‘म सपना देखाउने तर पूरा नगर्नेविरोधी हुँ’

बिहिबार, २४ माघ २०७५, ०६ : २६ प्रजु पन्त
‘म सपना देखाउने तर पूरा नगर्नेविरोधी हुँ’

यथार्थपरक कथा लेखनीमा नाम कमाएका कथाकार राजेन्द्र पराजुलीले २०३९ सालमा ‘श्रद्धाञ्जली’ छपाएयता पाँच वटा कथासङ्ग्रह, एक उपन्यास र एक कविता सङ्ग्रह प्रकाशन गरिसकेका छन् । पत्रकारिता पेसामा सक्रिय रहेर पनि साहित्य लेखनीमा निरन्तर यात्रारत् पराजुलीसँग शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानीः 

तपाईं प्रायः कथामा राजनीतिलाई व्यंग्य गरिरहनु भएको हुन्छ । ‘शुक्रराजशास्त्रीको चश्मा’ होस् वा ‘अघोरी’ अथवा पत्रिकामै प्रकाशित ‘मुसो’ कथामा राजनीति नै केन्द्रमा रहेको देखिन्छ । यस्तो किन नि ?
देश चलाउने मूल नीति भनेकै राजनीति हो । हाम्रो मूल नीति यति धमिलो, विकृत तथा विरुप छ कि त्यसबाट कोही पनि बायस हुन सक्दैन । राजनीतिकै कारणले नै भुइँमान्छे अथवा किनाराकृत मान्छे पीडित छ । त्यो वर्ग एकदमै ठूलो छ । एउटा जिम्मेवार लेखकले यस्तो धमिलो पक्षलाई नलेखे केलाई लेख्ने ?

साहित्यमा राजनीति मिसाउनु ठीक हो र ?
ठीक–बेठीक भन्दा पनि साहित्यमा राजनीतिबाट पीडित समूहको कथामा अझ भनौँ साहित्यमा आउनुपर्छ ।

विश्वेश्वरप्रसाद कोइरालाले राजनीति र साहित्य अलग हो भनेका थिए । यसमा तपाईंको राय के छ ?
बिपी कोइरालाले जीवनमा एउटा मात्र राजनीतिक विषयवस्तु भएको कथा लेखे, ‘एक रात’ । बिपीका हरेक कथामा समाजका वास्तविक कथाले स्थान पाए, चाहे त्यो ‘दोषी चश्मा होस्’ या ‘मधेसतिर’ भन्ने कथा । तिनमा उनले अप्रत्यक्ष रुपमा राजनीतिलाई जोडेका छन् । 
मेरो धारणा चैँ अलग गर्न पर्छ भन्ने लाग्दैन । खराब राजनीतिकै कारण समाज दूषित भएको छ, त्यसबारे किन नलेख्ने ? अस्ति भर्खर मैले लेखेको मुसो कथामा पनि पहिले धर्मलाई अफिम ठान्ने अनि पछि सत्तामा पुगेपछि त्यसैलाई पुज्न थाल्ने प्रवृत्तिमाथि व्यंग्य गरेको हुँ । धर्मको नाममा राजनीति गर्ने कुरा मलाई मन पर्दैन । यो प्रवृत्ति ठीक नभएर नै मैले कथामार्फत् लेखेको हो ।

तपाईंले लेख्नुभएको कथामा प्रायः प्रजातन्त्रप्रति अलि बढी झुकाव कम्युनिस्टप्रति अलि आक्रामक भएको पाइन्छ नि ?
मलाई यो असाध्यै ठूलो आरोप आइरहेको छ । अस्ति हेटौँडामा ‘अघोरी’ कथा संग्रहमाथि अन्तक्र्रिया हुँदा पनि नेकपाका केही साथीहरुले निकै ज्यादती गर्ने प्रयास गर्नुभयो । उहाँहरुले मलाई सुनियोजित रुपमा कम्युनिस्टमाथि जाइलाग्नु हुन्छ भनेर भन्नुभएको छ । मैले एउटै जवाफ दिने गरेको छु– वामपन्थी दलले जहिले पनि धार्मिक, आर्थिक असमानताको कुरा लिएर राजनीति गरे । मान्छेको जीविकाको कुरा गरे । त्यो नारा बेचेर सत्तामा पनि पुगे तर जब सत्तामा पुगे, त्यो कुरा ०.५ प्रतिशत पनि लागू गरेनन् । जनतालाई सपना देखाउने अनि त्यही सपनालाई खेलवाड गर्नेमाथि नलेखे के माथि लेख्ने ? म कुनै दलमा आबद्ध त छैन तर सपना देखाएर पूरा नगर्नेलाई व्यङ्ग्य गर्ने कि ? सपना नदेखाउनेलाई व्यङ्ग्य गर्ने ? जसले सपना बाँड्छ र सपनामाथि रजाइँ गर्छ, उसलाई व्यङ्ग्य नगरे कसलाई गर्ने ?

हाम्रो देशका दल जो–जो सत्तामा गएका छन्, ती सबै उस्तै हुन् । सपना देखाएर पूरा नगर्नु पनि धोका हो भने सपना नदेखाई सत्तामा जानु पनि जनतामाथिको खेलवाड नै हो । तपाईंको कथामा भने एकपक्षीय प्रहार मात्रै देखिएको छ नि त ?
हो, एकदमै ठीक हो । मेरो विचारमा सपना देखाएर पूरा नगर्नु झन् बढी घात हो । लोकतन्त्रको नाममा अलोकतान्त्रिक चरित्र देखाउनेको पनि कथा लेखेको छु । यद्यपि ती कथा कम भएको सत्य हो तर जुन दलले गरिबीलाई न्यून गर्छु भन्छ तर केही काम गर्दैन भने त्योभन्दा घातक अरु के हुन्छ ? जसले सपना देखाउँछ, त्यसमा अपेक्षा बढी हुन्छ । सपना नदेखाउनेसित त के अपेक्षा हुन्छ र ? कति पनि सपना पूरा नगर्दा त झन् ठूलो घात हुन्छ । त्यही बुझाई, त्यही रुझानका कारण त्यो प्रकारको कथा आएको हो । सुनियोजित रुपमा कम्युनिस्टको विरोध गर्छु भनेर गरेको होइन । मैले कसैको पैरवी गरेको छैन ।

राजनीतिबाहेक अरु कस्ता विषयवस्तुले तपाईंलाई कथा लेखनीमा आकर्षण गर्छ ?
समाजका जुनसुकै विषयले मलाई आकर्षण गर्छ । यथार्थपरक, अलिकति भुइँमान्छे व्यथा, मधेसका विषयमा पनि मैले लेखेको छु । म काठमाडौँको काँठमा जन्मेको मान्छे भएकाले काँठको असंगत जीवनबारे पनि लेखिरहेको हुन्छु । कहिलेकाहीँ प्रेमका बारे पनि लेखेको छु । एकखालको भेराइटी दिन खोजेको छु । मसँग हिँडिरहेका मान्छेलाई जे कुरामा बढी छोएको हुन्छ, त्यही कुरा लेख्छु ।  

परशु प्रधानले एक पटक कुराकानीको क्रममा रामेछापमा बस्दा डल्ले खोलामा भएको राजनीतीकरणलाई लिएर कथा लेखेको थिएँ भन्नुभएको थियो । तपाईंले पनि त्यसरी पात्रहरु टिप्नुभएको छ कि छैन ?
आफूले देखेको, सुनेको, भोगेको पात्रकै बारेमा नै कथा लेखेको हुन्छु । प्रमुख चरित्रमाथि बढी नै अध्ययन गर्छु । कल्पनाशीलता र यथार्थताको घालमेल हुन्छन् कथामा । हामीकहाँ विषयवस्तु धेरै छन् । मलाई धेरै म्याजिकल मन पर्दैन । हामीकहाँ यति धेरै पात्र छन् कि हावामा उडिरहन पर्दैन । कहिलेकाहीँ म अलिअलि त उडेको हुन्छु तर धेरै उडिरहन पर्दैन । जमिन छोएको हुन्छु । 

पत्रकारितासँगै साहित्यमा कलम चलाउने लेखकले समाचारमा स्थान दिन नसकेको पात्रलाई स्थान दिन साहित्य लेखेको भन्ने धेरै देख्छु । तपाईंले त्यस्तो कत्तिको गर्नु भएको छ ?
एकदमै । कतिपय समाचारमा स्थान दिन नसकेको विषय, पात्रलाई कलात्मक बनाएर कथा अथवा अरु विधामा स्थान दिनु मेरो पनि उद्देश्य हो । हाम्रो समाजमा यस्ता पनि पात्र छन् है भनेर लेख्नुपर्ने हुन्छ । कल्पनाशीलतालाई बढाएर लेख्ने गरेको छु । समाचार बनाउँदा स्वाद नआउनेलाई कलात्मक बनाउनेतर्फ ध्यान दिएको छु । 

महिला, दलित, सीमान्तकृत समुदायको हक–अधिकारमाथि लेख्ने अनि प्रेम र यौनलाई केलाएर लेख्ने अर्काे थरिको लेखक हुनुहुन्छ । तपाईं आफूलाई कुन क्याटागोरीमा राख्नुहुन्छ ?
म बढी विभेद, किनारीकृत, भुइँमान्छेको विषयमा लेख्नेमा पर्छु । प्रेम र यौनबारे पनि कथा त लेखेको हो तर मलाई यसले त्यति तान्न सकेन । लेख्दा आफूलाई जेले छुन्छ, त्यसैमा लेख्ने न हो ! 

आफू सन्तुष्ट भएको कथामा पाठक सन्तुष्ट देख्नु भएको छ ?
त्यो छ्यासमिस छ । मलाई असाध्यै मन परेको कथा पाठकले ठीकै भन्नुभएको पनि छ । मलाई ठीकै लागेका कथा असाध्यै मन पराउने पनि हुनुहुन्छ ।  

तपाईं आफू लेख्न बस्दा कुन लेखकबाट बढी प्रभावित हुनुहुन्छ ?
मलाई बाहिरी लेखकले उठाएको विषयवस्तु मन पर्छ । जहाँको मान्छे भए पनि मनोवैज्ञानिक समस्या उही हुन्छ । शोषित पीडितको समस्या उही हुन्छ । विषयवस्तुले त तान्छ तर शैली आफ्नै हुनुपर्छ । सोसल रियालिजममा आधारित भएर लेख्ने जुनसुकै लेखकले मलाई प्रभाव पार्छन् । 

नेपालमा जति पनि नाम चलेका लेखक छन् तिनले विदेशको पुस्तक पढ्ने अनि त्यसैलाई नेपालीकरण गर्छन् भन्ने आरोप कहिलेकाहीँ सुनिन्छ । तपाईंलाई कत्तिको सत्य लाग्छ ?
कसले कसरी लेख्छ म भन्दिनँ । मैले त्यसो गरेको हुन्नँ । त्यसो गर्नु पाठकमाथिको अन्याय हो । लेख्नकै लागि लेख्नेले त्यसो गर्लान् तर एक इमान्दार लेखकले त्यसो गर्नु अनुचित हो । 
 
सक्रिय पत्रकारिता गर्नु भएको मान्छे । समाजका धेरै पात्रसँग भेट भएको हुन्छ । तिनै पात्रलाई कथा बनाउनुहुन्छ । त्यस्ता पात्रलाई कथामा राख्दा विशुद्ध साहित्य भएन कि अथवा पत्रकारिताकोे बढी प्रभाव पर्यो कि भन्ने लाग्दैन ?
 मैले लेखेका कथामा पत्रकारिता हावि भयो भन्ने आरोप लाग्ने गरेको छ । केही पाठकहरुले ठाडो पत्रकारिताको प्रभाव आयो भन्नुहुन्छ तर मैले त्यसको प्रभाव नपरोस् भनेर मिहिनेत गरिरहेको हुन्छु । प्रभाव त पर्छ नै ।

कविता भन्दा कथा–उपन्यासमा पाठकको रुचि बढी ध्यान दिइन्छ भन्ने भनाइ छ ।  तपाईंले पाठकको रुचि अनि पाठकको मागलाई कतिको ध्यान दिनुहुन्छ ?
पाठकको रुचिलाई हामीले बेवास्ता गर्न त हुँदैन तर बजारले जे माग गर्छ, त्यो लेख्ने हो भने त्यो बजारु लेखक हुन्छ । लेखकले त आफैँ बजार सिर्जना गर्ने हो । यस्तो पनि छ है भनेर इस्यु पस्किने हो । 

अब कस्तो विषयमा कथा लेख्नुहुन्छ ? नेपालमा एकदमै कम विषय उठान गरिएको तर कथा नलेखिएको कुन विषय हो ?
हाम्रोमा लेखिनुपर्ने कुरा धेरै छन् । अहिले मेरो ध्यान केन्द्रित भएको विषय भनेको यत्रो १० वर्षे युद्ध भयो । पोस्ट कन्फ्लिक्टबारे कथा आएको छैन । अनि अर्काे विषय भनेको  कल्चरल ट्रान्सफर्मेसनको हो । जताततै हे¥यो भने हामी ट्रान्जिस्नल पिरियडमा छौँ । पहिलाको कल्चर छोड्न पनि नसकेको, नयाँ पनि अँगाल्न पनि नसकेको अवस्थामा हामी छौँ । यसमा खासै लेखिएको छैन । मैले पनि यही विषयमा केन्द्रित रहेर स्टडी गरिरहेको छु । अब कथा यसैमा आधारित हुनुपर्छ भन्ने लाग्छ । 
 

Leave A Comment