फिल्म दृष्टि | समर लभ : अडियो फिल्म

बुधबार, ०१ फागुन २०७५, ०४ : ५९ अनिल यादव
फिल्म दृष्टि | समर लभ : अडियो फिल्म

एउटा कृतिमाथि बनेको फिल्मबाट सामान्य दर्शकले कस्तो अपेक्षा राखेको हुन्छ ? पक्कै पनि उसको अपेक्षा हुँदो हो, शब्दमार्फत पुगिएको संसारलाई दृश्यमा हेर्न पाइयोस्, त्यसलाई मिठोसँग अनुभूत गर्न पाइयोस् । 

युवा साहित्यकार सुबिन भट्टराईले करिब सात वर्षअघि बजारमा ल्याएको उपन्यास ‘समर लभ’ अहिले हलमा फिल्म बनेर लागिरहेको छ । त्यो बेला उपन्यासका दुई प्रमुख पात्र अतित र सायाको प्रेमले बजार गर्माएको थियो । 

तर किताबले यसरी युवापुस्तामाझ तहल्कै पिटिरहेका बेला पनि मैले यो पुस्तक पढ्ने जाँगर देखाएको थिइनँ । फिल्म हेर्नुअघिसम्म पनि त्यो जाँगर थिएन । सोचेको थिएँ, पहिला फिल्म नै हेर्छु, त्यसपछि किताब पढौँला । 

तैपनि मनमनै आशा थियो, शब्दको दुनियाँमा सुन्दर सुनिएको अतित र सायाको प्रेम एकैपल्ट फिल्मको पर्दामा झन् सुन्दर देखिएला । फिल्मलाई लिएर राम्रो सम्भावना देखेको थिएँ तर हेरिसकेपछि पूरै निराश भएँ । 

सुबिनकै शब्द सापटी लिएर भन्ने हो भने फिल्मले ‘सम्भावनाको खुड्किलोबाट जति छिटो माथि चढाएको थियो त्यति चाँडो झारी पनि दियो ।’ फरक यत्ति हो, सुबिनले ‘समर लभ’मा अर्कै सम्भावनाको कुरा गरेका थिए, यहाँ म फिल्मको सम्भावनाको कुरा गर्दैछु । 

फिल्मले निराश बनाएपछि फिल्मबारे लेख्नुअघि उपन्यास पढेँ । एक बसाइमा पढेर सकाएँ । त्यसपछि त झन् निराश, फिल्म सम्झेर । बरु उपन्यास पढ्दा फिल्म हेरेजस्तो लाग्यो तर फिल्म भने उपन्यास रटेर पढेजस्तो । न फिल्मका प्रमुख पात्रहरु पुस्तकको जस्तो लाग्ने, न उनीहरुको अभिनय जिवन्त । 

पटक–पटक यस्तो लाग्थ्यो, आशिश पिया (अतित) र रेवती क्षेत्री (साया) पर्दामा अभिनय गरिरहेका छैनन्, मात्रै उपन्यासका प्रेमिल संवादहरुलाई वाचन गरिरहेका छन् ।  

यो फिल्मको कथा उपन्यासको भन्दा फरक छैन । उही अतित र सायाकै कथा छ । सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स (सीडीइएस) कीर्तिपुरमा इन्ट्रान्स एक्जामको रिजल्ट हेर्न जाँदा अतितले पहिलो नम्बरमै देख्छ एउटा नाम– साया शाक्य । कस्ती होली साया ? उसमा सायालाई हेर्ने छटपटी जाग्छ । बिस्तारै देख्छ पनि, भेट्छ पनि । दुवै साथी पनि बन्छन् । प्रेममा पनि पर्छन् । बिहे गर्ने निर्णयसम्म पुग्छन् । तर, उनीहरुको प्रेमप्रति परिवार सकारात्मक छैन । त्यसो भए के हुन्छ त उनीहरुको प्रेम ? 

फिल्मको अन्त्य उपन्यासको कथाभन्दा फरक छैन । त्यसैले उपन्यास पढेर फिल्म हेर्न जानेलाई क्लाइमेक्सको कौतुहलता जाग्ने कुरै रहेन । 

यो फिल्मको सबैभन्दा कमजोर पक्ष, निर्देशन र अभिनय नै हो । निर्देशक मुस्कान ढकालले मनछुने प्रेम कथा त रोजे, तर पर्दामा त्यसलाई अनुभूत गराउन पूरै चुके । बरु पुस्तक डुबेर पढ्दाखेरी पाठक ठाउँ–ठाउँमा रोलान् तर फिल्म हेर्दा रुनु त पर जाओस्, आँखा थोरै पनि रसाउँदैन । 

अधिकांश नेपाली फिल्म निर्देशकको कमजोरी हो, दृश्यभाषामा मिहिनेत नगर्नु । उनीहरु फिल्म त बनाउँछन् तर दृश्यभन्दा बढी सहारा संवादकै लिन्छन् । जबकि फिल्म मूलतः दृश्यभाषाकै माध्यम हो । अढाई सय पेजको ‘समर लभ’लाई अढाई घण्टाको फिल्ममा ढाल्नु निर्देशक र पटकथाकारका लागि पक्कै सजिलो थिएन । तर यसो भन्दैमा किताबको मर्मलाई मर्न दिनु त भएन नि !

निर्देशकले किताबमा व्याख्या गरिएका पात्र, परिस्थिति र परिवेशहरुलाई बलियोसँग पर्दामा देखाउन सक्थे, दृश्यकै सहाराले । आखिर उनले भने सुनेकै होलान्, हजार शब्द बराबर एउटा तस्बिर । तर यहाँ त फिल्म हेर्दा निर्देशकले यही कटु यथार्थलाई भुलेजस्तो देखियो । फिल्मभरि केही सुन्दर कुराहरु छन् भने ती उपन्यासका संवादहरु मात्रै छन् । 

एउटा हिट लभस्टोरी बुक र त्यसभित्रका हिट संवादकै भरमा पर्दा निर्देशक पात्रको छनोटमा पनि पूरै चुकेका छन् । मंगोलियन अनुहारका आशिष पियामा उनले कसरी उपन्यासका अतित शर्माको झल्को पाएँ ? सोच्दा पनि दिमाग सट्किन्छ । झन् फिल्म हेर्दा कस्तो भयो होला ! 

अनुहारमा नक्कली दाह्री र टाउकोमा नक्कली कपाल लगाउँदा अतितको भूमिकामा देखिएका आशिषलाई ‘सिरियस मुड’मा पनि कमेडियनभन्दा कम देखिँदैन । फिल्ममा नक्कली दाह्री लगाएर उनले ‘मेरो लिभरको कसम खाएर भन साया, तिमी मलाई प्रेम गर्दिनौ ?, ‘तिमी जे भन साया, तर म आजकाल अरु नै कसैलाई प्रेम गर्न थाल्या छु । मैले सबभन्दा बढी प्रेम गरेको यै रक्सी हो’ जस्ता डायलग बोल्दा पनि दर्शकको मन छुँदैन, बरु आँखा चिम्म गरेर फिल्म सुन्न मन लाग्छ ।

उनको नक्कली दाह्री र कपालसँगैको अस्वाभाविक अभिनय हेर्दा त आँखै बिझाउँछ । रेवतीले सायाको झल्को मेटाउन सकेकी छैनन् । पात्रअनुसार उनी नेवारकी छोरी हुन्, तर त्यस्तो लाग्दिनन् । 

फिल्ममा यी सब कमजोरी महसुस गरिसकेपछि जो कोहीले ठम्याउन सक्छ,  निर्देशकको निर्देशन कौशलता र सिर्जनशीलता यहाँ कतिसम्म कमजोर रहेछ ।  

यति मात्रै होइन, उपन्यासलाई पटकथाको रुप दिँदा कतै–कतै त्यसका दृश्यहरुसमेत तोडमोड गरिएका छन् । पुस्तक पढ्दा अतितले सायालाई लिन दिल्ली एयरपोर्टसम्म पुग्न गरेको संघर्ष कम मार्मिक र महत्वपूर्ण लाग्दैन । तर फिल्ममा यो भाग नै छैन । 

पुस्तकमा इन्ट्रान्स टपर सायालाई एकटक हेर्नकै लागि अतित जति छटपटाउँछन्, फिल्मले त्यो अनुभूत नै गराउँदैन । सायालाई भेट्न नर्वे पुग्दा अतितले पाउने दुःखलाई पनि फिल्मले नजरअन्दाज गरेको छ । कारण, पटकथाकार सामिप्यराज तिमल्सिना र निर्देशक ढकाललाई नै थाहा होला । यद्यपि पुस्तक पढेका पाठकले ती दृश्यहरु पक्कै ‘मिस’ गर्नेछन् । 

दर्शक हँसाउनकै लागि फिल्ममा केही द्विअर्थी संवादको प्रयोग पनि छ । केही अन्तरंग दृश्य पनि छन् । फिल्ममा रेवतीको पछिल्लो भाग र नम्रता सापकोटाको छातीलाई क्यामेराले जसरी ‘जुम’ गरेको छ, त्यो त्यसरी आवश्यक महसुस हुँदैन । बरु यसले निर्देशकको ‘अर्कै’ नियत झल्काउँछ । 

फिल्ममा कथाको मर्मअनुसार क्यामेराको काम राम्रै छ तर पात्रहरुको अस्वाभाविक अभिनय र हुलियाले त्यो बिर्साइदिन्छ । पाश्र्व संगीत कतै ‘लाउड’, कतै ‘मिठो’ सुनिन्छ । 

नम्रता सापकोटाको अभिनय सुधारिएको लाग्छ । उनी आफ्नो चरित्रमा फिट देखिन्छिन् । सुरजसिंह ठकुरीको त इन्ट्री नै भव्य छ । दर्शकलाई निराश बनाउने त अतित र सायाकै चरित्रले हो । उपन्यासका पानापाना समेट्ने हतारोले हो कि केले हो, दृश्यमार्फत अतित र सायाको गहिरो प्रेम महसुस गराउन निर्देशक गुल्टेका छन् । 

पक्का हो, ‘समर लभ’लाई पुस्तकमा मन पराउने पाठकलाई यो फिल्मले छुने छैन । पुस्तक नपढी फिल्म हेर्न जानेलाई पनि केही प्रेमिल संवादहरुले छोलान् तर दृश्यले छुँदैन । ‘नेपाली फिल्मलाई माया गरौँ न’ भनेर एकचोटी हेर्ने हो भने ठिकै छ !   
 

Leave A Comment