कांग्रेस नेता चोर्दा परिवारमा टेन्सन

बिहिबार, १० माघ २०७५, ०२ : ४० शुक्रवार
कांग्रेस नेता चोर्दा परिवारमा टेन्सन

चितवनका पुराना कांग्रेसी तीर्थराज भुषाल नेकपामा २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँग संयुक्त टीका लगाएर नेकपा प्रवेश गरेपछि उनको परिवारमा कलह शुरु भयो । चितवन माडीमा लोकप्रिय रहेका भुषाललाई संघीय चुनाव अगाडि नै चोर्ने प्रयास गरेका थिए दाहालले तर खै के कुरा मिलेन, उनी पुरानै पार्टीमा बसे । हार्छन् कि भनेका दाहालले चुनाव जिते । दुई तिहाइको सरकार बन्यो । भुषालको पनि मुड चेन्ज भयो र नेकपामा आए ।

उनले पुरानो पार्टी मात्र छाडेका थिए, घर परिवार त छाडेका थिएनन् ! तर पार्टी छाड्दा घरै छाड्नु पर्लाझैँ आपत आइलागेको देखियो । उनले पार्टी छाडेकोमा कांग्रेसका नेता त मौन नै छन् तर घरकी श्रीमतीदेखि नाती र भाञ्जाभाञ्जीसम्मले विज्ञप्ति नै निकालेर अवसरवादी भएको आरोपै लगाइदिए । 

विज्ञप्तिमार्फत् पुरानो ‘पार्टीले बेलाबेला उनलाई महत्वपूर्ण जिम्मेवारी दिँदादिँदै कम्युनिस्ट पार्टी प्रवेश गर्नु कृतघ्नता हो’ भनिदिए ।

उनकै परिवारले जारी गरेको विज्ञप्तिअनुसार उनी कांग्रेसको टेको समातेर पार्टीको चितवन जिल्ला कार्यवाहक सभापति, सुकुम्बासी आयोगको अध्यक्ष र सांसद समेत भइसकेका रहेछन् । 

श्रीमतीसहितले विज्ञप्ति ठोकिदिए, ‘यी सबै तथ्यलाई बिर्सिएर पारिवारिक सल्लाहबिना लहडका भरमा कम्युनिस्ट पार्टी प्रवेश गर्नु आफैमा राजनीतिक कृतघ्नता र बेइमानी हो, जीवनभर निष्ठा र इमानको राजनीतिको पहिचान बनाएको हामी परिवारजन माथिको विश्वासघात हो ।’

विज्ञप्तिमा उनकी पत्नी शर्मादेवी भुषाल, भाइ शंकर भुषाल छोराहरु देवराज भुषाल र विवेक भुषाल, दिदी टीका भुषाल पाठक, भतिज झपेन्द्र भुषाल र सुवास भुषाल, नाति कपिल भुषाल, विजय भुषाल र जीवन भुषाल, भान्जी तुलसी चापागाईं र नाति प्रदीप काफ्लेको हस्ताक्षर छ ।
यो पाराले त पार्टीसँगै परिवारै छाड्नुपर्ने झैँ पो देखियो त ! परेन त फसाद !! 

 

सरकारको ‘अपराधी’ टेको
जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी कन्हैया कुमार जहाँ जहाँ पुग्थे त्यहीँ पहिल्यै भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी निकट विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्को एक समूह पुग्थ्यो र नारा लगाउँथे, ‘देशद्रोहीलाई कार्बाही गर ।’ 

कन्हैया कुमार सहितको विद्यार्थी समूह समानताको माग राख्थे, महिला हिंसामाथि प्रहार गर्थे अनि सरकारको गलत कामको भण्डाफोर गर्थे । विजेपी निकट विद्यार्थीको समूह उनको चरित्र हत्यामै बढी केन्द्रित हुन्थे । अन्त्यमा जित कन्हैया समूहकै हुन्थ्यो ।

माघ ६ मा शिक्षण अस्पताल नजिक एउटा समूह हातमा पर्चा लिएर उभियो । उनीहरुको हातमा रहेको ए फोर साइजको पर्चामा डा. गोविन्द केसीको काउन्टरमा अनसनमा बसेका विजय थापाको समर्थन गरिएको थियो, संसद्मा पुगेको विवादित चिकित्सा शिक्षा विधेयकको समर्थन थियो अनि काठमाडौं र काठमाडौंबाहिर मेडिकल कलेज खोल्ने वातावरणको माग गरिएको थियो । 

प्रहरीको समर्थन थियो यो समूहलाई । त्यसैले त प्रहरीले डा. केसीको पक्षमा हुन लागेको प्रदर्शन हुन दिएन । यो समूह स्वतन्त्रतापूर्वक बसिरह्यो । नाम स्वतन्त्र युवा लेखिए पनि उनीहरु कत्तिको स्वतन्त्र रहेछन्, सोमबारै खुल्यो जब दुई तिहाई सरकारले हार मानेका डा. केसीको काउन्टरमा उठेका युवाको बायोडाटामा हप्ता उठाउने, हतियार बोकेर हिँड्न सक्ने आदि अनुभव देखियो । नक्कली विद्यार्थी परिषद्को पोल खुल्दा विचरा दुई तिहाई सरकारको आशाको दियो पनि निभ्यो । 
 
जोक विरोधी सरकार
प्रधानमन्त्री केपी ओलीको सार्वजनिक छविले देखाउँछ उनि कति रसिक छन् । उखान तुक्काका खानी उनी आफ्ना विरोधीलाई समेत हँसाउन सक्ने ल्याकत राख्छन् तर उनैलाई सामाजिक सञ्जालमा चलिरहेको उनकै प्यारोडी भने सही नसक्नु भएछ । त्यसैले सञ्चार मन्त्रालयमा रहेका आफ्ना आज्ञाकारी मन्त्री गोकुल बास्कोटामार्फत प्यारोडी गर्नेको नत्थी कस्न गृह मन्त्रालयमा पत्र पठाएछन् ।

प्रसंग हो, सामाजिक सञ्जाल ट्वीटरको, जहाँ हिजोआज अनौठा नाम गरेका अकाउन्ट खुल्ने र चर्चा हुने क्रम जारी छ । त्यस्तै एउटा अकाउन्ट छ, केपी शर्मा कोली नामको । यो अकाउन्टले प्रधानमन्त्री ओलीको बोली र व्यवहारमाथि प्रहार गर्दै आएको छ । 

प्यारोडी अकाउन्ट प्रधानमन्त्रीको मात्र हैन, उनकै दलका अर्का अध्यक्ष प्रचण्डको पनि छ, कम्रेड परचन्न भन्ने । कांग्रेस नेताको पनि छ । प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाको नाममा शेरबहादुर लेउबा नामको प्यारोडी अकाउन्ट छ । ट्वीटरमा प्यारोडी अकाउन्ट खोल्नु गैरकानुनी हैन, यसको आफ्नै गाइडलाइन, नीतिनियम पनि छ । गाइडलाइनभित्र भने बस्नुपर्छ । 

तर प्रधानमन्त्रीका भक्तहरुलाई यसको के मतलब ! बुरुक्क उफ्रिने नै भए । त्यसैले त गृहमा रहेका रामबहादुर थापा बादलमार्फत् फर्मान जारी गराइयो, ‘प्यारोडी अकाउन्ट बन्द गर्छौं, कि जेल हालौं ?’ विचरो सरकार, आफू चैँ हरेक कुरामा जोक गर्ने, अरुको चैँ जोकै सहन नसक्ने ?

Leave A Comment