सर्वोत्कृष्टको अवहेलना

आइतबार, ०६ माघ २०७५, ०५ : ४७ शुक्रवार
सर्वोत्कृष्टको अवहेलना

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका त्रिवि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविलाई उत्कृष्ट विश्वविद्यालय बनाउने कसम खाए । उनले कसम त खाए तर त्यही विश्वविद्यालयले हरेक वर्ष घोषणा गर्ने सर्वोत्कृष्टहरुको अवस्था हेर्दा उनको कसमले हावा खाने देखिन्छ । 

विश्वविद्यालयले वर्षैपिच्छे दुई दर्जन बढी सर्वाेत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गर्छ । यो वर्ष पनि उसले विधागत विषयमा उत्कृष्टता प्रमाणित गरेका यस्तै १९ विद्यार्थीलाई सर्वाेत्कृष्ट घोषणा गरेको थियो । 

देशकै केन्द्रीय विश्वविद्यालयले नै सर्वोत्कृष्ट घोषणा गरेका विद्यार्थीको भावि यात्रा पक्कै पनि सुखद् हुनुपर्ने हो । जुन विषयमा उनीहरुले विशेषज्ञता पाएका हुन्, सो क्षेत्रमा उनीहरुको माग उच्च हुनुपर्ने हो । तर यसअघि यसरी नै उत्कृष्ट भएकाहरुको अवस्थाले त्यस्तो सुखद् बाटो देखाउँदैन । 

त्रिविले उत्कृष्ट त छान्छ तर त्यसपछि उनीहरु कहाँ जान्छन्, के गर्छन् वास्ता गर्दैन । न राज्यका अन्य निकाय, न त निजी क्षेत्रले उनीहरुको उत्कृष्टताको उपयोगमा चासो राख्छन् । कोही पलायन भइरहेछन्, सानो संख्या आफ्नै पहलमा अध्ययन–अनुसन्धानमा जुटेका त छन् तर आफैँ पहल गर्न नसक्ने उत्कृष्टहरुमध्ये कोही शाखा अधिकृतमा खुम्चिएर बस्न बाध्य छन् त कोही सानोतिनो व्यवसायमा अड्किएका छन् । 

कुन विश्वविद्यालयको शैक्षिक गुणस्तर कस्तो भन्ने मापनको मुख्य आधार त्यहाँबाट उत्पादित शैक्षिक जनशक्तिको अवस्था कस्तो छ भन्ने नै बन्छ । त्यस आधारमा त्रिविको शैक्षिक गुणस्तरको मापन गर्ने हो भने हालत खरावै देखिन्छ । उत्कृष्टले नै अवसर नपाउने विश्वविद्यालयबाट उत्पादित अन्य विद्यार्थीको हालत के होला ?

शैक्षिक थलो केवल कोरा पढाइ हुने स्थल मात्रै हैन । त्यो त गहन अध्ययन र अनुसन्धान हुने थलोसमेत हो । नयाँ वाद, विचार र आविष्कार विश्वविद्यालयमार्फत् नै हुनसक्छ । यसका लागि विश्वका अन्य विश्वविद्यालयले आफ्ना विद्यार्थीको ज्ञानको उपयोग गर्छ र उत्तम बाटो पनि यही हो । 

त्रिवि आफूले उत्पादन गरेका उत्कृष्ट शैक्षिक जनशक्ति अब्बल छन् भन्नेमा विश्वस्त छ भने उनीहरुको बौद्धिक क्षमताको उपयोगको पहिलो हकदार र  जिम्मेवारी पनि उसैको हो ।

तर त्रिविका पदाधिकारी मौन छन् यस पाटोमा । उत्कृष्टको उपयोग विश्वविद्यालयमै हुनुपर्नेमा उनीहरु पनि सहमत देखिन्छन् तर हुन नसक्नुको कमजोरी आफैँ स्वीकार गर्दैनन्, पन्छाउँछन् मात्र ।

सरकारी अध्ययन तथा अनुसन्धान केन्द्रले समेत दक्ष बौद्धिक जनशक्तिको उपयोगमा चासो देखाउँदैन । सरकार अध्ययन तथा अनुसन्धान केन्द्र दक्ष जनशक्तिको जिम्मामा दिनुको साटो राजनीतिक भर्ती केन्द्र बनाएर आसेपासेको बेरोजगारी अन्त्यमा बढी केन्द्रित छ । यस्तो अवस्थामा कसरी उत्कृष्ट होला त्रिवि !
त्यसैले यदि कुलपति वचनका पक्का छन् भने उनले यसको प्रारम्भ  त्रिविबाट उत्कृष्ट घोषित विद्यार्थीको ज्ञानको उपयोगबाट शुरुवात गर्न सक्छन् । 

त्यसैले वचनझैँ त्रिविलाई उत्कृष्ट विश्वविद्यालय बनाउने हो भने त्यसको प्रारम्भ विधागत रुपमा सर्वोत्कृष्ट घोषित विद्यार्थीको बौद्धिक क्षमताको उपयोगबाट शुरु गर्न सकिन्छ ।

यसका लागि विश्वविद्यालयमै विभिन्न अध्ययन तथा अनुसन्धानमा उनीहरुलाई सहभागी गराउने, सरकारी अध्ययन अनुसन्धानको जिम्मेवारी दिँदा उनीहरुलाई पहिलो प्राथमिकता दिने र आफैँ अनुसन्धान गर्न इच्छुकहरुको हकमा प्रस्ताव माग गरी आर्थिक सहयोग गरेर यसको प्रारम्भ गर्न सकिन्छ ।
 

Leave A Comment