२०१८ का उम्दा १० फिल्म

शुक्रबार, २० पुष २०७५, ०६ : ५८ शुक्रवार
२०१८ का उम्दा १० फिल्म

निकोलस बार्बर-बिबिसी
२०१९ लागिसकेको छ । नयाँ वर्षमा विगत केलाउने काम भइरहेको छ । सन् २०१८ भरि बनेका फिल्महरुमध्ये सबैभन्दा राम्रा फिल्म के हुन् त भनी समीक्षकहरुले टाउको कन्याएको निकै भइसक्यो । बिबिसीले भने आफ्नो सूची यस्तो बनाएको छ ।


१. अ क्वाइट प्लेस

जोन क्रान्सिस्कीले लेखन तथा निर्देशन गरेको यो फिल्मले पृथ्वीमा आएका अर्कै ग्रहका प्राणी (एलियन)को आक्रमणबाट बच्न भएको संघर्षको कथा भन्छ । यी एलियन यस्ता छन्, जो सुन्न सक्तैनन् । यस्तो अवस्थामा जोनको परिवारका सदस्य अर्थात् लोग्ने, स्वास्नी र छोरीले छुसुक्क पनि आवाज नआउने गरी बस्नुपर्छ । थोरै आवाज र खस्याकखुसुक सुन्नेबित्तिकै एलियनले तिनलाई मारिहाल्छन् ।

यो एउटा गज्जबको थ्रिलर फिल्म बन्न पुगेको छ । जहाँ एउटा काल्पनिक संसारमा पुगेर पनि मानिसले वास्तविक डर महसुस गर्छन् । यसको विशेषता भन्नु नै प्रत्येक दृश्यमा रोमाञ्च अनुभूत गर्नु हो । फिल्मका पात्रहरु आफ्नो ज्यान जोगाउनका लागि नाङ्गा गोडा हिँड्छन् र सङ्केतमा कुरा गर्छन् । 


२. सप लिफ्टर
जापानी फिल्मकर्मी हिरोकाजु कोरेएडाको यो फिल्म सामान्य चोरहरुको कथा हो । बाँच्नका लागि यिनीहरुले गर्ने सामान्य किसिमका चोरी र बदमासी अनि बालबालिकाको अपहरणको कथा हो ।
चोरहरुको एउटा संयुक्त परिवार छ । परिवारका मुख्य व्यक्ति ओसामु र उसकी पत्नी नोबुयो जापानको राजधानी टोक्योको एउटा सानो घरमा बस्छन् । ठूलो परिवार भएकाले उनीहरुको वैध आम्दानीले जिन्दगी गुजार्न गाह्रो छ । तसर्थ चोरी र अन्य अपराधबाट आएको पैसाले उनीहरुले जीवन धानिरहेका छन् ।
निर्देशकले अपराधलाई महिमामण्डन गरेका छैनन् तर फिल्म हेर्दै गर्दा तपाईंलाई उनीहरुप्रति करुणा जागृत गरिदिन्छ । जीवन चलाउन त यत्तिको अपराध गर्नु खासै ठूलो कुरा होइन । एकअर्कालाई असाध्य माया गर्ने यो परिवारको कथालाई कान्स फिल्म फेस्टिभलमा पाम डि ओरजस्तो प्रख्यात पुरस्कार दिइएको थियो ।


३. कोल्ड वार
पोल्यान्डको यो फिल्मले १९५० को दसकको कथा भन्छ । त्यो बेला युरोपमा पूर्व र पश्चिम अर्थात् कम्युनिस्ट र पुँजीवादी राष्ट्रबीच भयंकर शीतयुद्ध चलिरहेको थियो । पश्चिमी युरोप र पूर्वी युरोपका बीच फलामझैँ सशक्त पर्खाल थियो । यस्तोमा दुई प्रेमी जो एकअर्काबिना बाँच्न सक्तैनन् तर सँगै बस्न पनि पाउँदैनन् ।

फिल्मका मुख्य पात्र भिक्टर र जुला सङ्गीत भनेपछि हुरुक्क हुन्छन् । उनीहरु एउटा सरकारी लोकगीत मण्डली बनाउँछन् । निर्देशक पावल पाउलिकोवस्कीको यो फिल्मले उनकै ओस्कार पुरस्कार जित्ने फिल्म ‘इडा’पछिको कथा कहेको छ । यी दुईको मिलन त हुन्छ तर पनि उनीहरु सन्तुष्ट हुन सक्तैनन् । 
निर्देशक पावेलले आफ्नै आमाबुबाको प्रेमकथालाई पर्दामा जीवन्त उतारेका हुन् । आफ्ना आमाबुबा भेट भयो कि झगडा गर्ने तर टाढा पनि रहन नसक्ने किसिमका हुन्छन् । यिनीहरुको प्रेमकथालाई पर्दामा उतार्नु जरुरी देखेका छोरा पावेलको प्रयास निकै उम्दा देखिन्छ । कथालाई त्यही जमानामा पु¥याउन श्यामश्वेतमा देखाइएको छ ।


४. इफ् बिल स्ट्रिट कुड टक
स्टिफन जेम्स र किकी लेनको प्रेमकथा देखाइएको यस फिल्ममा गरिबी, प्रहरीको अत्याचार र जातिवादी कारणले कसरी यिनीहरु बिछोडिन्छन् भनी देखाइएको छ । जेम्स बाल्डविनको उपन्यासमा आधारित यो फिल्मलाई बेरी जेनकिङ्सले निर्देशन गरेका छन् । जातिवादीबाट पीडित भएका जोडाको क्रोधका रुपमा पनि यो उपन्यासलाई सम्झना गरिन्छ तर निर्देशक बेरीले भने यस फिल्मलाई भने रुमानी पीडाका रुपमा पेश गरेका छन् । यहाँ प्रेमले जिन्दगीका पीडालाई मलमका रुपमा काम गरेको देखाइएको छ । बेरी जेनकिङ्सले एउटा सपनाझैँ लाग्ने फिल्म बनाएका छन् ।


५. द फेभरेट
ग्रिसेली फिल्म निर्देशक योगर्स लेन्थिमोलाई वर्तमान समाजको गज्जबको तस्बिर पेस गर्ने निर्देशकको सूचीमा राखिन्छ । उनको ख्याति यसैमा छ पनि तर उनले यसपाला अनौठो कथामा हात हालेका छन् । उनले बेलायती शाही परिवारमाथि ऐतिहासिक फिल्म बनाएका छन् । सत्रौं शताब्दीको बेलायती परिवारमा रोगी महारानी एन आफ्नो नजिककी साथी सारा, डचेज अफ मार्लबारोको सहयोगले महŒवाकांक्षी सामन्तहरुलाई तह लगाउँछिन् । 

तर जब फिल्ममा साराकी काकाकी छोरी एमा स्टोनको पदार्पण हुन्छ, राजमहल नयाँ षडयन्त्रको अड्डा बन्न पुग्छ । महारानीसँग को नजिक बन्ने भन्ने दौड सुरु हुन्छ भने यौन सम्बन्धको चर्को बोलबाला बन्न पुग्छ । डेबोरा डेभिस र टोनी मेक्कनमाराको कथा बडो रमाइलो छ । फिल्मका तीन पात्र हेर्दाहेर्दै तपाईंका फेभरेट बन्न पुग्छन् ।


६. स्पाइडरम्यानः इन टु द स्पाइडर भर्स
सुपरहिरोका कथामा आधारित फिल्मले सन् २०१८ मा बबाल व्यापार गरे । चाहे त्यो अफ्रिकी मूलका व्यक्तिमा आधारित ‘ब्ल्याक प्यान्थर’ होस् या एभेन्जर शृंखला । यी सबैले निकै राम्रो व्यापार गरेर हलिउडको व्यापारमा अर्को आयाम थपिदिए । तर यी फिल्मभन्दा स्पाइडर म्यानको नयाँ फिल्म अर्कै बन्न पुग्यो । यसमा डिजिटल पात्रका साथ हातले बनाइएको एनिमेसनको सन्तुलन बडो गज्जबको थियो । यो फिल्म कम र एउटा कमिक्स किताब बढी महसुस हुन्छ । स्पाइडरको थिममा आधारित सुपरहिरो तपाईंकै छेउछाउ पो छ कि भन्ने महसुस गराउँछ । 

यस फिल्ममा न्युयोर्कको ब्रुकलिन क्षेत्रमा बस्ने एउटा किशोरको कथा छ । स्पाइडर म्यानको चरित्र कमिक्समा उतार्ने स्टान ली र स्टिभ डिट्को दुवै जनाको २०१८ मै देहान्त भएको थियो । यो फिल्म उनीहरुलाई दिइएको सबैभन्दा राम्रो श्रद्धाञ्जली हो भन्न सकिन्छ ।


७. द राइडर
चिनियाँ निर्देशक क्लोए झाओको लेखन निर्देशन रहेको दोस्रो फिल्म हो । यसमा ब्राड जेनड्रु नामक एउटा घोडा दौडको खेलाडीको कथा हो । अचानक घोडाले उसको टाउकोमा लात्तले हानेपछि अस्वस्थ भएको ऊ कसरी खेलमा फर्कन्छ, फर्कनका लागि उसले के कस्ता समस्या झेल्नुपर्छ, कसरी उसले आफ्नै मृत्युसँग पौँठेजोरी खेल्छ भन्ने विषयमा यो फिल्म बनाइएको छ ।
फिल्ममा खासगरी लागेको चोटबाट बिस्तारै निको हुन पात्रले गरेको संघर्षलाई निर्देशक क्लोएले बडो संवेदनशील तरिकाले देखाएका छन् । उनले आफ्नो कल्पनाशीलता र वास्तविकतालाई एउटा गज्जबको सन्तुलन मिलाएर देखाएका छन् । 


८. लिभ नो ट्रेस
अमेरिकी निर्देशक डेब्रा ग्रेनिकको यो फिल्मले अमेरिकी समाजको तल्लो तहमा रहेका मानिसको कथा पक्डिएको छ । आठ वर्षअघि उनले बनाएको फिल्म ‘विन्टर्स बोन’ले निकै चर्चा बटुलेको थियो । यस फिल्ममा पनि उनले सोही वाहवाही बटुल्ने काम गरेकी छन् । 
यस फिल्ममा बेन फोस्टर नामक एउटा वृद्धको कथा छ, जो भर्खरै युद्धबाट फर्किएको छ । ऊ घना जङ्गलमा बस्छ । उसकी किशोर उमेरकी छोरी छे । यस फिल्मले बाबु र छोरीको सम्बन्धलाई निकै राम्रो तरिकाले प्रस्तुत गरेको छ । निकै पछि मात्र छोरीलाई महसुस हुन्छ, उसको बाबु जुन किसिमको जीवन बाँचिरहेको छ, त्यसरी नै ऊ जीवनभर बाँच्न सक्तिन । उसले आफ्नो वृद्ध पितासँग बिदा माग्दै जे कुरा भन्छे, त्यसले दर्शकलाई केहीबेर रनभुल्लमा पारिदिन्छ ।


९. फस्र्ट म्यान
यो फिल्म चन्द्रमामा पहिलो पटक पाइला टेक्ने व्यक्ति नील आर्मस्ट्रङको कथा हो । यो भूमिका ¥यान गेसलिङले पाएका छन् । फिल्मका निर्देशक छन्, ‘ला ला ल्यान्ड’बाट चर्चा कमाएका डेमियन सेजल । 
सबैभन्दा कठिन वाहनमा सवार भएर एक व्यक्ति खतराका कयौँ पलहरुसँग जुझ्दै कसरी चन्द्रमासम्म पुग्ने यात्रा पूरा गर्छ भन्ने कथा यस फिल्मले देखाएको छ । खासगरी यो यात्रामा जान उसलाई उसकी मृत छोरीले कसरी भूमिका खेल्छे भन्ने कथा पनि सँगसँगै अघि बढ्छ ।

यो फिल्मको सबैभन्दा राम्रो कुरा चाहिँ नील चन्द्रमामा पुग्ने एक अद्भूत व्यक्ति भइकन पनि उनलाई कुनै सुपरहिरोका रुपमा पेस गरिएको छैन । उनमा मानवीय संवेदनाका कयौँ केस्राहरु उधिन्दै चुनौतीसँग लड्दाका बेला कयौँ पटक कमजोर हुने पात्रका रुपमा देखाइएको छ । उनलाई पनि डर लाग्छ, तनाव हुन्छ । कयौँ पटक त नीलको मौनताले दर्शकलाई दिक्क पनि पार्न सक्छ । कसरी उनले आफ्नो निजी दुःखलाई त्यागेर चुनौती सामना गर्छन् भन्ने कथाले मानिसलाई छुन्छ । 


१०. स्विट कन्ट्री
अस्ट्रेलियाका इतिहास बयान गर्ने अहिलेसम्मकै सबैभन्दा अहम् फिल्मका रुपमा यसलाई अथ्र्याउन सकिन्छ । अस्ट्रेलियाको मूल निवासी स्यामको जीवनमा आधारित यो फिल्ममा कानुनी राज, गुलामी, धर्म र आदिवासी समाजलाई मुख्यधारामा ल्याउन गरिएको प्रयासहरुको मिलिजुली कथा हो ।

स्यामले आफ्नी पत्नीलाई बलात्कार गर्नेलाई हत्या गरेर भाग्छ । अस्ट्रेलियाको निर्जन मरुभूमिमा लुक्दा कानुनसँग लुकाछिपीसँगै कथा अघि बढ्छ । कहिले फिल्म फ्ल्यासब्याकमा जान्छ त कहिले अगाडिको कथा भन्छ । यसको हरेक दृश्य र फ्रेममा केही न केही उद्देश्य राखिएको छ । गोरासँग प्रतिस्पर्धा हुँदा मूल निवासी प्रायः मौन देखिन्छन् । फिल्मका मुख्य कलाकार स्यामको भूमिकामा रहेका हेमिल्टन मोरिसले निकै सानदार अभिनय गरेका छन् । यस फिल्मले त्यहाँको आदिवासी दृष्टिकोणलाई पेस गरेको छ ।
 


 

Leave A Comment