ब्रेकअप अगाडिका पाँच प्रश्न

शुक्रबार, ०३ फागुन २०७५, ०६ : १० शुक्रवार
ब्रेकअप अगाडिका पाँच प्रश्न

सम्बन्ध तोड्न झैँ जोड्न सहज हुन्न । पार्टनरसँगको असझदारीमा सम्बन्ध तोड्ने विचार गर्दै हुनुहुन्छ भने निर्णय लिनुभन्दा अगाडि आफैसँग केही प्रश्न गर्नु उत्तम हुन्छ । यस्तो अवस्थामा आफैँसँग गरिने प्रश्नको अधिकांश उत्तर हो मा आयो भने ब्रेकअप गर्नु राम्रो, हैनमा आयो भने सम्बन्ध सुधार्ने बाटो अझै बाँकी छ भन्ने देखाउँछ । ब्रेकअपको निर्णय अगाडि आफैँसँग गर्न सकिने केही प्रश्न

के पार्टनरले धोका दिइरहेको छ ?
अधिकांश सम्बन्ध तोडिनुको कारण सम्बन्धमा इमानदारिताको कमी देखिन्छ । ऊ एकभन्दा बढी सम्बन्धमा हुनसक्छ । एकभन्दा बढी व्यक्तिसँग एकैपटक डेटमा बस्ने पनि हुन्छन् । तर कहिलेकाहीँ यो शंकाको परिणाम पनि हुनसक्छ । शंकाकै भरमा वर्षौंदेखिको सम्बन्ध तोड्ने राम्रो हैन । पार्टनरको व्यवहारमाथि शंका छ भने मनमा गुम्स्याएर नराखी प्रस्ट कुरा गर्नु उत्तम । यसले झुठ बोलिरहेको हो या शंका सत्य हो भन्ने छुटिन्छ । यदि धोका दिइरहेको देखिए पुनर्मिलन भन्दा ब्रेकअपको निर्णय राम्रो हो ।

पछि पछुतो त हुन्न ?
सम्बन्ध तोड्ने निर्णय अगाडि आफैँसँग सोध्नु कतै यो निर्णयपछि पछुतो त हुन्न ? ब्रेकअप गरिसकेपछि उसको यादले धेरै सताउने पो हो कि, सँगै बिताएका पलले पटक–पटक उसैको सम्झँदा फर्काइरहने पो हो कि ? सम्बन्ध तोडेर खुसी हुन सकिन्न कि ? यी प्रश्नको अधिकांश जवाफ हो मा आयो भने सम्बन्ध सुधारमा लग्नु उत्तम । 

समय छैन भन्दै इग्नोर त गरिरहेको छैन ?
पार्टनबीच एक अर्कासँग बिताउने समय नहुँदा पनि धेरै सम्बन्ध टुटिरहेका छन् । यदि तपाईंको पार्टनरले पनि पर्याप्त समय दिइरहेको छैन भने ऊसँग समय नै नभएर नदिएको हो या बहाना बनाएको यो पाटोमा क्लियर हुन आवश्यक छ । कतिपय अवस्थामा पार्टनरसँग समय भएको बेलामा तपाईंसँग समय नहुनसक्छ, कहिले तपाईंसँग समय भएको बेलामा पार्टनर व्यस्त हुन सक्छन् । यो हो भने संयोग मात्र हो । यस्तो हो भने यसमा दुवैको दोष हुन्छ । यस्तो अवस्थामा ब्रेकअप गर्नुभन्दा समय व्यवस्थापनमा ध्यान दिनु राम्रो ।

कतै मनमा सम्मान र प्रेम नै छैन कि ?
सम्बन्धको प्रारम्भमा मनमा प्रेम भए पनि सम्बन्ध अगाडि बढेसँगै बिस्तारै सम्मान र प्रेम घट्दै जानसक्छ । यसका विविध पक्ष हुन सक्छन् । प्रारम्भमा जो सोचेको हो त्यस्तो नहुँदा, बिस्तारै विचार र प्राथमिकता फरक पर्दा यस्तो अवस्था आउन सक्छ । यदि यो चरणमा सम्बन्ध पुगिसकेको छ भने सम्बन्ध तोड्नु राम्रो । तर पार्टनरको मनमा प्रेम नभएको भ्रम हो या हैन त्यसमा भने क्लियर हुनुपर्छ ।

मानसिक तनावले ब्रेकअपको सोच त आएन ?
 अहिलेको व्यस्त दैनिकीमा आउने मानसिक तनावको प्रभाव व्यक्तिगत सम्बन्धमा पनि पर्छ नै । यसले व्यक्ति झगडालु, सानो विषयमा रिसाइहाल्ने पनि हुनसक्छ । यस्तो अवस्थामा सामान्य गुनासोले पनि सम्बन्धमा प्रभाव पार्न सक्छ र व्यक्ति सम्बन्ध टुटाउने निर्णयमा पुग्नसक्छ । यस्तो अवस्थामा एकपटक विचार गरौं, सम्बन्ध जीवनको एक अमूल्य उपहार हो । सनकको भरमा यसलाई नतोडौं ।

Leave A Comment