अभिनयमा दम छ तर फिल्मको अफर कम छ

शुक्रबार, १७ फागुन २०७५, ०७ : ३६ पुष्पा थपलिया
अभिनयमा दम छ तर फिल्मको अफर कम छ

एउटा समय थियो जतिबेला अभिनेता कामेश्वर चौरसिया फिल्म खेल्न पाउने आशामा निर्माताको ढोका ढक्ढकाउँथे । संघर्ष गर्दागर्दै उनीकहाँ आइपुग्यो एउटा फिल्मको अफर – ‘रेशम फिलिली’ । रियल लाइफमा जसरी उनले कलाकार बन्ने संघर्ष गरिरहेका थिए, रिल लाइफ अर्थात् फिल्ममा पनि उनले त्यस्तै रोल पाए ‘हरिया’को । 

फिल्मका प्रमुख अभिनेता थिए, विनय श्रेष्ठ तर त्योभन्दा बढी चिनिए ‘कामेश्वर’ । कारण एउटै थियो– उनको जर्बजस्त अभिनय । त्यसपछि त उनलाई फिल्मको अफरैअफर । चल्तीका कलाकारहरु रेखा थापा, अनमोल केसी, सौगात मल्लदेखि दयाहाङ राईसम्म सबैसँग भटाभट स्क्रिन सेयर गर्ने मौका पाए । अवस्था यतिसम्म कि उनको अभिनय रहेको फिल्महरु लगातार हलमा प्रदर्शन भए । 

तर, विडम्बना यसरी प्रतिभाशाली अभिनेताको ‘ट्याग’ पाएका कामेश्वर अहिले ‘कामविहीन’ भएका छन् । १० महिना बढी भइसक्यो उनले कुनै पनि फिल्मबाट अफर पाएका छैनन् । किताब पढेर, फेसबुक चलाएर दिन कटाइरहेका छन् । भन्छन्, ‘अब त यसले पनि वाक्क बनाइसक्यो ।’ सुटिङ सेट खुब मिस गरिरहेका छन् उनी । आक्कलझुक्कल अफर आउँछ रे, त्यो पनि एक–दुई सिनका लागि । 

फिल्ममा अफर नआएपछि उनी गुजारा चलाउनका लागि अरु कामको खोजीमा पनि लागे तर चिनेजानेका साथीहरु काम दिनै मान्दैनन् । सिधै भन्छन्, ‘तैँले पनि काम गर्ने हो र ? तँ त कलाकार होस् । यस्तो काम गरेर हुँदैन ।’ 

काम नपाएर विरक्तिएका कामेश्वर के कारण काम पाइरहेका छैनन्, त्यो विषयमा बेखबर छन् । बस्, अनुमान लगाउँछन्, ‘मलाई घमन्डी छु भन्छन् । त्यही भएर हो कि !’ फेरि आफैँ स्पष्टीकरण दिन्छन्, ‘तर म त्यस्तो छैन, मनको सफा छु । मैले फिल्म क्षेत्रलाई बुझ्न नसकेको कि, मलाई फिल्म क्षेत्रले । म कन्फ्युज छु ।’ 
०००

कामेश्वर मात्र होइन, फिल्म क्षेत्रमा अभिनयको तारिफ बटुल्ने यस्ता धेरै कलाकारसँग अहिले फिल्मको खडेरी छ । प्रस्ट भन्दा, उनीहरुको अभिनयमा दम छ तर फिल्मको अफर भने कम छ । 


अभिनेता कर्म शाक्य अर्का उदाहरण हुन् । जस्तोसुकै पात्रलाई पनि न्याय दिनसक्ने कलाकारका रुपमा उनको परिचय छ । ‘सानो संसार’ फिल्मबाट अभिनयमा प्रवेश गरेका उनी डेब्यु फिल्मबाटै फिल्मकर्मी र दर्शकको दुवैको नजरमा परेका थिए ।  त्यसपछि ‘फस्ट लभ’ गरे ।  त्यसमा पनि उनको अभिनयले वाहवाही नै बटुल्यो । 

तर वाहवाही पाएर के भयो ! आखिर उनी पनि अहिले फिल्मको अफर कहिले आउला र फिल्म खेलुँला भनेर कुरिबसेका छन् । उनको अभिनय यात्राले दशक पार गरिसकेको छ । उनीसँगै अभिनय गरेका कलाकार मालामाल भएर पनि अस्ताइसकेका छन् तर उनी भने अझै संघर्षकै चरणमा छन् । 

उदाहरणका लागि, ‘लूट’ फिल्ममा उनीसँगै अभिनय गरेका अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल सोही फिल्मका कारण चम्किएर बजारमा आफ्नो माग ह्वात्तै बढाए । बढेर पनि अहिले त सेलाइसक्यो तर कर्म भने जहीँको तहीँ छन् । अहिले उनका फिल्म ‘कठपुतला’ र ‘द म्यान फ्रम काठमाडौं’ प्रदर्शनको तयारीमा छन् तर नयाँ फिल्मका लागि अफर भने आएको छैन ।

फरक–फरक चरित्रमा पनि अब्बल देखिने अभिनेत्रीको सूचीमा अभिनेत्री ऋचा शर्माको नाम अग्रपंक्तिमा आउँछ तर के गर्नु ? अफर नआएर फिल्म खेल्न नपाएकी अभिनेत्रीमा पनि सायद उनको नाम अग्रपंक्तिमै आउँछ । दर्शकले उनलाई फिल्ममा देख्न नपाएको धेरै भइसक्यो । आफूले निर्माण गरेको फिल्म ‘सुनकेशरी’ पूर्ण रुपमा फ्लप भएपछि उनी अहिले फिल्मबाट टाढा देखिन्छिन् । गत साताको सोमबार शुक्रवारकर्मीले फोन गर्दा उनी म्युजिक भिडियोको सुटिङमा व्यस्त रहेको बताइरहेकी थिइन् ।

‘फस्ट लभ’, ‘टलकजंग भर्सेस टुल्के’, ‘लूट’जस्ता फिल्ममार्फत् अभिनय क्षमता सावित गरिसकेकी यी अभिनेत्री अहिले फिल्मको अफर आउन छाडेपछि म्युजिक भिडियोतिर व्यस्त भएकी हुन् । 

‘कथा काठमाडौं’पछि अभिनेता प्रमोद अग्रहरिको हातमा पनि फिल्म छैन । कसैको अफर आइरहेको छैन । र, यसले उनलाई पुरै चकित बनाएको छ । साथीसर्कलमा खुलेरै गुनासो गरिरहेका छन्, आफ्नो समस्या सुनाइरहेका छन् । यद्यपि अभिनयका हिसाबले भने फिल्म क्षेत्रमा उनको दमदार छवि छ तैपनि उनी अहिले खाली छन् । ‘जायरा’ फिल्मको सुटिङ सकेर बसेका उनले फागुन दोस्रो सातासम्म नयाँ फिल्म साइन गरेका छैनन् । काम आएन कि नगरेको भन्ने प्रश्नमा हाँस्दै उनले भने, ‘दुई तीन फिल्मको स्क्रिप्ट त हात लागेको त छ तर साइन भइसकेको छैन । अहिलेलाई यति नै बुझौं न ।’

राम्रो अभिनय क्षमता भएका कलाकारले पनि किन काम पाइरहेका छैनन् त ? यस विषयमा फिल्म समीक्षक अनुप सुवेदीसँग जिज्ञासा राख्दा उनी उल्टै प्रश्न गर्छन्, ‘हाम्रो देशमा गुणस्तरीय र राम्रा फिल्म बनेकै छैनन् त कसरी राम्रा कलाकारले काम पाउँछन् ?’ 

‘चाकडी र चाप्लुसी नपुगेर हो कि !’
अनुप सुवेदी, फिल्म समीक्षक

अहिले बढीजसो बजारमा चल्ने खालका र हल्काफुल्का विषयका फिल्म मात्रै बनिरहेका छन्, जसका कारण फिल्ममा पनि स्टारडम भएका कलाकारहरु नै नजरमा परिरहेका छन् । जो जीवन्त अभिनय गर्छन्, उनीहरुलाई मिल्ने फिल्म नै बन्दैन ।
अर्को कुरा, कलाकारिता भनेकै कुरेर बस्ने र आक्कलझुक्कल काम गर्ने पेसा हो । यति मात्रै होइन, फिल्मको अफर आउनु÷नआउनुमा कलाकारले देखाउने एटिच्युड र निर्माताले चाहने चाकडीले भूमिका खेल्छ । 

त्यस्तै हामीकहाँ एक दुई फिल्म चल्ने बित्तिकै कलाकारको डिमान्ड ह्वात्तै बढ्छ, उनीहरु सुरुवाती जिन्दगी बिर्सन्छन् र आफूलाई सर्वेसर्वा ठान्न थाल्छन् र यही कारण उनीहरुलाई निर्माता÷निर्देशक फिल्ममा लिन चाहँदैनन् ।  
निर्माताहरुको दिमागमा पनि पैसा सबैथोक हो र कलाकारलाई मैले किनेको हो भन्ने सोचाइ हावी छ । उनीहरु कलाकारले चाप्लुसी गरिदिए हुन्थ्यो, चाकडी गरिदिएहुन्थ्यो भन्ने सोचाइ राख्छन् । जसले निर्माताले चाहेअनुसार गरिदिन्छ, ऊ बेरोजगार हुनुपर्दैन, जसले गर्दैन, ऊ बेरोजगार हुनुपर्छ ।  
 

Leave A Comment