कसरी राख्ने धर्मपुत्र र धर्मपुत्री ?

बिहिबार, १६ फागुन २०७५, ०७ : ५० स्वीकृति बराल
कसरी राख्ने धर्मपुत्र र धर्मपुत्री ?

कसरी राख्ने धर्मपुत्र र धर्मपुत्री ?
प्रश्न : एक सन्तान भएको अवस्थामा धर्मपुत्र या धर्मपुत्री राख्न मिल्छ कि मिल्दैन ? 

उत्तर : कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्नो छोरा वा छोरीको रुपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिन्छ । आफ्नो बच्चा नभएका बुबा आमाको रहर पनि पूरा होस् र बच्चाको भविष्य पनि उज्ज्वल होस् भन्ने सोचले धर्मपुत्र÷धर्मपुत्री राख्न कानुनी मान्यता दिइएको हो । 

धर्मपुत्र वा धर्मपुत्री राख्दा बालबालिकाको हकहितलाई कानुनले बढी महत्व दिने गरेको हुन्छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ मा धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी व्यवस्था छ । ऐनअनुसार धर्मपुत्र वा धर्मपुत्री राख्दा छोरा हुनेले छोरा र छोरी हुनेले छोरीलाई धर्मपुत्र वा धर्मपुत्री राख्न निषेध गरेको छ । तर कानुनीरुपमा भिन्न भइसकेको अवस्थामा छोरा र छोरी सँगै नबसेमा त्यस्ता पुरुष अथवा महिलाले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने छुट कानुनमा छ । 

मुलुकी देवानी (संहिता) ऐन,२०७४ को दफा १७२ ले कुन–कुन अवस्थामा धर्मपुत्र राख्न पाउने भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरेको छ । 

हाम्रो कानुनअनुसार विवाह भएको दस वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती, ४५ वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला वा ४५ वर्ष उमेर पूरा भएको अविवाहित, विधुर, सम्बन्धविच्छेद वा कानुनी रुपमा भिन्नै बसेको छोरा वा छोरी नहुने पुरुषले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने व्यवस्था छ । 

धर्मपुत्र वा धर्मपुत्री राख्दा बच्चा १४ वर्ष उमेर पूरा गरेको हुनु हुँदैन । त्यसैगरी एउटा मात्र छोरा वा छोरीको रुपमा रहेको बच्चालाई पनि धर्मपुत्र वा धर्मपुत्रीको रुपमा लिन दिनु हुँदैन । तर बच्चाको बाबु–आमा नै पत्ता नलागेको वा जीवित नभएको वा बाबु वा आमाले अर्को विवाह गरेको त्यस्तो बालबालिकालाई अन्य कुनै व्यक्ति वा संस्थाले पालनपोषण गरेको छ भने एउटै मात्र सन्तान भए पनि कानुनी प्रक्रिया पुर्याएर धर्मपुत्र वा धर्मपुत्री राख्न मिल्छ । 

कुनै पति÷पत्नीले कानुनी रुपमा भिन्न भएर बस्दा धर्मपुत्र वा धर्मपुत्री राखेमा पछि दुवै पति÷पत्नी मिलेर सँगै बस्न थालेमा भिन्न हुँदा अपनाएको बच्चा दुवै श्रीमान्÷श्रीमतीले राखेको मानिन्छ ।
धर्मपुत्र÷धर्मपुत्री बस्ने र राख्नेको बीचमा कम्तीमा  २५ वर्ष फरक हुन जरुरी हुन्छ तर तीन पुस्ताभित्रको नाताको व्यक्तिलाई धर्मपुत्र÷धमपुत्री राख्दा भने उमेरको बन्देज हुँदैन ।

बालबालिकाले १० वर्ष नाघिसकेको अवस्थामा धर्मपुत्र वा धर्मपुत्री राख्नु परेमा बालबालिकाको पनि लिखित सहमति अनिवार्य रुपमा लिनु पर्छ । धर्मपुत्र वा धर्मपुत्री राखेका बालबालिकाको हक अधिकार राख्नेको सन्तानबराबरको हुन्छ । जे जस्तो अधिकार आफ्नै कोखबाट जन्मिएको बच्चाको हुन्छ त्यस्तै अधिकार धर्मपुत्र÷धर्मपुत्रीको पनि हुन्छ । 

धर्मपुत्र÷धर्मपुत्री राखिएका व्यक्तिले आफूलाई जन्मदिने बुबा–आमाको अंशमा धर्मपुत्र÷धर्मपुत्री बदर नभएसम्म  दाबी गर्न पाउँदैनन् । धर्मपुत्र÷धर्मपुत्री राख्ने र बस्ने दुवैले आ–आफ्नो कर्तव्य पूरा गर्नु पर्छ अन्यथा धर्मपुत्र÷धर्मपुत्री बदर गराउन सक्ने प्रावधान कानुनमा छ । 

धर्मपुत्र÷धर्मपुत्री राखेपछि उनीहरुलाई राख्ने व्यक्तिले आफ्नो जन्म दिने बुबा–आमालाई बेलाबेलामा पत्राचार तथा भेटघाट गर्न दिनुपर्ने प्रावधान मुलुकी देवानी (संहिता) ऐन मा छ ।

अन्तरदेशीय रुपमा धर्मपुत्र वा धर्मपुत्री राख्नका लागि भने विदेशीले नेपाल सरकारको अनुमति लिन आवश्यक हुन्छ । विदेशीले बाबु–आमा दुवैको मृत्यु भएको र कसैको संरक्षणमा नरहेका अनाथ बालबालिका तथा स्वेच्छाले त्यागेका बालबालिका कम्तीमा ६ महिना बालगृहमा बसेको भए मात्र धर्मपुत्र÷धर्मपुत्री राख्न पाउने प्रावधान कानुनमा छ । 
 

कानुन सम्बन्धि कुनै जिज्ञासा भए infoshukrabar@gmail.com मा पठाउन सक्नुहुन्छ

Leave A Comment