‘सप्तरंगपछि पञ्चेबाजाको कन्सर्ट गराउँछु’

सोमबार, ०७ माघ २०७५, ०३ : १९ शुक्रवार
‘सप्तरंगपछि पञ्चेबाजाको कन्सर्ट गराउँछु’

गृष्मा इन्टरटेन्मेन्ट माघबाट सात प्रदेशमा संगीत र खेलमार्फत् सद्भाव बढाउन सप्तरंग कार्यक्रममा जुटेको छ । सोही कार्यक्रम केन्द्रित रहेर आयोजक गृहेन्द्र घिमिरेसँग गरिएको कुराकानीः

सप्तरंग म्युजिक भनेर सातै प्रदेशमा लादै हुनुहुन्छ ? कलाकारको चयनको आधार के हो ? 
प्रदेशमा कार्यक्रम सद्भावको हिसाबले लाँदैछौँ । यसको तयारी पनि पूरा भइसक्यो । कलाकारको स्टारडम र प्रदेशमा प्रभावको आधारमा चयन गरेका हौं । सद्भाव अभियान भएकाले प्रदेशअनुसारै कलाकार छनोट गरिएको हो । जस्तो प्रदेश नम्बर १ बाट प्रमोद खरेल, २ नम्बर प्रदेशमा सन्दीप क्षेत्री, ३ बाट रामकृष्ण ढकाल, ४ बाट पशुपति शर्मा, ५ बाट इन्दिरा जोशी र ६ बाट अञ्जली अधिकारी भनेर चयन गरेका थियौँ तर उहाँ ५ नम्बर प्रदेशमा नै पर्नुहुने रहेछ । ७ बाट दीपक बिष्ट हुनुहुन्छ । 

कार्यक्रममा गीतसंगीत मात्रै हो कि अन्य केही पनि छ ?
स्थानीय रहनसहन र कल्चरलाई फोकस गरेर कार्यक्रम गर्छौं । त्यसका लागि सातै प्रदेशका प्रदेश प्रमुखसँग छलफल भइरहेको छ । सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । यो भयो भने संगीतसँगै कल्चरलाई पनि प्रोत्साहन गर्नेछौं ।

कलाकार बोकेर हिँडेर मात्र सद्भाव बढ्छ त ? 
सद्भाव बढाउने माध्यम भनेकै कला, संस्कृति र खेल त हो ! कलाकार र खेलाडीले त हो सद्भाव बढाउने । त्यसैले त हाम्रो अभियानमा कलाकार पनि हुनुहुन्छ, खेलाडी पनि । यसको जत्तिको प्रभाव अरु कसको हुन्छ र ? जब मीठो संगीत बज्छ, सबै एकाकार भएर मग्न हुन थाल्नुहुन्छ । मन मन जोड्नु नै सद्भाव हैन र ?

कार्यक्रमको मुख्य लक्ष्य के हो ? 
मुख्य लक्ष्य मनोरञ्जनमार्फत् सद्भाव नै हो । 

यो यही वर्ष मात्र हुने हो कि निरन्तरता पनि पाउँछ ?
निरन्तर हुन्छ । अर्को वर्ष यही बेलामा यो कार्यक्रम सुरु हुन्छ । अर्को वर्षका लागि कलाकारसमेत चयन भइसक्नु भयो । गृष्मा इन्टरटेन्मेन्टले शुरु गरेको सबै कार्यक्रमले निरन्तरता पाइरहेको छ ।
जापानमा मैले शुरु गरेको साकुरा नाइट कार्यक्रम दोस्रो हुँदै तेस्रो वर्षमा पुगिसक्यो । रोक्ने भन्ने हुँदैन । यसको संस्करण बढ्दै जान्छ ।  

सप्तरंगको सबै कार्यक्रम निःशुल्क भन्नुभएको छ । कार्यक्रमको आर्थिक स्रोत  के हो ? 
प्रायोजकहरु हुनुहुन्छ । कार्यक्रमका लागि पुग्ने आर्थिक स्रोत जुटेकाले नै कार्यक्रम निःशुल्क गर्न लागेको हो । 

भावि योजना ? 
अब लोप हुन लागेका पञ्चेबाजाको संरक्षण र प्रवद्र्धन गर्न मन छ । पुराना बाजा लोप भएका छन् । यति मीठो धुन निकाल्ने हाम्रो आफ्नै बाजाहरु छन् । ती सबै मिलाएर कन्सर्ट गर्न पाए कस्तो हुन्थ्यो होला । यो सप्तरंग म्युजिकल कन्सर्ट सकिएपछि यसको शुरुवात गर्नेछु । 

Leave A Comment