आलोचना कसरी पचाउने ?

बिहिबार, २६ पुष २०७५, ०४ : ३० प्रकाश जंग थापा
आलोचना कसरी पचाउने ?

आलोचना हुनु वा गर्नु एक स्वाभाविक प्रक्रिया हो । अहिले त यो एउटा मल्टिमिलियन डलर व्यवसायसमेत भइसकेको छ । टिभीमा प्रसारण हुने अधिकांश टक सो÷बहस कार्यक्रम, सोसल मिडियामा भाइरल हुने टीकाटिप्पणी एवं ट्रोल, राजनैतिक व्याङ्ग्यको लागि पत्रपत्रिकामा छापिने कार्टुन लगायत समीक्षा सबै त्यही मल्टिमिलियन डलर व्यवसायको हिस्सा हो । कोही पनि शतप्रतिशत सही हुनै सक्दैन, छिटफुट गल्ती भइहाल्छ नै । त्यसैले आलोचना गर्दिनँ वा सुन्दिनँ भनेर कोही अलग हुन सक्दैन । 

आलोचना अर्थात् गँगटा 
एउटा ठूलो बाल्टीमा केही गँगटा छन्, माथिबाट तातो पानी छर्किदिउँ । हरेक गँगटा बाल्टीबाहिर आउन चाहन्छ । जब एउटा गँगटो बाहिर निस्कन उक्लिन्छ, अर्कोले खुट्टा तानिदिन्छ । यो क्रम निकैबेरसम्म जारी रहन्छ । जसका कारण तातो पानीका कारण सबै गँगटाको ज्यान जान्छ ।

आलोचक भनेको गंगटा हुन् । कसैले नकारात्मक टिप्पणी गरे भने आफ्नो कामलाई तिनले गलत धारणा राखे वा आलोचना गरे भने तिनीहरु गंगटा हुन् भनेर बुझ्नुपर्छ । तिनले जति नै खुट्टा ताने पनि निरन्तर अघि बढिरहनुपर्छ । 

डिस्ट्र्याक्सन 
हामीले माथि नै भनिसक्यौँ, सबैका गल्ती हुन्छन् र काम गर्दा गल्ती हुन्छ नै । यस्तोमा हरकोही अलोचनाको सिकार बन्न पुग्छन् । यसलाई गम्भीर रुपमा लिनु आवश्यक छैन किनभने यसैमा रुमल्लिन जीवन छोटो छ । आलोचना एक डिस्ट्र्याक्सन हो । तपाईं त लक्ष्यका साथ हिँडेको रेल हुनुहुन्छ । तपाईंको आफ्नै गति र गन्तव्य हुन्छ । ट्र्याकमा उभिएको हरेक व्यक्तिका लागि तपाईं रोकिन थाल्नुभयो भने गन्तव्यमा पुगिएला ? 

त्यसैले आलोचना जतिसुकै आपत्तिजनक भए पनि आफ्नो गति कम नगर्नुस् । आफ्नो स्टेसन नपुगेसम्म नरोकिनुस् । लक्ष्यमा केन्द्रित हुनुस् । डिस्ट्र्याक्सन हटाउन रियालिटी (वास्तविकता) र धारणाबीच भिन्नता केलाउन सक्नु पर्छ । यी दुई बिल्कुलै फरक कुरा हुन् । कसैको धारणाका कारण वास्तविकतामा कुनै परिवर्तन आउँदैन । 

मानौँ कसैले तपाईंको काम मन पराएन रे ! यसपछि उसले जे राय दिन्छ, त्यो आलोचकको राय मात्र हो । अब उसविरुद्ध तपाईंले जे भन्न थाल्नुहुन्छ, जे गर्न थाल्नुहुन्छ, त्यो तपाईंको ऊर्जा गलत ठाउँमा प्रयोग हुन्छ र अपेक्षित लक्ष्य प्राप्त हुँदैन । के ती आलोचकको रायले तपाईंको काममा परिर्वतन आयो ? तपाईंको कार्य सम्पादन शैलीमा परिर्वतन आयो ?

तपाईंले गर्ने काम त्यही हो । काम गर्ने तरिका पनि उही हो । भन्नुको अर्थ, सत्यतामा कुनै परिर्वतन आएन । तपाईंलाई आफ्नो बारेमा बढी थाह छ कि आलोचकलाई ? कसैले तपाईंलाई मुर्ख प्रमाणित गर्न खोज्दैमा मुर्ख हुने होइन । अरुका भनाइमा लागेर तपाईंले आफूलाई मूर्ख मान्नु भयो रे ! वास्तवमै तपाईं मुर्ख हुनुहुन्छ रे ! के अब तपाईंमा एकाएक बुद्धिमता पलाउँछ त ? तपाईंको साँचो पहिचान यथावतै रहन्छ । 

अरुका कुरामा तपाईं भर पर्न थाल्नुभयो भने लक्ष्य प्राप्तिको ऊर्जामा कमी आउँछ । त्यसैले जीवन लक्ष्य, सपना, मूल्यमान्यताका बारेमा आत्मविश्वास कायम राख्नुस् । जुन सफलताका लागि काम गर्नु हुन्छ र जुन प्रकारको प्रतिक्रिया र परिणाम पाउनुहुन्छ, त्यसप्रति जिम्मेवार रहनुस् । आफ्नो बाटोमा आउने प्रत्येक डिस्ट्र्याक्सन मेटाउँदै जानुस् ।

सबै आलोचना अनुचित 
आलोचना गर्नु सजिलो काम हो । खोट देखाउन र औँल्याउन सबैले जानेका छन् । कमैले मात्र सचेत अवस्थामा आलोचना गर्छन् । यो एक प्रकारको लत पनि हो । त्यसैले आलोचना गर्नु बेकार छ । हामी राजनीतिलाई चर्को आलोचना गर्छौं । ओली, प्रचण्ड, देउवा सबैसबैलाई हामी चर्को स्वरमा गाली गर्छौं । तर उनीहरु हाम्रै रोजाइ हुन् भन्ने बिर्सन्छौँ । उनीहरुलाई नै हामीले चुनेका हौँ, हामीले नेता बनाएका हौँ । यसर्थ यसमा आपत्ति जनाउनु उपयुक्त छैन । उनीहरुको बाल्यकाल, लालनपालन, सरसंगतजस्ता कुराको

मूल्याङ्कन गर्ने हो भने तिनको आलोचना गर्नु निरर्थक छ । आलोचनाले उनीहरु सुध्रन्छन् ? देश सही बाटोमा जान्छ ? आलोचनाले न केही सुध्रन्छ न कोही सुध्रन्छ । सुध्रने त कामले नै हो, निरन्तरको कामले नै गलत कुरा पनि सुध्रन्छ । 

यसर्थ पनि आलोचना गर्नु वा त्यसलाई व्यक्तिगत रुपमा लिनुको कुनै तुक छैन । ती हाम्रो बाटोका तगारा र बाधा मात्र हुन् । तिनलाई हामीले सुन्दै नसुनी अघि बढिरहनुपर्छ । जसरी कुकुर भुक्तैमा हात्तीको पाइला रोकिन्न, उसरी नै लक्ष्य र उद्देश्यप्राप्तिमा उठेका पाइला रोकिनु हुन्न ।
 

Leave A Comment