिवन र जगतलाई हेर्ने दृष्टिकोणमा व्यापक परिर्वतन भएको बताउने बलिउड अभिनेत्री मनिषा कोइरालाले ‘हिल्ड’ पुस्तक ल्याएकी छन् । क्यान्सर लागेपछिको अनुभूति समेटेर पुस्तक ल्याएको बताउने कोइरालासँग शुक्रवारले गरेको छोटो कुराकानीः

पुस्तक नै लेख्नुभयो नि ?
 क्यान्सर लागेपछि पाएको पुनर्जीवन बारेको अनुभव मैले सबै समक्ष सेयर गर्नुपर्छ भनेर पुस्तक लेखेकी हुुँ । यसमा म अति खुसी छु । सुरुमा लेख्न त असाध्यै गाह्रो भयो । सक्दिनँ कि भन्ने पनि लाग्यो तर प्रकाशकले र मेरो सहलेखक नीलमकुमारको प्रेरणाले पुस्तक पूरा हुन सक्यो । 

तपाईं त चर्चित अभिनेत्री, आफ्नो अनुभव पुस्तकको साटो फिल्ममै देखाउनु उत्तम हुन्थ्यो होला नि ?
धेरै राम्रो कुरा गर्नु भयो । पुस्तकमा धेरै डिटेलमा भन्न सकिन्छ । त्यही कुरा फिल्ममा भन्न सकिँदैन । पुस्तक र फिल्म उस्तै भए पनि पहिलो स्टेप भनेको पुस्तक नै हो । पुस्तकपछि फिल्मको कुरा आउँछ । फिल्म पनि त सुरुमा शब्दमार्फत् नै लेखिने हो !

पुस्तकलाई फिल्म बनाउने सोच राख्नुभएको छ कि ?
 अहँ छैन, छैन । 

पुस्तकमा क्यान्सर जस्तो खतरनाक रोग लागेको भए पनि रिकभर हुनलाई आध्यात्मले सहयोग ग¥यो भन्नुभयो । पुस्तकमा आध्यात्मिक पक्ष पनि समावेश छ ?
तीस वर्ष पुग्दानपुग्दै म आध्यात्मतर्फ आकर्षित भइसकेकी थिएँ । पहिला त म नास्तिक नै थिएँ । भगवान्लाई विश्वास गर्दिनथेँ । भगवान् भन्दा पुस्तकका पात्रहरु मलाई बरु जीवन्त लाग्थे । ती त मेरालागि भगवान् सरह नै थिए । म सानै उमेरदेखि पढ्थेँ । खासमा दर्शन र मनोविज्ञानका पुस्तकहरु बढी पढ्थेँ । ‘वे अफ द पिसफुल वारियर’ भन्ने पुस्तक पढेपछि आध्यात्ममा बढी विश्वास गर्न थालेँ । आफूलाई लागेका र मनमा उठेका प्रश्नका बारेमा धेरैलाई जिज्ञासा राखेँ । बिस्तारै मनका शंकाहरु शमन हुँदै गए, धेरै कुरा थाहा हुँदै गयो । 
पुस्तकमा यिनै कुरा छन् र ती कुरा छुट्ने त कुरै भएन किनभने मान्छेले जे कुरामा विश्वास गर्छ, स्वाभाविक रुपमा पुस्तकमा ती कुरा आइनैहाल्छ । 

पुस्तक लेखनको क्रम कस्तो रह्यो ?
पुस्तक लेख्दै गर्दा म कयौँचोटि रोएँ । लेखनको क्रममा म त चार पाँच चोटि नै रोएँ । त्यो बेलाको पीडा सम्झनै मन नलाग्दो रहेछ । सम्झना आउँदा पनि तिनलाई डिटेलमा पुनः लेख्नु पर्दा असाध्यै अप्ठेरो अवस्था आयो । यस्तो भएपछि मैले पब्लिसरलाई म लेख्न सक्दिनँ पनि भनेँ । मेरो सहलेखक र पब्लिसरसँगको पटक–पटकको छलफल र उत्प्रेरणापछि मैले लेख्न सकेँ । 

तपाईंको ‘हिल्ड’ पुस्तक पढेर पाठकले के ज्ञान हासिल गर्न सक्छन् त ?
पढेर पाठ लिने कुरा बडो अप्ठेरो हो । यो पढेर पाठकले यही पाठ पाउलान् त भन्न म सक्दिनँ । त्यो त पढ्नेको हातको कुरा भयो । यो पुस्तकमा मलाई क्यान्सर लागिसके पछिको अवस्थाका बारेमा लेखिएको हो । मेरो जीवनको पूरै कथा पनि होइन । जीवनको एउटा पाटो मात्र हो । मृत्युको नजिक पुगेपछि मान्छेको सोचाइ र बुझाइबारे के–कस्तो परिवर्तन आउँदोरहेछ भन्ने कुरा चाहिँ पाठकले बुझ्न सक्नुहुन्छ होला ।

नेपाली राजनीति र साहित्यका चर्चित व्यक्तित्व बिपी कोइरालालाई खुलेर लेख्न सक्ने लेखकका रुपमा चिनिन्छ । तपाईं त उहाँकी नातिनी पनि हुनुहुन्छ । त्यो उदारपनलाई कत्तिको समात्नुभएको छ ?
पुस्तक बजारमा आएपछि मैले भारतमा तीन वटा अन्तर्वार्ता दिएँ । तीन वटै अन्तर्वार्तामा मलाई पत्रकारले तपाईं यति धेरै अनेस्ट किन हुनुभएको भनेर सोधे । म जे छु, त्यो छर्लङ्ग पुस्तकमा भेटिन्छ । मलाई के लाग्छ भने आफ्नो स्टोरी भन्ने हो भने तपाईं ‘अनेस्ट’ हुन जरुरी छ । हामीले के बुझ्नुपर्छ भने सुरुमा हामी मान्छे हौँ, स्वाभाविक रुपमा मान्छेका धेरै कमीकमजोरी हुन्छन् । त्यो कमी–कमजोरी ममा पनि छन् । कमजोरी बिनाको मानिस हुन सक्तैन भने म पनि त बिना कमजोरीको छैन । तिनै कमजोरीलाई पनि पुस्तकमा समेटेकी छु । 
 

Leave A Comment