श्रीमती फकाउँदा फुरेको गीत

आइतबार, १२ फागुन २०७५, ०२ : ३८ शिशिर वैद्य
श्रीमती फकाउँदा फुरेको गीत

आजभोलि डान्स स्कुलहरुमा एउटा गीत निकै बज्ने गर्छ  ‘दुनियामा सबैभन्दा माया रैछ मीठो..’
भर्खरै बजारमा आएको यो गीतका रचनाकार हुन् डा. राजुबाबु श्रेष्ठ । एक दशक अघि मनोज राजले गाएको ‘चोट खाँदा खाँदै मुटु अचानैसरि भो....’ गीतबाट गीत लेखनमा पाइला सारेका उनको दर्जनौं लोप्रिय गीत छन् अहिले । ‘पानीको फोका जस्तो फुट्यो हाम्रो माया....’ गीतले उनको गीत लेखनको यात्रा फराकिलो बनाएको थियो । 

राजुबाबुका अनुसार गायिका अञ्जु पन्त र मनोज राज बीचको माया फुट्दा पीडाबोध भएर उनले यो गीत रचेका थिए । अहिले यो सबैको गीत बनिसकेको छ ।

उनका शब्दमा अग्रज गायक प्रेमध्वज प्रधान, दिपक खरेल, योगेश वैद्यले आवाज दिएका छन् । राजु सिंह, स्वरूपराज आचार्य, हरि लम्साल, सुनिल मास्के लगायतका चिरपरिचित संगीतकारहरुले संगीत भरेका छन् । निकै गौरवान्वित महसुस गर्छन् राजुबाबु ती क्षणलाई । 

साहित्यमा पहिलो कदम कथा लेखनबाट शुरू गरेका थिए उनले । गृहयुद्धको घाउ, मृत्यु मेला, मारिनोसेलोको जून कथासंग्रह, रमनहरु, देश दुखेको बेला कविता संग्रहलगायत कृतिहरु प्रकाशित छन् उनको । अहिले उनको अन्य परिचयलाई गीतकारको परिचयले ढाकेको छ ।

मुटु चोरी लाने माया ... गीत रचनाका लागि ०७५ सालको विन्ध्यवासिनी म्युजिक अवार्डबाट सम्मानित राजुबाबु हिट्स एफएम म्युजिक अवार्ड २०७५ बाट पनि सम्मानित भएका छन् । वरिष्ठ गायक दीप श्रेष्ठको सुमधुर आवाज रहेको गीत ‘सम्पत्ति दिए सकी है जाला...’ले बेस्ट मेल भोकल र उत्कृष्ट गीत दुवै अवार्ड जितेको थियो । राजु भन्छन्, ‘दीप दाइले गाउने भनेपछि निकै गाह्रो भएको थियो यो गीत लेख्न । लेख्दै फाल्दै झण्डै पाँच महिना लाग्यो ।’ 

विरह र विछोडका धेरै गीत रचना गरेका राजु कहिलेकाहीँ संगीतकारको आग्रहमा गीत तयार पार्छन्, कहिले गायकको आग्रहमा । कहिले बाटोमा हिंड्दाहिंड्दै गीत फुर्छ, कहिले कसैको दुःख देख्दा । बाटोमा हिंड्दा हिंड्दै फुरेका गीतहरु आफ्नै स्वरमा रेकर्ड गर्छन् अनि फुर्सदमा पूरा गर्छन् । घण्टौं दिमाग खियाउँदा पनि कलम नसरेका क्षण पनि छन् उनका ।

श्रीमती फकाउँदा बोलेका मायालु शब्दहरु पनि गीत बनेको छ उनको । तिम्रो मुस्कानभन्दा मीठो अर्को खुशी कहाँ छ र......गीत रचनाको क्षण सम्झँदै राजु भन्छन्, ‘गीतको एक लाइन त उनैले लेखेकी हुन्– मैले सबै नाता बिर्सी आएँ, तिमी पूजा तिमी देउता....। सुरेश अधिकारीको संगीतमा मनिला र उदय सोताङले गाएको गीतले कान्तिपुर एफएमको अवार्ड पनि जितेको थियो ।

पछिल्लो समय गीत रचना प्राविधिक भएकोमा उनको चित्त दुखाइ रहेछ । मनले लेखिएको गीतले मात्र सुन्नेको मन छुन सक्ने बताउँछन् उनी ।

‘गीत मनले लेख्नु पर्छ, अनि मात्र सुन्नेको मन छुन सक्छ,’ उनी भन्छन्, ‘तर हिजोआज मनले भन्दा दिमागले लेखिएको गीतको संख्या बढी छ । अचेल गीत दिमागले लेखिन्छ, आँखाले हेरिन्छ । त्यसैले आजभोलिका गीतले तन नचाउँछ तर मन छुँदैन ।’
 

Leave A Comment