इतिहास विभागको अवस्था : विद्यार्थी शून्य, प्राध्यापक आठ

आइतबार, १३ माघ २०७५, ०३ : ०७ प्रजु पन्त
इतिहास विभागको अवस्था : विद्यार्थी शून्य, प्राध्यापक आठ

त्रिभुवन विश्वविद्यालयको मानविकी संकायतर्फ इतिहास विभागमा २०७० मा ७ जना विद्यार्थी स्नातकोत्तर तहमा भर्ना भए । २०७४ मा घटेर एक जना मात्र बाँकी रह्यो । २०७५ मा २७ जनाले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । प्रशासक बद्री कार्कीका अनुसार प्रवेश परीक्षा उत्तीर्ण भएपछि मात्र कति विद्यार्थी भर्ना हुन्छन् भन्ने यकिन हुनसक्छ । 

‘मैले पढाउन थाल्दा शिक्षा संकायको इतिहास विभागमा १० देखि २० जनाको हाराहारीमा विद्यार्थी हुन्थे,’ उपप्राध्यापक हिक्मत बहादुर खत्रीले भने, ‘अहिले दुई जना मात्र छन् ।’ 

पाँच वर्षको तथ्यांक हेर्दा हरेक वर्ष विद्यार्थी घटेको देखिन्छ । २०७१ मा ६  जना, २०७२ मा २ जना, २०७३ मा १ जना विद्यार्थी मात्र भर्ना भए । २०७४ मा १ जना विद्यार्थीले भर्ना लिए तर कक्षा लिन गएनन् । 

किन घटे विद्यार्थी ?
‘केही विषय यस्ता हुन्छन्, जुन राज्यले छोटो अवधिको नाफा खोज्नु हुँदैन,’ प्राध्यापक दिनेश राज पन्त भन्छन्, ‘इतिहास यस्तै विषय हो, जसको नतिजा लामो समयपछि आउँछ ।’ 

भविष्य सुनिश्चित नहुने विषयमा पढ्न चाख देखाउने विद्यार्थीको संख्या कम हुने उनले बताए । 
उपप्राध्यापक खत्री इतिहासमा किन विद्यार्थी कम भए भन्नेमा अध्ययन हुनुपर्ने बताउँछन् । विद्यालय तहमा भूगोल, इतिहास, अर्थशास्त्र तथा संस्कृतको पढाइ नहुँदा यी विषयबारे विद्यार्थीमा चाख नहुने मुख्य कारण रहेको हुनसक्ने उनको ठम्याइ छ । 

रोजगारीको अवसर नहुनु र राज्यले समेत ती विषयलाई प्राथमिकता नदिनुले समेत इतिहासप्रति रुचि नदेखिएको खत्रीको धारणा छ ।

‘इतिहास, संस्कृति तथा दर्शनशास्त्रतर्फ पहिलेदेखि नै विद्यार्थी कम हुन्थे,’ प्राध्यापक पन्तले भने, ‘विद्यार्थी धेरै र थोरैले प्रभाव पार्दैन तर कत्तिको अध्ययन अनुसन्धान भएको छ, त्यसले राज्यलाई प्रभाव पार्छ ।’ 
इतिहास भन्नेबित्तिकै पञ्चायतकालीन समयमा जस्तै व्यक्तिवादी इतिहास हुनु, एकत्वमा ध्यान दिनु, राजा–महाराजातर्फ मात्र एकोहोरो रटान लगाइनु, राजनीतिक इतिहासमा मात्र जोड दिइनुले विद्यार्थीमा चाख बढाउन नसकिएको देखिन्छ । 

‘इतिहासको दायरा फराकिलो पार्नुपर्छ,’ इतिहास विभागका विभागीय प्रमुख डा. शंकर  थापाले भने, ‘हामीले अहिलेदेखि नै पाठ्यक्रममा दायरा फराकिलो बनाउन ध्यान दिएका छौँ ।’ 


प्राध्यापकले के गरे ?
मानविकी संकायको इतिहास विभागमा चार जना प्राध्यापक, दुई जना सहप्राध्यापक र २ जना उपप्राध्यापक गरी ८ जना कार्यरत छन् । २०७४ को ब्याचमा विद्यार्थी शून्य भए । एक वर्ष प्राध्यापकहरुले के गरे त ? 
‘पिएचडी गर्न लाग्नुभएका दुई जना विद्यार्थी हुनुहुन्छ र पहिलेका विद्यार्थीको शोधपत्रको काम भएको छ,’ डा. थापाले भने, ‘विद्यार्थी नभए पनि हामीले राजनीतिक, सामाजिक, धार्मिक, मौखिक इतिहासको खोज तथा  अनुसन्धानमा काम गरिरहेका छौँ ।’ 
त्रिविका अन्य विभागको तुलनामा इतिहास विभागमा अध्ययन अनुसन्धान गर्न सक्रिय रहेको उनको दाबी थियो । यस वर्ष ‘हिस्ट्री अफ बुक्स’बारे अध्ययन भइरहेको उनको दाबी छ ।
त्रिवि उपकुलपति तीर्थ खनियाँ विद्यार्थी शून्य हुनु गम्भीर समस्या रहेको तर अब त्यस्तो नहुने दाबी गर्छन् । 
‘यहाँ मात्र हैन संसारभर इतिहासको विद्यार्थी कम छन्,’ उपकुलपति खनियाँले भने, ‘खोज तथा अन्वेषणमा विद्यार्थीको संख्या कम हुनु स्वाभाविक हो । यसका लागि विद्यार्थी आकर्षण गर्न सक्नुपर्छ ।’ 

‘इतिहास विषयकै दुरुपयोग’
वसन्त महर्जन ,प्राध्यापक तथा अनुसन्धानकर्ता
विश्वविद्यालयको कक्षामा इतिहास विषयको विद्यार्थीको संख्या कम हुनाका अनेक कारण छन् । कुनै एउटा कारण देखाएर सम्बन्धित पक्ष पन्छिनु भनेको आफ्नै विषयलाई नबुझ्नु वा संवेदनशील हुन नसक्नु हो ।  
सबै विषयक्षेत्रसँग सरोकार भएको इतिहास अहिले तपसिलमा पर्नु भनेको अन्य विषयलाई पनि हानि नै हो । यस विषयले विद्यार्थीलाई आकर्षित गर्न नसक्नुको मुख्य कारण ‘स्कोप’ देखाउन नसक्नु हो । 
विद्यार्थी स्तरका अध्ययन अनुसन्धानजस्ता काममा पनि प्राध्यापकहरु आफैँले हात पार्ने, ¥याल चुहाएर बस्ने, विद्यार्थीलाई कुनै मौका नै नदिने र परीक्षामा अन्य विषयको तुलनामा कम मात्रै नम्बर दिने आदि कारणले पनि विद्यार्थी कम भएको हो । 

मैले सुनेअनुसार, उत्तर पुस्तिकाको परीक्षण गरेर अंक दिँदा आफू विद्यार्थी छँदा पाएको अंकभन्दा बढी दिइँदैन र परीक्षामा अंक पाउन गार्हाे विषयको रुपमा यो विषय नै बदनाम हुन पुग्यो । यो साँचो कुरा हो भने अत्यन्तै गम्भीर विषय हो र छानबिन हुनुपर्छ ।  

यस विषयसम्बद्ध प्राध्यापक, लेखक तथा अनुसन्धानकर्मीहरुमा ‘यो अत्यन्तै जटिल विषय हो, जो–कोहीले हात हाल्न सक्दैन तर म सक्छु र म उत्कृष्ट हुँ’ भन्ने बुझाइ वा घमण्ड बोकेर हिँड्छन् । यसबाट कक्षामा सरल ढङ्गले पढाउन सक्दैनन् र उनीहरु लेखाइमा पनि गज्याङमज्याङ पारेर दुर्बाेध्य पार्छन् । 
इतिहास विषयक नेपाली लेखरचनामा सामान्यतः चार वटा (इस्वी, विक्रम, शाके र नेपालसम्बत) सम्बतको प्रयोग, तिथिमितिको विवादलाई सर्वसामान्य पाठक तथा विद्यार्थीमा थोपर्ने गर्नाले पनि विद्यार्थीलाई वाक्कदिक्क बनाइदिन्छ । 

इतिहास भनेर शासकको वंशवृक्ष र तिनका गुणगान मात्रै प्रस्तुत गर्दा पनि यो विषय सुरुचिपूर्ण नहुनाका साथै व्यावहारिक जीवनमा लागू भएन । यी अनेकौं कारणले कक्षामा विद्यार्थीको संख्या घट्यो, विद्यार्थीलाई मात्र दोष दिएर हुँदैन । 

टिप्पणी
तत्काल परिणाम खोज्नु हुँदैन 
प्रा. दिनेश राज पन्त 
नेपालको इतिहास हेर्दा प्राचीन समयमा इतिहासलाई अत्यन्तै महत्व दिएको पाइन्छ । वैदिक ग्रन्थमा जसले दिनहुँ इतिहास पढ्छ, उसले देवतालाई दुध भात र मासु खुवाएको जसरी तृप्त पार्छ भनिएको छ । करिब २४ सय वर्ष पहिले आचार्य कौटिल्यले पनि राजकुमारहरुले हरेक दिन पढ्नुपर्ने विद्यामा इतिहास पनि हो भनेका छन् । 

हाम्रो पछिल्लो पद्धतिमा लौकिक विद्यालाई महत्व नदिने समय आयो । आध्यात्मिक कुरा बढी गर्ने र इतिहासलाई त्यति महत्व नदिने प्रचलन आयो । यसको राम्रो उदाहरण हाम्रो संस्कारमा बाबुआमा बितेपछि उनीहरुको चिना बगाउने च्यात्ने चलन भयो । त्यो भनेको इतिहास मारेको हो । त्यो चिज भनेको इतिहासप्रति अनास्था गरेको हो । मानिसलाई बा–आमाको श्राद्धको तिथि थाहा हुन्छ, जन्मको तिथि थाहा हुँदैन ।

हाम्रो युगमा इतिहास पढ्न थालेको भनेको पाश्चात्य परम्पराबाट पढ्न थालिएको हो । उनीहरुले इतिहास विधालाई ज्यादै महत्व दिए । कर्कपेट्रिक र ह्यामिल्टन नेपाल आए । त्यतिबेला उनीहरु नेपालको सबै भूभाग जान पाउने अवस्था थिएन । त्यस अबस्थामा पनि उनीहरुले पुस्तक लेखे र ती पुस्तक अहिले पनि काम लाग्दैछन् । त्यही भएर नेपालीहरुलाई हाम्रोबारे बाहिरका मान्छेले लेखिएको पढ्नुपर्ने बाध्यता छ । कुनै पनि देशको इतिहास लेख्दा त्यही देशको रहनसहन, संस्कृति, चालचलन, आनीबानी, भाषा आदिबारे बाहिरियालाई पूरै ज्ञान भएको हुँदैन । उनीहरुको दृष्टिकोणबाट लेखिएको हुन्छ । त्यसले गर्दा इतिहासको गलत व्याख्या हुन सक्छ । हामीले बाहिरियाले लेखेको कुराको आधार मान्नु अरु सामग्री नपाएको हुँदा यो स्वाभाविक हो । अर्काे कुरा, बाहिरियाले लेख्दा ‘बायस’ गरेर लेख्ने भए ।

जब हाम्रोमा अंग्रेजी शिक्षा आयो, यहाँ इतिहास पढाउने चलन चल्यो । त्यो शिक्षामा ठूलो कमजोरी इतिहास पढ्ने÷पढाउने दुवैलाई समस्या भयो । हाम्रा प्राचीन सामग्रीहरु विभिन्न भाषामा (स्थानीय भाषा, संस्कृत, गुप्त आदि भाषामा) छन् । इतिहासमा एमए गरेकाले ती भाषा लिपि राम्ररी जान्दैनन् । अहिले इतिहास पढेकाले सेकेन्डरी स्रोतबाट पढेका हुन्छन् । जसले गर्दा धेरै समस्या देखिएका छन् ।  

केही यस्ता विषय हुन्छन्, त्यो राज्यलाई चाहिन्छ । त्यसमा राज्यले विशेष लगानी गर्नुपर्ने हुन्छ । इतिहास, संस्कृति, दर्शन भनेको यो पढिसक्नेबित्तिकै काम पाउनका लागि हैन । केही विद्यालाई राज्य समाजले संरक्षण गर्नुपर्छ । अर्थाेपार्जन गर्नु मात्र विद्याको सार होइन । मैले २०३७ सालमा त्रिवि संस्कृति विभागमा पढाउँदा १६ जना विद्यार्थी थिए । अंग्रेजी, अर्थशास्त्रमा सय, सवा सय हुन्थे ।  

हाम्रोमा गम्भीर अध्ययन हटेको छ । उच्च शिक्षा सकिनेबित्तिकै हुने खाने युरोप–अमेरिका ताक्ने, आय स्रोत कम भएकाले अरु अर्थोपार्जन गर्नतर्फ लाग्ने भएको छ । यसले भोलिका दिनमा ठूलो समस्या निम्त्याउनेवाला छ । 
अध्यापकहरुले पनि मिहिनेत गर्नुपर्छ । तलब खाएपछि काम गर्नु पर्याे । विद्यार्थी नआए नआऊन्, हाम्रो धन्दा चलिहाल्छ भन्ने मानसिकता धेरैलाई छ । कोही प्राइभेट कलेज चलाउँछन् । कोही अन्तै समय दिन्छन् । 
जागिर खान भनेको कमसेकम १० देखि ५ बजेसम्म हो । त्यति समय त दिनै पर्छ । क्लास नभए पनि अनुसन्धानमा बिताउनु पर्ने हो ।  विद्यार्थी नभए पनि अनुसन्धान त गर्नपर्याे नि ! त्यो देखिँदैन । पढाउने शैलीमा पनि कमजोरी भयो कि ? खोज्नु÷बुझ्नु पर्याे ।

विद्यार्थी नहुनु अथवा हुँदै नहुनु भनेको त गम्भीर विषय हो । अध्यापकले पनि अनुसन्धान गरेर द्वितीय स्रोतलाई राखिएको छ भने प्राथमिक स्रोत, प्राचीन लिपिहरु आदिलाई राख्ने अथवा संस्कृति र इतिहास मिल्दा अझ बढी मिल्ने हो कि भनेर अध्ययन गर्नुपर्ने हुन्छ । इतिहास भनेको अपरिहार्य कुरा हो । यो राजनीतिशास्त्रसँग  पनि सम्बन्धित कुरा हो ।

वि.सं १८२४ मा पृथ्वी नारायण शाहले पश्चिमतिर चेपे नदी भन्दा पर जान सकेका थिएनन् । टिस्टादेखि काँगडासम्म हाम्रो थियो । हामीले त एक तिहाई भूमि गुमाएको हो । किन यसो भयो भनेर अनुसन्धान हुन आवश्यक छ । त्यतिबेला अंग्रेजको तुलनामा हाम्रो हतियार कम थिए । उनीहरु पढ्दै गए, हामी पढ्नौँ । त्यस कारण हाम्रो हतियार भुत्ते हुँदै गयो । त्यो भुत्तेपना अहिले झन् बढेको छ । उनीहरु र हाम्रो तुलाना हुन सक्दैन । हाम्रोमा गहिरोसँग अनुसन्धान भएन र भएको छैन ।

इतिहास भनेको तत्काल सामान बेचेर नगद लिएजस्तो विषय होइन । यो लगानी गर्नेबित्तिकै तुरुन्तै फाइदा आइहाल्ने विषय पनि होइन । यो त लगानी धेरै गर्ने र परिणाम पर्खन सक्ने हुनुपर्छ । राज्यले यसको लागि विशेष पहल गर्न आवश्यक छ । 

Leave A Comment