करोड कमाउने लेखक

बुधबार, १८ पुष २०७५, ०२ : ११ प्रजु पन्त
करोड कमाउने लेखक

पुस्तक प्रकाशनको व्यापारमा नयाँ प्रकाशन गृहहरु आएसँगै लेखकको भाउ बैंकका सिइओकोझैँ अकासियो । प्रकाशन गृहको दाबी पत्याउने हो भने सयौंको संख्यामा बिक्री हुने पुस्तकको संख्या हजारौं पुग्यो । नयाँ लेखकहरुले नाम मात्रै हैन, दाम पनि मस्तै कमाए ।

बजारमा व्याप्त यस्तो आँकलन कत्तिको सत्य हो त ?

यसपछि शुक्रवार लेखकको कमाइको लेखाजोखा निकाल्न लागिपर्यो । प्रारम्भ पुस्तक प्रकाशन गृहबाटै गरियो । लेखकलाई राम्रो स्पेस दिइरहेका फाइन प्रिन्ट, बुक हिल, नेपालय, साङ्ग्रिलाका प्रकाशकसँग सम्पर्क गर्दा छक्कै परियो । 

साङ्ग्रिलाका प्रकाशक मणि शर्मा त यस विषयमा बोल्नै चाहेनन्, भने, ‘यस विषयमा नबोलौँ ।’ सम्पर्कमा आएका अन्य तीन प्रकाशन गृहले पनि बिक्री भएका पुस्तकको संख्या, आम्दानी र लेखकको कमाइबारे चपाएर कुरा गरे । बरु केही लेखक कमाइबारे मज्जैले खुले ।

यति प्रति पुस्तक बिक्री भयो, बेस्ट सेलर बन्यो भन्दै विज्ञापन गर्ने प्रकाशन गृहका प्रकाशक आम्दानीबारे जिज्ञासा राख्दा उनीहरुको मौनताले चकित परियो । केही बोल्न तयार भएका फाइन प्रिन्टका अजित बराल, नेपालयकी कार्यकारी निर्देशक सैजन मास्के र बुकहिलका भूपेन्द्र खड्काले कुरा चपाएर बोले । 

बुकहिलका सञ्चालकमध्ये एक खड्काले अन्य देशमा ७ देखि १३ प्रतिशतसम्म रोयल्टी दिने चलन भए पनि नेपालमा भने बढी नै भएको दाबी गरे र तर कति बढी हो त भनी खुलाएनन् । फाइन प्रिन्टका सञ्चालक बरालले पनि लेखकअनुसार र क्वालिटीअनुसार रोयल्टी फरक हुने बताउँदै भने, ‘यति नै प्रतिशत भनेर नतोकौँ क्यारे !’ नेपालयकी कार्यकारी अधिकृत मास्के पनि रोयल्टीबारे खुल्नै चाहिनन् । उनले बजारमा चलेकै रेट दिइएको भनेर पन्छिइन् ।

कुन पुस्तक कति प्रति बिक्री भयो र लेखकले कुन पुस्तकबाट कति जति रोयल्टी पाए भन्ने जिज्ञासामा उनीहरु तर्किए । उनीहरुको तर्क थियो, ‘यो त हाम्रो गोप्य विवरण हो, भन्न मिल्दैन ।’

पुस्तक बिक्रेता एसोसिएसन अफ नेपालसँग त पक्कै होला विवरण भनेर त्यसका महासचिव प्रशान्त दनुवारसँग सम्पर्क गरेको त उनले पनि प्रकाशककै बोली बोले । पहिलो सम्पर्कमा उनले ‘भोलि इमेल पठाउँछु’ भने तर उनको इमेल आउँदै आएन ।

उनलाई पुनः सम्पर्क गर्दा निवेदन माग गरे । निवेदन दर्ता भयो । त्यसपछि उनको जवाफ आयो, ‘दिन मिल्दैन ।’ 

‘पहिलो, हामीसँग तथ्याङ्क छैन । पुस्तक बिक्रीको तथ्याङ्क राख्ने चलनै छैन,’ उनले भने, ‘दोस्रो इन्डिभिजुअल्ली दिन मिल्दैन ।’ यही जवाफ दिनु थियो भने उनले निवेदन किन मागेका हुन् भन्ने बुझ्न सकिएन । 

इन्डिभिजुअल्ली तथ्याङ्क दिन नमिल्ने पनि हुन्छ र ? भन्ने जिज्ञासापछि उनले यस्तो तथ्यांक नदिन प्रकाशन गृहबाट दबाब आएको खुलाए । उनले शुक्रवारसँग भने, ‘पब्लिसरहरुले भन्ने अनुमति दिएका छैनन् ।’

लेखकले कुरा चपाए
लौ पुस्तक प्रकाशक त व्यापारी नै भए, बोलेनन् । साहित्य सर्जक लेखकहरुले त के ढाँट्लान् र !
यही आशामा पुस्तक लेखेरै राम्रो कमाइ गरिरहेको दाबी गर्ने लेखकसँग सम्पर्क गर्दा प्रस्ट आम्दानी कसैले भनेनन् । केहीले सांकेतिक रुपमा ‘हाराहारी यत्ति कमाउँछु’ भने तर बिक्री भएको पुस्तकको संख्या खुलाएनन् ।

पहिलो सूचीमा फुलटाइम लेखक कुमार नगरकोटी, अमर न्यौपाने, बुद्धिसागर, सुविन भट्टराईसँग आम्दानीबारे जिज्ञासा राखियो । फुलटाइम लेखक नभने पनि लेखनमा सक्रिय नयनराज पाण्डेसँग पनि जिज्ञासा राखियो ।

व्यापारिक रुपमा सफल चार वटा पुस्तक लेखेका उपन्यासकार सुविन भट्टराई शिक्षण पेशा छाडेर फुलटाइम लेखक बनेका हुन् । पत्रिकामा स्तम्भ लेखेर हल्काफुल्का अतिरिक्त आम्दानी गरे पनि उनको घर चलाउने, घुम्ने, सबै खर्च पुस्तकको रोयल्टीले धानेको दाबी गरे । 

‘कथासंग्रह ‘कथाकी पात्र’ले पुस्तकको भ्यालु सिकायो, उपन्यास ‘समर लभ’ पाठकसमक्ष चिनाउने टर्निङ पोइन्ट बन्यो, ‘साया’ र ‘मनसुन’ले आर्थिक रूपमा बलियो बनायो,’ उनले हाम्रो जिज्ञासालाई शान्त पार्ने प्रयास गर्दै भने । अहिले बजारमा उनको नयाँ पुस्तक ‘प्रिय सुफी’ आइसकेको छ ।
सुविनको कमाइ कति रहेछ त ?

उनका सबै पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको छ । ‘कथाकी पात्र’ प्रकाशन गर्दा उनले १५ प्रतिशत रोयल्टी पाएका थिए । भट्टराईका अनुसार अहिले उनको रोयल्टी २० प्रतिशत पुगेको छ । पछिल्लो ‘प्रिय सुफी’ पनि राम्रो बिक्री भइरहेको छ । 
उसो भए कमाइ चाहिँ कति भयो त ?

‘पुस्तकबाटै कमाएको पैसाले मेरो र श्रीमतीको खर्च चलेको छ,’ उनले भने, ‘मेरो आफ्नै गाडी छ । बेला–बेलामा आफ्नै पैसाले विदेश पनि घुम्न गइरहेको हुन्छु । यसले पनि थाहा हुन्छ नि आम्दानी त, हैन र ?’
भन्न मिल्दै नमिल्ने हो त ?
‘महिनाको लाख त हुन्छ ।’

आख्यान डिजाइनर कुमार नगरकोटी पनि पूर्णकालीन लेखक हुन् । उनले भने, ‘हामीभन्दा सिनियर लेखकहरुले एउटा बाटो बनाइदिनु भएको छ । अब हामी लेखेरै बाँच्ने अवस्था सिर्जना भइसकेको छ ।’

नगरकोटीले आफ्नो आम्दानी र खर्चको विवरण नबताए पनि एउटा सामान्य जीवन बाँच्न लेखनले भूमिका खेलेको बताए । ‘मलाई पैसा र अंकको कुरा उति मन पर्दैन,’ उनी भन्छन्, ‘मलाई कुनै कुरा मन पर्यो र त्यसको मोल १५ सय छ भने १७ सय रुपैयाँ तिरिरहेको हुन्छु किनभने मलाई अंकमा १७ सय मन पर्छ ।’
आवश्यक पर्ने रकम बुकहिलले उपलब्ध गराउने हुनाले जीवन गुजारा चलिरहेको र हिसाबकिताबमा नलागेको उनको भनाइ छ । अहिलेसम्म सात वटा पुस्तक लेखिसकेका उनले ‘मिस्टिका’बाट मात्र १० देखि १५ लाख रुपैयाँ कमाएको बताए । 

त्यसबापत आएको रकममध्ये भूकम्पले क्षतिग्रस्त घर बनाउन ६ लाख रुपैयाँ आमालाई दिएको सुनाए । हरेक महिना आवश्यक पर्ने घरखर्च पनि प्रकाशित कृतिहरुबाटै पूरा भइरहेको उनी बताउँछन् । 
‘न त मसँग वचत छ, न गुजाराका लागि कुनै समस्या,’ उनले भने, ‘एउटा सामान्य जीवन बाँच्नका लागि किताबको रोयल्टीले काम गरिरहेको छ ।’

उनका अनुसार बुकहिलले  उनलाई २५ प्रतिशत रोयल्टी दिइरहेको छ । 
पत्रकारितामा जमिसकेका बुद्धिसागरले फुलटाइम लेखक हुन पत्रकारिता छाडे । अहिले उनको आम्दानीको मुख्य स्रोत पुस्तक लेखनै हो ।

सक्रिय पत्रकारितामै रहँदा उनले ‘कर्नाली ब्लुज’ लेखे । यसले राम्रो बजार लियो । एक दिन उनले हिसाब गरे । यही स्पिडमा पुस्तक बिक्री भयो भने त पत्रिकामा काम गर्नुभन्दा बढी आम्दानी हुनेरहेछ । 

‘मैले एक दिन क्याल्कुलेसन गरेँ, ‘कर्नाली ब्लुज’ प्रकाशित भएर बजार लिएपछि यस्तै किताब ३÷३ वर्षमा निकाल्न सकेँ भने त आम्दानी मासिक रुपमा एक लाख हाराहारी नै  पुग्ने रहेछ । उसो भए किन त्यसो नगर्ने भनेर जागिर छाडियो ।’

अहिलेको मासिक आम्दानी एक लाख हाराहारीमै पुग्ने गरेको उनले बताए ।  
फुलटाइमर लेखक भएपछि उनले ‘फिरफिरे’ लेखे । अहिले तेस्रो आख्यान लेखिरहेका छन् । 
उसो भए उनको लेखनीबाट आउने आम्दानी कति हो त ? 

‘ठ्याक्कै पैसा त  नभनौँ,’ उनले प्रत्युत्तरमा भने, ‘तर फिल्म लेख्ने र अरु पनि यताउतिका कुरा लेखेर मासिक एक लाखभन्दा बढी नै आम्दानी हुन्छ । नभए त काठमाडौँमा कसरी  टिक्नु र ?’
प्रस्ट नखुलाए पनि बजारमा आएको पुस्तक र रोयल्टी प्रतिशत जोड्दा बुद्धिसागरको आम्दानीको आँकलन यस्तो देखियो ।

फाइनप्रिन्टबाट एक कविता संग्रह तथा दुई उपन्यास ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ निकालेका उनले रोयल्टीबापत २० प्रतिशत पाउने गरेका छन् । 

बुद्धिसागर फिल्म र गीत लेखनमा पनि सक्रिय छन् । 

करिब १० वर्ष शिक्षण पेशामा आबद्ध भएका उपन्यासकार अमर न्यौपाने पनि अहिले पूर्णकालीन लेखक नै हुन् । पूर्णकालीन  लेखनमा  लाग्न आर्थिक पाटोभन्दा पनि सोख भएको  बताउँछन् । उनी भन्छन्, ‘मान्छेले आफूले आफूलाई चिन्नुपर्छ । जे गर्दा  मजा आउँछ, त्यही गर्नुपर्छ । मलाई लेख्दा आनन्द आउँछ भन्ने थाहा भयो, त्यसपछि यसैमा लागियो ।’ 

अहिलेसम्म तीन वटा पुस्तक निकालेका न्यौपानेले पहिलो पुस्तक ‘पानीको घाम’ पैरवी प्रकाशनबाट प्रकाशन गरेका थिए । यस कृतिले उनलाई मार्केटमा चिनाउने काम गर्यो । यसपछि उनका तीन वटै पुस्तक, ‘सेतो धरती’ र ‘करोडौँ कस्तुरी’ फाइनप्रिन्टबाट प्रकाशन गरेका छन् । मदन पुरस्कार प्राप्त ‘सेतो धरती’ ६० हजार जति बिक्री भएको उनले बताए । 

त्यसको रोयल्टी उनले अहिलेसम्म पाइरहेका छन् । उनको तेस्रो कृति ‘करोडौँ कस्तुरी’ पनि बजारमा राम्रै चल्यो । 

‘घर बुबाको पेन्सनले  चलिहाल्छ । मैले  आफ्नो जीवन धानेको छु,’ उनले भने, ‘कुनै पनि कुरामा लत नभएको हुनाले अलिअलि पैसा वचत पनि भएको छ ।’

उनका अनुसार प्रत्येक पुस्तकबाट २० प्रतिशत रोयल्टी आउँछ । यसैको आधारमा मासिक एकलाख आम्दानी गर्न गाह्रो नभएको उनी बताउँछन् । प्रत्येक दुई वर्षमा गतिलो कृति ल्याउन सक्दा यो आम्दानी बढ्न सक्ने उनको भनाइ छ ।

काठमाडौँमा एक्लै बस्ने अमर न्यौपानेले खर्च यति हुन्छ नभने पनि उनको उनले १ लाख आम्दानी गर्न गाह्रो नभएको बताउँछन् । 

हो, लेखेर आम्दानी गर्न सकिएला तर पुस्तकबाट मात्र सम्भव होला त ? 
न्यौपानेले सहजै भने, ‘हुन्छ । सुरुमा पुस्तकको फ्लो बढी हुन्छ पछि हुन्न तर वर्षैपिच्छे निकाल्ने हो भने गाह्रो हुँदैन ।’ 

अब नयनराज पाण्डेको आम्दानी खोतलौं । १२ पुस्तक लेखिसकेका पाण्डेले २०४४ सालबाट पुस्तक प्रकाशन गर्न थालेका हुन् । 

‘इन्टर नेपालगञ्जमा सकेपछि ब्याचलर काठमाडौँमा पढ्ने हुटहुटी लाग्यो,’ उनले लेखक बन्नुको पृष्ठभूमि कोट्याउँदै भने, ‘बुबाले काठमाडौंं पढ्ने भए खर्च आफैँ धान्नुपर्छ भन्नुभयो । बुबाको यो प्रस्तावलाई मैले स्वीकारेँ । त्यो बेला २५ सय हातमा राखिदिनुभयो । साहित्यमा सानैबाट रुचि भएकाले लेख्नेबाहेक केही उद्देश्य थिएन । यता आएपछि  साथीसंगी पनि त्यहीअनुसार हुँदै गयो अनि लेखन यात्रा सुरु भयो ।’

पुस्तक लेखनबाट मात्र जीविकोपार्जन हुन नसक्ने भएपछि उनी टेलिसिरियलका पटकथा लेख्न थाले । बीच–बीचमा पुस्तक निकाल्दै टेलिसिरियल लेख्दै उनी काठमाडौँकै बासिन्दा भए । जग्गा किने, घर बनाए, छोराहरु पढाए । अहिले पनि लेखेर नै आउने रकमले नै परिवार धानेको बताउँछन् उनी । 

उनका पुस्तकमध्ये ‘लू’ धेरै बिकेको बताउँछन् । उनको आँकलनमा ३० देखि ३५ हजार प्रति बिक्यो । पाण्डेका अनुसार प्रत्येक वर्ष पुस्तक प्रकाशन गर्ने र १० हजार प्रति बिक्री हुने हो भने २० देखि २५ प्रतिशत रोयल्टी पाउने लेखकले १०÷१२ लाख आम्दानी गर्ने बताए । 

उनका अनुसार प्रति किताब उनले २० देखि २५ प्रतिशत रोयल्टी पाउँछन् ।
अहिलेसम्म पुस्तक लेखेर कति कमाइयो त ? 

‘ठ्याक्कै यति नै भन्ने त छैन,’ पाण्डेले भने, ‘काठमाडौँ आउँदा २५ सय लिएर आएको थिएँ । त्यसपछि बुबासँग पैसा मागिनँ । जग्गा किनेँ, घर बनाएँ, छोराहरु पढाएँ आम्दानी यही हो ।’

बिक्री बढेकै हो त ?
नयाँ–नयाँ ‘हिम्मतिला’ प्रकाशन गृह खुलेसँगै पुस्तक प्रचार र बिक्री दुवै बढेको सत्य हो । पहिला वर्षभरिमा हजार प्रति पुस्तक बिक्री गर्न गाह्रो हुने अवस्था बद्लिएको छ भने पुस्तक बिक्रीको क्रम बढेको छ भन्ने दाबी बिक्रेताहरुकै छ ।

अहिले त पब्लिकेसन हाउसहरुले पहिले नै सम्झौता गरेर लेखकहरुलाई ‘होल्ड गरेर राख्ने’ स्थितिमा हाम्रो बजार पुगिसकेको दाबी गर्नेहरु पनि छन् ।

लेखकहरुलाई लेखनीमा सहज होस् र राम्रो सिर्जना आओस् भनेर पुस्तक निस्कनुअगावै लेखकलाई ‘रिफ्रेसमेन्ट’का लागि खर्च दिने, घुमाउन लैजाने प्रकाशन गृहहरुसमेत छन् । 

रत्न पुस्तक भण्डारका सञ्चालक गोविन्द श्रेष्ठ अहिले बजारमा चर्चा भएझै पुस्तकहरु बिक्री नै नहुने दाबी गर्छन् । उनी एकाध पुस्तकबाहेक नेपालमा हजार प्रति भन्दा बढी बिक्री नहुने उनको दाबी गर्छन् ।
‘बाहिर देशमा पुस्तकालयले किन्ने भएकाले हजारौँ प्रति जालान् तर हाम्रोमा पुस्तकालय उति साह्रो छैनन् र तिनले किन्दैनन् पनि,’ उनले भने, ‘त्यसैले कुनै पनि पुस्तक एक हजारप्रति भन्दा बढी बिक्री हुँदैन ।’

प्राध्यापक राम लोहनी फिक्सन लेखेर मात्र जीविकोपार्जन हुन गाह्रो रहेको बताउँछन् ।
‘पहिले भन्दा धेरै पाठक बढेकै छन् तर पनि फिक्सन लेखेकै भरमा पूरा स्ट्यान्डर्ड जीवन बाँच्न गाह्रो छ,’ उनले भने, ‘बाँच्न सक्ने–नसक्ने, कस्तो लाइफ स्टाइल बाँच्ने भन्नेमा पनि भर पर्छ ।’

उनले अहिलेका नयाँ पुस्ताका लेखक पनि पुस्तकको आम्दानीबाट मात्र जीवन निर्वाह गर्न सक्ने अवस्था नरहेको दाबी गरे । कतिपय लेखकले पुस्तकसँगै अन्य लेखनको समेत काम गर्ने गरेकाले आम्दानी राम्रै हुनसक्ने उनले बताए ।
‘पुस्तक मात्र लेखेर आनन्दले जीवन चल्ने अवस्था भने अझै देखिन्न,’ लोहनीले भने ।
 

Leave A Comment