पर्दाभित्र फिल्मका मूल पात्रहरुको सम्बन्ध टुटिरहेको हुन्छ तर बाहिर ती दृश्यले दर्शकको दिल रत्तिभर दुखाएको हुँदैन । बरु पात्रहरुको विछोडले नदुखाउने दिल समग्र फिल्मको नतिजाले दुखाइदिन्छ । अनि त भन्न करै लाग्छ, आखिर जसरी होस्, फिल्मले दिल त दुखाएरै छाड्यो !
एउटा लभस्टोरी फिल्म जहाँ पात्रहरुबीच प्रेम छ, द्वन्द्व छ, विछोड छ तापनि दर्शकको मन हुँडल्ने शक्ति छैन भन्ने मान्नुस्/नमान्नुस्, त्यो प्रभावहीन फिल्म हो । हेमराज बिसी निर्देशित ‘ब्रेकअप’ यही दर्जाको फिल्म हो किनकि अधिकांश नेपाली फिल्ममा देखिने त्यो समस्याबाट यो फिल्म पनि मुक्त छैन ।
फिल्ममार्फत् हेमराजले आधुनिक जमानामा आधुनिक पुस्ताको आधुनिक प्रेम भन्ने जमर्को गरेका छन् तर विडम्बना उनको फिल्मको प्रमुख मेरुदण्ड अर्थात् पटकथा नै कमजोर देखिन्छ । दर्शकको मन कटक्क पार्ने दृश्यहरु पनि उनले फिल्ममा सिर्जन सकेका छैनन् । फलस्वरुप, आफ्नै कथा/पटकथामा तयार भएको उनको ‘ब्रेकअप’सँग दर्शकको मन गाँसिन सक्दैन ।
फिल्मभित्र केही नयाँ अनुहार त छन् तर उनीहरुले बाँचेको जीवन नौलो छैन किनभने कथा नै मौलिक छैन । निर्देशकमा बलिउडका लभस्टोरी फिल्मको ह्याङओभर प्रशस्तै पाइन्छ । हामीले हेर्दै आइरहेका लभस्टोरी फिल्महरुलाई नै तोडमोड गरेर नयाँ बनाइएजस्तो लाग्छ । कतिपय दृश्यहरु हेर्दा शाहरुख खान र करण जोहरका लभस्टोरी फिल्महरु झलझली याद आउँछन् । फिल्ममा एउटै कथाको हुबहु कपी त छैन तर थुप्रै दृश्यहरु दर्शकलाई यसअघि कतै न कतै हेरिसकेको भान हुन्छ ।
आफैँ पाइलट बनेर पोखरामा प्याराग्लाइडिङ कम्पनी चलाइरहेका आविष्कार (आशीरमान देशराज श्रेष्ठ) र नयाँ–नयाँ खानाको परिकार बनाउन सौखिन रेष्टुरेन्टकी सेफ सारा (शिल्पा मास्के) पढाइको बहानामा एकैदिन एउटै फ्लाइटमा अस्ट्रेलिया जान्छन् । संयोगले उनीहरुको लगेज साटिन्छ । त्यही लगेजले जुराउँछ, उनीहरुको पहिलो भेट । दुवै एकअर्कालाई गाली गरेर छुट्टिन्छन् ।
फेरि अर्को संयोग ! साराले पकाउने होटलमै आविष्कार भाँडा माझ्न पुग्छन् । दुवै एकअर्कामा रिस साँध्दासाँध्दै अन्ततः मिल्ने साथी हुन्छन् । सारा आविष्कारसँग शारीरिक सम्पर्क राख्न ‘ओपन’ छिन् तर सिरियस रिलेसनसिपमा बस्न तयार छैनन् । यो सर्त उनी खुलेरै राख्छिन् । पहिलो ब्रेकअपको पीडा उनले भुलेकी छैनन् । त्यसैले नयाँ रिलेसनसिपका लागि तयार छैनन् ।
उता आविष्कार मनमनै सारालाई प्रेम गर्न थालिसकेको हुन्छ । विस्तारै त्यसको महसुस सारालाई पनि हुन थाल्छ । सारा झस्किन्छिन् । उनलाई लाग्छ, ‘अँहँ, यो सही होइन ।’ त्यसपछि आविष्कारसँग झर्कंदै भेट्छिन् र गर्छिन्, ‘ब्रेकअप’को घोषणा ।
केही महिनाअघि मात्रै ब्रेकअपको घाउ सहेका आविष्कार फेरि अर्को घाउ लिएर स्वदेश फर्कन्छन् । संयोगले फेरि जुर्छ, सारा र आविष्कारको भेट । तर यसपल्ट विदेशमा होइन, नेपालमै । त्यो पनि उनीहरुकै मिल्ने साथीको बिहे तय भएपछि । भेट त हुन्छ तर टुटेको प्रेम फेरि जुट्छ त ? हलबाट निस्कदा दर्शकले पाउने भनेको यसकै जवाफ हो । त्यही पनि लभस्टोरी फिल्म हेरिरहने दर्शकलाई फिल्मको अन्त्य नौलो नलाग्ला । सहजै ठम्याउन सक्ने अन्त्य छ । क्लाइमेक्स पनि नौलो लाग्दैन । पोखराको तालमा देखिने दुर्घटनाको दृश्य पनि स्वभाविक लाग्दैन ।
फिल्ममार्फत् निर्देशकले नेपाली युवायुवतीको अष्ट्रेलिया मोह पनि देखाएका छन् । यौन सम्बन्धका मामिलामा आजको पुस्ता कति खुला भइरहेको छ, त्यो त फिल्ममा शिल्पा मास्केले निभाएको पात्र र उनले बोल्ने संवादलाई हेरेर पनि छर्लङ्ग हुन्छ । फिल्ममार्फत् निर्देशकले समाजको एउटा पुस्तालाई सम्बोधन गर्न त खोजेका छन् तर उनको प्रयास पर्याप्त देखिँदैन ।
फिल्ममा क्याजुअल रिलेसनसिप रुचाउने आधुनिक पुस्ताका युवायुवतीको कथा भन्न खोजिएको छ तर त्यसकै बहानामा फिल्ममा पटकपटक देखाइने ‘किस सिन’ दर्शकलाई स्वाभाविक लाग्दैन, बढ्ता नै महसुस हुन्छ । कतै यो निर्देशकको नियतमै खोट हो कि ? प्रश्न आवश्यक छ ।
फिल्ममा निर्देशकले आविष्कार र साराको प्रेम त देखाउँछन् तर दर्शकलाई त्यो राम्रोसँग अनुभूत गराउन सकेका छैनन् । दर्शकले उनीहरुबीचको गहिरो प्रेम अनुभूत गर्न नपाउँदै ब्रेकअपको घोषणा भइदिन्छ तर त्यही ब्रेकअपले पनि दर्शकको मस्तिष्कमा गहिरोसँग ठाउँ लिन सक्दैन ।
ब्रेकअप आफैँमा पीडादायी क्षण हो । कसैको 'ब्रेकअप’ कथा सुन्दै त मान्छे भावुक हुन्छ भने पर्दामा देखाउँदा त झन् के–के हुनुपर्ने हो ! आँखा त पक्कै रसाउनुपर्ने हो ! तर यहाँनेर निर्देशक चुकेका छन् । उनले दर्शकको संवेदनालाई छुन सकेका छैनन् ।
फिल्मको कथा सान्दार नलागे पनि आशीरमान देशराजको उपस्थिति शान्दार लाग्छ । बजारका ‘चकलेटी हिरो’हरुको भिडमा अब उनी जम्ने सम्भावना बलियो देखिन्छ । फिल्ममा उनी ‘कुल’ देखिएका छन् । शहरिया परिवेशमा हुर्किएका आशीरमान र बेलायत बसेर आएकी शिल्पा मास्के दुवैले आजको आधुनिक र विन्दास पुस्ताका युवायुवतीको भूमिकामा आफूलाई ‘फिट’ उभ्याएका छन् । रेमनदास श्रेष्ठ र इच्छा कार्की पनि आफ्नो क्यारेक्टरमा स्वाभाविक नै छन् ।
करिअर ओरालो लाग्दै गएपछि के हविगत हुन्छ ? यो फिल्ममा अतिथि भूमिका निर्वाह गरेका अभिनेता सलोन बस्नेतलाई हेरेपछि थाहा हुन्छ । उनको उपस्थिति यति दयालाग्दो छ कि, निर्देशकले एउटा डायलगसम्म बोल्न दिएका छैनन् ।
फिल्ममा आँखालाई शितल बनाउने अरु केही खुराक छ भने त्यो ‘लोकेसन’ पनि हो । अष्ट्रेलियाका सुन्दर दृश्यले दर्शकलाई ‘बोरिङ’ नगराउला । यसमा सिनेमाटोग्राफर नरेन्द्र मैनालीलाई पनि श्रेय त जाला तर त्यो भन्दा बढी श्रेय त लोकेसनलाई नै जान्छ । किनभने दर्शकको संवेदना हुँडल्ने क्रिएटिभ सटहरु उनले लिन सकेका छैनन् ।
यद्यपि फिल्ममा उत्तम न्यौपानेको साउन्ड र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर कथाको लयअनुसार नै छ । ध्वनिमार्फत् फिल्ममा प्रेमिल वातावरण सिर्जना गर्न उनीहरु सफल देखिन्छन् । फिल्ममा राखिएको गजलगीत श्रुतिमधुर लाग्छ ।
'ब्रेकअप’ सोचेजस्तो ‘इन्टरटेनिङ’ त छैन तर पूरै ‘बोरिङ’ पनि छैन । फिल्ममा आशीरमानले एउटा डायलग बोलेका छन्, ‘मिस्टेक त भइहाल्छ नि, म पनि मान्छे नै हो !’ हो, यसका निर्देशक हेमराज पनि मान्छे नै हुन्, उनीबाट पनि मिस्टेक त भइहाल्छ तर यसका मिस्टेक नदोहो-याउने हो भने उनमा अब्बल फिल्म दिने सम्भावना भने प्रशस्त छ । उनीबाट अर्कोपल्ट दमदार फिल्मको अपेक्षा भने राख्न सकिन्छ ।
Leave A Comment