फिल्म दृष्टि | गोपी : बलियो मुद्दामा लटरपटर प्रस्तुति

आइतबार, २० माघ २०७५, ०५ : ३३ अनिल यादव
फिल्म दृष्टि | गोपी : बलियो मुद्दामा लटरपटर प्रस्तुति

नेपाली फिल्ममा मौलिकताको ठूलो खडेरी छ । अरुकै कथा टिपनटापन गरेर फिल्म बनाउने प्रवृत्ति हावी छ यहाँ । पुरानै कथाहरुलाई तोडमोड गरेर पर्दामा नयाँ देखाउने प्रयास व्यापक छ । 

यस्तो परिस्थितिमा एउटा फिल्ममेकरले गाई र गोठमा आफ्नो फिल्मको कथा देख्नु र तिनीहरुकै कथामाथि लगानी गर्नु आफैँमा तारिफयोग्य काम हो, यसमा कुनै सन्देह छैन । 

तर विषय मौलिक र एजेन्डा सान्दर्भिक हुँदैमा फिल्म कहाँ बलियो हुने रहेछ र ! फिल्म समीक्षक हुँदै निर्देशनमा प्रवेश गरेका दीपेन्द्र लामाको पछिल्लो फिल्म ‘गोपी’ हेरेपछि यस्तै महसुस गरायो । 

प्रशस्तै सम्भावना हुँदा पनि परिपक्व दृश्यभाषाको निर्माण गर्न चुक्दा उनले छनोट गरेको तारिफयोग्य विषय फिक्का लाग्छ । 

खासगरी ‘गोपी’ एउटा पात्रको संघर्षको कथा हो । नाम हो– सुधिर उर्फ गोपी (विपिन कार्की), जो पढाइमा अब्बल छ । गोल्डमेडलिस्ट पनि हो ऊ, जसलाई उनका बुबा अमेरिका जाओस् भन्ने चाहन्छन्् तर ऊ मरिगए मान्दैन । उसको चाहना आफ्नै देशमा केही गरौँ भन्ने छ । 

ऊ बैंकबाट ऋण लिएर पार्टनरसिपमा गाईपालन पनि गरिरहेको छ । बिहान–बिहान डेरीमा दूध पु¥याउन जान्छ ।  दिउँसो कलेज पनि पढाउँछ । सँगैकी ‘ब्याचमेट’ सुजाता  (सुरक्षा पन्त) सँग उनको अफेयर पनि छ । तर सुजातामा भन्दा बढी लगाव उनको गाईपालनमा देखिन्छ । यता सुजातालाई गाई पालेको फिटिक्कै मन परेको छैन । व्यंग्य गर्दै ‘गोपी’ भनिरहन्छिन् उनी ।

एकातिर दूधको मूल्य कम, अर्कोतिर लगानी उठाउनै मुस्किल । त्यसमाथि थेग्नै नसक्ने गरी बढेको बैंकको ब्याज । परिस्थिति सुधिरको पक्षमा आउँदैन । समस्यैसमस्याले गाँजेपछि सुधिरको गाईपालन कर्म एक्कासि रोकिन्छ । 

सुधिरका पार्टनर आफ्नो भागको गाई लिएर घर फर्किन्छन् । त्यसपछि, परिवार र प्रेमिकाकै चाहनाबमोजिम उनी अमेरिका जान तयार हुन्छन् । त्यसकै लागि पार्सपोर्ट बनाउन गाउँ जाँदा एक्कासि बीच बाटोमा ठोक्किने केही दृश्यहरुले उनको जीवन लक्ष्य बदलिन्छ ।  

घर धितो राखेरै भए पनि गाईपालन गर्ने निर्णयमा पुग्छन् । यसपल्ट ठूलै फार्म खोल्छन् । डुब्छन् या उक्सिन्छन् ? यसकै ‘रिजल्ट’ नै यो फिल्मको अन्त्य हो । 

सारांशमा यो फिल्मको कथा सुन्दा मिठो र मौलिक लाग्छ तर दृश्यभाषामा बुनिँदा कमजोर देखिन्छ । एउटा पात्रमार्फत कुनै मुद्दामाथि बहस गर्ने शैली दृश्यभाषामा नयाँ होइन । हलिउड÷बलिउडमा यो निकै प्रचलनमा छ । बलिउडमा अक्षय कुमारको ‘ट्वाइलेट एक प्रेम कथा’ र वरुण धावनको ‘सुई धागा’ पछिल्ला उदाहरण हुन् यस्ता फिल्मका । 

‘गोपी’मा यसैगरी विपिन कार्कीले किसानका मुद्दा उठाएका छन्, विदेश नगएर स्वदेशमै आत्मनिर्भर बन्न जोड दिएका छन् । तर, फिक्का पटकथा र फितलो निर्देशनका कारण फिल्मको गति सुस्त र अलमलिएको छ । 

बिचौलियाका कारण किसानले श्रमबापतको मूल्य नपाउनु नेपाली समाजको यथार्थ हो । गाईको दूधमार्फत निर्देशकले यो समस्या उजागर त गरेका छन् तर समाधान देखाएका छैनन् । बैंक र इन्सुरेन्स कम्पनीले कसरी ठग्छन्, त्यो पनि देखाएका त छन् तर सतहमा मात्र । 

पात्रको विजय त त्यतिबेला सुन्दर हुन्थ्यो जतिबेला ऊ यी तमाम समस्याविरुद्ध लड्थ्यो र निकास निकाल्थ्यो । तर अन्त्यमा कृषिमार्फत क्रान्तिको कल्पना गर्ने यो फिल्मको प्रमुख पात्र खराब सिस्टमविरुद्ध लड्दैन बरु फिल्मलाई हतारमा सक्न निर्देशक र पटकथाकारले थोपरेको क्लाइमेक्सको द्वन्द्वमा फस्छ । 

पहिलो भागमा जे कारण उनको गाईपालन रोकिएको थियो, त्यसविरुद्ध उसको संघर्ष नदेखिनुले पनि फिल्मलाई कमजोर बनाउन भूमिका खेलेको छ । निर्देशकले जसरी फिल्मको अन्त्य गरेका छन्, त्यसले गाईपालकको सफलता अर्कै बुझाउँछ ।

यो फिल्मको केन्द्रीय द्वन्द्व निर्माणका लागि निर्देशकले जसरी अंकित खड्काको उपकथालाई फिल्ममा राखेका छन्, त्यसले फिल्मको मूल कथामाथिकोे मर्ममै प्रहार गरेको छ । 

फिल्मको स्वाभाविक लय बिगार्नमा अंकित पात्रमार्फत सिर्जित द्वन्द्वको बढी भूमिका देखिन्छ ।  यसअघि दीपेन्द्रकै पहिलो फिल्म ‘घामपानी’बाट अभिनयका कारण तारिफ बटुलेका अंकितको अभिनय यो फिल्ममा भने अस्वाभाविक देखिन्छ । 

प्रेमिका सुजाता र सुधिरबीचको भिन्न सोच, बाबुको लक्ष्य र छोराको योजना, सरकार र किसानबीचको द्वन्द्व, असल र खराब पात्र । फिल्ममा द्वन्द्वैै द्वन्द्व छ, तर सबै कमजोर । द्वन्द्व आउँछ, आफैं हराउँछ । कुतुहलता निर्माणमा निर्देशकले कुनै मिहिनेतै गर्नु परेको छैन ।

किसानका पीडा र संघर्ष देखाउने दृश्यभाषाले फिल्म सकिँदासम्म दर्शकको मन हुडल्नुपर्ने हो, आँखा रसाउनुपर्ने हो, रुमाल भिजाउनुपर्ने हो । तर ‘गोपी’ले त्यस्तो महसुस गराउँदैन । पात्रको सहारामार्फत संघर्षको कथा भन्ने यस्ता फिल्मले दर्शकको मन छुन नसक्नु दृश्यभाषामा चुक्नु हो । र, दृश्यभाषामा चुक्नु भनेको निर्देशकको असफलता हो । 

‘गोपी’ मसालेदार फिल्म होइन, यसमा कुनै शंकै छैन । तर निर्देशकले फिल्मको बीचबीचमा घुसाउने द्विअर्थी संवाद र अन्तरंग दृश्यले उनको नियतमाथि प्रश्न गर्छ । उनले स्वावलम्बी बनाएर उभ्याएको प्रमुख पात्रले ‘म्वाई’, ‘दूध’जस्ता शब्दलाई द्विअर्थी संवादका रुपमा प्रयोग गर्दा हाँसो त उठ्ला तर निर्देशकको नियत पनि देखाउँछ । 

त्यस्तै, फिल्ममा भेटरेनरी डाक्टरका रुपमा देखापरेकी वर्षा राउत कुनै पनि एंगलले चरित्रका लागि फिट लाग्दिनन् । डाक्टर भन्नेबित्तिकै आँखामा चश्मा हुनैपर्छ भन्नु रुढीवादी मानसिकता हो । फिल्ममा भेटरेनरी डाक्टर हुन वर्षाले पनि चश्माको सहारा लिएकी छिन् । फिल्मको कुनै पनि दृश्यमा उनले नखोलेको चश्मा निर्देशकले ‘लक्ष्मी कहिले काली’ गीतमा नाच्दै गर्दा भने खोल्दिन्छन् । कथाको लय नबिगारी आउने गीतमा उनलाई त्यसरी देख्दा चसक्क बिझाउँछ । 
यद्यपि लामो समय फिल्म समीक्षामार्फत सिनेमाको कलात्मकतामाथि पैरवी गर्दै आएका लामाले फिल्ममा यसरी ‘मसला’ मिसाउलान् भन्ने अपेक्षा थिएन । 

त्यसो त फिल्ममा केही मनछुने दृश्य नभएका होइनन् । विपिनले गाईपालन छाडेको भोलिपल्ट बिहान ४ बजेको उसको मोबाइलमा बज्ने ‘अलार्म’ले नेपाली जनजीवनको ठूलो हिस्सालाई सम्बोधन गर्छ । पासपोर्ट बनाउन गाउँ जाने क्रममा उनले खाजाको सट्टा दूध मगाउने दृश्य उस्तै मार्मिक लाग्छ ।  

अभिनयका हिसाबले ‘गोपी’को चरित्रमा विपिन कार्की फिट देखिएका छन् । तर एकपल्ट पछाडि फर्केर उनका फिल्महरु  हेर्ने हो भने गोपीमा उनको अभिनय ‘वाह’ लायक देखिन्न । 

फिल्ममा सुरक्षा पन्तको चरित्र स्वाभाविक नलागे पनि उनको अभिनय भने स्वाभाविक लाग्छ । कम दृश्यमा देखिए पनि भोला सापकोटाले अभिनयमार्फत दर्शकको मन जित्छन् । प्रकाश घिमिरे, कमलमणि नेपाल पनि आ–आफ्नो चरित्रमा स्वाभाविक नै देखिएका छन् । 

तर, प्रशस्तै सम्भावना हुँदाहुँदै दृश्यभाषाको कमजोरीका कारण ‘गोपी’ उत्कृष्ट नेपाली फिल्मको दुर्लभ सूचीमा दरिन असफल देखिन्छ । मुद्दा त सहि उठायो तर प्रस्तुति लटरपटर । यद्यपि बजारमा अहिले जस्ता नेपाली फिल्म बनिरहेका छन्, यो तिनीहरुभन्दा माथि छ । 
 

Leave A Comment