डरपोक लेखक, सतही पाठक

बुधबार, ०१ फागुन २०७५, ०७ : ३० प्रजु पन्त
डरपोक लेखक, सतही पाठक

बजारमा दुई वटा कुराले भूमिका खेल्छ– मागअनुसार पूर्ति हुने वा पूर्ति भएपछि माग सिर्जना हुने । अर्थशास्त्रको यो नियम पुस्तकको बजारमा पनि लागू हुन्छ । हाम्रा लेखकले पाठकको मागअनुसार लेखेका छन् कि उम्दा लेखनीले पाठक जन्माइरहेका छन् ?

बजारले के देखाउँछ ? यसको उत्तर खोज्न जब शुक्रवारकर्मी पुस्तक पसल चहार्यो, पसलमा भएका एक पाठकले भने, ‘बजारको भर त पर्नै हुन्न !’ यसो भन्ने व्यक्ति थिए, डिल्लीबजार काठमाडौँका रोहित तिमिल्सेना । उनले भने, ‘कहिलेकाहीँ बजारको भर परेर, समीक्षा पढे÷सुनेर पुस्तक किन्दा बेकारमा पैसा खेर फालेछु भन्ने लाग्छ ।’

राम्रो लेखकले पाठक जन्माउँछ । रोहितले यसलाई पुष्टि गर्दै भने, ‘बुद्धिसागरको ‘कर्नाली ब्लुज’ पढेपछि ‘फिरफिरे’ खोजेँ । ‘सेतो धर्ती’ पढेपछि अमर न्यौपानेको अर्काे पुस्तक ‘करोडौँ कस्तुरी’ लिएँ ।’ 
‘राम्रो साहित्य पढ्ने मानिसले जहिले पनि एउटा तहको साहित्य पढेपछि अर्को स्तर खोजिरहेको हुन्छ,’ रत्न पुस्तक भण्डारका श्याम तण्डुकार भन्छन्, ‘त्यो स्तर नपाउँदा पाठक खिन्न हुन्छ । अहिले पछिल्लो समय त्यो खिन्नता बढेर गएको छ ।’

रोहितले उनको कुरा सकार्दै भने, ‘राम्रो लेखकले पाठकलाई चुनौती दिनुपर्छ, पहिलेकै ठाउँमा अडिनु हुँदैन । ‘फिरफिरे’मा बुद्धिसागर दोहोरिए, ‘करोडौँ कस्तुरी’मा अमर न्यौपाने कमजोर भए । यस्तो हुँदा पाठकले ठगिएको महसुस गर्छन् ।’

पाठकहरु सबैभन्दा बढी आत्मकथामा ठगिने अनुभव रोहित न्यौपानेको छ । उनी भन्छन्, ‘एकदमै रेस्पेक्ट गरेको सिनियर मान्छेको आत्मकथा तथा संस्मरण पढ्यो, पढिसक्दा उसलाई पहिले गरिने रेस्पेक्ट नै नआउने । मानौँ कि सबै कुरा आफैँले धानेका हुन् । यो देश उनीहरुले नै बचाएका हुन् ।’

समीक्षाको खुकुलो प्रभाव
हिमाल बुक स्टल, डिल्लीबजारका विक्रेता अनिल हिमाल गौतमको अनुभव छ, ‘बजारमा आउने समीक्षाको भरमा पुस्तक किन्ने पाठक निकै कम छन् । सुरुमा त किन्ने आधार सेलिब्रिटी लेखक नै हुन् । पछिल्लो समय भने जसको पहिलो पुस्तक मन परेको छ, दोस्रो पनि उसैको किन्छन् तर दोस्रोमा सन्तुष्ट नभइरहेको अवस्था छ ।’ 

एडुकेशन बुक हाउसका कर्मचारी हरिहर अर्याल पाठकले खोजेको भन्दा पाठकमाथि थोपरिएका साहित्यहरु बढी भएको बताउँछन् । ‘प्रकाशकले यस्तो लेख्नुस् भनेर लेख्नेकै बाहुल्य छ यहाँ । यस्तोमा पाठकलाई ध्यान दिएर लेख्ने वा नयाँ पाठक बढाउने कमै लेखक छन् ।’

बाटो बनाउने र बाटो हिँड्ने लेखक
समालोचक महेश पौड्याल लेखकहरु दुई प्रकारको हुने बताउँछन् । ‘एउटा ट्रेन्ड फलो गर्ने हुन्छ भने अर्काे बिल्कुल नयाँ विषय र प्रस्तुति लिएर आउने हुन्छन्,’ पौडेल भन्छन्, ‘भव्य लेखकले मानक सिर्जना गर्छ, ऊ सफल हुन्छ । अरु फलो गर्छन् तर टिक्दैनन् ।’ 

फलो गर्नेहरुले पनि लामो अन्तरालपछि फलो गरेका छन् भने नयाँ पुस्तालाई ती विषय नौलो लाग्नाले लेखक टिक्ने पौड्यालको धारणा छ । 

समालोचक प्रा. डा. विन्दु शर्मा भने नेपालमा एकै खालका लेखक भएको बताउँछिन् । ‘नेपालका लेखक रिस्क लिन डराउँछन्,’ उनको आरोप छ, ‘त्यसैले सिर्जनात्मक साहित्य निकै कम छन् । हरकोही छिट्टै लोकप्रिय हुन मन पराउँछन् ।’  

समालोचक स्नेह सायमी भने लेखनको स्तर, विचार, उमेर, विषयवस्तुको चयन र प्रस्तुतिका हिसाबले विविधतायुक्त लेखनी बढ्न थालेको बताउँछन् । ‘नेपालमा उपन्यास भन्नेबित्तिकै राजनीतिक र गम्भीर विषय हावि भइरहेका बेला युधीर थापा र सुवास घिसिङले ३०÷४० वर्षअघि नै प्रयोग गरेका विषयलाई नयाँ शैलीमा पस्किएर सुविन भट्टराई लोकप्रिय भए ।’

तर सुविनलाई फलो गरेर लेख्नेहरु भने सफल हुन सकेका छैनन् । मिलन सङ्ग्रौला, प्रदीप बस्नेत, कृष्ण ढुंगेल, निमिष पौडेलले प्रेम उपन्यास लेखे तर त्यो पाठकको ठूलो समूहले मन पराएको देखिएन ।

पाठकलाई सधैँ नयाँ चुनौती थप्ने कुमार नगरकोटी भने अझै आफूलाई अलग रुपमा उभ्याइरहेको पौड्याल बताउँछन् । समाजमा चलेका मूल्यमान्यता केही होइन, आफूअनुसार बाँच्नुपर्छ भन्ने सन् १९३०–४० वा ५० को दशकमा युरोप वा अमेरिकामा चलेका अस्तित्ववादी लेखकहरुको प्रभावमा परेका नगरकोटीलाई पाठकले बेग्लै स्तरमा हेरिरहेको उनी बताउँछन् ।

काफ्का, अल्बेयर  कामु, स्यामुअल ब्याकेटजस्ता लेखकको प्रभावमा रहेका नगरकोटी पनि उनीहरुजस्तै जीवनको फगतपना, समाजको मूल्यमान्यता र अर्थहीनता, जसरी बाँच्छौँ आफ्नो तरिकाले बाँच्नुपर्छ, अरु कसैले बनाएको प्याटर्न फलो गर्ने हैन, जिन्दगी अराजक हो र त्यही अराजकतालाई नै सुन्दर बनाउनुपर्छ भन्ने मान्यताको प्रभावमा नगरकोटी छन् । पौड्याल भन्छन्, ‘विश्व साहित्यमा नै यो प्रकारको लेखन नआएको धेरै भएको थियो । ग्याप धेरै थियो । नगरकोटीले यसलाई टिपे । त्यसकारण नेपालमा नगरकोटीलाई फलो गर्ने पनि छन् ।’

पछिल्लो समय आफैँ बाटो बनाउने लेखकको सङ्ख्या कम भएको समालोचक विन्दु शर्मा स्वीकार्छिन् । ‘पहिले स्रष्टाले बजार सिर्जना गर्थे,’ बिन्दु शर्माले उदाहरण दिँदै भनिन्, ‘शंकर लामिछाने, भूपी शेरचन, मनु ब्राजाकी, ध्रुवचन्द्र गौतम, नारायण ढकाललाई यो कोटीमा राख्न सकिन्छ । अहिलेका लेखकहरु बजार हेरेर लेख्ने प्रयासमा छन् ।’

अन्तरआत्मालाई चिहाएर लेख्ने भन्दा पनि ‘मुद्दा’ लेखनीमा कतिपय राम्रा लेखकहरु अल्मलिएको शर्मा बताउँछिन्, ‘नारायण वाग्ले, कुमार नगरकोटी, सरस्वती प्रतीक्षा, रामलाल जोशी, मनीषा गौचन आदिले गम्भीर लेखनको आवरणमा मुद्दामाथि लेखेर उनीहरुलाई घाटा पारेको छ ।’

पौड्याल भने यसलाई धुरीबाट हेरेर भूमिको कथा लेखिएको समेत भन्न भ्याए । ‘इस्युमा कसरी लेख्नुपर्छ भनेर अमेरिकी प्राध्यापक गायत्री स्पिभाकले उदाहरण देखाएकी छन्,’ पौड्याल भन्छन्, ‘दलित विषयमा लेख्न गायत्रीले त्यहाँ दलितसँग लामो समय संगत गर्ने, उनीहरुलाई शिक्षित पार्ने काम गरिन् किनभने १७ वर्षसम्म लेख्दा पनि तिनको जीवनमा कुनै परिवर्तन आएको देखिनन् ।

जबसम्म दलितले नै उनीहरुको समस्यामाथि लेख्दैनन्, बाहिरियाले लेखेको मनोरञ्जन मान्नेहरु मात्र भेटिन्छन् । नेपालमा पनि मुद्दा उठाउने तर भाषाको स्तर, लक्षित समुदायको बुझाइ आदिमा त्यो लेखाइले कुनै भूमिका खेल्दैन ।’

पछिल्लो समय निस्केका ‘ऐना’, ‘ऐलानी’, ‘नथिया’ ‘दमीनी भीर’ले धुरीमा बसेर भुइँको कथा लेख्न गरेको असफल प्रयास हुन् भन्ने उनको धारणा छ ।

अनुभव ग्राह्य
नजिकबाट महसुस गरेका कुरा लेख्दा पाठकलाई न्याय गर्न सकिने समीक्षक अर्चना थापा बताउँछिन् । ‘महिलाको विषयमा महिलाले लेख्दा उसको अनुभव मिसिन्छ र त्यो रुचाइएको छ तर अरुको अनुभव लेख्दा पाठकले त्यसलाई अस्वीकार गरेका छन्,’ थापाको भनाइ छ ।

यसमा समालोचक महेश पौड्याल पनि सहमत छन् । ‘नयनराज पाण्डेले पश्चिम तराईका सामाजिक, राजनीतिक, आर्थिक, अल्पसङ्ख्यकका कुराहरुलाई स्थापित गराउन सफल भए । उनका ‘उलार’ होस् या ‘लू’ यिनले साँच्चिकै राम्रो काम गरेका छन्,’ उदाहरण दिँदै पौड्याल भन्छन्, ‘बुद्धि सागरले आफ्नो भूगोललाई क्याच गरिरहेका छन् । त्यस्तै अमरले लोक भाषा टपक्क टिपेका छन् । उनीहरुको अनुभवलाई ग्राह्यता दिएका कृतिहरुको राम्रो मूल्याङ्कन भयो तर नयनराज पाण्डेले ‘सल्लीपिर’ फरक भूगोलमा फरक संस्कृतिलाई लेख्ने चाहमा उनी चिप्लिए ।’ 

चटपटे रुचाउने पाठक 
प्राडा विन्दु शर्माको नजरमा जुनसुकै पुस्तक पनि गहिरो गरी पढ्ने पाठकको सङ्ख्या एकदमै न्यून छ । स्नेह सायमी भने गम्भीर पाठक विज्ञापनमा भर नपरी लेखकको बौद्धिकता र चेतना स्तर हेर्ने गरेको पाउँछन् । 

यता समालोचक विप्लव ढकाल भने नेपालमा साहित्यिक साक्षरता क्रमशः बढ्दै गएको देख्छन् । प्रश्न सोध्ने पाठकको सङ्ख्या बढ्दै गएकाले पनि आलोचनाको स्तर बढेको उनको भनाइ छ । समालोचक अर्चना थापा पनि यस भनाइमा सहमत छिन्, भन्छिन्, ‘आलोचनात्मक पाठकको सङ्ख्या बढेको छ । पुस्तक पढ्नेबित्तिकै तथ्यपरक भएर सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेको संख्या पहिलेको तुलनामा बढेको छ ।’

पाठकले खोजेजस्तो पुस्तक अझै आउन नसकेको अनुभव एडुकेशन बुक हाउसका कर्मचारी अर्याल बताउँछन् । ‘उपन्यासको बाढी आएको छ तर कथा कविता आएका छैनन्,’ उनी भन्छन्, ‘ननफिक्सनमा गम्भीर चिन्तन गर्ने पुस्तक कमै आएका छन् । त्यहाँ पनि निकै पाठक छन् भन्नेतर्फ धेरैको ध्यान जान सकेको छैन ।’

‘त्यसैले त धेरैले सजिलो काम गरिरहेका छन्,’ समालोचक तथा उपप्राध्यापक महेश पौड्याल तीखो टिप्पणी गर्दै भन्छन्, ‘बजारमा जे बिक्छ, त्यही लेख्नेहरु बढी छन् । धेरैजसो पाठक पनि ‘चटपटे र पानीपुरी’ खाएजस्तो चिज खोजिरहेका छन् ।’

बागबजारस्थित गोदावरी पुस्तक पसलका सञ्चालक रामचन्द्र श्रेष्ठ गम्भीर किसिमका पाठक अझै कमै भएको बताउँछन् । अझै पनि हल्का किताबकै खोजी हुन्छ ।’

रत्न पुस्तक भण्डारका श्याम तण्डुकारको अनुभवमा पनि यस्तै छ, भन्छन्, ‘यस्तो पुस्तक आएछ भनेर किन्ने पाठक छन् तर विषयवस्तु नै तोकेर यस्तो किताब छ भनी सोध्ने पाठक अझै जन्मिएका छैनन् ।’
 

Leave A Comment