मौलिक प्रेम दिवसको खोजी

शुक्रबार, ०३ फागुन २०७५, ०५ : ५८ प्रजु पन्त
मौलिक प्रेम दिवसको खोजी

अंग्रेजी महिनाको फेब्रुअरीमा ‘भ्यालेन्टाइन्स डे’को आगमनसँगै एक बहस सतहमा आउँछ के नेपालीहरुको आफ्नै प्रेम पर्व छैन र ?

सामाजिक सञ्जालमा बहस सुरु हुन्छ, टोले चियापसलमा चिया गफ । कसैले फागुपूर्णिमालाई प्रेम दिवसको रुपमा मनाउनुपर्ने तर्क राख्छन् कसैले कामदेव र रतिको महोत्सव पारेर । 

हिन्दू परम्परामा दिदी–बहिनी, आमा–बुबाप्रतिको सद्भाव र प्रेम प्रकट गर्ने परम्परागत पर्व त छन् । तर प्रेमी–प्रेमिकाबीचको प्रेम खुलमखुला प्रकट गर्न सक्ने कुनै पर्व छ त ?

प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. जगमान गुरुङ धार्मिक रुपमा सबैले स्वीकार गरेर मनाउने प्रेम दिवस नभए पनि जातिअनुसारको प्रेम दिवस भने रहेको बताउँछन् ।

संस्कृतिविद् ओम धौ भडेल अन्य समुदायभन्दा जनजातिमा प्रेम अभिव्यक्त गर्न खुला वातावरण हुने गरेको बताउँछन् ।

शास्त्रअनुसार ब्राह्मणले लेखपढ गर्ने र वंशका लागि मात्र विवाह गर्ने, क्षेत्रीले देश सत्ता चलाउनुपर्ने भएकाले प्रेम गरेर रमाइलो गर्न नहुने र उनीहरुले पनि वंशकै लागि विवाह गर्ने, वैश्य जाति अलि उदार भएकाले मेला, पर्वमा रमाइलो गरी आफ्नै जातिमा प्रेम गर्ने वातावरण रहेको उनले बताए । शुद्रको केसमा दास भन्ने प्रचलन रहेकाले प्रेम गर्ने उति छुट नदिएको भडेलको भनाइ छ ।

‘अहिले जात भन्ने कुरा त छैन,’ भडेल भन्छन्, ‘तर इतिहास केलाएर हेर्दा भने देखिन्छ ।’

संस्कृतिविद् गुरुङ यही दिनमा प्रेम दिवस मनाउने भन्ने नभएको तर मेला, चाडपर्व पारेर युवायुवतीको भेटघाट हुने र त्यही प्रेम अङ्कुराउन दिने प्रचलन भने छ । गुरुङ समुदायका लागि रोदी, राई लिम्बुका लागि धान नाच, नेवार समुदायका लागि जात्रा, सुदूरपश्चिममा देउडा नाच, मगर समुदायको पुस १५ को मेलामा यस्तै माहोल बन्ने दुवै संस्कृतिविद्को राय छ । 
‘तपाइले प्रेम दिवसको कुरा गरेपछि मैले केही इतिहास केलाएँ,’ डा गुरुङले भने, ‘मगर समुदायमा प्रेमको समय रहेको भेटेँ । तिहारमा देउसी भैलोबाट उठाएको रकम पुस १५ पारेर भोज खाने र त्यही दिनमा केटाले केटीलाई केटीले केटालाई प्रेम प्रस्ताव गर्ने प्रचलन रहेछ ।’

त्रिभुवन विश्वविद्यालयका  इतिहास तथा संस्कृतितर्फका सह–प्राध्यापक विश्वमोहन जोशी वसन्त ऋतु नै प्रेमिल भएको बताउँछन् । यही मौसममा युवा–युवतीमा प्रेम अङ्कुराउन थाल्ने उनले बताए । 
‘वसन्त ऋतुमा प्रकृतिले पनि प्रेमका लागि आह्वान गर्ने गर्छ,’ जोशीले भने, ‘प्रकृति नै मनमोहक हुने हुँदा युवायुवतीमा प्रेम भाव यही मौसममा आउँछ ।’

मौलिक प्रेम दिवसको खोजी
कतिपयले वसन्त पञ्चमीलाई प्रेम दिवसको रुपमा मान्न सुझाव दिने गरेको पनि भेटिन्छ । यो महादेव–पार्वतीको विवाह भएको दिन हो । त्यसैले त विवाहका लागि यो दिन साइत पनि जुराउनु पर्दैन । 
त्यो दिनमा कामदेवले महादेवको कानबाट आफू प्रवेश गरी महादेवमा कामउत्तेजना उत्पन्न गराई तपस्या भंग गरेको तथा रतिले पार्वतीमा राग उत्पन्न गराएर एकअर्कालाई कामोत्तेजित पारी समागम गराई सृष्टि गराएको कथा भेटिन्छ । 

संस्कृतिविद्हरु पनि वसन्त पञ्चमीको दिनलाई प्रेम दिवसको रुपमा मान्नुपर्ने तर्कमा सहमत देखिन्छन् । संस्कृतिविद् धौ भडेल, गुरुङ अनि जोशी तीनै जनाले शिशिर ऋतुमा पर्ने श्री पञ्चमीलाई वसन्त पञ्चमी भन्नुको अर्थ पनि प्रेमको दिनको लागि भएको बताए । 

‘आफ्नै मौलिक प्रेम दिवसको प्रारम्भ गर्ने हो भने वसन्त पञ्चमीलाई प्रेम दिवसको रुपमा मनाउन सकिन्छ,’ जोशीले भने ।

यौनका देवी देवताको रुपमा कामदेव र रतिलाई लिइन्छ ।  रति प्रकृति हो भने कामदेव पुरुष हो । पुरुषलाई स्त्री नभएको अवस्थामा शव मान्ने गरिएको संस्कृतिविद् ओम धौ भडेलले बताए । 
‘प्रेम भन्नेबित्तिकै भावना र शारीरिकरुपमा विपरीत लिंगी एक अर्कामा आकर्षित हुने बुझिन्छ,’ भडेलले भने ‘प्रेम प्रतीकको रुपमा कामदेव र रतिलाई लिन सकिन्छ ।’

खुला छ त हाम्रो संस्कृति ?
संस्कृतिविद् डा. गुरुङ हिन्दू संस्कार यौनमा खुला रहेको बताउँछन् । मन्दिरको टुडालको यौन आशनसहितका आकृति र कामदेव र रतिको कथा यसैको प्रमाण रहेको उनले बताए । पूर्वीय संस्कारमा प्रेम गरेकै आधारमा फाँसी दिने चलनसमेत नभएकाले पश्चिमाहरुको संस्कारमा भन्दा पूर्वीय संस्कार प्रेममा उदार रहेको उनले बताए ।

‘लमजुङको इशानेश्वर महादेव पशुपतिपछिको ठूलो महादेवको स्थान हो । त्यो गाउँभन्दा धेरै पर छ,’ गुरुङले भने वसन्तऋतुमा राकिएका उमेर पुगेका युवायुवती त्यहाँ पुग्छन् । दोहोरीतेहरी खेल्छन् रातभर बसेर एकआपसमा प्रेम साट्ने गछर्न् यो पनि प्रेम गर्न दिएको दिन हो ।’

सह प्राध्यापक जोशी पनि प्रेम गर्न जातिगत आधारमा केही बाधा देखिए पनि पूर्वीय संस्कार प्रेमको मामिलामा उदार रहेको बताउँछन् । 

‘समाजको विकासक्रमअनुसार सामाजिक परिवेश र नियम बन्दै गएका हुन्,’ जोशीले भने, ‘संस्कार र संस्कृति हेर्ने हो भने पश्चिमा प्रेम गरेकै आधारमा फासी दिनेसम्मको सजाय भए पनि पूर्वीय संस्कार त्यस्तो सजाय भेटिन्न । जातिको नियम भने भेटिन्छ ।’

एकथरीले फागुलाई पनि प्रेम दिवसको रुपमा मनाउन सक्ने तर्क गर्छन् । फागुपूर्णिमा प्रेम प्रदर्शन गर्ने पर्व रहेकाले यसलाई प्रेम दिवसको रुपमा मनाउन सक्नेमा संस्कृतिविद्हरुको पनि विमति देखिएन ।
नेवार समुदायको १० चक्र

संस्कृतिविद् ओम धौ भडेल नेवारी समुदायमा प्रेमको चक्रीयप्रणाली नै रहेको बताए । उनका अनुसार यो चक्र १० महिना चल्छ र बिहेमा परिणत हुन्छ ।

उनका अनुसार योमरी माग्ने महिना मंसिर शुक्लपूर्णिमाको दिन प्रेम प्रारम्भ हुने दिन हो । सो दिन अपरिचित युवक अपरिचित युवतीको घरमा योमरी माग्ने बहानामा जान्छन् । यदि त्यो घरकी युवतीले योमरी दिइन् भने प्रेमको प्रस्ताव हलुका स्विकारेको रुपमा बुझिन्छ । 

दोस्रो चक्र करिब दुई महिनापछि फागुपूर्णिमा हुन्छ ।  फागुपूर्णिमाको दिनमा रङ दल्ने चलन हुन्छ । त्यो दिनमा केटाले केटीको घरमुनि गएर हलुका पानी मिसाएर रङ झ्यालमा फाल्छ । यदि त्यो केटीलाई प¥यो भने आफ्नो भएको ठान्छ । युवा–युवती रङ खेलेको बेलामा युककले ‘होलीको बेला रिसायौँ कि, होलीले तिम्रो मुहार झन् राम्रो देखियो’ भनेर अप्रत्यक्ष रुपमा प्रेम प्रस्ताव राख्छ । 

तेस्रो चक्र विस्केट जात्रा हो । नेवारी बस्ती रहेको सबै ठाउँमा जात्रा हुने गर्छ । ती जात्रामा जोडीको भेट हुन्छ । 

चौथो चक्र दसैंमा नवरथा जाने भन्ने हुन्छ । बिहान सबैरै शक्ति पीठहरुमा मुख धुन जाने, बेलुकी बत्ती बाल्न जाँदा एकै दिन दुई चोटी भेट हुन्छ  । भक्तपुरमा  ब्रह्मायानी, माहेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी त्रिपुरासुन्दरी जाने चलन छ । यी सबै ठाउँमा गएपछि उनीहरुले १० औं दिनमा एउटा सङ्कल्प गर्छन् र घरबार बसाउँछन् । यो समय विवाह गरेकोलाई प्रेम विवाह भनिन्छ । विजया दशमीको दिन विवाह गर्छन् । यो दिन विवाह गर्न साइत पनि देखाउनु पर्दैन । भोज पनि खुवाउनु पर्दैन । 
 

Leave A Comment