पूर्व आइजिपी अच्युतकृष्णकाे स्विकाराेक्ती ‘कांग्रेस  र एमालेलाई पैसा दिनु गल्ती थियाे’

बिहिबार, १० माघ २०७५, ०३ : ०२ प्रजु पन्त
पूर्व आइजिपी  अच्युतकृष्णकाे स्विकाराेक्ती ‘कांग्रेस  र एमालेलाई पैसा दिनु गल्ती थियाे’

प्रहरी संगठनको उपल्लो तह आइजिपी भएर अवकाश पाएका अच्युतकृष्ण खरेल अहिले आफ्नै आत्मकथाका कारण चर्चामा छन् । उनीसँग  आत्मकथा, प्रहरी संगठन केन्द्रित रहेर शुक्रवारकर्मी प्रजु पन्तले गरेको संवाद ।

प्रहरी संगठनको अहिलेको काम हेर्दा कस्तो लाग्छ ?
अहिले सगंठन ५ प्रतिशत पनि स्वतन्त्र छैन । काम गर्ने मान्छेले फ्याक्टमा काम गर्ने हो । अहिले पहिलेको जस्तो काम गर्ने वातावरण नै छैन । दवावमा काम गर्नुपर्ने बाध्यतामा देखिन्छ संगठन ।

तपाईंकै पुस्तकका आधारमा दबाब त त्यो बेला पनि टन्नै आउने देखिन्छ तर खतरा–खतरा काम गर्न सकियो भनेर लेख्नु भएको छ नि ?
दबाब हैन, आग्रह आउँथ्यो । तर अहिले बढी प्रलोभनमा पार्ने काम हुन्छ । भनसुन एउटा कुरा हो, दुरुपयोग अर्काे कुरा । अहिले ठूला भनिएका व्यक्तिले आग्रह हैन, दबाब दिन थालेका छन् । 

पुस्तककै कुरा गरौं, सेना र प्रहरीमा पहिलेदेखि नै द्वन्द्व रहेछ । एउटा देशको सुरक्षाको जिम्मा लिएको र अर्को कानुन कार्यान्वयन र नागरिकको सुरक्षाको जिम्मेवारी पाएको सुरक्षा फौज (प्रहरी–सेना) बीच द्वन्द्व चैं के विषयमा हुन्छ ?
परिवेश र कामले कहिले को ठूलो, कहिले को सानो भइएला तर दुई सुरक्षा फौजलाई दाँज्ने कुरा हुन्न । तपाईंलाई एउटा कुरा भनुँ– एकचोटी कमान्डर इन चिफ (प्रधानसेनापति)लाई ट्राफिकले बाटोमा रोकेछ । मलाई रोक्ने भनेर ट्राफिकलाई थप्पड हानेका उदाहरण छन् । अब आफैँ बुझ्नुस्, क्षेत्राधिकार मिच्ने यहाँ कति छन् ? सबैलाई आफ्नो काम गर्न दिनुपर्छ तर दिइँदैन । को ठूलो संगठन, को सानो भन्ने भ्रम देखिन्छ ।

अन्य देशमा पनि होला नि यस्तो त ! कि हुन्न ?
अरु ठाउँमा कहाँ झगडा हुनु ? कहीँ नभा’ जात्रा हाँडीगाउँमा भने जस्तै हो हाम्रोमा मात्र हो । 

हिजोआजका आत्मकथा आफ्नो नकारात्मक छवि सफा देखाउनमा बढी केन्द्रित देखिएका छन् । तपाईंको नजरमा आफ्नै आत्मकथा कत्तिको इमान्दार छ ?
जीवनको एउटा कालखण्डलाई बुझिसकेपछि समष्टिलाई सूर्यले हत्केलाले छेक्न सकिँदैन । कसैले मलाई धेरै प्रशंसा गरेर खुसी पार्ने र मलाई दंग पार्न पनि सक्दैन । पहिलो कुरा त, तपाईंका कुरा परिवारलाई धेरै थाहा हुन्छ, दोस्रो काम गर्ने संस्थामा, तेस्रो तपाईंले कसको लागि काम गर्नुभएको छ, प्रभावितलाई थाहा हुन्छ । कतिञ्जेल लुकाउन सकिन्छ र आफूलाई ? म आफैँलाई ढाँट्न, लुकाउन, छल्न सक्ने मान्छे पनि होइन । 

पुस्तकको सुरुवातमा नै फोर्स शब्दले नै ‘संगठनमा त्यस्ता व्यक्तिहरुको दरकार राख्छ, जो आगोमा हात झोस्न सक्छ’ भनेर प्रतीकात्मक रुपमा लेख्नुभएको छ । ठूलालाई जस्तोसुकै अपराध गरे पनि उम्काउने,  संरक्षण गर्ने गरेको संगठनमाथि आरोप लाग्ने गरेको छ । अनि कसरी आगोमा हात झोस्न सक्ने भयो प्रहरी सगंठन ? 
पञ्चायत कालमा हेर्नुभयो भने दीपक बोहोराले मलाई केही गर्न सक्यो ? (उनी झोँक्किए ), गृहमन्त्रीले मलाई बोलाएर अँगालो हालेर  दीपकले  हैरान गरे, त्यही भएर भनेको भने । राजनीतिमा नाटक बढी हुन्छ । त्यो काम गर्नेले बुझ्नुपर्छ । त्यतिबेला मैले म भन्दा सिनियरको साथ पाएँ । अहिले ठीक काम गर्दा म सुरक्षित हुन्छु भन्ने प्रत्याभूति दिलाउन सकेको छैन । जबसम्म सरकारले त्यो प्रत्याभूति दिलाउन सक्दैन, प्रभावकारी काम हुन सक्दैन । 

२०४६ सालको आन्दोलनपछि अनी टीकापुर काण्डमा पनि प्रहरी निसानामा पर्नुको कारण सगंठन प्रतिको अविश्वास हो वा रिसइवी ?
प्रहरीमा आत्मविश्वास आउनै नदिने, स्वतन्त्र रुपले काम गर्नै नदिने अनि निसानामा पर्दैन त ? हिजो कांग्रेसको सरकार हुँदा एमालेले रेलिङ भाँच्यो, उसैलाई त्यसो गर्न रोक्न खोज्यो प्रहरीले, अनि कांग्रेसले विरोध गर्दा पनि रोकेको छ । प्रहरीले त सरकारले जे भन्छ, त्यो गर्छ तर यहाँ प्रहरीप्रति नै गलत बुझाइ छ ।

निर्मला पन्तकै उदाहरण लिऊँ, प्रहरी त चुकेको छ नि ! यस्ता धेरै उदाहरण छन् । प्रहरी चुक्छ कि चुकाइन्छ त ?
दुवै हो । पहिले चुकाउन प्रयास हुन्छ । गृहको सहसचिवको समिति बनाएर हुन्छ अनुसन्धान ? कहिलेदेखि कर्मचारी एक्सपर्ट भयो ? प्रहरी आफैँ एक्सपर्ट होइन र ? हो, यस्तै विषयमा चुक भइरहेको छ ।

तपाईंकै एउटा घटना । संगीतकार प्रवीण गुरुङको केसमा फेक अपराधी बनाए भनेर लेख्नुभएको छ । निर्मलाको केसमा पनि आइजिपी आफैेँले बयान लिएर दोषी हो भनेर प्रचार गराइएको व्यक्ति फेक देखियो ।यस्तो किन हुन्छ ?
पहिले जुन दर्जाले काम गर्ने हो नि...(उनी केहीबेर रोकिए)  म तपाईंलाई एउटा उदाहरण दिन्छु । रिपोर्टरको काममा सम्पादकले क्रेडिट लिन खोज्नु हुन्न । कुनै कुरा रिपोर्टरले राम्रो गरेको छ भने उसैलाई क्रेडिट दिनुपर्छ । सम्पादकले लोभ गर्नुभएन । तपाईंले राम्रो काम गरेको त माथि यसै जान्छ नि क्रेडिट । एक्ज्याट्ली त्यही भएको हो निर्मलाको केसमा । सिस्टम वाइज जानुपथ्र्यो । एउटा सिपाहीको मर्यादा बढ्यो भने हवल्दारको स्वतः बढ्छ । केही यस्ता घटना हुन्छन्, जसमा फेक बनाइन्छन् । 

ठूला मान्छेको संलग्नता भएर हो ? 
अहिलेको त मलाई थाहा भएन, पहिलाको त मैले लेखेकै छु ।  

के हो त ?
पुस्तकमा छ । (पुस्तकमा विस्तारपूर्वक कसरी प्रवीण गुरुङको हत्यामा एउटा सोझो व्यक्तिलाई फेक अपराधी बनाइयो भन्नेबारे उल्लेख गरिएको छ ।) 

तपाईंले २०५६ सालको निवार्चनताका एमालेलाई १० अनि कांग्रेसलाई २० लाख दिएको कुरा लेख्नुभएको छ । प्रहरी सगंठनको प्रमुखले दललाई पैसा दिनु जायज हो ?
हो यसबारे (उनी केहीबेर रोक्किए र बिस्तारै भने) चुनाव आएपछि दशैँ आएको जस्तो हुन्छ नेतालाई । उनीहरु मजस्तो धेरैकोमा जान्छन् । त्यतिखेरको वातावरणमा यस्तो गाह्रो थियो कि (उनी पुनः रोक्किए ) कसलाई के भन्ने के गर्ने स्थितिमा थिएँ । कसरी उन्मुक्ति पाउने भन्ने थियो त्यतिबेला । 

नैतिकताको कुरा गर्ने मान्छे, त्यतिबेला नैतिकता किन सम्झनुभएन ?
त्यसरी पैसा दिनु गल्ती हो । कहिलेकाहीँ यस्तो हुन्छ कि राम्रो कामको लागि थोरै नराम्रो पनि गर्नुपर्ने हुन्छ । त्यतिबेला चुनाव कसरी गर्ने, चुनाव हुन्छ÷हुन्न भनेर दोधार थियो । चुनाव नभए त सिस्टम ध्वस्त हुन्छ भन्ने लाग्यो । चुनाव नहोस् भनेर रमाउने शक्तिकेन्द्र पनि थिए । त्यसकारण मैले सहयोग गरेको हुँ । ठूलो कुराका लागि सानो कुरा छोड्न पर्ने स्थिति आयो । 

पुस्तकमा जे तर्क गरे पनि कांग्रेसलाई बढी पैसा दिनु आइजिपी बनाएको गुन तिर्न त होला नि हैन ?
त्यो हैन । म प्रजातान्त्रिकलाई भोट हाल्ने व्यक्ति त हुँ तर कांग्रेस हैन । म क्षमताले आइजिपी भएको हुँ, आशीर्वादले हैन । 

झुकाव कांग्रेसतिर गएको ?
२०४६ सालमा उनीहरुलाई पिट्ने पनि मै हो नि त ! ५० हजार मानिसले  मलाई फाँसी दे भनेका थिए । दुई वटा खराबमा कम खराब छान्ने हो । त्यही भएर कांग्रेसलाई धेरै गएको हो । 

खट्केको कुरा के भने, तपाईंले आफ्नो पुस्तकमा बढुवा गर्न कांग्रेसले दिएका पुलिसको लिस्ट ४० प्रतिशत सही र एमालेले दिएका ६० प्रतिशत सही हुन्थे भनेर लेख्नुभएको छ । कांग्रेस कसरी कम खराब भयो त ? 
कम्युनिस्ट अहिले पो बिग्रिए त ! त्यतिबेला त बिग्रेका थिएनन् । मिहिनेत गर्थे । यो कुरातर्फ धेरै नजानू न । त्यो कुरा त्यति बुझ्नुस्, जति लेखिएको छ ।

विरोधाषपूर्ण त भएकै हो नि ?
अँ, त्यतिबेला त्यस्तै परिस्थिति पर्यो । यसलाई यति नै बुझ्नुस् । 

अक्सर सुरक्षा निकाय र न्यायालयका प्रमुखले आत्मकथा निकाल्दा गोप्य रहनुपर्ने कुरा बाहिर आयो भनेर टीकाटिप्पणी हुने गरेको छ । लेख्न मिल्छ त ?
पदमा रहँदा गरेको काम भन्दिनँ, लेख्दिनँ भनेर गोपनीयताको सपथ खाएको भएर यस्तो भनिएको होला । समय घर्किसकेपछि केही फरक पर्दैन । गोपनीयता भंग भएको भए त कार्बाही गरिहाल्थ्यो नि सरकारले । अरुको मलाई थाहा भएन तर मैले कानुन मिचेको छैन । गोपनीयता भंग गरेको छैन । 

तपाईंलाई आइजिपीबाट हटाएपछि वामदेव गौतम निकट मान्छेले २० लाख मागेको तर दिन नमानेकोलेख्नुभयो । नाम लुकाउनु भयो किन ? 
नाम त भन्न मिल्दैन । पैसा माग्न नआएको भए लेख्थेँ र ?  

नाम किन लेख्न मिलेन ? जोखिम थियो ?
यत्ति बुझ्नुस्, मिलेको जति लेखेको छु । 

त्योबारे त्यही बेलामा नबोलेर अहिले किन लेखिएको त ? हुन लागेको काम बिग्रन्छ भनेर त होला नि हैन ?
मैले मेरो दाइलाई त भनेको थिएँ । पुस्तकमा अहिले लेखेँ नि त ! त्यतिबेला भन्या भए पत्रकारले नै के कुरा मिलेन त्यही भएर भन्यो भन्ने कुरा आउँथ्यो । यो कुरा अहिले लेख्नुमा कुनै स्वार्थ छैन ।  

दुर्गा कार्कीको ‘विमान विद्रोह’ नामक पुस्तकमा गोडधुवा रकमको चर्चा छ । तपाईंको पुस्तकमा २० लाखको कुरा छ । यो पुस्तक चर्चामा ल्याउने ट्रिक त हैन ?

मलाई पुस्तक चर्चामा ल्याउनु किन छ र ? न मलाई योबाट बिक्री भएको रकमले केही गर्नु छ, न लोभ छ । जे हो, त्यो लेखिएको हो । 
तपाईं भ्रष्टाचारको मुद्दामा पनि पर्नुभयो सफाइ पनि पाउनुभयो । कता कता तपाईंको पुस्तक पढ्दा कामको आधारमा भन्दा पनि दरबारसँग जसले झुत्ती खेल्यो उसैलाई फँसाइन्थ्यो भन्नु भएझैँ छ । हो ?
उनीहरुसँग जुध्न को सक्ने ? यसबारे त पुस्तकमै लेखेकै छु । यहाँ के भन्ने ? सम्मानित अदालतले मलाई निर्दाेष देख्यो र न मलाई न्याय दियो । तर वास्तविकता के हो भने त्यो बेला सूर्यनाथलाई भने च्यालेन्ज दिएको हुँ । 

पुस्तकमा प्रजातान्त्रिक विचारधाराका मात्र भ्रष्टाचारको मुद्दामा परे भनेर पनि लेख्नुभएको छ । त्यस्तो पनि हुन्छ र भ्रष्टाचारमा ?
त्यतिबेलाको इतिहास केलाएर लेख्नुहोस् । त्यो बेला के कम्युनिस्टले भ्रष्टाचार गरेकै थिएनन् त ? विश्लेषण र तथ्याङ्कले जे देखाउँछ, त्यही हो । यसबारेमा मेरो थप भन्नु केही छैन । 

अहिलेको दिनचर्या बताउनुस् न त ।
७२ वर्ष पुगिसकेँ । श्रीमती जीवित रहँदा वर्षको ३ महिना तीर्थस्थल जान्थेँ । धेरै वर्ष भयो म निरन्तर पशुपति जान्छु । ४ घण्टा पूजापाठमा बिताउँछु । अरु समय मान्छे भेटघाट । त्यत्ति हो । 

खप्तड स्वामीसँगको भेटबारे पनि थोरै लेख्नुभएको छ । केही बताउनु न स्वामीबारे ।
यो घर बनाउँदा पहिलो गृह प्रवेश गर्ने नै उहाँ हो । (उनको धुम्बाराहीस्थित घर अढाइ तले छ ।) उहाँसँगको भेट र संगतका बारे लेख्ने हो भने अर्काे पुस्तक बन्छ होला । 

लेख्नुहुन्छ उसो भए ?
हेरौँ के हुन्छ !
 

Leave A Comment