भाइरल जोडी - कृष्ण–रुपा : वाह ! यो माया

आइतबार, ०५ फागुन २०७५, ०६ : ४८ प्रजु पन्त
भाइरल जोडी - कृष्ण–रुपा : वाह ! यो माया

कुलेश्वरस्थित जनमैत्री क्याम्पसनजिकै डेरामा बस्ने रहेछन् कृष्ण वली, हजुरआमाको साथमा । २ बजे उनको डेरामा पुग्दा ७ वर्षीय मामाको छोरासँग ओछ्यानमा पल्टिएर काटुर्न हेरिरहेका थिए उनी । हामी पुग्ने बित्तिकै ‘ए आइपुग्नुभयो भयो’ भन्दै ओछ्यान नजिकैको सोफा देखाएर बस्न भनी अगाडि फर्किए । केही बेरपछि अर्काे कोठाबाट आइन् रुपा वली । उनी श्रीमान् सुतेको ओछ्यानको छेउमा ओढ्ने ओढेर बसिन्  । 

२१ वर्षका कृष्ण अनि २० वर्षकी रुपा । यी यिनै जोडी हुन् जुन अहिले भाइरल छन् । भाइरलको कारण कृष्णप्रतिको रुपाको प्रेम समर्पण । दुर्घटनामा परेर दुई हात र एक खुट्टा गुमाए । उमेरमै श्रीमान् यस्तो कहालीलाग्दो दुर्घटनामा परे पनि रुपाको कृष्णप्रतिको प्रेमभाव हटेन, थप बढ्यो । यी दुवै जोडीको कथाले धेरैको मन पगाल्यो ।

त्यो कालो दिन
२०७५ जेठ २५,
रुपा काठमाडौँमा बसेर नर्सिङको तयारी गरिरहेकी थिइन् । कृष्ण पेसाले सिभिल इन्जिनियर । उनी एक कम्पनीमा काम गर्थे । कामको सिलसिलामा उनी दाङ पुगे । उनले पढेको इलेक्ट्रोनिक्ससम्बन्धी नै थियो । उनी मिटर बन्द गरेर काम गरिरहेका थिए, थाहा नपाएर उनका सहकर्मीले मिटर अन गरिदिए । 
‘त्यो मेरा लागि कालो दिन हो ।, ‘कृष्ण भन्छन्, ‘जब हात खुट्टा जले त्यो सँगै हामीले बुनेका सपना पनि जले ।’ उनले पुलुक्क रुपातिर हेरे । 

‘के गर्नु त जे हुनु थियो त्यो भएर नै छाड्छ’ रुपाले भनिन्, ‘बितेको कुरालाई किन सम्झिन्छौ र ?’ उनले श्रीमान्को अनुहार हेर्न सकिनन् झ्यालबाट बाहिर हेरिन् ।

दुर्घटनामा उनको बायाँ हात पूरै जल्यो । बायाँ खुट्टा, दायाँ हात र खुट्टामा पनि करेन्ट लाग्यो । 
उनी केही बेर बेहोस भएछन् । ब्युझिँदा वरिपरि साथीहरु त थिए तर आत्तिएर एम्बुलेन्स बोलाउने भेउ नै पाएनछन् । कृष्ण आफैँले फोन गरेर एम्बुलेन्स मगाए । दाङमा नजिक उनको उपचार सम्भव हुने अस्पताल थिएन । उनी पुगे भारतको लखनउ ।

दुर्भाग्य, त्यहाँ पुग्दा धेरै ढिला भइसकेको थियो । समयमै पुगेको भए उनको एक हात मात्रै गुम्थ्यो, इन्फेक्सनका कारण उनले दुवै हात र बायाँ खुट्टा पनि गुमाए ।
काठमाडौँमा बसेर नर्सिङको वृजकोर्ष गरिरहेकी रुपाले कृष्णलाई लखनउ अस्पतालमा पु¥याएको सुनेपछि बोल्नै सकिनछिन् ।

‘म त पूरै ब्ल्याङ्क थिए’, रुपाले भनिन्, ‘के गर्ने के नगर्ने भन्ने पत्तो नै पाइनँ । परिवारमा ऋण धन गरेर अस्पताल पुगेँ । जब उसलाई देखेँ झन् बढी माया लागेर आयो । धैर्य गुमाउनु हुन्न भन्ने भयो ।’

१८ दिन लखनउको अस्पतालमा बसेर फर्किएपछि पैसाको अभाव सुरु भयो । उपचार जारी नै थियो । कमाउने व्यक्ति ओच्छ्यान परिसकेका थिए । उनीहरुको अवस्थाबारे शिशिर भण्डारीले भिडियो बनाएर युट्युबमा अपलोड गरिदिए । मनकारी नेपालीले उनलाई उपचार खर्चको जोहो गरिदिए । कृष्ण आफ्नो गुमेको शरीरको अंग कृत्रिम रुपमा भने पनि फर्काउन चाहन्छन् । अहिलेसम्म डेढ करोड जति उठिसकेको छ रे । कति लाग्छ एकिन छैन रे । 

कालो विगत कोट्याएकाले होला कोठाको माहोल केही शान्त भयो । दुवैको अनुहार मलिन ।
‘तपाईंहरु दुईबीचको प्रेम सम्बन्धलाई दुनियाँले प्रशंसा गरेका छन् । अब तपार्इंहरुको प्रेमबारे कुरा गरौँ है ?’

फोटोपत्रकार कृष्पा श्रेष्ठले माहोल बदल्ने प्रयास गरिन् ।
‘कृष्ण पे्रमको कुरा गर्ने हो र ?’ कृष्ण रुपालाई हेर्दै मुस्कुराए । माहोल हल्का बदलियो । 
कीर्तिपुरको डाँडा साक्षी

कृष्ण रुकुममा जन्मिए रुपा काभ्रेमा । जन्मस्थान फरक भए पनि व्यवहार भने दुवैको उस्तै प¥यो । दुवैका बुबाले आमालाई छाडे । आमाले उनीहरुलाई । दुवैले मामाघर बसेर पढ्नु पर्यो । 

रुपाले मकवानपुरमा रहेको मामाघरमा केही समय बसेर पढिन्, कृष्ण काठमाडौंमा रहेको मामाघरकै हजुरआमासँग बसे । 

दुवैको भेट जनसेवा माध्यमिक विद्यालय कीर्तिपुरमा भयो । दुवैको कक्षा एउटै भए पनि सेक्सन भने फरक थियो । बिस्तारै दुवै नजिकिँदै थिए । उनीहरु भेट भएको बेला आफ्ना घरपरिवारका कुरा गर्थे । 
‘सुरुमा त म अचम्मैमा परेको घरको कथा उही,’ रुपाले भनिन्, ‘आमाबाको अवस्था पनि उही सायद त्यसैले हामीलाई नजिक बनायो ।’

२०७० को अन्तिमतिर उनीहरु घुम्न कीर्तिपुरको डाँडामा गएका थिए । त्यहीँ उनीहरुले जीवन सँगै बिताउने वाचा गरे ।

रुपाले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढिन् भने कृष्णले सिभिल इन्जिनियर पढे । दुवैको पढाइ मध्यमस्तरको । उमेर किशोर काल मात्र पार गरेको थियो, डेढ वर्षअगाडि रुपाको मामाघरमा विवाहको कुरा चल्यो । उनले सकेसम्म छल्ने कोसिस गरिन् तर सकिनन् । आखिरमा जोसँग मन साटिएको थियो उसैसँग भागिन् र फुटुङमा लुकेर बसे ।

अन्तर्जातीय–अन्तर्धार्मिक 

रुपाको घरमा क्रिश्चियन धर्म मान्ने । कृष्णको हिन्दू धर्म । दुवैको जात पनि फरक । जातले त त्यत्ति असर पारेनछ तर रुपाको परिवारले धर्मबारे भने निक्कै कचकच गरेछन् ।
‘मैले त भस्मै गाली खाए नि,  रुपाले भनिन्, ‘अब केटालाई नि क्रिश्चियन बनाउनु पर्छ भनेका थिए ।’ उता कृष्णलाई भने उनका दाइले सहयोग गरेछन् । 
दुवैको हिन्दू संस्कारअनुसार विवाह भएछ ।

हाम्रो कुरा सुनेर बसिरहेकी कृष्णकी हजुरआमा मोती केसीलाई सोधे ‘नातिले रुपासँग विवाह गरेर ल्याउँदा केही भन्नुभएन ?’

उनले मज्जाले हाँस्दै भनिन्, ‘आफूले मन पराएको मान्छेसँग विवाह गर्दा के भन्नु र ? । रुपा मगर भन्ने पनि थाहा थियो र यिनको माया छ भन्ने पनि थाहा थियो । मैले त घर गएर विवाह गराओ भनेर भाडा दिएर पठाएको ।’

चर्किएको त्यो सपना

दुवैले विवाह गरिसकेपछि एउटा सपना बुने । कृष्ण सिभिल इन्जिनियरको काम गर्र्दै रहने । रुपाले नर्सिङ पढ्ने र अस्ट्रेलिया जाने । तर जसै कृष्णको दुर्घटना भयो सपना फेरियो ।

‘उसले छात्रवृत्तिमा नाम पनि निकालेकी थिइन्,’ कृष्णले रुपातिर हेर्दै भने, ‘मैले त पढ्न जाउ मलाई हजुरआमाले हेरिहाल्नुहुन्छ भनेको थिएँ । तिमीलाई छोडेर जान्न भनेर मान्दै मानिनन् ।’ 
कृष्णले बोलिरहँदा चुपचाप सुनिरहेकी रुपाले आफ्नो मौनता तोड्दै भनिन्, ‘कसरी छाडेर जानु । केही बेर काम परेर बैंकमा जाँदा त के गरिरहेको होला भनेर अत्यास लाग्छ ।’ उनका आँखा रसाए । पुलुक्क कृष्णतिर हेरिरहिन् ।

केहीबेरमा चिया आयो । कृष्ण र रुपाले एउटै कपमा चिया लिए । घरि रुपाले पिइन्, घरि कृष्णले । 
वाह ! यो माया

उनीहरुसँग भेट्दा रुपा त्यत्ति कुरा गर्ने मुडमा थिइनन् । भन्दै थिइन्, ‘आज बोल्ने मुडै छैन ।’
टेलिफोनमा कुरा हुँदा राजी नै थिएँ ।
‘किन र ?’

उनले भनिन्, ‘रातभर निद्रै परेन । थाकेको जस्तो भइराखेको छ ।’
कृष्णको हेरविचारमै उनको दिन बित्दो रहेछ । बेलुका पनि केही पो प¥यो कि भन्ने लाग्ने रहेछ । उनी मस्त ननिदाएको धेरै भएछ ।
‘उसको हरेक काम गर्दा आफ्नै काम जस्तो लाग्छ,’ रुपाले भनिन् । 

कृष्णलाई भने कतै मेरो कारण उनको जिन्दगी त बर्बाद भइरहेको छैन भन्ने लाग्दो रहेछ ।
‘मैले गर्दा तिम्रो जीवन बर्बाद भयो भन्ने गर्छु,’ कृष्णले भने, ‘उनी म जे गर्छु तिम्रो साथमा  गर्छु छोडेर जा नभन्नु भन्छिन् ।’

दुर्घटनापछि कृष्णको शारीरिक अवस्था फेरियो । रुपालाई यही बेला मन भड्काउने प्रयास पनि भएछ ‘यसरी त कति समय सँगै बस्न सकिन्छ र’ भन्दै । उमेर भर्खरै । जीवन सुरु नै नहुँदा आएको आपत थेग्न सक्दिन भन्ने पनि रहेछन् ।

‘धेरैले मलाई छाडेर जान्छे होला भनेछन् । कसैले अप्रत्यक्ष रुपमा अर्काे विवाह गर्ने भने, ‘रुपाले भनिन्,‘ छोड्ने त के, एकछिन पनि ऊ बाट टाढा हुनै सक्दिन । उसको हात खुट्टा नभए पनि मलाई माया गर्ने मन त छ । मलाई रुपा भनेर बोलाउने बोली उस्तै छ । मायालु नजरले हेर्ने बानी उस्तै छ ।’

कृष्ण भने विरक्तका देखिए । मन सम्हाल्नु पनि कसरी । सग्लो शरीर त्यस्तो भएपछि । तर सहनुको अर्को विकल्प पनि छैन ।

‘हरेक काम उसैलाई गराउनुपर्दा साह्रै नरमाइलो लाग्छ,’ कृष्णले भने, ‘शरीर चल्न छाडेपछि दिमाग बढी चल्दो रहेछ । रुपा नजिकै भए पनि कहिलेकाहीँ ह्याङ्गरमा भएको ज्याकेट कसरी झिक्ने होला भनेर सोचिरहेको हुन्छु । आफैँ गएर झिक्न कोसिस गर्छु । तर सक्दिन ।’

‘राति ढोका नलाई सुत है भन्छु । दुवै केटाकेटी छन्, ‘कृष्ण बोल्दाबोल्दै उनकी हजुरआमाले भनिन्, ‘रुपा दिनभरि काम गर्दा थाकेकी हुन्छे । राति ओढ्ने फाल्छन् । अनि म गएर ओढाइदिन्छु ।’
‘एकअर्कालाई यति धेरै प्रेम गर्नुहुन्छ ।  तर मन पर्नेे नपर्नेबानी त होला नि ?’

प्रेम दिवसमा दुवैको प्रेमबारे कुराकानी गर्ने उद्देश्य भएकाले गम्भीर माहोल चिर्दै व्यक्तिगत सम्बन्धतिर माहोल फर्काउने प्रयास गरेँ ।

दुवै मज्जाले हाँसे । माहोल रमाइलो भयो । 
रुपाको मन नपर्ने बानी ?
‘अलि छिटो रिसाउँछिन् ।’ 
कृष्णको मन नपर्ने बानी ?
‘के हुनु नि एक नम्बरको घमण्डी भेँडे ।’
दुवै फेरि हाँस्छन् । 
कृष्णलाई रुपाले के गरेको मन पर्छ त ?
‘ऊ साह्रै राम्रो नाच्छे ।’
रुपा हाँसिरहिन् ‘अँ अस्ति तिमीले ननाचेको धेरै भयो नाच त भन्नुभयो अनि मज्जाले नाचेको ।’ 
दुवैको जीवन भर्खरै त सुरु भएको छ । सँगै हिँड्ने यात्रा त निक्कै लामो छ । यात्रासँगै जिम्मेवारी पनि पक्कै थपिनेछ ।

भोलिका विषयमा केही सोचिएको छ ? अलि लामो सास तान्दै रुपाले भनिन्, ‘मैले पछिको कुरा सोचेको छैन । कृत्रिम नै भए पनि पहिले उहाँको हात, खुट्टा राख्नेमै मेरो ध्यान छ ।’

रुपाको कुरा ध्यान दिएर सुनिरहेका कृष्णले भने, ‘म पनि सधैँ त यत्तिकै हुन्न होला । फिजीकल्ली फिट नभए पनि मेरो पढाइ राम्रै छ । दिमागको काम त गर्न सक्छु नि ।’


 

Leave A Comment