कलाकारको पारिश्रमिक लफडा :सम्झौता गर्न तानातान, दिने बेला भागाभाग

सोमबार, ०७ माघ २०७५, ०३ : ३३ शुक्रवार
कलाकारको पारिश्रमिक लफडा :सम्झौता गर्न तानातान, दिने बेला भागाभाग

–पुष्पा थपलिया र भोला अधिकारी

अभिनेता प्रदीप खड्का पछिल्लो समयका व्यस्त अभिनेता हुन् । उनलाई फिल्ममा खेलाउन निर्माताको तानातान हुन्छ । यही तानातानका क्रममा उनी निरक पौडेल निर्मित फिल्म ‘रोज’सँग जोडिएका थिए । त्यो पनि २५ लाख रुपैयाँ पारिश्रमिक लिने सम्झौतामा । 

फिल्ममा लिने बेलामा निर्माताले जुन उत्साहसाथ उनलाई लिएका थिए, फिल्म रिलिज भइसकेपछि त्यो उत्साह निराशामा परिणत भइसकेको छ । निराशा, फिल्म फ्लप भएर मात्रै होइन, फिल्म रिलिज भएको ५ महिना बितिसक्दा पनि बाँकी रहेको १० लाख रुपैयाँ पारिश्रमिक नदिएर पनि हो । १५ लाख रुपैयाँ भने उनले लिइसकेका छन्  । 

पटक–पटक निर्माण टिमलाई पारिश्रमिक उपलब्ध गराउन आग्रह गरे पनि आफ्नो कुरा उनीहरुले वास्ता नगरेको प्रदीपको आरोप छ । यस्तै गरिरहे उनी निर्माताविरुद्ध मुद्दा हाल्ने सोचमा पुगिसकेका छन् । 
 ‘फिल्म साइन गर्दा एडभान्समा मैले १५ लाख बुझेको थिएँ । बाँकी १० लाख पाउन बाँकी छ,’ उनको भनाइ छ । निर्माण टोलीले उनलाई १० लाखको चेकसमेत दिएको छ तर त्यो ‘बाउन्स’ भएको उनले बताएका छन् । ‘फिल्म घाटामा गएको सुनेको भए बाँकी पैसा लिन्नँ थिएँ, नाफामा गएको छ पनि भन्नुहुन्छ, दिन्छु पनि भन्नुहुन्छ तर दिनुहुन्न,’ प्रदीपले सुनाए । 

प्रदीप मात्रै होइन, यो फिल्मका अन्य कलाकार र प्राविधिकले समेत पारिश्रमिक नपाएको खबर प्राप्त भएको छ । यही फिल्मकी अर्की अभिनेत्री मिरुना मगरले समेत आधा भन्दा बढी पारिश्रमिक लिन बाँकी रहेको सुनाइन् । ‘पुसमा दिन्छु भन्नुभएको थियो, माघ आइसक्यो,’ उनको गुनासो थियो, ‘अब माघमा दिनुहोला कि !’ 

फिल्मकी अर्की नायिका पारमिता आरएल राणाले पनि पूरा पारिश्रमिक नपाएको बुझिएको छ । 

त्यस्तै पर्दा पछाडि रहेर काम गर्ने थुप्रै प्राविधिकले समेत यो फिल्मबाट पारिश्रमिक नपाएको गुनासो छ । फिल्मका पाश्र्व संगीतकार एलिस कार्कीले ४ लाख पारिश्रमिक नपाएको गुनासो आफ्ना नजिकका साथीलाई सुनाउने गरेका छन् । फिल्ममा भिएफएक्सको काम गरेका श्रीकृष्ण श्रेष्ठले पनि एक लाख रुपैयाँ पारिश्रमिक बाँकी रहेको मिडियासँग बताइरहेका छन् । 

यही फिल्मबाट सम्पादक मित्र गुरुङ, लेखक केदार भुषाल लगायतले पनि पारिश्रमिक पाएका छैनन् तर चाँडै पाउने आशामा उनीहरु मिडियासँग बोलिरहेका छैनन् । 

यस विषयमा फिल्मका निर्माता निरक पौडेललाई सम्पर्क गर्न खोज्दा उनको फोन लागेन । फोन गर्दा ‘आगमन कल निषेध गरिएको छ’ जनाउ दिइरहेको छ । सञ्चारमाध्यममा आएको खबरअनुसार यस फिल्मका निर्माता तथा निर्देशक निरक भए पनि आरोही इन्टरटेन्मेन्टबाट एक करोड बुझ्ने र कलाकार तथा प्राविधिकलाई पारिश्रमिक दिने जिम्मेवारी चलचित्र विकास बोर्डकी अध्यक्ष तथा निरककी दिदी निकिता पौडेलले उठाएकी थिइन् । 

त्यही खबरलाई पुष्टि गर्न हामीले निरककी दिदी निकितालाई पनि फोन ट्राई ग¥यौँ तर उनको पनि फोन सम्पर्क हुन सकेन ।   

अरु पनि समस्या त्यस्तै  
अभिनेत्री वर्षा शिवाकोटी धेरैजसो नयाँ फिल्ममेकर्ससँग काम गर्दा पारिश्रमिकको समस्या हुने गरेको बताउँछिन् । ‘धेरैजसो नयाँ टिमसँग काम गर्दा यस्तो समस्या आ’को छ,’ उनले भनिन्, ‘काम सकिएपछि डबिङ पछिको पैसा उठाउन एकदमै धौधौ हुन्छ । भिख मागेजसरी पटकपटक माग्नु पर्ने, प्रमोसनमा हिँड्दिन भन्दै धम्क्याउनु पर्ने, अनेक घरेलु समस्या देखाउनुपर्नेजस्ता समस्या लगभग प्रायः फिल्म गर्दा भोग्नुपरेको छ ।’ रिलिजको तयारीमा रहेको फिल्म ‘पुरानो बुलेट’को पैसा डबिङ सकिँदासम्म नपाएको उनले बताइन् । ‘पैसाको कुरा गर्दा विभिन्न कुरा गरेर टारिरहनुभएको छ,’ उनले भनिन् । 

पछिल्लो समय केही चल्तीका कलाकारले त एउटा फिल्म नै बनाउन पुग्ने पारिश्रमिक दाबी गर्न थालिसकेका छन् । निर्माताहरु पनि ‘कन्टेन्ट’मा भन्दा बढी ‘कलाकार’मा भर परिरहेका छन् । यही कारण बर्सेनि कलाकारहरुको पारिश्रमिक बढ्दो छ भने फिल्म फ्लपको संख्या बढिरहेको छ । 

कलाकार मात्रै होइन, निर्माता स्वयम् खुलेर कलाकारको पारिश्रमिक यति र उति भन्दै प्रचारबाजीमा उत्रिरहेका हुन्छन् । ‘मैले फलानोलाई यति लाख दिएर फिल्ममा लिएँ,’ भन्दै मिडियामा डंका पिटिरहेका हुन्छन् । यसरी निर्माताले यति लाख पारिश्रमिक दिने र यति करोड लगानीको फिल्म बनाउने भनेर घोषणा गर्दा कलाकारहरु खुशी नहुने कुरै भएन ।

तर घोषणा गर्दा आँखा चिम्लेर गर्ने परिपाटीकै कारण फिल्म रिलिज भइसक्दासम्म कलाकारहरु पारिश्रमिक बेगर घर फर्किनु परिरहेको छ । ‘रोज’ त्यस्कै पछिल्लो उदाहरण हो । 

अभिनेता भुवन केसीले निर्माण गरेको फिल्म ‘क्याप्टेन’मा पनि यस्तै समस्या देखिएको छ । सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताका रुपमा चिनिएका अनमोल केसी स्टारर यो फिल्मका निर्माताले अभिनेता राजाराम पौडेललाई समेत पारिश्रमिक दिएका छैनन् । पारिश्रमिक नदिएकै कारण उनको डबिङ रोकिएको छ । बाँकी सबै कलाकारको भइसक्यो ।

‘एक हप्ता अगाडि भुवनले मलाई फाने गरे ३÷४ दिनमा डबिङ गर्नुपर्छ भनेका थिए । एक हप्ता भयो फोन आएको छैन,’ शुक्रवारसँग उनले भने, ‘पारिश्रमिक आए म काम गरिहाल्छु आएन भने गर्दिनँ । पहिले डबिङका बेला पैसा दिन नसकेपछि अरु कलाकार नै प्रयोग गर्ने चलन पनि थियो तर मेरो स्वर चिन्ने भएका कारण त्यसो नगर्लान कि !’

नयाँलाई पैसा उठाउन गाह्रो 
पारिश्रमिकका मामिलामा नवप्रवेशी र संघर्षरत कलाकारहरु बढी पीडित हुने गरेको देखियो । ‘रोज’की मिरुना मगर एक उदाहरण हुन् । अभिनेत्री बेनिशा हमालसँगको कुराकानीले पनि यही अवस्था पुष्टि भयो । उनले आफूले अभिनय यात्रा थालेको सुरुसुरुमा पैसा नै नपाएको खुलाइन् । ‘पैसामा एक खालको सहमति हुन्थ्यो तर काम सकिएपछि भागभाग,’ उनले भनिन्, ‘सुरुका दिनमा मैले थोरै पारिश्रमिक पाउँथे । त्यही पनि उठाउन गाह्रो हुन्थ्यो । फोन गरिरहनुपथ्र्यो । धेरैपटक गर्दा पनि भोलिपर्सी भन्दै टारेपछि लाजले म आफैँ गर्न छाडिदिन्थेँ । काम थालेको दुई वर्षसम्म यस्तो समस्या झेल्नुप¥यो ।’


धेरै पारिश्रमिक लिने कलाकारहरु

अनमोल केसी (रु ३५–४० लाख)
‘होस्टेल’ बाट मुख्य कालाकारका रुपमा फिल्म उद्योगमा डेब्यु गरेका अनमोल के.सी. पाँच वर्षे करिअरमै नेपाली फिल्म क्षेत्रकै सर्वाधिक महँगा कलाकारका रुपमा आएका छन् । अनमोलले ‘कृ’ मा त्यस ताकाको सर्वाधिक पारिश्रमिक २० लाख रुपैयाँ लिएको खबरले सनसनी मच्चाएको थियो । त्यसपछि प्रतिस्पर्धी कलाकारले पनि आफ्नो रेट बढाए । कतिपय निर्माताले भने अनमोलभन्दा मेरो कलाकार के कम भन्दै आफैँ बढाएर परिश्रमिक घोषणासमेत गरे । घोषणाअनुसार अहिले काम गरिरहेको झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’ मा अनमोलले ३५ देखि ४० लाखसम्म पारिश्रमिक लिएका छन् ।

प्रदीप खड्का (रु २५–३० लाख)

रियालिटी शो ‘खोजी प्रतिभाको’मार्फत् अभिनयमा आएका प्रदीपले ‘इस्केप’बाट डेब्यु गरेका थिए । त्यसमा उनी खासै नोटिस भएनन् । ‘प्रेमगीत’ ले उनको उचाइ एकाएक चुल्यायो। एकातिर चकलेटी हिरोबाट आर्यन सिग्देलको क्रेज सेलाउँदै जानु र विकल्पमा प्रदीपको उदय हुनु लगभग एकै समय भयो । निर्देशक मिलन चाम्सकै फिल्म ‘लिलिबिली’ मा उनी १५ लाख रुपैयाँसहित म्यानमार, बर्मा र बैंककको प्रदर्शन अधिकार लिएर अनुबन्धित भएपछि ‘कृ’मा २० लाख रुपैयाँ लिएका अनमोलको भन्दा धेरै रकम भनेर प्रचारबाजीसमेत भएको थियो ।

पछि उनले ‘रोजी’ फिल्म २५ लाखमा साइन गरे । अहिले छायाँकनमा रहेको फिल्म ‘लभ स्टेसन’मा पनि उनले मोटै रकम लिएको बताइएको छ ।

पल शाह (रु १५–२० लाख)
एक टिभीमा भिजुअल इडिटरका रूपमा काम गर्दागर्दै म्युजिक भिडियो खेल्न पुगेका पललाई पछि विकास आचार्यले ‘नाई नभन्नु ल ४’ मा खेलाए । त्यसपछि सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’ बाट हाइप दिलाए । पलले त्यसपछि आफ्नो भाउ यतिसम्म बढाइदिए कि स्वयं सुदर्शनले नै निर्माण घोषणा गरिसकिएको ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा पललाई अनुबन्ध गर्न नै सकेनन् । सिक्वेलका लागि उनले १५ लाख रुपैयाँको माग गरेका थिए भन्ने सुनिन्छ । त्यसपछि पलको ‘जोनी जेन्टलम्यान’ फ्लप भयो । मल्टिस्टारर भएकैले ‘शत्रु गते’ चल्दा पनि त्यसको जश एक्लैले पाएनन् । यतिबेला पल नयाँ फिल्म ‘हृदयभरि’ खेल्ने तयारीमा छन् । यसमा पनि उनको भाउ भने नघटेको बताइन्छ । 

दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की (रु १०–१५ लाख)
यी तीनै जना कलाकार हिरो कम अभिनेता ज्यादा हुन् । र, सबैको पृष्ठभूमि रंगमञ्च हो । रंगकर्मीलाई फिल्मकर्मीहरू ‘नाटक बढी गर्छ’ भनेर होच्याउने परिपाटी दयाहाङ, सौगात र विपिनको फिल्मी पदार्पणले रोकियो । जीवन्त र यथार्थपरक अभिनय शैलीको अनुशरणले नै उनीहरूलाई ‘हिरो जोन’ भन्दा बाहिरको ठूलो दर्शक घेरामाझ लोकप्रिय बनायो ।

राम्रो कलाकार भनेर पछ्याउने यिनका फ्यानले समेत पछिल्लो समय दयाहाङ, सौगातहरू राम्रो फिल्मका लागि भन्दा राम्रो पैसाका लागि फिल्म खेल्न थालेको भन्दै आलोचना गर्न थालेका छन् । अझै पनि दयाहाङ, सौगातलाई ८ देखि १० लाख रुपैयाँमा फिल्म खेलाउन चाहने निर्माताको लामो लर्को नै छ । ‘पशुपतिप्रसाद’ र ‘जात्रा’ ले एकाएक लाइमलाइटमा ल्याएका विपिनले सौगात र दयाहाङ जस्तो बग्रेल्ती फिल्म नखेले पनि पछिल्लो ‘प्रसाद’ बाट १५ लाख रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ । 
 

Leave A Comment