सप्तरंग म्युजिकल जर्नीमा हिडिरहेका गायक प्रमाेद भन्छन् : ‘राष्ट्रिय कलाकार हुन बाँकी रहेछ’

बिहिबार, २४ माघ २०७५, ०६ : ४५ शुक्रवार
सप्तरंग म्युजिकल जर्नीमा हिडिरहेका गायक प्रमाेद भन्छन् : ‘राष्ट्रिय कलाकार हुन बाँकी रहेछ’

सात प्रदेशका नागरिकमाझ संगीतमार्फत सद्भाव बढाउन ग्रिस्मा बोर्डकास्टिङले सात कलाकारसहित सात प्रदेशमा सप्तरंग म्युजिकल जर्नी कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रममा सहभागी गायक प्रमोद खरेलसँग सो अभियानबारे केन्द्रित भएर शुक्रवारले गरेको संवाद

सप्तरंग कार्यक्रम कस्तो लागिरहेको छ ?
रमाइलोे छ । भिन्न भिन्न स्थानमा कार्यक्रम भइरहेको छ । सहभागिता उत्साहजनक छ ।

कन्सर्ट लिएर हिँडिरहने कलाकार । यो कार्यक्रममा नौलो के लाग्यो ?
कमर्सियल कन्सर्ट भन्दा कार्यक्रम फरक छ । स्थानीय कला संस्कृतिलाई प्रवद्र्धन गर्ने गरी कार्यक्रमको आयोजना भइरहेको छ । एकै स्टेजमा ६ जना कलाकार  र एकजना खेलाडी छौं । एकै स्टेजमा ६ कलाकार र खेलाडी हुनु यो आफैंमा विरलै हुने घटना हो । कार्यक्रममा विशिष्ट व्यक्तिहरु आइरहनुभएको छ । आफ्ना धारणा राखिरहनुभएको छ । कार्यक्रम नौलो र प्रभावकारी छ । 

केही राजनीतिक कुरा गरौं न त । केन्द्रिकृत शासन प्रणालीबाट संघीयतामा गएको छ नेपाल । केही फरकपन अनुभय भयो ?
अहिले देश प्रदेशको अभ्यासको क्रममा छ । अझै धेरै विषय मिल्न बाँकी छ । राजधानी कहाँ हुने, नाम के राख्ने भन्ने समस्या छ । देश सात प्रदेशमा विभाजित भए पनि आखिर हामी सबै नेपाली हौं, देश त नेपाल हो । भारतमै हेरौँ न सचिन तेन्दुलकर क्रिकेटको ब्याट लिएर मैदानमा उत्रिँदा के कुन प्रदेशको भन्ने हुन्न । सबै भारतीय हुन्छन् । त्यसैले प्रदेशमा जाँदा कहिँकतै भावनामा तलमाथि भएको छ भने त्यसलाई भर्ने संगीत र खेल नै हो । त्यसैले सप्तरंगले जे थिम बोकेर हिँडेको छ त्यो समयसापेक्ष छ । 

कलाकारमध्ये ३ जना गायक गायिका, एक कमेडियन र डान्सर । खेलाडी रहेका दीपक विष्टले के गरिरहेका छन् ?
उहाँ जुन प्रदेशमा जानुहुन्छ उहाँको चेलाहरु आउनुहुन्छ । धेरै चेलाहरु रहेछन् उहाँको । उहाँले खेलको माध्यमबाट कसरी नेपालीमाझ एकताको भाव कायम गर्न सकिन्छ भनेर सम्बोधन गर्नुहुन्छ । कलाकार भन्दा कम क्रेज छैन उहाँको । 

प्रदेश गठनसँगै सद्भाव कार्यक्रम गर्नुपर्ने गरी हामी मनले विभाजित छौं त ?
नयाँ संरचना आएको हो । तर हाम्रो भावना त उही नै छ । हामी भावनात्मक रुपमा विभाजित छैनौं । हाम्रो प्रदेश, हाम्रो सरकार भन्ने गौरव हुने त भइ नै हाल्यो । तर प्रदेश फरक भए पनि हाम्र्रो पहिचान नेपाली नै हो, देश नेपाल नै हो । भौगोलिक रुपमा सात प्रदेशमा विभाजित भए पनि हामी मनले विभाजित छैनौं ।

प्रदेश २ मा पनि कार्यक्रम भयो । प्रदेशमा अली भिन्न भाव देखिन्छ त्यहाँ । सद्भाव कार्यक्रम कस्तो लाग्यो ?
जनकपुरधाममा जानकी मन्दिर अगाडि कार्यक्रम भयो । यो नै रमाइलो पाटो हो । मुख्यमन्त्रीलगायतका अथिति आउनु भयो । व्यक्तिगत अनुभवमा चै कार्यक्रममा सहभागीमध्ये आधालाई मात्र मेरो गीत थाहा थियो । आधालाई थाहा थिएन । तर कला र कलाकारलाई सम्मान गर्ने विषयमा जनकपुर सबैभन्दा अगाडि छ । त्यो सद्भाव कार्यक्रममा देखियो । 

भनेपछि आधा सहभागीको मात्र प्रतिनिधित्व भयो ?
भाषागत रुपमा हामी निक्कै धनी छौं । हाम्रो देशमा भिन्न भाषा भाषी छन् । राष्ट्रिय कलाकारको रुपमा सबै भाषाभाषीको गीत गाउन सक्नुपर्ने हो, गाउनुपर्ने हो । त्यो कमजोरी अनुभव भयो । राष्ट्रिय कलाकार भने पनि अझैं काम गर्न बाँकी रहेको अनुभव भयो । कुनै एक भाषाको गीत गाएर मात्र राष्ट्रिय कलाकार हुन सकिने रहेनछ भन्ने अनुभव भयो ।

राम्रै अनुभव भएछ । अबको योजना ?
संगीत क्षेत्रमा हरेक प्र्रदेश, जातजातिको र भाषाभाषीको प्रतिनिधित्व आवश्यक रहेछ । सबैको प्रतिनिधित्व नगरी राष्ट्रिय कलाकार भन्न सुहाउन्न । अब मेरो प्रयास हरेक भाषाभाषीको प्रतिनिधित्व गर्ने हो । कठिन छ । तर असम्भव छैन । अब यही प्रयास गर्नेछु ।
 

Leave A Comment