शिवहरि पौडेल, हास्यअभिनेता
पहिलोपटक काठमाडौँ टेक्दा
म बाध्यताले काठमाडौं आएको हुँ । रहरले काठमाडौं टेकेको होइन । गाउँमा एसएलसी दिएपछि पढ्नका लागि कि वीरगञ्ज जानुपर्ने हुन्थ्यो कि अन्यत्र । पढ्नका लागि आर्थिक अवस्था कमजोर भएकाले ०४० मा आयल निगममा पिउनको जागिर खाएँ । समयमै अफिस पुग्नु पर्ने । पढेर जागिर खान जान नभ्याइने । जागिर खाउँ पढ्न नपाउने । नखाउँ पढ्नका लागि मुश्किल । किसानको छोरोको के नै खर्च हुन्थ्यो र । अनि काठमाडाैं आएर पढ्ने निधो गरेँ ।
पहिलोपटक काठमाडाैं आउँदा उत्तर–दक्षिण, पूर्व–पश्चिम नै छुट्याउन सकिनँ । पूर्व कता हो, पश्चिम कता हो । काठमाडाैंका बाटो, ठाउँ चिन्न निकै मुश्किल पर्यो । काठमाडौं आएपछि पाटन क्याम्पसमा भर्ना भएँ त्यसपछि मैले एउटा साइकल किनेँ । ठाउँ चिन्नलाई साइकलमा रिङरोड पूरै राउण्ड मार्थेँ । सिंहदरबार वरिपरि चक्कर लगाउँथे ।
पछि पैदल हिँड्न थालेँ । काठमाडौं आएपछि आफ्ना कोही थिएनन् । भएकाले पनि वास्ता गर्दैन भन्ने हल्ला थियो गाउँघरतिर । मैले परिचित कसैलाई खोज्ने चेस्टा गरिनँ । आफैं संघर्ष गर्नतिर लागेँ ।
हकरबाट संघर्ष
बिहान पाटन क्याम्पस जान्थँे । फर्किएर आएर न्युरोडमा ४० वटा पत्रिका किनेर टुंडिखेलमा ल्याएर बेच्थे । लामो समयसम्म पत्रिका बेचेँ । घरमा भात पकाएर खान नभ्याउने । कति समय त भोकै परिन्थ्यो । रत्नपार्कमै एउटा रिमझिम भन्ने होटल थियो । त्यहाँ ७ रुपैयाँमा भात खाएर अफिस जाने गर्थेँ ।
पिउन बन्न सकिनँ
पाटन क्याम्पस पढ्दै गर्दा एकजना साथीले अभिनयका लागि जाउ भन्यो । त्यो बेला अभियान समूह भन्ने थियो । जसमा कलाकारको विज्ञापन गरेको थियो । जाउँ न त भनेर गइयो । त्यहाँ लय संग्रौला दाइहरु हुनुहुन्थ्यो । त्यो बेला अभिनय क्षेत्रमा विदेशबाट पढेर आएका सुनिल पोखरेलको नाम धेरै चर्चामा थियो ।
उहाँले नै सिकाउने भन्ने हल्ला थियो ।
पछि उहाँले नै सिकाउनु भयो । सुनिल र लय संग्रौलालाई म गुरु मान्छु । त्यो गु्रपमा सिक्ने ७, ८ जना टिममा म छनोटमा परेँ । लय संग्रौलाले टेलिफिल्म बनाउन लाग्नुभएको थियो । जसका लागि कलाकार छनोट भइरहेको थियो । म त्यो सिरियलमा सिपाहीका लागि छनोटमा परेँ । मेरो डाइलग डेलिभरी राम्रो भएका कारण म छनोटमा परेँ ।
यो बेला कता कता डर, कता कता खुसी लागेको थियो । ठूला कलाकारका अगाडि अभिनय गर्नु ठूलै चुनौती जस्तो लाग्थ्यो । यसपछि युधिर शमशेरले नेपाल टेलिभिजनका लागि एउटा टेलिफिल्म बनाउनुभएको थियो । मलाई त्यहाँ पिउनको रोल गर्नुपर्ने थियो । मैले अभिनय गर्न सकिनँ । लाज लागेर निस्किएँ । त्यसपछि अब सिरियल गर्दिन भन्ने लागेको थियो । पछि लय दाइले मलाई सिरियलमा पर्काउनु भयो ।
रोलै हरायो
सिरियलको नाम बिर्षिएँ । मेरो नेगेटिभ रोल थियो । त्यो रोलमा मैले भिलेनको रोल गरेको थिएँ । म हास्यमा जमिरहेको मान्छे नेगेटिभ भूमिकामा आउँदा सबैले गाली गर्न थाले । यस्तो रोल पनि तैँले गर्ने । हँसाउन थालेको मान्छे भिलेनमा खेल्ने भनेर गाली खाइयो । सबैले गाली गर्न थालेपछि यो सिरियल अब नआए पनि हुने नि भन्ने लागेको थियो ।
‘विजयपथ’ भन्ने फिल्ममा अभिनय गर्ने अवसर आयो । एकजना चलेको मान्छेले मलाई सिफारिस गरिदिनुभएको थियो । त्यहाँ राम्रै रोल गरेको थिएँ । फिल्म खेलेको छु भनेर सबैतिर हल्ला पनि गरेको थिएँ । फिल्मको डबिङमा मलाई बोलाएको त थिएन । आफू नभए पनि डबिङमा अरुले नै भ्वाइस हालिदिन्छ भन्ने सुनेको थिएँ । होला नि त भनेर ढुक्कका साथ बसेको थिएँ । फिल्म हलमा चल्ने दिन सबैलाई लिएर हलमा गएँ, जाँदा रोल नै थिएन । यो बेला साह्रै लज्जित भएँ ।
देवी भन्ने टेलिफिल्म नेपाल टेलिभिजनबाट आउँथ्यो । ३–४ भाग खेल्दा नै चर्चा हुन थाल्यो मेरो । जसले पनि मलाई पुर्ने भनेर बोलाउन थाले । मेरा पनि फ्यान भेटिन थाले । कम्ती खुसी भइएन त्यो बेला ।
Leave A Comment