‘फर्गो’ लिएर आए निश्चल

मङ्गलबार, २९ माघ २०७५, ०९ : २१ शुक्रवार
‘फर्गो’ लिएर आए निश्चल

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्री ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे । 

कार्यक्रममा बोल्दै ऋचाले लेख्ने मान्छे प्रति आफ्नो मनमा सम्मान रहेको बताउँदै कम उमेरमै स्तरीय किताब निकालेकोमा लेखक मल्ललाई बधाई दिइन् । 

‘बीस वर्षकै उमेरमा यत्तिको किताब लेख्नु साँच्चिकै प्रशंसनीय काम हो । तर, उमेर कम भए पनि किताबमा मैले परिपक्वता देखें,’उनले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई लेखक मल्लले मज्जाले प्रस्तुत गरेका छन् । 
अभिनेत्री सुरक्षा पन्तले सानो उमेरमै पुस्तक लेख्ने निश्चलको हिम्मतको प्रशंसा गरिन् । ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन् । अझ यति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन् ।’

लेखक सुविन भट्टराईले निश्चललाई देखेर आफ्ना पुराना दिन याद आएको बताए । 

‘व्यस्तताकाकारण पुस्तक पढ्न पाइँन, त्यसैले पुस्तकको गुण दोषको बारेमा म बोल्दिन । पहिलो किताब हरेक लेखकको स्पेशल हुन्छ,’ भट्टराइले भने‘ निश्चलका लागि पनि यो किताब स्पेशल बनोस्, शुभकामना ।’
लेखक मल्लले पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण भएको बताउँदै पुस्तकले नयाँ पुस्ताको प्रेमप्रतिको सोचलाई प्रस्तुत गरेको बताए । 

‘पुस्तकमा कल्पनामा आफूले सोचे जस्तो जीवन सिर्जना गर्ने युवाको कथा पेश गरेको छु,’ उनले भने‘ जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधा पुस्तकमा अटाएको छ । 
पुस्तक बुक हिलले प्रकाशन गरेको हो । 

Leave A Comment