‘वाइड बडी’ले बनाएको ‘न्यारो छवि’

बिहिबार, १९ पुष २०७५, ०५ : ४९ शुक्रवार
‘वाइड बडी’ले बनाएको ‘न्यारो छवि’

नेकपाका आशालाग्दा नेता रवीन्द्र अधिकारी फाट्टफुट्ट आर्थिक विवादमा आए पनि उनको ओजले विवाद सहजै पचाउँदै आयो । कहिले पोखरामा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको सेटिङमा उनको नाम जोडिन्थ्यो भने कहिले एनसेलमा । यस्ता चर्चाले हल्काफुल्का उनको राजनीतिक ओज कोतरे पनि दागै भने लगाउन सकेन ।

राजनीतिक रुपमा उनले आफ्नो क्षेत्रमा पकड बलियो नै बनाइराखे । पार्टी दुई तिहाई निकट पुग्दा उनी छुट्ने कुरै भएन, आए सानदारसँग जितेर अनि पर्यटन मन्त्री पनि भए । उनी मन्त्री हुँदा सकारात्मक आश गर्नेहरुलाई निराश बन्न दिएनन्, अन्तर्राष्ट्रिय विमास्थल टिलिक्क टल्काएर तर वाइड बडी प्रकरणले भने उनको राजनीतिक ओज बिस्तारै ‘न्यारो’ बनाउँदै लग्यो । 

संसदीय समितिमा हुँदै नभएको कुरालाई ढिपी कसेर हो भन्दा कतै उनको मन्त्री यात्रा नै चिलिम हुने त हैन भन्ने अवस्था आइसक्यो । 

हुन त उनले प्रारम्भदेखि नै नेपाल वायुसेवा निगमको वाइड बडी खरिद प्रकरणलाई ‘झिना मसिना कुरा’ भन्दै पेल्दै आएका नै थिए तर जब उनले यो विवादमा महालेखा परीक्षक टंकमणि शर्मालाई लपेट्ने प्रयास गरे, नराम्ररी फँसे । सार्वजनिक लेखा समितिमा उनले शर्मासँगको परामर्शमै वाइड बडी खरिदको पैसा पठाएको बताइदिए । शर्मा मौन बसेनन् । उनले तत्काल अधिकारीको दाबीको खण्डन गरेर ‘हैन’ भनेर ।

उता लेखा समितिले उप समिति बनाएर छानविन गरायाे जसमा ४ अरब ३५ कराेड अनियमितता गरेकाे निश्कर्ष आयो । पहिलो किस्ता दिने जीवनबहादुर शाही, दोस्रो किस्ता दिने जितेन्द्रनारायण देवसँगै वर्तमान पर्यटन मन्त्री रविन्द्र अधिकारी तानिए । उनले हैन भने पनि अन्तिम किस्ता उनैले पठाएको खुल्यो । समितिमा टंकमणीसँग परामर्श गरेको दावी पनि झुटो ठहरियो ।

पहिला भुक्तानी दिएको देखिए राजनीतिबाट सन्यास लिन्छु भन्थे अब भ्रष्टाचार प्रमाणित भए सन्यास लिन्छु भन्न थालेका छन् । सरकार वचाउमा उत्रिसक्यो । दुई तिहाइको सरकार छ, राजनीतिक संरक्षणमा उनले उन्मुक्ति पनि पाउँलान् । तर राजनीतिमा वाइड रहेको उनको छवी वाइड बडी प्रकरणले न्यारो भने बनाइदियो ।

गेरु रङमा लपेटिएला त कांग्रेस
रातो र सेतो पृष्ठभूमिमा चार वटा ताराको पहिचान बोकेको नेपाली कांग्रेस गेरुवा रङमा लपेटिएला कि यो उनीहरुको राजनीतिक फण्डा मात्र होला ? 

पार्टीको महासमिति बैठकमा हिन्दु धर्मको पक्षमा उठेको आवाज अनि पूर्व राजा ज्ञानेन्द्र शाहले हिन्दुवादी दलको छवि बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कांग्रेससँग सहकार्य गर्न दिएको सुझाव बाहिरिएसँगै अहिले चोकचोकमा बहसको विषय बनेको छ ।

कांग्रेसकै सक्रियतामा नेपाल हिन्दु राज्यबाट धर्मनिरपेक्ष मुलुक बनेको जगजाहेरै छ । आफ्नै प्रयासमा हिन्दु धर्मबाट धर्म निरपेक्ष बने पनि यसका उपल्ला तहका केही नेतामा अझै हिन्दु धर्म प्रतिको मोह बेलाबखत प्रकट हुने गरेको छ नै । खुमबहादुर खड्का जीवित रहेसम्म यसको नेतृत्व उनैले गर्थे । उनको मृत्युपछि कांग्रेस महामन्त्री शशांक कोइरालाले गेरुवा वस्त्र प्रतिको मोह देखाइरहेका छन् । यसलाई महासमितिको बैठकमा अजेण्डा बनाउने प्रयास खड्काका चेला शंकर भण्डारीले गरेका थिए ।

महासमितिको बैठकबाहिर हस्ताक्षर संकलन भए पनि प्रस्तावको रुपमा स्वीकार हुन नसकेकाले एकातिर यो कट्टर हिन्दुवादीको सफ्ट सपोर्ट पाउन खेलेको राजनीतिक खेल जस्तो पनि देखिएको छ । 

हिन्दु राज्यको साटो धर्म निरपेक्ष मुलुक बनेपछि गैर हिन्दु अझ विशेष गरी क्रिश्चियन मिसनरीको सक्रियता बढ्दो छ । जसले हिन्दु राज्य गुम्दा पनि त्यत्ति चिन्तित नभएका हिन्दुवादीहरु विस्तारै झोँक्किदै गएको देखिन्छ । त्यसमा सिधै येशूको सन्देश बोकेर नेपाललाई क्रिश्चियन मुलुक बनाउनुपर्ने दाबी गर्ने अतर्राष्ट्रिय संस्थाको कार्यक्रमप्रति वर्तमान सरकारले देखाएको सद्भावले राष्ट्रको धर्म हुन्न भन्नेहरुको मनमा चिसो पारिदिएको छ । 

अर्कोतिर नेपालको आन्तरिक राजनीतिमा गहिरो प्रभाव पार्ने भारतमा कट्टर हिन्दुवादी भारतीय जनता पार्टी सरकारमा रहँदा त्यसको प्रभाव कांग्रेसको आगामी नेतृत्वका लागि हुने चुनाव र चार वर्षपछिको केन्द्रीय चुनावमा पर्छ नै । एमाले र माओवादी मिलेर बनेको नेकपाले सन्तोषजनक काम नगरे पनि जनमतै गुमाउने अवस्था देखिइसकेको छैन ।

यो अवस्थामा पार्टीभित्रको नेतृत्वसँगै आगामी प्रदेश र संसदको चुनावमा नेकपालाई पछार्न हिन्दुवादले काम गर्नसक्ने काँचो विश्लेषण भएको पनि हुनसक्छ कांग्रेसमा । धर्मको राजनीतिले त्यत्ति प्रभाव पार्दैन भन्ने राप्रपाको अवस्थाले देखाइसकेको अवस्थामा कांग्रेस राप्रपाको बाटो समात्दै गेरुवा वस्त्रमा लपेटिन तयार होला त ? कांग्रेसको के छ र भर ?

नेकपाका नेतालाई पुस फाप्यो 
नेकपामा मनाङका प्रदेश सांसद दीपक गुरुङ(मनाङे)लाई कारागारबाहिरै बसेर मुद्दा लड्ने छुट दिएसँगै हत्या अभियोगमा जन्मकैद पाएर जेल बसिरहेका कटरिया नगरपालिकाका मेयर सियाराम कुशवाहप्रति अदालत दाहिना हुँदा गुमिसकेको पद फर्कियो । 

चक्रे मिलनको हात छिनाल्ने गरी खुकुरी हानेको केसमा कैद सजायको फैसला भइसक्दा पनि स्वतन्त्रै रहेको खुलासापछि प्रहरीले बडो मिहिनेत गरेर पक्राउ गरेर जेल पठाएको मनाङेप्रति सर्वोच्च अदालत नरम हुँदा उनी जेलबाहिर आइपुगेका थिए । 

काशी तिवारीको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सुनाइएपछि पक्राउ परी जेल पुगेका कुशवाहलाई सर्वोच्च अदालतले सफाइ दियो । यस बीचमा उनको मेयरको पद सुरक्षितै थियो । उनले सफाई पाएको खुसियालीमा उनी मेयर रहेको नगरपालिकाले त आफ्नो क्षेत्रमा सार्वजनिक बिदा नै दियो भने उनलाई काठमाडौंको डिल्लीबजार कारागारबाट जिल्लासम्म हेलिकप्टरमा हर्षबढाई गर्दै लगिएको थियो । 

कुशवाले सफाइ पाएसँगै उनको मेयर पद फर्किने पक्का भइहाल्यो । यता प्रदेश सांसद मनाङे पनि प्रदेश सांसदको पदमा आसिन हुन दौडधुपमा छन् । उनी निर्वाचित भए पनि सपथ खान पाएका थिएनन् । त्यसैले पदमा फर्कन पहिला सपथ त खानै प¥यो । सपथको तारतम्य मिलाउन उनले निवेदन दिइसके ।

अदालतबाट दोषी ठहर भएर सुनाइएको कैदमा समेत जेलबाहिरै बसेर मुद्दा मामिलाको तारतम्य मिलाउन सक्ने उनलाई सपथ खानबाट रोक्ला कसले ? जे होस् नेकपाका नेतालाई पुस महिना फापेकै छ ।

Leave A Comment