अन्योलमा स्ववियु चुनाव,विद्यार्थी संगठनबीच जुहारी

बिहिबार, १६ फागुन २०७५, ०८ : १२ प्रजु पन्त
अन्योलमा स्ववियु चुनाव,विद्यार्थी संगठनबीच जुहारी

तयारी थाल्नुस्, चुनाव हुन्छः उपकुलपति खनियाँ

दुई वर्षको अन्तरालमा गर्नुपर्ने स्वतन्त्र विद्यार्थी युनीयनको चुनाव यो वर्ष पनि अनश्चित बनेको छ । त्रिभुवन विश्वविद्यालयले आफ्ना आङ्गिक क्याम्पस र केही मातहतका क्याम्पसमा चुनाव गर्दै आएको थियो । २०७३ सालमा केही क्याम्पसमा चुनाव गरिए पनि काठमाडौँका शंकरदेव, त्रिचन्द्र, नेपाल कमर्स क्याम्पस, पब्लिक युथ क्याम्पस लगायतमा विवाद चर्किएपछि चुनाव हुन सकेको थिएन । 

त्रिविले चुनाव गर्ने भनेको वर्ष माहोल तातेको जस्तो देखिने तर आन्तरिक झगडामा विद्यार्थी संगठनहरु रुमल्लिएका कारण चुनाव हुन नसकेको केही विद्यार्थी नेताको भनाइ छ । 

‘आफूले हार्ने जस्तो देखिएपछि चुनाव हुन नदिने प्रचलन बढेको छ,’ नेविसंघ शंकरदेवका नेता दोजाङ शेर्पाले शुक्रवारसँग भने, ‘केही नेताको स्वार्थका कारण विद्यार्थी राजनीति ध्वस्त भएको छ ।’ 

नेकपा निकट अखिल क्रान्तिकारी, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र अन्य दलका केही भातृ संगठन विद्यार्थी राजनीतिमा सक्रिय छन् । नेकपा एकीकृत भए पनि विद्यार्थी संगठनहरु अझै एकीकृत हुन सकेका छैन । त्यस्तै नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रीय समितिको म्याद सकिएसँगै तदर्थ समितिसमेत बन्न सकेको छैन । 

यसरी दुवै विद्यार्थी संगठन आन्तरिक किचलोमा छन् । 
यस्तो अवस्थामा भरसक चुनाव टार्ने नियत विद्यार्थी संगठनको देखिन्छ । तर अखिल नेता एवं आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति तपेन्द्रजंग शाही भने नेविसंघको आन्तरिक विवादका कारण चुनाव नभएको दाबी गर्छन् । ‘अखिलमा क्याम्पसअनुसार भागबण्डा गरेर मिलाइहाल्छौँ,’ त्रिवि सिनेट सदस्यसमेत रहेका शाहीले भने, ‘नेविसंघको आन्तरिक किचलोका कारण चुनाव हुन नसकेकोमा दुई मत छैन ।’  

विद्यार्थी संगठनबीच जुहारी 
सबै विद्यार्थी सगंठनका नेताहरु स्ववियु चुनाव हुन नसक्नुमा एकले अर्कालाई दोषारोपण गर्दै उम्कने गरेका छन् । अनेरास्ववियुका केन्द्रीय उपाध्याक्ष महेश बर्ताैलाले त्रिवि पदधिकारीका कारण चुनाव नभएको बताएर उनले औँला त्रिवितिर सोझ्याए । ‘अनेरास्ववियु चुनावको लागि जहिले पनि तयार छ,’ उनले भने, ‘त्रिवि उपकुलपति कांग्रेस निकट भएकाले कांग्रेस भातृ संगठन नेविसंघले चुनाव हार्ने भएको हुँदा र आफ्नो कार्यकालमा नेविसंघले हारेको देख्न नचाहेको कारण चुनाव नभएको हो ।’

दुई संगठन मिलेर एक भएको अनेरास्ववियु आन्तरिक किचलोमा नरहेको बर्ताैलाले प्रस्ट्याए । स्ववियु चुनाव भए संगठन व्यवस्थापन गर्न अझ सहज हुने उनको भनाइ छ । 

यता नेपाल विद्यार्थी संघ आन्तरिक किचलोमा रुमल्लिएको छ । निवार्चित केन्द्रीय समितिले महाधिवेसन गराउन नसकेपछि विघटन भएको छ भने तदर्थ समिति गठन हुन सकेको छैन । यस्तो अवस्थामा संघमाथि आरोप लगाउन सजिलोसमेत भएको छ तर विघटित नेविसंघका केन्द्रीय महामन्त्री कुन्दन काफ्ले भने संघले चुनाव नचाहेकोमा कुनै सत्यता नभएको बताए ।

‘इतिहासदेखि नै नेविसंघ स्ववियु चुनावको पक्षमा हो,’ काफ्लेले भने, ‘नेविसंघमा आन्तरिक किचलो भए पनि स्ववियु चुनाव जान कुनै विवाद छैन तर नेविसंघले जित्ने भएको कारण चुनाव हुन नदिएका हुन् ।’  
दुवै विद्यार्थी संगठनका नेताले स्ववियु चुनाव हुन नदिने तत्व त्रिविमा सक्रिय रहेको बताए । ‘त्रिविमा चुनाव हुन नदिन सक्रिय तŒव छ,’ बर्ताैलाले भने, ‘जो–जो मान्छे त्रिविलाई ध्वस्त बनाउँदै निजी कलेजमा लगानी गरेका छन् तिनै तत्व खेलेका छन् ।’

काफ्ले भने चुनाव हुन सरकारले नै नचाहेको बताउँछन् । स्ववियु चुनाव केही समय सार्न तपाईंहरुकै पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई भेटेर रोक्न भन्नुभएको थियो नि भन्ने प्रश्नमा काफ्लेले सभापतिले धेरै पछि सार्न नभनेको भन्दै पन्छिए ।

स्ववियु निर्वाचन समिति गठन
त्रिविले शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा सात सदस्यीय कमिटी हालै घोषणा गरेको छ । यही कमिटीले चुनाव गराउने गर्छ । तर फागुन १४ गते चुनाव गराउन त्रिविले विभिन्न क्याम्पसहरुलाई पत्र काटे पनि अझै कार्यतालिका प्रकाशन भने गरेको छैन । 

‘चुनाव तयारीका लागि पत्र त आयो तर अझै कार्यतालिका आएको छैन,’ शंकरदेव क्याम्पस प्रमुख कृष्ण आचार्यले भने, ‘चुनाव हुनु एक महिनाअघि आउनुपर्ने तालिका अहिलेसम्म नआएपछि चुनाव हुनेबारे अन्योल सिर्जना भएको छ ।’ 

यता त्रिवि उपकुपति तीर्थ खनियाँ भने निर्वाचन समितिले त्रिविको क्यालेन्डरमा असर नपर्ने गरी चुनाव गराउन कटिबद्ध रहेको बताए ।

एकातिर दुवै प्रमुख विद्यार्थी संगठन चुनाव केन्द्रित हुन नसक्नु, समय घर्किसक्दा पनि कार्यतालिका बनाउन त्रिवि असक्षम हुनु, क्याम्पस स्वयं चुनाव हुने÷नहुनेबारे अन्योलमा रहनुले स्ववियु चुनाव फागुन १४ भित्र हुन असम्भव रहेको विज्ञहरु बताउँँछन् । 

ढुक्क हुनुस् चुनाव हुन्छ 
तीर्थ खनियाँ ,त्रिवि उपकुलपति 

स्ववियु चुनाव किन हुन नसकेको ?
फागुन १४ हाम्रो तयारी थियो । परिस्थिति अलि सहज भएन । केही दिन ढिला होला तर चुनाव हुन्छ । त्रिविले व्याापक तयारी गरेको छ ।

चुनाव नहुनुको प्रमुख कारण के हो ?
हामीले तयारी नगरेका हैनौँ । हामीले २०७३ मा ८ वर्षदेखि हुन नसकेको चुनाव गरायौँ । हामीले चुनाव रोकेका हैनौँ । किन हुन नसकेको हो, त्यो तपाईंहरु आफैँ खोज्नुस् । 

विद्यार्थी संगठनका कारण चुनाव नभएको हो त ?
विद्यार्थी संगठन भन्दा पनि वर्षाैंदेखि केही विद्यार्थी स्ववियु सभापति हुन कुरेर बसेका थिए । हामीले २८ वर्षे उमेर हदबन्दी गर्यौँ । उनीहरु आफू हुन पाएनन् अनि अरुलाई हुन पनि नदिने पक्षमा छन् । 
जाबो केही सीमित विद्यार्थी नेताका कारण चुनाव रोकिएको हो त ?
मभन्दा अघिकाले चुनाव गराउन सकेका थिएनन् । मैले गराएँ । अब अर्काे चुनाव जसरी पनि हुन्छ । 

स्ववियुको अब काम छैन भनेर विकल्प खोज्न लाग्नु भएको हो ?
हैन । विकल्प खोज्ने काम हाम्रो हैन । स्ववियुको विकल्प खोज्ने स्ववियुको नै काम हो । उनीहरुले यो भन्दा राम्रो प्रस्ताव ल्याए भने परिवर्तन होला तर अहिले त्यो कारणले चुनाव नभएको होइन । स्ववियुको चुनावको हामी जहिल्यै पक्षधर छौँ । सिनेट खाली नहोस् भन्ने हो ।

तपाईं कांग्रेस निकट भएको कारण नेविसंघले चुनाव हार्ने भएपछि चुनाव केहीले तपाईंले नै चुनाव गराउन नचाहनुभएको भन्ने आरोप लगाएका छन् नि ?
यो निराधार आरोप कसले लगाउँछ मलाई थाहा छैन । मलाई जुन सुकै विद्यार्थी संगठनले जिते पनि केही असर पर्दैन । सिनेटमा विद्यार्थी प्रतिनिधित्व आउनुहुन्छ काम गर्न सहज हुन्छ । हामी जुनसुकै कोटाबाट आएको भए पनि विश्वविद्यालयको हित विपरीत केही गरेका छैनौँ । 

भनेपछि चुनाव कहिले हुन्छ त ?
तोकिए भन्दा एक दुई दिन पर होला तर चुनाव हुन्छ । विद्यार्थीले तयारी गर्दा हुन्छ । 
स्नातकोत्तर तह सेकेन्ड सेमेस्टरको फागुन अन्तिममा परीक्षा तालिका किन निकाल्नुभएको त ? यो त

चुनाव नगराउने खेल भन्छन् नि ?
हामीले समिति बनाएका छौँ । त्यो समितिले चुनाव गराउनेबारे काम गर्छ । ढुक्क हुनुस्, चुनाव हुन्छ । 
 

Leave A Comment