प्रधानमन्त्रीको सुपर तुक्का

सोमबार, २८ माघ २०७५, ०२ : ४३ शुक्रवार
प्रधानमन्त्रीको सुपर तुक्का

हँसीमजाकका प्रिय हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली उखान तुक्काका त खानी नै हुन् । सत्ताबाहिर रहँदा सत्तामा रहेको दललाई तुक्काले हानीहानी घाइते नै बनाइदिन्थे । सत्ताधारी बनेपछि पनि उनको तुक्का यात्राको क्रम रोकिएको छैन, बरु तीव्र रफ्तारमा जारी नै देखिन्छ । 

यसै रफ्तारका बीच उनले विश्वमै दुलर्भ सुपर कम्प्युटर नेपालमा बनेको सुपर एक्सक्लुसिभ सूचना चुहाइदिए । नेपालले गरेको प्रगतिका कारण विश्व आश्चर्यचकित भएको ब्रेकिङ सूचना दिए । 
बनेपामा रहेको आइटी पार्कमा विदेशबाट मगाएका सामान जोडजाड गरेर एक कम्प्युटर बनाइएको रहेछ, जसलाई त्यो काममा संलग्नहरुले सुपर कम्प्युटरको नाम दिएछन् । अब के चाहियो र प्रधानमन्त्रीका लागि ! उनले त्यसैलाई जोडेर ठोक्दिहाले, ‘नेपालमा बनेको विश्वमै दुर्लभ सुपर कम्प्युटरले विश्व आश्चर्यचकित छ ।’

तर उनको यो सूचना न ब्रेकिङ खबर नै बन्यो न एक्सक्लुसिभ सूचना, बन्यो त सुपर उखान तुक्का !
 


लाचार कांग्रेस
सदन अवरुद्ध गर्दागर्दै पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केही चलेन, सरकारले पेलेर चिकित्सा शिक्षा विधेयक पास गरिछाड्यो । संवैधानिक निकायको नियुक्तिमा प्रमुख प्रतिपक्षी दलको नेताको उपस्थिति अनिवार्य झैँ भए पनि सरकारले एकतर्फी रुपमा प्रमुखहरु सिफारिस ग¥यो । कांग्रेसले असहमति जनायो । केही समय सरकारले सुनेझैँ नै ग¥यो तर अन्त्यमा पेलिदियो र संसदीय सुनुवाई प्रक्रिया अगाडि बढाइदियो । 

वाइड बडी खरिदमा भएको घोटालामा कार्बाहीको माग आयोग बनाएर साइड लगाइदियो । प्रतिपक्षी दलकै नेताको नामसमेत जोडिएपछि कांग्रेसको स्वर मलिन बन्यो ।  
यसरी एकपछि अर्को मुद्दामा संसद्देखि सडकसम्म २ तिहाईको चेपुवामा परेपछि रन्थनिदै कांग्रेस ‘प्रतिपक्ष कहाँ छ देखाइदिन्छु’ भन्दै सडक संघर्षमा उत्रियो । सडकमा कांग्रेस त देखियो यहाँ पनि ऊ कमजोर र निम्छरो नै प्रमाणित भइरहेको छ ।

सरकारलाई तह लगाउन जिल्लाहरुमा निस्किएको कांग्रेसीको संख्या विवेकशील नेपाली दलको संख्या भन्दा पनि कम थियो । पोखराको विरोध सभामा सम्बोधन गर्न गएका नेता गगन थापाले आफ्नै पार्टीका होनहार कार्यकर्ताको कालो झण्डा हेरेर फर्किए । 

सानो–सानो झुन्डमा रहेका कांग्रेसीहरुले सरकारविरुद्ध लगाएको नारा सडकका सवारीको हर्नमै हराउन पुग्यो । सरकारलाई देखाउन सडकमा उत्रिएका कांग्रेसी भन्दा सवारी कुर्न सडकमा उभिएकाहरुको भिड बढी थियो । पार्टीको भातृ संगठन भाताभुङ्ग बनाएको पार्टीले गरेको आन्दोलनको अवस्था यो भन्दा बलियो होस् पनि कसरी ! जे होस् कांग्रेस सडकमा देखियो तर यहाँ पनि पार्टी नेताहरुझैँ कांग्रेस कमजोर, निरीह र लाचार नै थियो । 

कसले फँसायो केसीलाई ?
पटक–पटक अनशन बसेर सरकारलाई आफ्नो अजेण्डामा सहमत गराउँदै आएका डा. गोविन्द केसीको १६ औं अनशनले कुनै आकार नै नलिई तुहियो । तुहिनुको कारण बन्यो, चिकित्सा शिक्षा सुधारको अजेण्डामा खुसुक्क छिरेको दुई वटा मुद्दा ।

डा. केसीको मुख्य चासो चिकित्सा शिक्षा नै थियो । चिकित्सा शिक्षाको आवरणमा फैलिएको विकृति र माफियागिरी तह लगाउन दृढ देखिन्थे उनी । सत्तापक्ष सधैँ उनको विपक्षमा देखिन्थ्यो, विपक्षीले समर्थन गर्थे । चिकित्सकहरु पनि यस मागमा एक हुन्थे ।

यस पटकको अनशनमा धेरै दृश्य बदलियो । प्रतिपक्षीले साथ दिए पनि सरकारलाई झुकाउन लायक दबाब पुगेन । चिकित्सकहरु समेत विभाजित भए । सत्ताबाहिर रहेका कांग्रेस बाहेकका अन्य दल नयाँ शक्ति नेपाल लगायतकाको समर्थन पाउनै सकेनन् उनले । डा. केसीको पक्षमा उर्लने सर्वसाधारणको संख्या पनि पहिले जस्तो हुन सकेन ।

यी सबको कारक उनको चिकित्सा क्षेत्र सुधारसम्बन्धी माग थिए, ती मागसँगै छुस्स छिरेको एक माग थियो ‘द्वन्द्वकालीन मुद्दा ।’

यसै बीचमा युरोपियन युनियन लगायतकाले नेपालको द्वन्द्वकालीन मुद्दाको समाधान भन्दै संयुक्त विज्ञप्ति निकाल्यो । बाघ कराउनु र बाख्रा हराउनु एकै समयमा परेको हो या नियोजित, विज्ञप्तिले समेत अनशनको माहोल बिगार्यो ।

द्वन्द्वकालीन मुद्दामा नेकपा बन्दा एमालेसँग जोडिएका माओवादी नेताहरुको निन्द्रा हराउने त भयो नै, नेकपामा रहेको एमाले पंक्ति भने ढुक्कै थियो । निद्रा हराउने अर्को पक्ष प्रमुख प्रतिपक्षी नै हुन् । सशस्त्र द्वन्द्वमा जोडिएका टुक्रे दल नयाँ शक्ति पार्टी, मोहन वैद्यहरु पनि यो मुद्दामा झस्किने भए नै ।

डा. केसी अन्तर्राष्ट्रिय अवसरवादी समूहको प्रभाव परेको भन्दै उनीमाथि आक्रमण शुरु भयो । बलियो प्रतिरक्षा हुन सकेन । अन्ततः खुसुक्क छिराइएको यही मागले उनको १६ औं अनशन आकारै नलिई तुहियो । जे माग पनि राख्न हुन्छ भनेर हौसिएका डा. केसीको कोर टिमलाई एउटा मागले ब्याकफायर ग¥यो ।

 

Leave A Comment