भाग्यको थाप्लो

बिहिबार, २४ माघ २०७५, ०५ : ४४ प्रकाश जंग थापा
भाग्यको थाप्लो

सफलताले मान्छेलाई केसम्म दिलाउँदैन ! चाहे त्यो भौतिक उपलब्धि होस् वा जीवन स्तरमा परिवर्तन । उसले चाहेको हरेक चिज उपभोग गर्न सक्छ । कुनै चाहना अधुरा हुँदैनन् । यस अतिरिक्त उसमा मनोवैज्ञानिक परिवर्तन पनि आउँछ । प्रत्येक सफलताले नयाँ धारणा जन्माउँछ । सङ्घर्ष गर्दाताकाको सोच र सफलता प्राप्ति पछिको सोचमा १८० डिग्रीको बदलाव आउँछ । सोच्ने तौरतरिका नै फेरिन्छ । यसो भन्दैमा मनोवैज्ञानिक परिवर्तन सकारात्मक हुन्छ भन्ने होइन । मनोविज्ञानमा पर्न गएको प्रभावले सकारात्मक परिणाम नै दिन्छ भन्ने कुनै ग्यारेन्टी छैन । 

हालै लामो समयपछि एक जना मित्रसँग साक्षात्कार गर्ने अवसर जुर्यो । हाम्रो चिनजान व्यावसायिक स्तरमा सीमित छ । व्यक्तिगत गफ हुने प्रश्नै रहेन । यद्यपि त्यस कफी गफले अनौपचारिक मोड लियो । मित्रले आफ्नो मनको पोको खोल्दै जाने क्रममा निष्कर्षसहित सुनाए, ‘यो हैसियत कसरी विकास भयो म अचम्ममा छु । व्यापार गरेँ । पैसा पनि कमाएँ । शैक्षिक क्षेत्रमा आएँ । कलेजको प्रिन्सिपल बनाइदिए । हाल एक प्रतिष्ठित इन्सुरेन्स कम्पनीको नेतृत्व तहमा छु । अहिलेसम्म मिहिनेत गर्नै परेन । जे पाएँ भाग्यले पाएँ ।’

यस्तो विचार हरकोही व्यक्तिमा उत्पन्न हुन सक्छ । जीवनमा नसोचेको छलाङ मार्न सक्षम हुन्छन् तर जस दिन्छन्, भाग्यलाई । आफ्नो क्षमतामा विश्वास नै गर्न सक्दैनन् । शंका ज्यादा गर्छन् । प्राप्त सफलता स्वीकार्न सकिरहेको हुँदैनन् । उनीहरु मनमा यस्ता कुरा खेलाउँछन्, ‘एक दिन मेरो पोल खुल्नेवाला छ । सफलताको लागि म योग्य छैन । यो कुरा सबैले थाहा पाउने छन् । म एक्सपोज्ड हुनेछु ।’

साइकोलजीमा यस अवस्थालाई ‘इम्पोस्टर सिन्ड्रोम’ भनेर व्याख्या गरिन्छ । सन् २०११ मा गरिएको एक अध्ययनले विश्वका ७० प्रतिशत मानिस जीवनको कुनै न कुनै क्षणमा यस्तो मनोवैज्ञानिक अवस्थामा रहने देखाएको छ । विशेषतः कलेज पढ्दै गरेका, नयाँ करिअर सुरुवात गरेका एवं चुनौतीपूर्ण जिम्मेवारी पाएका युवाहरु ‘इम्पोस्टर’ बन्न पुग्छन् । उनीहरुमा नक्कली, ढोंगी, पाखण्डी सावित हुने अथवा अनावृत्त हुने डर अत्यधिक हुन्छ । यस्तो अवस्था सफल महिला र पुरुष दुवैमा सकिन्छ ।

प्रमुख कारणहरू
कुनै व्यक्ति ‘इम्पोस्टर सिन्ड्रोम’बाट ग्रसित हुनुका पछाडि अनेक कारण हुन सक्छन् । कारण एकः पारिवारिक वातावरण । पारिवारिक परिवेशले मनोविज्ञानमा ठूलो प्रभाव पार्छ । मानौँ, परिवारमा तपाईंलाई निकै क्षमतावान् र बौद्धिक मानिन्छ । स्वाभाविक रुपमा तपाईं हरेक पटक सफल हुने इच्छा राख्नु हुन्छ । केही चरण सफल पनि हुनु भयो रे, सधैं दुधभात भन्ने हुँदैन । कहिलेकाहीँ असफलता पनि चाख्नु पर्ने हुन्छ । अब प्राप्त हुने असफलताका कारण तपाईं पहिलेका सफलतालाई भाग्यको खेल ठान्नु हुन्छ । अनि तपाईं इम्पोस्टर बन्ने सम्भावना बढी रहन्छ । त्यसैगरी कुनै परिवारमा हिंसात्मक गतिविधि सामान्य रहन्छ । झैंझगडा चलिरहेको हुन्छ ।

एकअर्काको आलोचना हुन्छ । यस्तो पारिवारिक वातावरणमा हुर्केका हरकोही इम्पोस्टर बन्ने सम्भावना हुन्छ । कारण दुईः नयाँ चुनौती सामना गर्दा । मानौँ तपाईंको पदोन्नति भयो रे ! नयाँ जिम्मेवारी सम्हाल्दै गर्दा तपाईंमा शंका उत्पन्न हुन्छ– के म यसका लागि तयार छु ? यसको हकदार छु ? म भन्दा अरु पनि त अनुभवी छन् ! आखिर म नै किन ? असफल भइयो भने ! कारण तीनः तुलना गर्नु । स्वयंलाई आन्तरिक रुपमा चिनिन्छ तर अरुलाई बाहिरी रुपमा मात्रै चिनेका हुन्छौँ । जसकारण तुलना गर्न पुग्छौँ । ऊ त्यस्तो छ, म यस्तो छु । अरुको बारेमा बढी नै अनुमान गर्छौँ । यसले झन् धेरै मनोवैज्ञानिक असर बढाउँछ । त्यसपछि इम्पोस्टर सिन्ड्रोमको लक्षण बढ्दै जान्छ ।

केही लक्षणहरु
यस्तो मनोवैज्ञानिक अवस्थामा रहेकाहरुलाई कसरी चिन्ने? उनीहरुमा के–कस्ता लक्षण देख्न सकिन्छ? स्वभाव कस्तो हुन्छ? प्रथमतः उनीहरु गल्ती गर्न डराउँछन् । असफलतादेखि अत्तालिन्छन् । इम्पोस्टर साइकलमा फस्न पुग्छन् । प्रत्येक सफलताले उनीहरुमा शंका बढाउँछ । सफल हुनुमा क्षमता प्रमुख कारण हो वा भाग्य भन्नेमा अनभिज्ञ रहन्छन् ।

यति मात्र होइन सफलताको असली राज खुल्ने डर पनि उत्तिकै बढ्दै जान्छ । आफ्नो काम र व्यवसायबाट तिनीहरु सन्तुष्ट हुन सक्दैनन् । अतिरिक्त जिम्मेवारी पन्छाउँदै जान्छन् । कतिपय अवस्थामा काममा मात्रै केन्द्रित हुन्छन् र शतप्रतिशत नतिजा चाहन्छन् । आराम गर्दैनन् । अन्ततः त्यस्ता व्यक्ति डिप्रेसन, लत तथा तनावको सिकार बन्न पुग्छन्।

मुक्त कसरी रहने?
इम्पोस्टर सिन्ड्रोमले पीडित रहेर खुसी जीवन जिउन सकिँदैन । यसबाट मुक्त रहन सक्नुपर्छ अनि जीवन अर्थपूर्ण बन्छ । यस मनोवैज्ञानिक अवस्थाबाट बच्न निम्न विधि पालना गर्न सकिन्छ ।
छलफल गर्नेः समस्या आफूभित्र सीमित गराउने होइन । बाहिर ल्याउन कोसिस गर्नोस् । यसका लागि आफ्नो नजिकको साथीभाइ वा सहकर्मीसँग संवाद गर्नोस् । यसलाई प्रभावकारी रुपमा अघि बढाउनुहोस् । यसो गर्नाले वास्तविक अवस्था बुझ्न मद्दत मिल्छ । शुभेच्छुकसँगको छलफलबाट उचित सुझाव लिन सकिन्छ । उनीहरुले तपाईंको क्षमता र कमजोरी केलाउन सक्छन् । जसकारण आवश्यक सतर्कता अपनाउन सजिलो हुन्छ ।

सफलताको दस्तावेज तयार पार्नेः समय समयमा आफ्नो प्रगति विवरण तयार पार्नुस् । यसले तपाईंलाई थप उर्जा दिन्छ, तपाईंको आत्मविश्वास बढ्छ । कुन कार्यकौशल सकारात्मक परिणाम ल्याउन प्रयोग भयो, त्यो पत्ता लगाउन सकिन्छ । कुनले परिणाम दिएन, त्यस बारेमा पनि स्पष्ट हुन सकिन्छ । सत्यतथ्य केलाउन सकिन्छ । अनि कार्यकौशल थप सशक्त बनाउन आवश्यक गृहकार्य गर्न सकिन्छ । यसबाट कार्य क्षमता अभिवृद्धि गर्न सकिन्छ ।

नकारात्मक धारणालाई चुनौती दिनेः नकारात्मक धारणाले इम्पोस्टर सिन्ड्रोम साइकललाई गति दिन्छ । चाँडोभन्दा चाँडो गति कम गर्नोस् । यसका लागि सकारात्मक विचार सञ्चारमा जोड दिनुहोस् । आफ्नो योगदानमार्फत् प्राप्त हुन सक्ने परिणाममाथि भिजुअलाइजेसनमा जानुहोस् अर्थात् कल्पनामा डुब्नु होस् । त्यसैगरी पूर्णतावाद प्राथमिकतामा नराख्नुहोस् । जुन परिणाम आउँछ, त्यसमा सकारात्मक रहनुहोस् । सन्तुष्ट रहने बानी विकास गर्नोस् । तपाईं जहाँ गए पनि कि स्वीकृत हुनुहुन्छ कि अस्वीकृत । अरुले के सोच्छन् भन्नेमा ध्यान दिनु समय र ऊर्जाको दुरुपयोग हो । अन्यप्रति सधैं सकारात्मक सोच राख्नोस् । शालिन रुपमा प्रस्तुत हुनुहोस् ।

अन्त्यमा, इम्पोस्टर सिन्ड्रोम विरुद्ध के गर्न सकिन्छ भन्दा पनि यस मनोवैज्ञानिक अवस्थामा रहँदा के गर्न सकिन्छ त्यसमाथि मन्थन गर्नु फलप्रद हुन्छ । अरुको नक्कल गर्नमा, देखासिकीमा, तुष्टिका लागि कहिल्यै समय व्यतित नगर्नोस् । आशा छ, यो विधिले इम्पोस्टर साइकलमाथि ब्रेक लाग्नेछ ।
 

Leave A Comment