सम्पादकीय : दृष्टि बदल

बिहिबार, २६ पुष २०७५, ०४ : ११ शुक्रवार
सम्पादकीय : दृष्टि बदल

सार्वजनिक भइरहेका अभिव्यक्तिले देखाउँछन्, प्रधानमन्त्री केपी शर्मा ओली आफैँ छक्क छन्, कसरी सल्ट्याउने किशोरी निर्मलाको बलात्कार र हत्या घटनाको अनुसन्धानलाई । जति पटक जो–जो पक्राउ गरे पनि अनुसन्धान सुल्झेको छैन । पक्राउ परेकाहरुले ‘बलात्कार र हत्या मैले गरेको हुँ’ भनिरहँदा किशोरीको भेजिनल स्वाबबाट संकलन गरिएको डिएनए मिल्दैमिल्दैन । डिएनएबाहेक दोस्रो प्रमाण अझै फेला परेको छैन ।

नेपाल प्रहरीले अनुसन्धानका लागि एसपीदेखि डिआइजीसम्म खटाएकै हो । हुँदाहुँदा प्रहरी महानिरीक्षक आफैँ अनुसन्धान गर्ने प्रहरीको जम्बो टोली लिएर कञ्चनपुर पुगे पनि शंकास्पदलाई संकेत गर्ने कुनै धागोसमेत फेला पर्न सकेको छैन । यी सबै घटनाक्रमले प्रधानमन्त्री ओली रनभुल्लमा परेको प्रस्टै देखिन्छ । त्यसैले उनी अन्तर्राष्ट्रिय टोली झिकाएर अनुसन्धान गर्ने सार्वजनिक अभिव्यक्ति दिने तहसम्म पुगेका छन् । 

निर्मला घटनाको अनुसन्धानमा प्रारम्भमा प्रहरीमा इमान्दारिता नदेखिएकै हो तर घटनाको अनुसन्धानमा प्रहरी संगठनको दोस्रो विकल्प देखिन्न । अनुसन्धान गर्ने प्रहरीले नै हो तर सकारात्मक नतिजाका लागि अनुसन्धानको पद्धति र र दृष्टि बदल्न आवश्यक छ ।

निर्मला घटनामा दुई पटक पक्राउ परेका तीन आरोपीलाई दोषीझैँ सार्वजनिक गरिए पनि आखिर यी तीनै जना पछि निर्दोष ठहरिए र रिहा भए । यी दुवै प्रकरणमा प्रमाणभन्दा पनि बयानले मुख्य भूमिका खेलेको प्रस्ट भयो । 

दिलिप सिंह बिष्टको केसमा होस् या त्यसपछि पक्राउ परेका अन्य दुई युवा, उनीहरु घटनामा संलग्न रहेको प्रहरीको दाबीमा उनीहरुको बयान मात्र बलियो थियो । उनीहरुको बयानलाई प्रमाणित गर्ने थप प्रमाण जुटाउनतिर भन्दा बयानकै आधारमा अभियुक्त करार गर्न प्रहरी लाग्दा नियतमै प्रश्न उठ्यो । यी रिहा भए र प्रहरीले जर्वजस्ती कबुल्न लगाएको बयान दिँदा प्रहरीको साख गिर्यो ।

अहिलेसम्मको अनुसन्धानमा प्राप्त प्रमाण भनेको डिएनए नमुना नै हो । त्यही डिएनएको आधारमा घटनामा संलग्नको पहिचान गर्न खोज्दा पटक–पटक फेल भइरहेको छ प्रहरी । 

डिएनएको नमुना लिन संलग्नदेखि त्यसलाई राख्ने, ल्याबसम्म ल्याउने सबै प्रक्रियाले डिएनएको गुणस्तर निर्धारण गर्ने डिएनएविज्ञबाट जानकारीसँगै डिएनए बलात्कारमा संलग्न नै हो या संकलन र परीक्षणमा संलग्नबाट प्रदूषित भएको हो भन्ने निक्र्योल गर्नसमेत सुझाव आए पनि अनुसन्धानको नेतृत्व गरिरहेको प्रहरी संगठनले त्यतातिर चासो देखाएको देखिँदैन ।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय संगठनको सदस्यसमेत हो । नेपालमा उपलब्ध अनुसन्धानका वैज्ञानिक टुल्स र अनसन्धानकर्ताको अभाव भए उसले इन्टरपोलमार्फत् वैज्ञानिक अनुसन्धान टुल्स र अनुभवी अनुसन्धानकर्ताका लागि सहयोग समेत लिनसक्छ ।

अपराधको प्रमाण प्रार्थना गरेर आउन्न, मिहीन र गम्भीर अनुसन्धानबाट मात्र प्रमाण पहिल्याउन सम्भव छ । यसका लागि अनुसन्धानको नतिजालाई व्यक्तिगत प्रतिष्ठाको विषय बनाउँदै प्रहरी टोली लिएर जिल्ला जिल्ला घुम्दै‘ म कसैलाई छाड्दिन’ भन्दै भाषणबाजी गर्नुको तुक देखिन्न । 

प्रहरी संगठन र यसका नेतृत्वकर्ता आम नागरिकको संशयको घेरामा परिसके । त्यसैले संगठनको गुमेको साख फर्काउन प्रतिबद्ध हुने हो भने अहिलेसम्मको अनुसन्धानको प्रक्रियाको इमान्दार समीक्षा, कमजोरीको पहिचान र सुधारको प्रतिबद्धतासहित अनुभवी स्वतन्त्र विज्ञसहितको नयाँ अनुसन्धान टोलीको गठन र अनुसन्धानमा वैज्ञानिक पद्धतिको प्रयोग नै उत्तम विकल्प हो । 
 

Leave A Comment