साइड हिरोको गफ

शुक्रबार, १७ फागुन २०७५, ०७ : २७ शुक्रवार
साइड हिरोको गफ

सलोन बस्नेतले दर्जनौँ फिल्ममा अभिनय गरिसकेका छन् । उनले जति फिल्ममा अभिनय गरेका छन्, प्रायः ती सबैमा साइड हिरोकै रोलमा छन् । उनी सिंगल हिरो भएको एउटै फिल्म थियो, ‘बाबुकान्छा’ । साइडहिरो भएर खेलेका फिल्म हिट भइरहेको अवस्थामा उनका बुबा शोभित बस्नेतले छोराको क्रेज क्यास गर्न ‘बाबुकान्छा’ बनाएका थिए तर फिल्मले पानी पनि माग्न सकेन, बक्सअफिसमा । 

यसपछि सलोनले भन्न थाले– मलाई सिंगल हिरो सुहाउँदैन, त्यसैले साइड हिरो भएको फिल्म नै हिट हुन्छ । नभन्दै उनी साइड हिरो भएर खेलेका केही फिल्म चले पनि ।

यतिबेला सलोनको पछिल्लो फिल्म ‘बद्रीबहादुर’ सुटिङ पूरा भएको छ । चोकबजारमा साथीभाइ भेट भएका बेला उनी यो फिल्म सुपरहिट हुने हल्ला पिटिरहेका हुन्छन् । साथीभाइले कारण सोध्यो भने उनी आफू यस फिल्ममा साइड हिरो भएको र फिल्मलाई आफू फाप्ने बताउने गरेका छन् ।

यस्तो गफ सुन्नेहरुले चाहिँ कहिलेकाहीँ भारतीय अभिनेता दीपक तिजोरीको कथा सुनाउने गर्छन् । उनले पनि आमिर खान अभिनित पहिलो फिल्म ‘कयामत से कयामत तक’ हिट हुनुमा आफ्नै कारण हो भन्दै खोक्तै हिँड्थे रे !

अहिले सलोनको हालत त्यस्तै अवस्थामा पुगेको छ । उनलाई कसले बताइदियोस्, फिल्म चल्ने उनको साइड हिरो वा हिरोका कारणले होइन, फिल्मको कन्टेन्टले हो । उनका काका जयकिशनले बनाएको ‘बद्रीबहादुर’ पनि चल्ने भनेको यसको मेकिङ र कन्टेन्टले हो ।

उनका बुबा शोभितले ‘बाबुकान्छा’ बनाउँदा यही कुरा ख्याल गर्न नसक्दा फिल्म डुबेको बिर्सिएर काका जयकिशनलाई आफू साइड हिरो भएकै कारणले फिल्म चल्ने ढाढस दिनु त एउटा कुरा हो । उनले भतिजको त्यो कुरा पत्याइदेलान् पनि तर दर्शकले नपत्याइदिन सक्छन् ।
त्यसैले सलोनले साइडहिरोमा भन्दा पनि कन्टेन्टलाई विश्वास गर्ने कि !

Leave A Comment