आफ्नै अनुहार हेरेर फुरेको गीत

आइतबार, ०५ फागुन २०७५, ०७ : ०२ भोला अधिकारी
आफ्नै अनुहार हेरेर फुरेको गीत

अहिले नेपाली गीतसंगीतको बजारमा सर्वाधिक चर्चामा रहेको प्रेम गीत हो, पिरेम नलाउने । यो युट्यूब च्यानलमा अपलोड गरेको महिना दिनमै २ करोड ७२ लाख हाराहारीमा हेरिसकिएको छ । यस गीतका गीतकार तथा संगीतकार दीपक शर्मासँग भोला अधिकारीले गरेको कुराकानी :

यो गीत म आफैँलाई हेरेर ख्याल ठट्टामै शब्द कोरेको हो । घरमा बसिरहेको थिएँ, यसो ऐना हेर्न मन लाग्यो र रुममा यसो आफ्नो अनुहार हेरेँ ।  आफैँलाई आफ्नो अनुहार मन परेन । मेरो दाह्री पनि चुस्स फुलेको थियो । मैले लगाउने चस्मा पनि पावरवाला छ । म कस्तो बुढो भएँछु । दाह्री फुल्दा र चस्मा लगाउँदा उमेर भन्दा १० वर्ष बुढो अनुभव भयो । अनि शब्द फुर्यो ‘दाह्री फुल्यो बैँसमा, चस्मा लाउँछु पावर’ । एकलाइन शब्द कोरेँ । मिठो लाग्यो पहिलो लाइन । अनि अन्य लाइन फुराउन थालेँ  ‘गाउँमा दुई दिन बस्दैनांै, लागि हाल्छौ लावर’ ।

३,४ वर्ष लाहुर बसेको लाहुरे बल्ल बल्ल एक महिनाको छुट्टीमा गाउँमा आउँछ  । उसले बिदामा आएको एक महिनाभित्रमा आफ्ना आफन्तलाई भेट्दाभेट्दै समय सकिन्छ र लाहुर फर्कने तयारीमा जुट्छ ।
उसले घरमा आफ्नी श्रीमतीलाई त्यति समय दिन पाउँदैन । घरकी पियारीले मेरो इच्छा आकांक्षा पूरा गर्दैनौं भन्ने गुनासोको भाव मनमा आयो । 

अलि अलि शब्द खोज्दै मिलाउन थालेँ । एक सातामा मिलाएर गीत बनाएँ । 
एकजनाले गीत लेख्न र संगीत गर्न लगाउनु भो । उहाँहरुले गीत तयार भो भनेर सोध्नुभयो । यस्तो खालको गीत लेखेँ भनेर त्यही गीत सुनाए । मन पराइदिनुभएन । गीत १ वर्षभन्दा धेरै समयसम्म डायरीमै थन्किएर बस्यो । 

लामै समय थन्किएपछि त्यसै थन्काउनु भएन भनेर रेकर्ड गराउने जमर्को गरे । आषिफ गौतम र मेलिना राई गाउन राजी हुनुभयो । गीत मिठो भयो । अनि म्युजिक भिडियो पनि बनाए । 
एक महिनाअगाडि गीत सार्वजनिक गरेँ । यो गीत चल्ला भन्ने सोचेकै थिइनँ । भ्यालेन्टाइन्स डेका लागि निकालेझैँ भयो । तर त्यस्तो योजना थिएन । 
 

Leave A Comment