सन् २०१९ को उपहार : सुरु हुँदै फाइभजीको युग

शुक्रबार, २० पुष २०७५, ०७ : ११ सन्ताेष न्याैपाने
सन् २०१९ को उपहार : सुरु हुँदै फाइभजीको युग

इन्टरनेटको दुनियाँमा सन् २०१९ विशेष हुँदैछ । यो वर्ष विश्वका करोडौं मानिसले विशेष उपहार पाउँदैछन्, त्यो हो फाइभजी । विश्वका विकसित देशमा परीक्षण भइरहेको फाइभजी यही वर्ष आउने निश्चित छ । यसले इन्टरनेटको दुनियामा नयाँ युगको सुरुवात गर्दैछ । 

के हो फाइभजी ? 
फाइभजी अर्थात् फिप्थ जेनेरेसन ९छन० भनेको मोबाइल इन्टरनेट नेटवर्कको पाँचौँ पुस्ता हो । यो यसअघिका पुस्ताभन्दा उच्च गतिको वायरलेस इन्टरनेट हो । संसारकै सबैभन्दा पछिल्लो सेलुलर प्रविधि हो, जुन व्यावसायिक रुपमा सञ्चालन हुने तयारीमा छ । विगतका वर्षदेखि विभिन्न कम्पनीले यसको परीक्षण गरिरहेका छन् । फाइभजीको अध्ययन भने १० वर्षअघिदेखि नै सुरु भएको हो । 
फाइभजीले मोबाइल नेटवर्कबाट मान्छेलाई मात्र जोड्ने छैन, यसले त मेसिन, वस्तु, डिभाइसहरुमाथि नियन्त्रण र कनेक्सन गराउनेछ । 

–उच्च गति
फाइभजीमा हालसम्मकै उच्चगतिको इन्टरनेट सुविधा हुनेछ । हाल सञ्चालनमा रहेको चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) भन्दा ३० औं गुणा छिटो हुने बताइएको छ । घरघरमा चलिरहेको ब्रोडब्यान्ड इन्टरनेटभन्दा पनि धेरै गुणा छिटो चल्ने छ । 
तर अहिले नै यसको गति यति हुन्छ भनेर कसैले भन्न सकेका छैनन् किनभने विभिन्न देशमा गरिएको परीक्षणका क्रममा विभिन्न तथ्यांक आइरहेका छन् । 

सामान्यतः डाउनलोड र अपलोडको गतिका आधारमा इन्टरनेटको अवस्था बुझ्न सकिन्छ । ठाउँ र अवस्थाअनुसार फरक पर्ने भए पनि फाइभजीको यसरी बुझ्न सकिन्छ :

डाउनलोड स्पिड– २.५ जिबी प्रतिसेकेन्ड अथवा २५६० एमबी प्रति सेकेन्ड
अपलोड स्पिड– १.२५ जिबी प्रति सेकेन्ड अथावा १२८० एमबी प्रति सेकेन्ड 
यो ६ सय मेगाहर्जदेखि ६ मेगाहर्जको लोअर फ्रिक्वेन्सीमा हुन्छ भने प्रति स्वायरकिलोमिटरमा १० लाख डिभाइसलाई यसले सपोर्ट गर्नेछ । 

–कम लेटेसी
लेटेसी भन्नाले प्रयोगकर्ता र सर्भरबीचको सन्देशमा हुने ढिलाइलाई बुझिन्छ । लेटेसी कम हुनुको अर्थ उच्चगतिको इन्टरनेट हुनु हो । यसको ढिलापन १ मिलिसेकेन्ड (एमएस) मात्र हुने अनुमान छ । जबकि फोरजीको ढिलापन ५० एमएसदेखि १ सयसम्म हुन्थ्यो । 

अहिले संसारका विकसित देशले फाइभजी सञ्चालनका लागि तयारी गरेका छन् । धेरै कम्पनीले को पहिलो हुने भन्ने प्रतिस्पर्धा गरिरहेका छन् । आ–आफ्नो देशमा पनि पहिला कसले सुरु गर्ने भनेर कम्पनीले प्रतिस्पर्धा गरिरहेका छन् । जस्तो कि कोरियामा दुई कम्पनीले फाइभजी ल्याउने होडमा छन् । एसके टेलिकमले फाइभजी सञ्चालनका लागि फ्रिक्वेन्सी लिएर तयारी अवस्थामा बसेको छ ।

मुख्यतः ६ वटा देश फाइभजी सञ्चालन गर्ने पूर्ण तयारीमा छन् । अमेरिका, दक्षिण कोरिया, स्विडेन, स्टोनिया, जापान, चीन, टर्कीले फाइभजी सञ्चालनको लागि तयारी गरिरहेका छन् । 

के फाइभजीको बिस्तारले संसारमा वाइफाइ हराउने हो कि भन्ने प्रश्न पनि उठेको छ तर धेरैले के भनेका छन् भने फाइभजीले वाइफाइ हराउँदैन । यिनीहरु एकअर्काका सहारा बन्नेछन् ।
तुलनात्मक रुपमा नहेर्दासम्म फाइभजीको गति कति हुने भन्ने अहिले नै भन्न गाह्रो पर्छ । त्यसैले यसको स्पिडलाई तुलनात्मक रुपमा यसरी हेर्न सकिन्छ । मानौं एक फिल्म डाउनलोड गर्न लाग्ने समयको तुलना यसअघिका पुस्तासँग–
थ्रिजी– एक घण्टा ८ मिनेट 
फोरजी एलटिइ– २७ मिनेट
फाइभजी– ३५ सेकेन्ड 

बेफाइदा
– खर्चिलो 
फाइभजीको प्रयोगमा फाइदा धेरै भए पनि केही बेफाइदा पनि छन् । फाइभजीको सुरुवाती दिनहरुमा रहेका यी बेफाइदा बिस्तारै हट्दै जाने विश्वास लिइएको छ ।
फोरजीभन्दा महँगो हुने विषयलाई एक बेफाइदाका रुपमा लिइएको छ । उच्च गतिको नयाँ प्रविधिसँगै यो केही महँगो हुन सक्ने अनुमान छ । हरेक टेलिकमले यसलाई सपोर्ट गर्ने सबै नयाँ उपकरण जडान गर्नुपर्ने छ । यसको जडान र विकास खर्चिलो हुनेछ । 
त्यसैगरी, उपभोक्तालाई थप आर्थिक भार थपिने छ । फाइभजी उपलब्ध भयो र त्यो सेवा लिने हो भने अहिले चलाइरहेको कुनै पनि मोबाइल सेटले काम गर्दैन । त्यसका लागि फाइभजीको सुविधा भएको मोबाइल किन्नुपर्ने छ । अहिलेसम्म कुनै पनि कम्पनीले व्यावसायिक रुपमा फाइभजी मोबाइल उत्पादन गरेका छैनन् । 

– कम कभरेज
फाइभजी जति उच्च गतिमा छ, त्यसअनुसार यसले दिने कभरेज भने कम हुने अनुमान छ । फाइभजीका टावरले फोरजी र थ्रिजी जतिको क्षेत्रफलमा कभरेज दिनेछैन । 

फाइभजी स्मार्टफोन उत्पादन तयारी 
विश्वमा फाइभजी नेटवर्कको सुरुवात गर्ने तर्खर गरिरहँदा मोबाइल उत्पादक कम्पनीहरुलाई चासो बढ्दै गएको छ । उनीहरुले फाइभजी सपोर्ट गर्ने मोबाइल उत्पादन गर्दैछन् । विश्वको चर्चित मोबाइल उत्पादक कम्पनी सामसङले ग्यालेक्सी एस १० मा फाइभजी उपलब्ध गराउने जनाएको छ । यसको मूल्यका विषयमा भने केही बताएको छैन । एप्पलले पनि अर्को वर्ष अर्थात् २०२० देखि मात्र फाइभजी मोबाइल उत्पादन गर्ने जनाएको छ । उसले फाइभजी मोबाइल दुई तीन सय डलर महँगो पर्ने जनाएको छ । 

अभागी नेपाली
विश्वले आँखा झिमिक्क पार्दा २ जिबी फाइल डाउनलोड गर्ने अवस्थामा पुग्दा हामीहरु भने उही गाडीको टायरजस्तो घुमिरहने इन्टरनेट चलाइरहन बाध्य छौं । संसारले फाइभजीको तयारी गरिरहेको बेलामा हामीले भने बल्बल्ल फोरजी पाएका छौं त्यो पनि पुरा क्षमता नभएको छ ।

सन् २००९ मा आएको फोरजी २०१७ मा मात्र हामीले उपभोग गर्न पायौं । अझै पनि मुलुकका सबै ठाउँमा थ्रिजी पुगेको छैन । कति ठाउँमा टुजीमै नेटवर्क चलिरहेको छ । उपलब्ध भएका फोरजी र थ्रिजीमा पनि राम्रो क्षमता र सुविधा छैन ।  
विश्वमा यसै वर्ष आउने तर्खरमा रहेको फाइभजी भारतमा सन् २०२५ सम्म आउने आशा गरिएको छ । नेपालमा फाइभजी कहिले आउँछ निश्चित छैन । 

फाइभजीको प्रयोग 
फाइभजी नेटवर्कले मोबाइल ब्रोडव्यान्ड नेटवर्कलाई मात्र सुधार गर्ने छैन, यसले त ठूलो स्तरमा डिभाइसको कनेक्सन, औद्योगिक क्षेत्रमा सुधार, क्षमता वृद्धि र उत्पादन मूल्य घटाउने आँकलन गरिएको छ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन, यातायातमा सुधार ल्याउने विश्वास छ । स्वचालित कार सञ्चालन हुनेछन् ।
सन् २०३५ सम्म संसारको आर्थिक वृद्धिलाई फाइभजीले उच्च स्थानमा पुर्याउने विश्वास लिइएको छ । यसले १२ ट्रिलियन डलर बराबरका समान र सर्भिस उत्पादनमा सहयोग गर्नेछ । 

अध्ययनअनुसार फाइभजीको मद्दतबाट संसारमा २०३५ सम्म ३.५ ट्रिलियन राजश्व उठ्ने छ भने २२ मिलियन जागिर उपलब्ध हुनेछन् ।  
फाइभजी उच्च गतिको इन्टरनेट हुनु, एकै पटकमा लाखौं डिभाइस सपोर्ट गर्नु, काम गर्ने क्षमतामा उच्च हुनु लगायतका सुविधाले साँच्चिकै मानव जीवनमा के फरक पार्छ त ? अहिले यसै विषयमा सबैको चासो छ । 

सबै ठाउँमा ब्रोडब्यान्ड इन्टरनेट 
फिक्स वायरलेस सुविधाबाट घर वा अफिसमा फाइभजी प्रयोग गर्न सकिनेछ । जहाँ मोबाइल फोन, वाइफाइ, ल्यापटप, फोन लगायतका हरेक डिभाइसमा फाइभजी आउनेछ । सहरदेखि गाउँसम्म उच्चगतिको ब्रोडब्यान्ड इन्टरनेट हुनेछ । 
(विभिन्न एजेन्सीको सहयोगमा) 
 

Leave A Comment