‘म डरपोक हैन’

बिहिबार, १६ फागुन २०७५, ०८ : ४१ प्रजु पन्त
‘म डरपोक हैन’

सरोजराज अधिकारी आख्यान र गैर आख्यान दुवैमा कलम चलाउँछन् । गैरआख्यानमा जासुसीको जालो र चक्रव्युहमा चन्द्र सूर्य तथा आख्यानमा रुपबजारकी नोरा कथासङ्ग्रह प्रकाशित गरेका उनले हालसालै आख्यानात्मक कृति ‘धम्बोझी’ बजारमा ल्याएका छन् । मधेस आन्दोलनको सेरोफेरोलाई बुनेर प्रकाशित ‘धम्बोझी’ केन्द्रित भएर उनीसँग शुक्रवारकर्मी प्रजु पन्तले गरेको संवाद :

मधेसको नागरिकता विवाद, माओवादी द्वन्द्वमा सर्वसाधारणले पाएको सास्ती, थारू समुदायको कमैया प्रथा, जातीय तथा धार्मिक विभेद । एउटै पुस्तकमा यति धेरै मुद्दा किन समेटेको ?
यो पुस्तक बुझ्न नेपालगञ्जको परिवेश बुझ्न जरुरी छ । नेपालगञ्ज जातीय विविधता, धार्मिक विविधता सांस्कृतिक विविधता भएको ठाउँ हो । चितवनलाई  पहिले ७६ औँ जिल्ला भने जस्तै नेपालगञ्जलाई दोस्रो नम्बरमा राखे हुन्छ । नेपालगञ्ज केन्द्रबिन्दु बनाएर लेखिसकेपछि जातको, वर्णको, धर्मको, वर्गकोे कुरा लेखिएन भने त्यो पूरा हुन्न । पुस्तकको मुख्य विषय नेपालगञ्ज हो । तसर्थ एकै पुस्तकमा यी सबै गम्भीर मुद्दा समेटिएको हो । तपाइ नेपालगञ्ज जानुभयो र त्यहाँको परिवेश बुझ्नुभयो भने किन सबै विषय एउटै पुस्तकमा आयो भन्ने थप बुझ्नुहुन्छ । 


‘धम्बोझी’पढ्दा आख्यानभन्दा पनि गैरआख्यानको झल्को आउँछ । विषय गैरआख्यान नै हुन् । तर पुस्तक चै किन आख्यान ?
मैले आफैँले दाबी गर्नु कत्तिको ठिक हुन्छ था’छैन तर म यो पुस्तकलाई आख्यानात्मक शैलीमा लेखिएको गैरआख्यान नै भन्छु । पुस्तकमा उल्लेखित जति पनि घटना छन्, ती सबै सत्यकै वरिपरि छन् । अधिकांश पात्र मसँगै हुर्केका खेलेका पात्रहरु हुन् । ७०÷८० प्रतिशत घटना सत्य छन् । ती कुराहरुलाई आख्यानीकरण गर्नुपर्ने जरुरी थियो । 

एकजना समालोचकले गैरआख्यानमा भन्न नसकिएका कतिपय सत्य कुराहरु आख्यानमार्फत भन्न सकिन्छ भन्नुभएको थियो, तपार्इंले पनि त्यसै गर्नुभएको हो ?
त्यस्तो अप्ठ्यारो परेको होइन । मधेसको बारे गैरआख्यान लेख्नका लागि मेरो अझै अध्ययन पुगेको छैन, त्यसकारण गैरआख्यान नलेखेको हो । सत्य कुरा भन्न आख्यानको सहायता लिएको पनि हैन । सत्य कुरा लेख्दा कोही रिसाउला, मलाई हानि गर्ला भनेर आख्यान लेखेको हैन । म डरपोक हैन । 

त्यसो हो भने, पुस्तकभित्र कतिपय यस्ता कुरा उल्लेख गर्नुभएको छ कि जुन कुरा गैरआख्यानमा उल्लेख गर्दा लेखक धेरै जवाफदेही हुनुपर्छ । जवाफदेहिताबाट उम्कन आख्यान लेखिएको हो कि भन्ने देखिन्छ ।  जस्तै,   उपन्यासको एक पात्र विक्रमले रत्नेशलाई प्रहरी इन्काउण्टरमा मारिएको भनेपछि ‘...प्रहरी इन्काउण्टर कस्तो हुन्छ हामीलाई थाहा छैन’ भनेको छ । प्रहरी इन्काउण्टरप्रतिको असन्तुष्टी उपन्यासमार्पmत व्यक्त गर्नुभएको हो त ?
होइन । म यो कुरालाई तथ्यमा पुष्टी गर्न सक्थेँ  नेपालगञ्जमा एकजना मुस्लिम चुनावताका मारिएका थिए मजिद मनियाँ चुनावभन्दा अगाडि मारिएका थिए । उपन्यासमा जसरी रत्नेश मारियो मनियाँको हत्या त्यही तरिकाबाट भएको थियो । जति पनि प्रहरी इन्काउण्टर भएका छन् केही इन्काउण्टर आख्यानमा भनिएजस्तै छन् । त्यसको तथ्य म प्रस्तुत गर्न सक्छु । अर्काे कुरा मैले सेल्फ रियलाइजेसनका लागि पनि आख्यान लेखेको हो । म नेपालगञ्जमा हुर्केको मान्छे । मेरो नश्ल पहाडीया तर हाम्रो चेतनाको विकास नभएको कारण मधेसीलाई ‘धोती’ भनेर सहजै भनिन्थ्यो । जसै मलाई त्यो शब्द भन्दा उनीहरुले हेपिएको महसुस गर्छन् भन्ने मेरो मस्तिष्कमा चेतना भयो मैले आख्यानमार्फत रियलाइजेसनको बाटो रोजेको हुँ  । 
त्यति मात्र हैन । विभेदको इतिहास केलाएँ । धम्बोझी भन्ने पुस्तक कुनै यादव झाले लेखेको भए आफ्नो समुदायमा बढी वफादार भयो भन्ने हुन्थ्यो होला  अर्काे समुदायलाई अलि होच्चायो भन्ने हुन्थ्यो । त्यसमा पनि म नेपालगञ्जमा हुर्किएँ  मेरो नश्ल त पहाडे थियो  तर म उनीहरुको संगतमा हुर्किएको थिएँ । मैले लेखेँ भने पक्षपातपूर्ण दृष्टिकोणले लेखिँदैन कि भनेर पनि यो पुस्तक लेखेको हो । 

नश्ल फरक भएर पनि भन्ने कुरा आयो फरक नश्लले लेख्ने कुराको बारे पछिको प्रश्न राख्छु । अहिले चैँँ पुस्तककै कुरा जुन तपाइले ननफिक्सनमा लेख्नुभएको भए अलि धेरै जवाफदेही हुनुपथ्र्याे भन्नेतर्फ नै जाउँ । ‘मधेस आन्दोलन सुरुमै विस्फोट भयो जमिनमुनि ज्वालामुखी छ भने विस्फोट हुनु नै थियो ।’ भनेर लेख्नुभएको छ यसको अर्थ जति पनि मधेस आन्दोलन भए यसको पैरवी गर्न खोज्नुभएको हो ?
अब यो कत्तिको अतिरञ्जना हुन्छ, कति साथीहरुलाई चित्त बुझ्छ बुझ्दैन था’छैन । राज्यसत्तामा उनीहरुको केही प्रतिनिधित्व होला । राज्यलाई दिएका छाैँ भन्ने लागेको होला । तर यो गलत हो । मधेसी जनता साच्चीकै पीडित छन् । म निरन्तर मधेसको रिपोर्टिङमा छु । मैले त्यहाँको जनताको समस्या प्रत्यक्ष छाम्ने मौका पाएको छु । त्यहाँ ज्वालामुखी भएकै  हो । जो जनता सीमाको सुरक्षा गरेर बसिरहेको छ त्यसैलाई शंकाको घेरामा राख्ने ? त्यहाँको समस्या नागरिकताको मात्रै हैन, समावेशी प्रतिनिधित्वको पनि हो । यदि राज्यसत्ताले त्यो सम्बोधन नगर्ने हो भने फेरि पनि ज्वालामुखी विस्फोट हुन्छ । तर यति मात्र भन्न आख्यानको सहायता लिएको हैन । यो वास्तविकता हो ।

भनेपछि जति पनि मधेस आन्दोलन भएका छन् ती जायज छन् भन्ने निष्कर्ष हो ?
हो, मलाई यसमा कुनै द्विविधा छैन । जसले सिमानामा बसेर सीमा सुरक्षा गरेको छ, उसले पहिचानका लागि याचना गर्दा उसैलाई भारतीय देख्ने ? जसले भारतीय सीमा सुरक्षाबलको गोली थापेर बसेको छ, सहादत प्राप्त गरेको छ उसैलाई भारतीय भनेर आरोप लगाउने ? केन्द्रीय सत्ताले उपेक्षित गरेकै हो । 

उपन्यासको पात्र सन्तमानले भनेको छ ‘बलात्कारीहरु सरकारी बर्दी लाएर अहिले पनि हिँडिरहेका छन्’ यो गम्भीर आरोप हो । गैरआख्यान भएको भए पुष्टी हुन सक्थ्यो ?
त्यसो हैन म कुनै बेला नेपाल टेलिभिजनमा साहित्य कुञ्ज कार्यक्रम चलाउँथेँ । मेरोे जिम्मेवारी समाचार  संकलन थिएन । माओवादीको युद्धताका कोहलरपुरनजिकैको ब्यारेकमा सेनाले एक महिलालाई बलात्कार गर्यो । त्यसबारे मैले समाचार बनाएँ । प्रसारण पनि भयो । त्यसपछि मलाई स्पष्टीकरण मागियो । मैले स्पष्टीकरण दिइनँ राजीनामा दिन्छु भनेँ । वास्तवमा हाम्रो सुरक्षा निकायको यो चरित्र उठाउन मलाई केही गाह्रो छैन । 

त्यतिबेला द्वन्द्व थियो । सेना प्रहरीबाट त्यस्तो काम भए । अब अहिलेको परिस्थितिमा पनि त्यसरी नै बुझ्नु गलत हैन ?
केही त राम्रै पनि भएको छ । तर पूरै सुध्रिएको छैन । लोकतन्त्र आएपछि नै बर्दियामा बालबालिका तथा वृद्धवृद्धा सामूहिक रुपमा मारिए । केही महिलालाई वन्यजन्तु तस्कर गरेको आरोप लगाइयो । त्यो घटनाको निष्पक्ष छानबिन हुन पाएन । महिलाहरु माथि बलात्कार गरियो भन्ने बाहिर आएको थियो । यो आरोपलाई सेनाले पनि प्रतिवाद गर्न सकेको थिएन । तर तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले एक स्टेप अगाडि आएर ‘मारिने जति सबै तस्कर नै थिए’ भनेर विज्ञप्ति निकाल्नुभयो । सेनाको बचाउ गर्नुभयो । मौका पर्दा अहिले नि त्यस्तै छ  । राज्यसत्ता भुईंमान्छे निमुखाको पक्षमा छैन ।

‘अवस्था फेरियो संरचना र मानसिकता फेरिएन अनि नीति बदलिए तर नियती बदिलिएन’ भनेर लेख्नुभएको छ । केही नै बदलिएन र ?
नबदलिएको हो । मानसिकता नै फेरिएको छैन । कर्मचारीतन्त्र, सेनाको मानसिकता बदलिएको छैन । गरिब र धनीबीचको अन्तर उस्तै छ । सिंहदरबार जाँदा हिँडेर जाने, बाइकमा र गाडीमा जाँदा फरक व्यवहार उहिले पनि थियो, अहिले पनि छ । अनि कसरी बदलियो भन्नु ? नीति त बदलिएका छन् तर नियती त उस्तै छ । 

‘एकजना शासक रहने कुराले त्यत्रो ठूलो आपत्ति गर्दैन तर सामन्तवाद, दलाल नोकरशाह, पुँजीवाद र साम्राज्यवाद शोषण रह्यो भने वास्तवमा राजा नरहे पनि हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन’ मदन भण्डारीको यो भनाइ पुस्तकको पात्र विक्रममार्फत उल्लेख गर्नुभएको छ । विक्रमको चरित्र यस्तो राजनीतिक कुरा गर्ने खालको छैन । उपन्यासको पात्रमार्फत मदन भण्डारीका भनाइ भन्न लगाउनु भण्डारीप्रतिको आशक्ति वा कथाको माग ?
त्यो त आख्यानको पात्र विक्रमको भनाइ हो ।  त्यो भनाइसँग असहमति राख्नुपर्ने कारण नै के छ र ?

असहमति राखेको होइन, तर विनासन्दर्भ विक्रमले मदन भण्डारी कसरी सम्झियो भन्ने जिज्ञासा हो । पात्र त तपाइले उभ्याउनु भएको हो नि त, हैन ?
उसले पहिलेको भाषण सम्झेको भन्ने छ ।  हिजो विगतमा मनमोहन, गणेशमान, बीपी कोइराला मदन भण्डारीबाट पनि प्रवाहित हो म । जहाँसम्म तपार्इंले मेरो राजनीतिक विचारधारा सोध्नुभएको हो भने म प्रगतशील हो, तर कम्युनिस्ट है’न । 

कतै समालोचक महेश पौड्यालले धुरीमा बसेर भुईंमान्छेको कथा लेख्न सकिँदैन भन्नुभएको थियो । तपाईंले यो पुस्तकमा त्यस्तै समुदायको मान्छेको कथा लेख्नुभएको छ जो राज्य सत्ताबाट टाढा छन् । त्यो समुदायलाई पुस्तकमार्फत कत्तिको न्याय गर्न सकेँ भन्ने लाग्छ ?
विषयवस्तुमा न्याय गरेको छु भन्ने लाग्छ । म रिपोर्टिङ क्रममा मधेसको धेरै ठाउँमा गएको छु । जहाँसम्म धुरीमा बसेर भुईंमान्छेको कुरा लेखिन्न भन्ने छ, म नेपालगञ्जमा हुर्केको हो । मैले जुन समुदायको कुरा लेखेको छु त्यो समुदायमा म परिनँ होला, मेरो नश्ल त्यो हैन होला, तर म त्यही हुर्र्किएपछि कसरी धुरीमा बसेको भयो ? म काठमाडौँ आएपछि केही समय नेपालगञ्ज नबसेको भए पनि त्यही ठाउँमा जान त गइरहेको छु नि ।

भनेपछि नेपालगञ्ज नै केन्द्रबिन्दु बनाउनुको कारण पनि त्यही हो ? 
मधेस आन्दोलनको सुरुवात मधेसी भूमिमा पहिलोपटक नेपालगञ्जबाट भएको हो । ०६४ सालमा  माइतीघरमा संविधान जलाएपछि नेपालगञ्जमा आन्दोलन भएको भएर मधेसबारे लेख्दा नेपालगञ्ज केन्द्रबिन्दु हुनुपर्छ भनेर लेखेको हो । 

भारतीय मूलकी अमेरिकी प्राध्यापक गायत्री चक्रवर्ती स्पीभाकले भारतको दलित समुदायबारे १७ वर्ष लेखिन् । जब उनी त्यो समुदायको अवस्था बुझ्न गइन्, लक्षित समुदायले उनको नामसम्म सुनेका रहेनछन् । तपाइले जुन समुदायका लागि लेख्नुभएको छ उनीहरुलाई यो बारे थाहा होला त ?
लक्षित समुदायले यो पुस्तक पढ्नैपर्छ भन्ने मेरो मान्यता हो । यसका लागि मूल्य घटाउने कि, के गर्ने भनेर छलफलमा छु । सगैँ अरु पाठक जो लक्षित समुदाय हैनन् तिनीहरुले पढे भने पनि ‘ए विभेद त भएकै हो है’ भन्नेसम्म चस्स लाग्छ कि भन्ने लाग्छ । त्यही समुदायको केही शिक्षित युवाले यही पुस्तकबारे केही समय अघि नेपालगञ्जमा राम्रो फिडब्याक दिनुभएको थियो । 

पुस्तकमा प्रयोग गरिएको भाषा अधिकांश लक्षित समुदायले नबुझ्ने छ । ती समुदायले तपाइले लेख्नुभएको कुरा कसरी बुझ्लान् ?
केही गाह्रो भाषा आएको होला । तर मैले २० प्रतिशत जति अवधि भाषा प्रयोग गरेको छु । त्यहीको समुदायलाई सहज होस् भनेर यस्तो गरेको हो । मेरो पुस्तक अहिले लक्षित समुदायले नबुझे पनि पछि खोजेर पढ्नेवाला छन् । बुझ्नेवाला छन् । 

अब अर्को कस्तो पुस्तक आउँदै छ त ?
पालोको हिसाबले गैरआख्यान हो । मलाई भने यसैको सिक्वेल निकाल्न मन छ । 


अधिकांश पुस्तकको सिक्वेल त फ्ल्प भएका छन् नि ?
मेरोमा हुन्न ।
 

Leave A Comment