प्रकाशन गृहको होड

बिहिबार, २६ पुष २०७५, ०५ : १५ प्रजु पन्त
प्रकाशन गृहको होड

नेपाली साहित्यको पुस्तक छाप्न रत्न पुस्तक भण्डार र साझा प्रकाशनको मात्र भर थियो कुनै समय । पुस्तक छाप्न लाइनमा बस्नुको विकल्प थिएन । प्रकाशक लेखककोमा हैन, लेखक प्रकाशककोमा धाउनुपर्थ्यो । अर्को विकल्प भारतको वनारस थियो ।

लेखक कृष्ण धरावासी आफ्नो पुस्तक साझा प्रकाशनमा छाप्दाको दुःख सम्झन्छन् । धेरै जुत्ता फाट्यो रे धाउँदा । १ वर्षपछि पनि नछापिएपछि अर्कै प्रकाशककोमा गएका थिए उनी । 
‘सुरुमा पुस्तक छाप्नै गाह्रो हुन्थ्यो, कहिले त पाण्डुलिपि नै हराइदिन्थे,’ उनले भने, ‘लेखनको सुरुवाती चरणमा गोरखापत्रमा छापिनु नै ठूलो कुरा हुन्थ्यो ।’

समय बदलियो, अवस्था पनि । अहिले लेखककोमा धाउँदा प्रकाशकको जुत्ता फाटिरहेका छन् । 
कारण प्रकाशकबीच बढ्दो प्रतिस्पर्धा ।

अहिले महिनौपिच्छे नयाँ–नयाँ प्रकाशन गृह खुलिरहेका छन् । व्यावसायिक रुपमा जमेका निजी प्रकाशन गृहको संख्या २ दर्जन हाराहारीमा पुगिसक्यो । सबैको रोजाइ चल्तीका लेखक हुने नै भयो । प्रकाशन गृह बढी, चल्तीका लेखक कम हुँदा अहिले प्रकाशकको जुत्ता फाटिरहेको हो । 

अहिले साझा र रत्न पुस्तक भण्डार छायाँमा परिसके नयाँ प्रकाशन गृहका अगाडि । फाइनप्रिन्ट, सांग्रिला, बुकहिल, नेपालय, कथालय, इन्डिगो इंक, बाह्रखरी बुक्स, बुलबुल, फिनिक्स, मञ्जरी, पाँचपोखरी, किताब पब्लिसर, मण्डलालगायतका प्रकाशन गृह पुस्तक प्रकाशनमा सक्रिय छन् । यसमा बाह्रखरी, किताब पब्लिसर भर्खरै बजारमा आएका नयाँ प्रकाशन गृह हुन् ।

नयाँ प्रकाशनको संख्या थपिनेक्रम जारी नै छ ।

तीन पुस्तादेखि पुस्तकको व्यापार गर्दै आइरहेका डिल्लीबजारका अनिल हिमाल गौतमको अनुभवमा पहिले नेपाली पुस्तक कम छापिन्थे । पढ्नेको रुचि पनि अंग्रेजी र हिन्दी बढी हुन्थ्यो । उनको अनुभवमा अहिले पनि अंग्रेजी भाषाको पुस्तककै माग बढी छ तर पहिलाको तुलनामा नेपाली पुस्तक र नेपाली पुस्तकका पाठक दुवै बढेका छन् ।

एडुकेशन बुक हाउसका कर्मचारी हरिहर अर्याल साहित्यका पुस्तकसँगै गैर आख्यान पुस्तक पनि बिक्री हुनेक्रम बढेकाले प्रकाशन गृहहरु पनि थपिएका हुन् ।
पछिल्लो समय प्रकाशन गृह बढ्नुको कारण पुस्तक बिक्री बढ्नु मात्र हो त ?
रत्न पुस्तकभण्डारका सञ्चालक गोविन्द श्रेष्ठ पाठकहरु बढे पनि चित्तबुझ्दो गरी नबढेको बताए ।
‘२५ सालभन्दा अघि नेपालमा साक्षरता ५ प्रतिशत थियो । अहिले ७० प्रतिशत पुगिसकेको छ तर त्यही अनुपातमा साहित्यको तथा कुनै गहन पुस्तक पढ्नेको संख्या बढेको छैन,’ उनले भने ।

बुकहिलका सञ्चालक भूपेन्द्र खड्का निजी प्रकाशन गृह खुल्नुमा सरकारी पब्लिकेशनको बेहाल हुनु, राम्रा लेखक बढ्नु र मान्छेको सोच, चेतना स्तर शिक्षाको गुणस्तर बढ्दै जानु रहेको बताउँछन् । 
‘निजी तहमा नयाँ प्रकाशन गृह खुल्नुमा व्यापारिक दृष्टिकोण मात्रै छैन,’ खड्काले भने । 

कोही रिसमा, कोही व्यापारमा
नयाँ लेखकको संख्या र पाठक बढ्नुले मात्र प्रकाशन गृह बढेको देखिन्न । कुनै प्रकाशन गृहले पुस्तक अस्वीकार गर्दा झोक्किएर आफैैँ प्रकाशन गृह खोल्ने, अर्काले गरेको काम देखेर देखासिखी गर्ने, रोयल्टीमा चित्त नबुझाएर आफैँ प्रकाशन बन्ने र प्रकाशन गृह फुटेर नयाँ खोल्ने क्रम पनि देखिन्छ नेपालमा ।

मञ्जरी प्रकाशनका सञ्चालक बनेका कृष्ण अबिरलले रोयल्टीमा चित्त नबुझाएर आफैँ प्रकाशक बनेका हुन् । यो उनी पनि स्वीकार गर्छन् । ‘रक्तकुण्ड’ पुस्तकको रोयल्टीमा ठगिएपछि आफैँ प्रकाशक बनेको उनले बताए । उनका अनुसार उनको ‘रक्तबिज’ पुस्तक छाप्ने प्रकाशक नै पाएनन् र मञ्जरी खोले ।

सांग्रिलाका साझेदारबीच कुरा नमिलेपछि पार्टनर विभाजित भए र ‘फिनिक्स’ जन्मियो । ‘ब्र्रदर बुक्स’ दाजुभाइकै प्रकाशन गृह थियो । दाजुभाइ छुट्टिएपछि इन्डिगो इंक जन्मियो । रुम टु रिडको अनुभवको आधारमा राजीव जोशीले कथालय ल्याए । साइकल यात्री पुस्कर शाहको पुस्तकको रोयल्टीमा कुरा नमिलेपछि ‘बुकहिल’को जन्म भयो ।

पाचँपोखरीका सञ्चालक राम श्रेष्ठको अनुभवमा होडबाजीमा प्रकाशन गृह खुल्ने गरेको बताउँछन् । 
विवादले मात्र नयाँ प्रकाशन गृह जन्माएका छैनन् । राम्रो व्यापार देखेर आउनेहरु पनि छन् । अनलाइन मिडिया चलाएर बसेको बाह्रखरी पुस्तक प्रकाशनमा आउनुको पछाडि व्यापारिक उद्देश्य बढी देखिन्छ ।

बाह्रखरी  बुक्सका सम्पादक राजेन्द्र पराजुलीले कमर्सियल सोचका साथ पुस्तक प्रकाशनमा आएको बताउँदै भने, ‘अब पब्लिकेशन हाउसहरु कमर्सियल भएर आएनन् भने टिक्दैनन् ।’ 
पुस्तक निकालेर फाइदा छ त ?

व्यापारमा विक्रेता हावी
पुस्तकको व्यापारबारे शुक्रवारले बुझ्दा प्रकाशकलाई भन्दा विक्रेतालाई बढी प्रतिशत देखियो । पुस्तक व्यापारको भागबण्डा हेर्दा विक्रेताले ३० देखि ४० प्रतिशत, लेखकले १५ देखि २० प्रतिशत र खर्चसमेत जोडेर बाँकी प्रकाशकको खातामा जाने देखियो ।

एक पुस्तकको मूल्य सय रुपैयाँ मूल्य छ भने लेखकलाई २० रुपैयाँसम्म र वितरकलाई ४० रुपैयाँसम्म जाने देखियो । बाँकी ४० रुपैयाँमा प्रकाशन खर्च कटाएर प्रकाशकलाई पाँच रुपैयाँ बस्ने देखियो । वितरक र लेखकको रोयल्टी प्रतिशत विश्वासयोग्य देखिए पनि प्रकाशकको देखिएन ।

हिमाल बुक स्टलका सञ्चालक गौतमका अनुसार प्रकाशन गृहअनुसार फरक–फरक छुट हुन्छ । किताब बिक्रीपछि पैसा दिने हो भने ३० सम्म र नगदै कारोबार गर्दा ४० प्रतिशतसम्म कमिसन आउँछ । 
‘उधारो र नगद फरक हुन्छ,’ बुकहिलका भूपेन्द्र भन्छन्, ‘हामीले त होलसेलरलाई दिएका हुन्छाँै । उनीहरुले रिटेलरलाई र उपभोक्तालाई पनि १० देखि १५ प्रतिशत छुट दिएकै हुन्छन् । औसतमा विक्रेतालाई ३५ प्रतिशत राख्दा ठीकै हुन आउँछ ।’

बाह्रखरी बुक्सका सम्पादक पराजुली पुस्तक व्यापारमा वितरक हावी भएको बताउँछन् । ‘पूरै त नभनौँ तर वितरकहरुले ३५ प्रतिशतसम्म दिने गर्नुपर्छ । यसरी हेर्दा वितरकहरु हावी भएका छन्,’ उनले भने ।

प्रकाशकलाई कति ?
प्रकाशन गृहका सञ्चालकहरुका अनुसार पुस्तक छपाई, कार्यक्रम आयोजना र बुक प्रमोसन लगायतको खर्च कटाएर प्रकाशकलाई ५ प्रतिशतसम्म जोगिन्छ ।

नेपालयकी कार्यकारी निर्देशक सैजन मास्के मुनाफा यति नै हुन्छ भनेर भन्न नमिल्ने बताइन् ।
‘हामीले आफूलाई ५ प्रतिशत राखेर बिक्री गरेका हुन्छाैं,’ पाँचपोखरीका राम श्रेष्ठले भने, ‘अरु त विक्रेता, लेखक र अरू खर्चमा गएको हुन्छ ।’ 

श्रेष्ठका अनुसार पहिला पुस्तकको मूल्यबारे सरकारको हस्तक्षेप हुन्थ्यो । अहिले प्रकाशककै निर्णयमा मूल्य तोकिन्छ । उनले पुस्तकको तीन गुणा बढी मूल्य नराखी फाइदा नहुने बताए ।

फाइनप्रिन्टका अजित बरालले नाफा यति नै हुन्छ भनेर भन्न नसकिने बताए । उनले भने, ‘हामीले वर्षभरिको पुस्तकको टर्नओभर यति हुन्छ भनेर राख्ने गरिएको भए थाहा हुन्थ्यो तर त्यसो गरिएको छैन ।’ 
सरकारलाई कर बुझाउँदा त थाहा होला नि भन्ने जिज्ञासामा उनले ‘सबै हिसाब आफूले हेर्न नभ्याएकोले थाहा नभएको’ बताए । 

बाह्रखरीका सम्पादक पराजुली अहिले लेखकहरुको राम्रो दिन आएको बताउँछन् । 
हो त ?

लेखकलाई कति ?
निजी प्रकाशन गृहको बोलवाला बढ्नु अगाडिसम्म पुस्तक छपाउन आफैँ पैसा खर्च गर्न बाध्य थिए लेखकहरु । अहिले अवस्था फेरिएको छ । धेरथोर रोयल्टी पाउँछन् लेखकले । 
विभिन्न प्रकाशन गृहबाट पाएको जानकारीअनुसार लेखकले १० देखि २० प्रतिशतसम्म रोयल्टी पाउने गरेको देखियो । कसैकसैले ३५ प्रतिशतसम्म रोयल्टी दिएको दाबी गरिए पनि त्यो हल्ला गराउने काइदा मात्र रहेको पुस्तक प्रकाशनमा सक्रिय व्यवसायीहरु नै बताउँछन् ।
‘२० प्रतिशत बढी रोयल्टी दिन सकिने अवस्था छैन,’ एक प्रकाशकले भने, ‘२० प्रतिशत बढी रोयल्टी दिन लेखकलाई छापिएको पुस्तक संख्या छले मात्र सम्भव छ । प्रकाशक इमान्दार हुने हो भने यो बजार स्टन्ट मात्र हो ।’
 

Leave A Comment