फिल्म दृष्टि : 'क्याप्टेन'
‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएपछि फोटो पत्रकार विजय गजमेरले आफ्नो ट्विटर ह्यान्डलमा लेखेका थिए, ‘नेपाली फिल्मलाई माया गरौँ भनेर क्याप्टेन फिल्मको ट्रेलर हेरेको, दौरा सुरुवालमा कोच र लाइन्स म्यानलाई ग्राउन्डभित्रै कुदेको देखेर माया त्यसै मरेर गयो ।’
यो त थियो ट्रेलर मात्रै हेर्नेको टिप्पणी । तर फिल्म हेर्नेलाई के लाग्यो होला !
झन् यो फिल्मका अभिनेता अनमोल केसीले फिल्म रिलिज हुनुअघि ‘क्याप्टेनले विश्वकप हेरेभन्दा बढी मज्जा दिन्छ’ भनेर दिएको इन्टरभ्यूको हेडलाइन पढेर उत्साहित हुँदै हल छिरेका दर्शकलाई फर्किँदा के भयो होला !
दर्शकको जवाफ त हलको व्यापारले दिइरहेको छ नै । फिल्म सकिँदासम्म यो फिल्मले विश्वकप हेरेजस्तो स्वाद त दिएन नै उल्टो मैदानमा फुटबल हेर्दैछु या कुस्ती ‘कन्फ्यूज्ड’ पो बनायो ।
फिल्म युनिटको प्रचारअनुसार ‘क्याप्टेन’ खेल विधाको फिल्म हो । नयाँ–नयाँ विधाको फिल्म बन्नु सुःखद् कुरा हो । अझ, दर्शकमाझ आफ्नो बलियो क्रेज बनाइरहेका अनमोलजस्ता अभिनेताले नयाँ विधामाथि चुनौती मोल्नु नराम्रो हुँदै होइन ।
हल छिर्नुअघिसम्म दिमागले यस्तै सोचिरहेको थियो । तर, फिल्म हेरेपछि पूरै ‘मुड’ चेन्ज भइदियो । फिल्मका लेखक तथा निर्देशकलाई सोध्न मन लाग्यो, ‘फुटबललाई ‘थिम’ बनाएर कथा भन्दै गर्दा यसका आधारभूत मान्यतालाई बिर्सन मिल्छ र ?’
भनिरहनुनपर्ला, फुटबल सामूहिक खेल हो । यो एकजनाले मात्रै खेलेर जितिने खेल होइन । ११ खेलाडीको सामूहिक प्रयास र मिहिनेतले खेलको नतिजा ल्याउँछ । तर, ‘क्याप्टेन’मा हेर्दा यस्तो लाग्दैन । फिल्मको मैदानमा ११ खेलाडी उतारिएको त छ तर खेल्न भने एक खेलाडी अनमोल केसीले मात्रै खेल खेलिरहेका छन् ।
मैदानमा उनलाई एक्लैझंै देखाइएको छ, जो बललाई एक्लै खेलाउँदै, घुँडामा अड्याउँदै चामत्कारिक शैलीमा पोष्टमा सहजै गोल गर्छन् । यस्तो लाग्छ, अरू खेलाडी त मैदानमा उनको चमत्कार हेर्दै थपडी बजाउन मात्रै उभिएका हुन् ।
अपवादमा कहिलेकाहीँ एक खेलाडी विपक्षीमाथि हावी हुँदा पनि खेल जित्न सकिन्छ । तर त्यो चामत्कारिक र विश्वसनीय हुन्छ । निर्देशकले अनमोललाई पर्दामा न चामत्कारिक फुटबलरको रुपमा स्थापित गर्न सकेका छन् न उनको खेल कौशल विश्वसनीय देखिन्छ । मैदानमा अनमोलको खेल शैली देख्दा अन्योलमा परिन्छ, उनी फुटबल खेलिरहेका छन् या कुस्ती ?
फिल्मभित्र अनमोल झापा, धरमपुरका ‘इशान खड्का’को भूमिकामा छन् । उनका बाबु नवल खड्का (सरोज खनाल) पनि फुटबलर नै हुन्छन् । देशका लागि फुटबल खेल्ने उनको सपना गाउँमा पसल जलेसँगै जल्छ । त्यसपछि उनी छोरालाई फुटबल खेल्न नछाड्नु भन्ने उपदेश दिँदै पैसा कमाउन विदेशिन्छन् ।
यता इशानकी आमालाई फुटबलदेखि पूरै घृणा छ । उनलाई लाग्छ, यही फुटबलले श्रीमान्को जिन्दगी अन्धकारमा धकेल्यो । त्यसैले उनी चाहन्छिन्, छोराले फुटबल नखेलोस् ।
यत्तिकैमा इशानका बाबु विदेशमा बिरामी भएर थलिएको खबर आइपुग्छ । प्यारालाइसिस भएर स्वदेश फर्किएपछि बाबुको उपचार र घरको जिम्मेवारी सबै इशानको काँधमा आइपुग्छ । त्यसपछि काठमाडौंमा काम पाउनलाई उनी अनेक संघर्ष गर्छन् । भित्तामा रंग लगाउनेदेखि पोष्टर टाल्नेसम्म काम गर्छन् ।
एक दिन फुटबल मैदानमा रङ लाउँदालाउँदै उनी फुटबल कोच (प्रशान्त ताम्राकार) को नजरमा पर्छन् । त्यसपछि उनको जीवनको काँचुली कसरी फेरिन्छ ? देशका लागि खेल्ने बाबुको सपना उनले कसरी पूरा गर्छन् ? फिल्म यही कथा वरिपरि घुमेको छ ।
खेल विधाका फिल्म हेरिरहेका दर्शकलाई यसको कथा नौलो लाग्दैन । फिल्ममा यस्ता कुनै विशेष दृश्य छैनन् जुन योभन्दा अघिका यही विधाका फिल्ममा नदेखिएको होस् ।
एउटा खेल । त्यो खेल खेल्नलाई पात्रले गर्ने संघर्ष । देशका लागि खेल्ने उसको सपना । बीचमा आइपर्ने बाधा–अवरोध अनि द्वन्द्व । अन्त्यमा, ती सबै अवरोधलाई सामना गर्दै प्राप्त गर्ने सफलता । यस्तै कथा, यस्तै शैलीमा पात्र केन्द्रित भएर विश्वमा थुप्रै सुन्दर खेलसम्बन्धी फिल्महरु बनेका छन् । हलिउडमा डेनी क्याननको ‘गोल’देखि बलिउडमा ‘चक दे इन्डिया’, ‘इकबल’, ‘दंगल’ केही उदाहरण हुन् ।
तर, यहाँ त ‘क्याप्टेन’को पटकथामै विधागत अस्पष्टता झल्किन्छ । फिल्ममा निर्देशक पूरै अनमोल केन्द्रित छन् । अनमोलले आफू ‘नयाँ विधामा प्रवेश गरेँ’ भनेर जति नै गफ दिँदै हिँडे पनि उनी यो फिल्ममा आफ्नोे ‘लभरब्याय’को ह्याङबाट उम्कन सकेका छैनन् ।
फिल्ममा उनका लागि निर्देशकले दुईजना हिरोइन राखिदिएका छन् । ती हिरोइनसँग उनलाई प्रेम गर्नु पनि छ, अनि देशका लागि फुटबल खेल्नु पनि छ । युवती र फुटबल दुवैसँगको प्रेमलाई उत्तिकै मह-त्व दिँदा फिल्ममार्फत के भन्न खोजेको हो प्रस्ट देखिन्न । मूल कथामा फिल्म डो-याउन यसका निर्देशक दिवाकर भट्टराई पूरै अलमलिएका छन् ।
दर्शकलाई कहिले लभस्टोरी हेरेजस्तो लाग्छ, कहिले स्पोर्टस ड्रामा । तर, त्यो पनि बासी । त्रिकोणात्मक प्रेम र फुटबल सपना दुवैलाई समेट्न खोज्दा निर्देशक फिल्मको केन्द्रीय द्वन्द्व स्थापनामा पनि अलमलिएका छन् । यसले निर्देशक भट्टराईले नयाँ विधाको कथामा हात हाले पनि अनमोलको लभरब्वाय छवि तोड्ने हिम्मत नगरेको देखियो । जसले फिल्मको कथालाई नै चिप्ल्यायो ।
निर्देशकले फिल्ममार्फत फुटबलमा हुने राजनीति र ‘म्याच फिक्सिङ’लगायतका समस्या पनि उठाएका छन् तर सतहीमा मात्र । कथालाई अघि बढाउन नेसनल टिममा खेलाडी रहेको रबिन (अमित श्रेष्ठ) लाई अस्वाभाविक भिलेन देखाइएको छ । फिल्मको अन्त्यतिर इशानकी आमा (सूर्यमाला खनाल) ले फलाक्ने देशप्रेमको संवाद सुन्दा मिठो लाग्छ तर हेर्दा झर्को र पूरै अस्वाभाविक लाग्छ ।
फिल्ममा अनमोलको अभिनयको ग्रोथ देखिन्छ छ तर अपर्याप्त । एउटा स्टार अभिनेता आफूले निभाइरहेको भूमिकाप्रति सधैँ जिम्मेवार हुन्छ । कतै निर्देशक अलमलिएको महसुस भए उसले प्रस्ट सुझाव दिन सक्नुपर्छ । तर, अनमोलमा यस्तो गुण यो फिल्ममा पनि देखिएन । फिल्मको स्वरुप नै बिग्रने गरी उनी हावी छन् ।
फिल्ममा उपासना सिंह ठकुरी आफ्नो भूमिकामा सुहाउँदो लाग्छिन् । प्रियंका एमभीको अभिनयले मन बुझाउँदैन । विल्सनविक्रम राई हँसाउनलाई ठिकै छन् । प्रशान्त ताम्राकार पनि कोचको भूमिकामा फिट नै देखिन्छन् ।
‘क्याप्टेन’ले बासी कथाकै आडमा कहिले जबर्जस्ती हँसाउँछ , कहिले रुवाउँछ । तैपनि फिल्म सकिँदासम्म यसको तारिफ गर्न सकिन्न ।
फिल्मभित्र अनमोल फुटबलका स्ट्राइकर छन्, निर्देशकको पटकथाका कारण फुटबलको ग्राउन्डमा उनले धेरैपल्ट जबर्जस्त गोल पनि गर्छन् तर नेपाली फिल्मको असली ग्राउन्डमा उनको यो 'स्ट्राइक' कमजोर नै देखियो ।
उनको यस अगाडिका फिल्ममा देखिएका कमजोरी घटेको देखिएन, उस्तै छ समस्या । ‘क्याप्टेन’ हेरेपछि फेरि भन्नै पर्छ, अब अनमोलले प्रशंसकको भीडमा रमाउन छाड्नुपर्छ, अनि आलोचना सुन्नुपर्छ । नत्र उनी पनि नेपाली फिल्मका दुईदिने पाहुना मात्र हुने पक्का छ ।
Leave A Comment