माइतीबाट आमाले ल्याएको सम्पत्तिमा अंश लाग्छ ?

बुधबार, ०१ फागुन २०७५, ०६ : ४८ स्वीकृति बराल
माइतीबाट आमाले ल्याएको सम्पत्तिमा अंश लाग्छ ?

प्रश्न : म ३५ वर्षको भएँ । मेरो घरमा बाबु, आमा, बहिनी र दाजु हुनुहुन्छ । म विवाहिता हो । एउटा छोरी पनि छ । दाजुको विवाह भएर सेटल भइसक्नु भएको छ । घरमा आमाको कारणले अलग भएर बसेको छु । बाबु–आमाले जे सम्पत्ति छ आफैँले कमाएकोले केही दिन नसक्ने बताउनुहुन्छ । मैले सम्पत्तिको हकदाबी गर्न मिल्छ कि मिल्दैन ? आमाले माइतीबाट पाएको जग्गा पनि छ । त्यसमा मेरो हकदाबी लाग्छ कि लाग्दैन ?


उत्तर : नेपालको कानुनअनुुसार बुबा–आमाको सम्पत्तिबाट अंश भाग माग गर्न पाउनु सन्तानको अधिकार हो । तपाईंले प्रश्नमा आफ्नी आमाको कारण बुबा–आमासँग बस्न नसक्ने बताउनु भएको छ तर कारण भने खुलाउनु भएको छैन । कारण जेसुकै भए तापनि नेपालको कानुनअनुसार बुबा–आमाको सम्पत्तिमा छोरा,छोरीको समान हक लाग्छ । 

मुलुकी देवानी (संहिता) ऐन, २०७४ को पच्छिेद १० मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ । परिच्छेद १० को दफा २ सय ११ ले सगोलमा सम्पत्ति भएका पति, पत्नी, बाबु–आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई इज्जत आमदअनुसार खान लाउन दिन र आर्थिक हैसियतअनुसार शिक्षा र स्वास्थ्योपचारको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । 

सोही दफाको उपदफा २ ले उपदफा १ बमोजिमको व्यवस्था पूरा गर्नुपर्ने दायित्व भएका व्यक्तिले त्यस्तो दायित्व पूरा नगरेमा अंशियारले आफ्नो अंश लिई भिन्न हुन सक्ने कुरा स्पष्ट उल्लेख छ ।  

सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनका लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिन्छन् र प्रत्येक अंशियार अंशको समान हकदार हुन्छ । 

प्रश्नअनुसार तपाईंको घरमा तपाईंसमेत बुबा, आमा, भाइ र दिदी गरेर जम्मा पाँचजना भएको खुलेको छ । तसर्थ तपाईंले सगोलको सम्पत्तिमा पाँच भागको एक भाग अंश माग गर्न पाउनुहुन्छ । तपाईंकी श्रीमती र छोरीले भने तपाईंको बुबा आमाको सम्पत्तिबाट अंश पाउँदैनन् ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ को भाग ४ को दफा २ सय ५७ को उपदफा २ ले पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुने कुरा उल्लेख गरेको छ भने सोही दफाको उपदफा ३  अनुसार बाबु–आमा र छोरा–छोरीबीच अंशबण्डा गर्ने प्रयोजनका लागि बाबु–आमाले आर्जन गरेको सम्पत्तिसमेत सगोलको मानिने कुरा स्पष्ट रुपमा उल्लेख गरेको छ । 

त्यसैले तपाईंको बुबा–आमाले आफूले पनि सगोलको सम्पत्तिबाट केही नलिएको र सबै आफैँले आर्जन गरेको कारण तपाईंलाई पनि केही नदिने भन्ने कुरा कानुन संगत छैन । बुबा र आमा दुवैले आर्जन गरेको सम्पत्तिमा तपाईं तीनै छोराछोरीको हक लाग्छ । बुबा, आमाले आर्जन गरेको सम्पत्तिबाट तपाईंले आफूले पाउने अंश भाग माग गर्न पाउनु हुन्छ र कानुन बमोजिम अंश पनि पाउनु हुन्छ ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद १ को दफा २५६ (ग) ले महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाको बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्तिलाई निजी सम्पत्ति मानेको छ भने सोही दफाको उपदफा २ ले कुनै पनि व्यक्तिले आफ्नो निजी  सम्पत्ति आफूखुसी गर्न पाउने कुरा स्पष्ट रुपमा उल्लेख गरेको छ । 

त्यसैले तपाईंले आमाको माइतीबाट आएको जग्गामा हक दाबी गर्न मिल्दैन । माईतीबाट प्राप्त भएको जग्गा तपाईंकी आमाले आफूखुसी गर्न पाउनु हुन्छ र चाहेअनुसार उपभोग गर्न पाउनु हुन्छ । प्रश्नमा तपार्इंले अर्को पनि जग्गा भएको कुरा व्यक्त गर्नुभएको छ तर जग्गा कस्को नामको हो र कुन किसिमको जग्गा हो स्पष्ट लेख्नु भएको छैन । त्यसैले तपाईं आफूले अंश पाउने कुरामा निर्धक्क हुनु भए हुन्छ ।

कानुन सम्बन्धि कुनै जिज्ञासा भए infoshukrabar@gmail.com मा पठाउन सक्नुहुन्छ

Leave A Comment