पुरानै दिन, पुरानै दैनिकी

आइतबार, ०६ माघ २०७५, ०५ : ४१ प्रकाश जंग थापा
पुरानै दिन, पुरानै दैनिकी

कुनै पनि काम सुरु गर्दा त्यसप्रति भावानात्मक रुपमा जोडिनु स्वभाविक हो । तर यस्तो लगाव लामो समय टिक्दैन । केही महिना एकनासले काम गरेपछि जो कोहीको जोश र जाँगर क्रमशः सुस्ताउँछ । अन्ततः हामी पुरानै ढर्रामा फर्कन्छौँ । फलस्वरुप कुनै परिवर्तन हात लाग्दैन । जति मच्चिए पनि के नै हुने रहेछ र भन्ने भावनाले घर गर्न थाल्छ ।

मानौँ एउटा करिअर छान्नु भयो र त्यसमा तपाईं सफल हुनुहुन्छ । अचानक गज्जबको बिजनेस आइडिया फुर्यो रे ! त्यसपछि तपाईं नयाँ बिजनेस आइडियामा काम गर्न थाल्नु हुन्छ । जोशले रातदिन मिहिनेत गर्नुहुन्छ । नयाँ व्यवसाय गर्दा शुरुबाटै मुनाफा प्राप्त हुँदैन । समय लाग्छ । तनाव पनि बढ्न थाल्छ । यस्तो अवस्थामा पहिल्यै स्थापित करिअर र नयाँ व्यवसायमा सन्तुलन कायम गर्न गाह्रो हुन्छ ।

जसका कारण नयाँ बिजनेसलाई थाँति राखेर चलिआएकै करिअरमा फर्कनु हुन्छ । यसलाई ‘ब्याक स्लाइडिङ’ भनिन्छ । आखिर किन यस्तो हुन्छ ? हामी किन ‘ब्याक स्लाइड’ हुन्छौँ ? अघि बढ्न किन हामीलाई गाह्रो हुन्छ ?

समस्थिति (होमिआस्टेसिस) 
जीव विज्ञानमा होमिआस्टेसिस बारेमा पढाइ हुन्छ । शरीरको आन्तरिक वातावरण भन्नाले मुख्यतः शरीर तापमान, पानी र इलेक्ट्रोलाइट लेभल, रगतमा सुगरको लेभल, रगतको पिएच लेभल आदि बुझिन्छ । तापमान निकै उच्च हुनु वा कम हुनु, चिनीको मात्रा निकै उच्च हुनु वा कम हुनु साथै पिएच लेभल निकै उच्च वा कम हुनु शरीरको लागि हानिकारक मानिन्छ । स्वस्थ शरीरका लागि आन्तरिक वातावरण सामान्य अवस्थामा हुनुपर्छ ।

शरीरको आन्तरिक वातावरण सामान्य अवस्थामा राख्ने सिस्टमलाई नै होमिओस्टेसिस भनिन्छ । शरीरलाई सन्तुलनमा राख्नका लागि नेगेटिभ वा पोजेटिभ फिडब्याक लुप प्रयोग गर्छ हाम्रो शरीरले । जस्तैः शरीरमा सुगर लेभल सन्तुलनमा राख्ने काम नेगेटिभ फिडब्याक लुपमार्फत् हुन्छ । रगतमा सुगरको मात्रा अत्यधिक भयो भने प्याँक्रियाजको बिटा सेलले इन्सुलिन हार्मोन उत्पादन गर्छ ।

जसका कारण सुगर लेभल सन्तुलनमा आउँछ । त्यसैगरी रगतमा सुगरको मात्रा निकै कम भए प्याँक्रियाजको अल्फा सेलहरुले ग्लुकागोन हार्मोन उत्पादन गर्छ । जसकारण सुगर सामान्य लेभलमा आउँछ । 

यो सिस्टमले सन्तुलन कायम गर्ने भए पनि शरीरलाई यसले हित पु¥याइरहेको छ भन्ने हुँदैन । भित्रभित्रै तपाईंलाई हानि पनि पु¥याइरहेको हुनसक्छ । यो सोसल सर्कल, परिवार, साथीभाइ, संघसंस्था, स्थानीय समुदाय र देशमा पनि लागू हुन्छ । जब कुनै काम जोशका साथ गरिन्छ, बाहिरी वातावरण गडबड हुने बित्तिकै हाम्रो आन्तरिक वातवरण खलबलिन्छ ।

यस्तो अवस्थामा सन्तुलन कायम राख्नु पर्छ । यस्तोमा हाम्रो शरीरको होमिओस्टेसिस प्रणाली सक्रिय भइहाल्छ । यस सिस्टमले शरीरलाई सन्तुलनमा राख्न प्रयत्न गर्छ । यसको परिणाम भनेको ‘ब्याक स्लाइडिङ’ हो । भन्नुको अर्थ पुरानै अवस्थामा फर्कनु, परिवर्तन संस्थागत गर्न नसक्नु हो । उसो भए के गर्ने ? यसका लागि शुरुमा हामीले बुझ्न जरुरी छ, ‘होमिओस्टेसिस’ सिस्टम छ र यसलाई रोक्न सकिन्छ भनेर निम्न उपायमा केन्द्रित रहनुपर्छ ।

उचित अपेक्षा सेट गर्ने 
कुनै कुरामा परिवर्तन गर्न खोजिन्छ भने मष्तिस्क, शरीर साथै हाम्रो वरिपरि रहने मानिसले प्रतिरोध गर्छन् । त्यसैले उचित आशा राख्नु । व्यवहारिक अपेक्षा राख्नु । आफ्नो क्षमताभन्दा बाहिरको कुनै पनि कुरा हासिल गर्न सकिँदैन । केसम्म हासिल गर्न सकिन्छ ? कुन समय अवधिभित्र सकिन्छ ? कस्तो स्रोत र साधन चाहिन्छ भन्ने कुरामा प्रस्ट हुनु आवश्यक छ । असम्भव काममा समय र ऊर्जा लगानी नगर्नु । इच्छा छ भन्दैमा दुई वर्ष भित्र नासाको वैज्ञानिक बन्ने सपना बुन्नु मुर्खता हो । लक्ष्य यस्तो होस्, जुन हासिल गर्न गाह्रो होला तर असम्भव नहोस् ।

गम्भीर सम्झौता गर्न तयार रहने
जुन परिवर्तनको लागि काम गर्दै हुनुहुन्छ त्यो सही छ भन्ने कुरामा ढुक्क हुनुहोस् । शतप्रतिशत प्रतिबद्ध रहनुहोस् । जस्तोसुकै स्तरको सम्झौता गर्नु परे पनि लक्ष्य प्राप्तिका लागि तयार रहनुहोस् । एक पाइला अघि बढ्न गाह्रो भइरहेको छ भने बरु दुई पाइला पछि सर्न तयार हुनुहोस् । केही पाउन केही गुमाउनै पर्छ भन्ने कुरा तपाईंले बिर्सनु हुन्न । आफ्नो सम्झौताको दायरामा प्रस्ट रहेर अगाडि बढ्नु फलप्रद साबित हुन्छ ।

सपोर्ट सिस्टम विकास गर्ने
सबै कुरा आफैँ गर्न सकिँदैन । यसका लागि सहयोग लिनु पर्छ । तपाईं जे कुरा हासिल गर्न चाहनुहुन्छ, त्यसको लागि सहयोग गर्ने समुदाय हुन्छन् । शरीरको वजन घटाउन सक्नु भएन ? यसका लागि उचित सुझाव दिने विशेषज्ञ हुन्छन् । लत हटाउन सक्नु भएन ? यसका लागि पुनःस्थापना कार्यक्रम छन् । त्यसैगरी सम्बन्ध सुधार, बिजनेस गर्नका लागि स्थापित समुदाय भेट्न सकिन्छ ।
यसो गर्नाले पुनः कम्र्फट जोनमा फर्कनु पर्दैन । ब्याक स्लाइडिङबाट बच्न सकिन्छ । एक पटक परीक्षण त गरिहेर्नोस् !

 

Leave A Comment